''संरक्षण नीतिको अभावमा व्यवसाय धराशायी'' ? अशोक कुमार श्रेष्ठ,
सञ्चालक, नेपाल दाना उद्योग दमौली, तनहुँ
(पूर्वअध्यक्ष, तनहुँ उद्योग बाणिज्य सङ्घ)
नेपालमा अहिले दाना उद्योगको अवस्था कस्तो छ ?
दुइ बर्षअगाडिसम्मको स्थिति राम्रो थियो । त्यतिबेलासम्म देशभरका मध्यम क्षमताका दाना उद्योगहरूले राम्रो बजार पाएका थिए । तर, अहिले भने हाम्रो व्यवसायमा गिरावट आएर उद्योग धराशायी हुने अवस्था आएको छ । मैले दमौलीमा ३५ लाख लगानीमा सञ्चालन गरेको नेपाल दाना उद्योग अहिले उत्पादन कम खपत भएका कारण 'मौसमी' रूपमा सञ्चालित छ । यही हालतमा कर्मचारी खर्च धान्नसमेत मुस्किल भएको छ ।
के कारणले गर्दा व्यवसाय धराशायी हुँदैछ ?
सबैभन्दा पहिलो कुरा अहिले देशभित्र ठूला लगानीका पेलेट दाना उद्योग स्थापना हुनेक्रम चलिरहेको छ । ठूलो लगानीमा सञ्चालन हुने ती उद्योगले कम लागतमा दाना उत्पादन गर्न थालेको अवस्था छ । जसले गर्दा हामी पहिल्यैदेखि व्यवसाय गर्दै आएका व्यवसायी सङ्कटमा परेका छौं । फेरि सरकारको 'संरक्षण नीति' पनि कमजोर हुनाले हामीजस्ता साना व्यवसायी धराशायी हुने स्थिति पैदा भएको हो । सरकारलाई दोष दिएर हुन्छ र ? तपाईहरूले नै आफ्नो व्यवसायको संरक्षण गर्नुपर्ने होइन र ? हामी यही देशका नागरिक हौ । हामीले व्यवसाय सञ्चालन गर्दा कसलाई फाइदा छ ? अर्थतन्त्र राम्रा हुनु भनेको देशलाई फाइदा हुनु होइन ? रोजगारी बढ्नु, कर बढ्नु राज्यलाई फाइदा हुने कुरा होइन र ? हामीले राज्यलाई त्यत्रो योगदान दियौँ तर राज्यले त्यसको मूल्याङ्कन गर्नु त परै जाओस् संरक्षणसम्म दिएन ।
के भन्न खोज्नुभएको ?
अहिले सरकारले ठूला उद्योगीलाई विभिन्न किसिमका राहत दिएको छ । नेपालको सीमा क्षेत्रमा केही सीमित व्यक्तिले ठूलो लगानीमा दाना उद्योग सञ्चालन गरेका छन् । उनीहरूले ठूलो परिमाणमा गर्ने उत्पादनसँग हामी साना उद्योगीले प्रतिस्पर्धा गर्न सक्ने क्षमता छैन । खै, हामीलाई राज्यले राहत प्रदान गरेको ? यही स्थिति रहिरहने हो भने दुइ बर्षभित्रमा नेपालका सबै साना दाना उद्योग बन्द हुन्छन् ।
अनि केही सीमित उद्योगीको एकाधिकार कायम हुन्छ ।
तपाईंहरूले किन लगानीमा वृद्धि नगर्ने त ?
हामीस“ग त्यति क्षमता छैन । ठूलो प्लाण्ट स्थापना गरेर अहिले पेलेट दाना उत्पादन उद्योग स्थापना गर्ने हो भने कम्तिमा २० करोड लाग्छ । ३५, ४० लाख पुँजी भएका हामीबाट त्यतिको परिमाणको लगानी सम्भव छैन ।
यस्ता उद्योग कति छन् त ?
नेपालका कुना कन्दरामा यस्ता उद्योग सञ्चालित छन् । सानो क्षमताका उद्योग कम लगानीमा स्थापना गर्न सकिने भएकाले विभिन्न ठाउँमा सञ्चलित भए पनि अहिले सबै सङ्कटमा छन् । पोखरा, चितवन, दमौली, बारालगायतका सबै स्थानका साना उद्योग सङ्कटमा छन् । तपाईंहरूले उत्पादन गरिरहेको 'मास दाना’ त 'पेलेट दाना’ भन्दा कम गुणस्तरको छ, भन्छन नि ? अहिले बजारमा पेलेट दाना भनेर क्रमबेल दाना बेचिएको छ । क्रमबेल दाना र हामीले बेच्ने मास दानाको गुणस्तर उही हो । यहाँ जनतालाई झुक्याउने र ठग्ने काम भइरहेको छ । पेलेट दाना भनेर क्रमबेल किन्ने उपभोक्ता हाम्रो उत्पादनतिर पुनः आकषिर्त भएका छन् । एउटा भनेर अर्को बेच्नु त भएन नि ?
धराशायी हुँदै गएका दाना उद्योगलाई कसरी जोगाउन सकिन्छ त ?
पहिलो कुरा सरकारको लगानी संरक्षण नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्यो । हामी स्थानीय माग आपूर्ति गर्ने हिसाबले खोलिएका उद्योगले राहत पाउनुपर्यो । ठूला उद्योगलाई सहुलियत दिने, सानालाई नदिने गर्नुभएन । साना उद्योगको योगदानको समेत कदर हुनुपर्यो । हामीलाई कच्चा पदार्थ आयातमा छुट दिनुपया । नत्र तराइमा स्थापित ठूला उद्यागसग हामी कसरी प्रतिस्पधा गर्न सक्छौ ?