शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''टायर व्यवसायमा ५० प्रतिशतले कमी आएको छ'' - विनीत अग्रवाल
बजार व्यवस्थापक, नाथ इम्पेक्स

नेपालका टायरको व्यावसायिक अवस्था कस्तो छ ?

अहिले टायरको व्यावसायिक अवस्था सन्तोषजनक छैन । टायर कन्ष्ट्रक्शन व्यवसायसँग जोडिएको छ । अहिले कन्ष्ट्रक्शन व्यवसाय पनि त्यति राम्रो हुन सकेको छैन । यससँगै नेपालमा टायरको व्यवसाय पनि पहिलेको तुलनामा घटेको छ । सरकारले कुनै नयाँ प्रोजेक्ट शुरू गर्न सकेको छैन । त्यस्तै, नेपालमा गाडी कम गुड्ने भएकाले पनि टायरको व्यापार कम भएको हो । सबै कुरा व्यवस्थित हुनका लागि देशको राजनीतिक अवस्था स्थिर हुनुपर्छ । देशको अवस्थाले पनि यस व्यवसायमा असर पारेको छ ।

व्यवसायमा कति प्रतिशतले कमी आएको छ ?

करीब ५० प्रतिशत घटेको छ । अहिले टायरको व्यवसाय कम हुनुमा देशको अर्थतन्त्रले पनि असर गरेको छ । नयाँ मानिसले गाडी किन्न सकेका छैनन् । बैङ्कको ब्याज बढिरहेको छ । यस्तो अवस्थामा समग्र व्यवसाय नै प्रभावित भएको छ । त्यस्तै, कार र मोटरसाइकलमा एकदमै कम मात्रामा टायर फेरिन्छ । मोटरसाइकलमा टायर फेर्नुभन्दा बेच्न सजिलो मानिन्छ । काठमाडौंमा चल्ने कार हप्ताको २ सय किलोमिटर पनि गुड्दैन । कारको टायर ४० हजार किलोमिटर ढुक्कसँग चल्छ । यस हिसाबले पनि कारको टायर फेर्न लामो सयम कुर्नुपर्छ ।

सबैभन्दा बढी टायर कस्ता गाडीले खपत गर्छन् ?

ट्रकले सबैभन्दा बढी टायर खपत गर्छ । अन्य हेभी सवारीसाधनका टायर पनि चाँडै नै फेर्नुपर्ने हुन्छ ।

नेपालमा टायरको वाषिर्क कारोबार कति छ ?

यो संस्थागत हुन नसकेको व्यवसाय हो । संस्थागत हुन नसकेको व्यवसायको कुनै तथ्याङ्क नै हुँदैन । अनुमान गर्ने आधार पनि हुँदैन । नेपालमा जति ट्रक गुड्छन्, सबैले सामान लिएर भारत गएको समयमा टायर फेरेर आउँछन् । यस्तो अवस्थामा कति विक्री हुन्छ भन्ने तथ्याङ्क दिन सकिँदैन ।

नेपालमा उत्पादित टायर गुणस्तरीय र सस्तो पनि छ, किन विदेशबाट आयात भएका टायरको प्रयोग बढी हुन्छ ?

कस्ता टायरको प्रयोग गर्ने भन्ने उपभोक्ताको चाहनामा भर पर्छ । गाडी किन्दा भारतमा बनेको टायर प्रयोग भएको हुन्छ । फेर्ने बेलामा पनि भारतको टायर नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ । शुरूमा कम्पनीले प्रयोग गरेको टायर नै गुणस्तरीय हुन्छ भन्ने मानसिकताका कारण यस्तो भएको हुनसक्छ । त्यस्तै, गोरखकाली टायरले उपभोक्तामा चेतना विकास गराउन नसकेको पनि हुन सक्छ ।

व्यवसायमा कत्तिको प्रतिस्पर्धा छ ?


विश्वका सबै देशमा बनेका टायर नेपाली बजारमा उपलब्ध छन् । व्यवसाय कत्तिको प्रतिस्पर्धी छ भन्ने कुरा यसले नै देखाउँछ । नेपालको बजार सानो छ, तर व्यवसायीहरू पनि धेरै छन् । टायरमा बजारको मागभन्दा आपूर्ति धेरै छ ।

व्यवसाय व्यवस्थित गर्न सरकारको कस्तो पहल आवश्यक छ ?

व्यापार कहिल्यै पनि व्यवस्थित गर्न सकिँदैन । उत्पादनशील उद्योग छ भने त्यसलाई व्यवस्थित गर्न सकिन्छ । नेपालको कुनै पनि व्यापार अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । यसमा सरकारको दोष छ । नेपालको सरकार नै व्यवस्थित छैन । यसले व्यवसायलाई कसरी व्यवस्थित गर्न सक्छ ? देशमा शान्ति र राजनीतिक स्थिरता भयो भने सबै समस्याको समाधान आफै हुन्छ ।

टायरको मूल्य परिवर्तनको अवस्था कस्तो छ ?


टायरको मूल्य निकै छोटो समयमा परिवर्तन भइरहेको हुन्छ । टायरमा ५० प्रतिशत रबरको प्रयोग भएको हुन्छ । विश्वबजारमा रबरको मूल्यमा उतारचढाव भइरहेको हुन्छ ।

एउटा टायर कति समय प्रयोग गर्न सकिन्छ ?


यसको स्थायित्व प्रयोगकर्तामा भर पर्छ । टायर कति समय टिक्छ भन्ने कुरामा सडक तथा वातावरणको अवस्था र त्यसले कतिसम्म लोड बोक्छ भन्ने कुरामा निर्धारण हुन्छ । त्यसैले पनि टायरको आयुनिर्धारण गर्न मुश्किल छ ।
 
नेपालमा टायर आयात कत्तिको सहज छ ?


आयातमा कुनै पनि समस्या नै छैन । सरकारले तोकेको भन्सारशुल्क तिरेपछि सजिलै सामान ल्याउन सकिन्छ ।