शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ'' - प्रकाश राउत
business

प्रबन्ध निर्देशक, प्रसङ्ग मिडिया सर्भिस

फ्लेक्स प्रिण्टको व्यावसायिक अवस्था कस्तो छ ?


व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । व्यवसायका बारेमा जानकारी नभएका मानिस पनि यस क्षेत्रमा लागेका कारण समस्या भइरहेको छ । कतिपय कम्पनीले दरभन्दा कम मूल्यमा पनि काम गर्ने गरेका कारण अहिले व्यवसाय चलाउन कठिन हुन थालेको छ । साथै, अहिले सङ्ख्यात्मक  रूपमा व्यवसायी बढेका छन् । तर, त्यो अनुपातमा काम थपिएको छैन । बजारमा चलेको मूल्य भनेको २५ देखि ३० रुपैयाँ प्रतिवर्गफिट हो । अहिले यसभन्दा कम मूल्यमा पनि काम गर्नेहरू छन् । तत्कालका लागि उनीहरूलाई सजिलो भए पनि यसले दीर्घकालीन असर गर्दछ । तर, हामी भने बजारभाउ नै बिगारेर व्यवसाय गर्ने पक्षमा छैनौं ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अहिले अधिकांश विज्ञापनमा फ्लेक्स प्रिण्टको प्रयोग भएको देखिन्छ, यसले व्यवसाय बढाउँदैन ?

यो विज्ञापनमा केन्द्रित व्यवसाय हो । अहिले विज्ञापन गर्ने शैली बढेको छ । कार्यक्रम पनि धेरै हुन थालेका छन् । तर, काम बढेअनुसार व्यवसायमा भने वृद्धि भएको छैन । यसको मुख्य कारण व्यवसायी र कामको उचित सन्तुलन नहुनु हो ।

व्यवसाय गर्न कत्तिको सहज छ ?

काम गर्न खासै अप्ठयारो छैन । अहिलेको मुख्य समस्या भनेको लोडशेडिङ हो । यसले गर्दा अर्डरअनुसार काम गर्न सकिरहेका छैनौं । डिजिटल प्रिण्टका लागि विद्युत् आपूर्ति नियमित हुनुपर्दछ । बजारमा कच्चापदार्थको पनि खासै अभाव हुँदैन । नेपालका सबै कम्पनीले चीन र कोरियाबाट आयात गरिएको कच्चापदार्थ प्रयोग गर्छन् । नियमित विद्युत् आपूर्ति हुने हो भने सजिलै व्यवसाय चलाउन सकिन्छ ।

प्रयोगका हिसाबले कहाँको कच्चापदार्थलाई राम्रो मानिन्छ ?


नेपाली बजार चिनियाँ उत्पादन नै बढी छन् । चीनबाट आउने र कोरियाबाट आउने पीभीसी पेपरमा खासै फरक छैन । अहिले चीनबाट आएका सामानकै प्रयोग बढी हुने गरेको छ । चीनबाट आयात हुने पेपरको प्रतिस्वायरफिट आठ/नौ रुपैयाँ पर्छ ।

नेपालमा यस्तो व्यवसाय सञ्चालनका लागि कति लगानी आवश्यक छ ?

व्यवासय शुरू गर्न न्यूनतम ८ लाख रुपैयाँ आवश्यक पर्छ । फ्लेक्स प्रिण्ट गर्ने मेशिनका लागि मात्र करीब ६ लाख रुपैयाँ पर्छ । अन्य सामान र कम्प्युटरका लागि कम्तीमा २ लाख खर्च गर्नुपर्ने हुन्छ ।

नयाँ व्यवसायीहरू यस क्षेत्रमा कस्तो तयारी गरेर आउनुपर्छ ?


कुनै पनि व्यवसायमा अनुभव नभई काम गर्न सकिँदैन । यस व्यवसायमा आउँदा पहिले उसले आफ्नो बजार पहिल्याउन सक्नुपर्छ । अहिलेको बजारमा नयाँ व्यवसायी टिक्न सक्ने अवस्था छैन । साथै, अहिले सजिलै बजार पाउन सकिने अवस्था पनि छैन । देशको राजनीतिक अस्थिरताका कारण पनि कम्पनीले विज्ञापनमा धेरै खर्च गरेका छैनन् । पहिले अरूको कम्पनीमा काम गर्नेले अहिले आफ्नै व्यवसाय शुरू गर्न थालेका छन् ।

दक्षकामदार पाउन कत्तिको सहज छ ?

दक्षकामदार पाउन गाह्रो छ । यस व्यवसायमा पनि विभिन्न क्षेत्रको काम हुन्छ । फ्रेमिङको काम छुट्टै मानिसले गरेका हुन्छन् । डिजाइन र प्रिण्टको काम गर्ने मान्छे अर्कै हुन्छ । यसमा सजिलोचाहिँ के छ भने नयाँ मानिसले पनि केही समय काम गरेपछि सिक्न सक्छ ।

फ्लेक्स प्रिण्ट व्यवसायमा कतिले रोजगारी पाएका छन् ?


यस क्षेत्रमा कम्तीमा पनि १ सय व्यवसायी छन् । यसमा २५ देखि ३० हजार मानिसले काम पाएका छन् । यो प्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या हो । यसमा ठेक्कामा पनि काम हुने गरेको छ । त्यसमा पनि हजारौं मानिसले काम पाएका छन् । ठेक्कामा काम गराउँदा केही महँगो हुन्छ । तर, काम भने छिटो हुन्छ । उनीहरूले जति छिटो काम सिध्याउन सक्छन्, त्यति नाफा हुन्छ । कम्पनीले आफूले काम गर्न नभ्याएको अवस्थामा यसरी ठेक्कामा पनि दिने गरेका छन् ।

व्यवसाय कत्तिको व्यवस्थित भएजस्तो लाग्छ ?


अहिलेसम्म त्यति व्यवस्थित हुन सकेको छैन । व्यवस्थित बनाउन साइनेज एशोसिएशनको स्थापना भएको छ । तर, यसले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । यसले बजारको मूल्यनिर्धारणका लागि काम गर्नुपर्ने हो । तर, त्यो पनि हुन सकेको छैन ।

प्रसङ्ग मिडियाले अहिले कतिओटा कम्पनीसँग काम गरिरहेको छ ?

हामीले नेपालका राम्रा मानिने आठ/१० ओटा कम्पनीसँग काम गरिरहेका छौं । यसमा नाङ्लो समूह, नेशनल आइसक्रिम र बोटलर्स नेपालमा कुराकानी भइरहेको छ । साथै, थुप्रै स्कूलकलेजहरू पनि हामीसँगै काम गरिरहेका छन् ।

कम्पनीले वार्षिक कति रुपैयाँको कारोबार गर्छ ?


प्रसङ्गसँगै हामीसँग अन्य दुइओटा कम्पनी पनि छन् । सबैले वार्षिक करीब ४ करोड रुपैयाँको व्यवसाय गरिरहेका छन् ।