शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''साउण्ड सिष्टमको असी प्रतिशत बजार काठमाडौं उपत्यका हो'' - प्रभात रिमाल

प्रमुख कार्यकारी अधिकृत, भोग  ट्रेड इण्टरनेशनल

नेपालमा साउण्ड सिष्टमको व्यावसायिक अवस्था कस्तो छ ?

साउण्ड सिष्टमको व्यवसाय दुइ किसिमले चलेको छ । रेष्टुराँ, डिस्को तथा विभिन्न सेमिनार हलमा यस्ता सामानको माग हुने गर्दछ भने यस्ता उपकरणहरू भाडामा दिएर व्यवसाय गर्ने पनि छन् । नेपालमा साउण्ड सिष्टमका बारेमा धेरैलाई ज्ञान छैन । आवाजको गुणस्तरप्रति खासै चासो हुने गरेको छैन । अहिले विस्तारै उपभोक्ताहरूमा गुणस्तरीय साउण्ड सिष्टमको चाहना हुन थालेको छ । नेपालमा यस्ता उपकरणको बजार अहिलेसम्म सानो रहेको छ ।



 

साउण्ड सिष्टमको गुणस्तर मापन गर्ने आधार के हो ?

उपकरण मापन गर्ने सबैभन्दा उत्तम माध्यम त्यस्ता उपकरणको इतिहास नै हो । नेपालमा यस्ता उपकरणमा वारेण्टी सुविधा छैन भन्दा पनि हुन्छ । तर, हामीले विक्री गर्ने ल्याक्स ब्राण्डको उपकरणमा ६ महीनाको वारेण्टी दिँदै आएका छौं । नेपालमा साउण्ड सिष्टम उपकरणमा वारेण्टी दिने हामी नै पहिलो हौं । त्यस्तै, हाम्रो ब्राण्डको उपकरण चीनमा भएको ओलम्पिक प्रतियोगिताको उद्घाटन र समापनका साथै एशियन गेममा पनि प्रयोग भएको थियो । कुनै पनि ब्राण्डको गुणस्तर मापन गर्नका लागि विक्रीपछिको सुविधा र राम्रो इतिहास हुनु जरुरी छ ।

साउण्ड सिष्टम व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?

नेपालमा ब्राण्डेड उपकरण प्रयोग गर्ने व्यवसायीहरू ज्यादै न्यून छन् । यसमा ब्राण्डेड उपकरण आयातकर्ताहरूबीच त्यस्तो कुनै प्रतिस्पर्धा छैन । प्रत्येक ब्राण्डको फरकफरक विशेषता हुन्छ । विशेषता तथा ब्राण्डको विश्वसनीयताका कारण नै ग्राहक आउने गर्दछन् । हामीले आएका ग्राहकलाई सोहीअनुरूप विश्वास दिलाएका छौँ ।

तपाईंले विक्री गर्ने ल्याक्स ब्राण्डको विशेषता के हो ? 

यो चीनको सबैभन्दा राम्रो ब्राण्डेड साउण्ड सिष्टमको हो । यहाँ चीनमा निर्मित भन्नेबित्तिकै नाक खुम्च्याउने प्रचलन छ । तर, चीन भनेको खासा मात्रै होइन । त्यस्ता ग्राहकले खासा र चीनको मुख्य बजारको अन्तरका बारेमा पनि जानकारी लिन जरुरी हुन्छ । ब्राण्डप्रति सचेत गुणस्तरीय उपकरण खोज्ने उपभोक्ताका लागि यो उपकरण सही रोजाइ हो । यसको मूल्य सामान्य उपकरणभन्दा केही बढी छ । तर, त्यति महँगो पनि छैन ।

यस्ता उपकरणका ग्राहक कुन वर्गका हुन् ?

नेपालमा अहिले सबै वर्ग र समुदायका मानिसले यस्ता उपकरणको प्रयोग गरिरहेका छन् । अहिले नेपालमा ससाना कार्यक्रम, सप्ताहदेखि विवाह व्रतबन्धलगायत सामूहिक भेटघाटमा पनि यस्ता उपकरणको प्रयोग बढ्दै गएको छ ।

नेपालमा साउण्ड सिष्टम व्यवसायको वार्षिक कारोबार कति हुन्छ ?

यसको आधिकारिक तथ्याङ्क छैन । तर, ब्राण्डेड साउण्ड सिष्टमको बजारलाई आधार मान्दा न्यूनतम ५० करोडको व्यवसाय हुन्छ । यस्ता उपकरणको कारोबार अहिले बढ्दो अवस्थामा छ । केही समय अघिसम्म देशको आन्तरिक कारणले व्यवसायमा असर पुगेको थियो । शान्तिसम्झौतापछि साउण्ड सिष्टमको माग निरन्तर बढिरहेको छ । यसको व्यापार वार्षिक करीब १५ प्रतिशतले बढेको छ ।

व्यवसायमा ननब्राण्डेड सामानले कत्तिको असर पारिरहेको छ ?

यस्ता सामानमा खासै नक्कली-सक्कली भन्ने हुँदैन । बजार पनि सानो भएकाले नक्कली सामान उत्पादन गरेर कसैलाई फाइदा पनि छैन । तर, गुणस्तर कम भएका सामान भने बजारमा पाइन्छन् । हामीकहाँ अडियो गुणस्तरीयताबारे उपभोक्तालाई त्यति जानकारी छैन । जस्तो आवाज आउँछ, त्यसैमा उपभोक्ताहरू रमाइरहेका हुन्छन् । तर, अहिले ब्राण्ड तथा गुणस्तरीय उपकरणप्रति ग्राहक सचेत हुँदै गइरहेका छन् । नेपालमा विक्री हुने यस्ता उपकरणको करीब ८० प्रतिशत बजार काठमाडौं उपत्यका नै हो ।

विगतको भन्दा अहिले यस व्यवसायमा कस्तो परिवर्तन आएको छ ?

नेपालको मुद्रा वार्षिक रूपमा अवमूल्यन हुँदै गइरहेको छ । त्यसले गर्दा हरेक वर्ष एउटै वस्तुलाई पनि बढी मूल्य तिर्नु परिरहेको छ । आयात गर्दा यस्ता सामग्रीको भुक्तानी डलरमा गर्नुपर्छ । यसले गर्दा साउण्ड सिष्टमको मूल्य बढ्दै गइरहेको छ । साथै, विगतको तुलनामा अहिले व्यवसायको आकार पनि बढिरहेको छ ।

ग्राहकमा चाहिँ कस्तो परिवर्तन पाउनुभयो ?

ग्राहकमा अहिले व्यापक परिवर्तन भएको छ । अहिले ग्राहकहरू धेरै सचेत हुँदै गइरहेका छन् । पहिला आवाज आउने भए पुग्थ्यो । तर, अहिले सामानको गुणस्तर, विशेषता तथा ब्राण्डका बारेमा जानकारी लिन चाहन्छन् । सूचना तथा प्रविधिको व्यापकताले सबैलाई उत्पादन तथा उपकरणका बारेमा जानकारी हुन थालेको छ ।