शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Dec 20, 2011
  

मदिरा उद्योगमा राजस्व प्रशासनको बढी नै हस्तक्षेप छ

नक्कली मदिरा उत्पादन गर्ने काठमाडौंमा आधा दर्जनभन्दा बढी कम्पनी भूमिगत रूपमा सञ्चालन भइरहेका छन् । बेलाबेलामा राजस्व प्रशासनले त्यस्ता उत्पादकहरूलाई समात्ने गरेको छ । तर, यस्ता उत्पादकहरू निर्मूल हुन सकेका छैनन् ।



interview
देवीप्रसाद पाण्डे अध्यक्ष,

नेपाल मदिरा उत्पादक सङ्घ


अहिले मदिराको व्यावसायिक अवस्था कस्तो रहेको छ ?


नेपालमा हरेक वर्ष मदिराको खपत १० प्रतिशतका दरले बढिरहेको छ । नेपालको मदिरा उद्योगमा पछिल्लो २ वर्षयता १८ ओटा उद्योग थपिएका छन् । अहिले मदिरा उत्पादन गर्ने ३८ ओटा उद्योग छन् । नेपालमा ७० यूपी, ५० यूपी, ४० यूपी र २५ यूपीमा मदिरा उत्पादन हुने गर्छन् । त्यसमध्ये सबैभन्दा बढी ७० यूपी र ५० यूपीका मदिरा उत्पादन हुन्छ । मदिरा उद्योगले वार्षिक १० अर्ब रुपैयाँ राजस्व बुझाइरहेका छन् । यस उद्योगले २० हजार जनालाई रोजगारी प्रदान गरेको छ । यस उद्योगमा वार्षिक डेढ खर्ब रुपैयाँको व्यापार हुन्छ । मदिरा उद्योगमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी छ । तर, पछिल्लो समयमा मागभन्दा ठूलो परिमाणमा मदिरा उत्पादन हुन थालेको देखिन्छ ।

स्वदेशी उद्योगबाट महीनामा कति परिमाणमा मदिरा उत्पादन हुने गरेको छ ?

पछिल्लो समय महीनामा करीब ६ लाख केस मदिरा उत्पादन हुन थालेको छ । ७० यूपीको मदिरा ३ लाख केस, ५० यूपीको १ लाख ५० हजार केस, ४० यूपीको १ लाख केस र २५ यूपीको महीनामा ५० हजार केस उत्पादन हुन्छ । ७० यूपीको मदिरा महीनामा ६ लाख केस उत्पादन गर्ने क्षमता छ । तर, घरेलु मदिराले ठूलो बजार ओगटेका कारण लक्ष्यअनुसार उत्पादन हुन नसकेको हो । घरेलु मदिरामा अन्तःशुल्क, भ्याट तथा आयकर लाग्ने गरेको छैन ।

५० यूपीको तुलनामा ४० यूपी मदिराको उत्पादन कम हुनाका कारण के हो ?

राजस्वको दर बढी पर्ने भएका कारण धेरै डिष्टिलरीले ७० यूपी र ५० यूपीका मदिरा उत्पादन गरेका हुन् । निश्चित आयस्रोत हुनेहरूले ७० यूपी र ५० यूपीको मदिरा प्रयोग गर्छन् । त्यस्तै ४० यूपी मदिराको राजस्व दर ५० यूपीको तुलनामा १ सय प्रतिशतले महँगो छ । त्यसकारण अहिले ४० यूपीको गुणस्तरमा ५० यूपीको मदिरा उत्पादन हुन थालेको हो ।

बजारमा सहजै उपलब्ध रहेका नक्कली मदिराले ब्राण्डेड मदिराको व्यापारमा कस्तो प्रभाव पारेको छ ?

नक्कली मदिरा उत्पादन गर्ने काठमाडौंमा आधा दर्जनभन्दा बढी कम्पनी भूमिगत रूपमा सञ्चालन भइरहेका छन् । बेलाबेलामा राजस्व प्रशासनले त्यस्ता उत्पादकहरूलाई समात्ने गरेको छ । तर, यस्ता उत्पादकहरू निर्मूल हुन सकेका छैनन् । नक्कली मदिराको सहज उपलब्धताले वैध मदिरालाई असर पुर्‍याएको छ । ग्राहकले पनि मदिरा किन्दा उत्पादन भएको मिति र राजस्व प्रशासनको स्टिकर भए÷नभएको हेरेरमात्र किन्नु पर्ने हुन्छ ।

कुल खपतको कति प्रतिशत बजार नेपाली मदिराको रहेको छ ?

नेपालमा विभिन्न ब्राण्डका मदिरा भित्रिने गरेका छन् । यस अवस्थामा कुल खपतको करीब ३ प्रतिशतमात्र बजार हिस्सा नेपाली मदिराले ओगटेको छ । तिब्बतबाट आयात हुने गरेको अवैध मदिराले नेपाली बजारको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

मदिरा उत्पादनमा के–कस्ता समस्या देखिएका छन् ?

अन्तःशुल्क ऐन, २०३३ (संशोधित २०५८) र मदिरा ऐन, २०३३ ले उद्योगीले लगानी गर्ने वातावरण बनाएको छ । तर, स्वामित्व राजस्व प्रशासनको देखिने खालको छ । यो मदिरा राजस्व प्रशासनको निगरानीमा उत्पादन तथा विक्री भइरहेको छ । उद्योगका कमीकमजोरी भएमा उद्योग निरीक्षण गर्न खटिएका कर्मचारीले उन्मुक्ति पाउने गरेका छन् । तर, उद्योग भने धराशयी हुने अवस्थामा पुग्छ । राज्यले मदिरा उद्योगीलाई दास्रो दर्जाका नागरिकसरह उपेक्षाकृत व्यवहार गरेको छ । हरेक वर्ष अन्तःशुल्कको वृद्धिको मारमा मदिरा उद्योग पर्दै आएको छ । अवैध मदिराले समेत उद्योगलाई असर पु¥याएको छ । मदिराको उत्पादन गर्न चाहिने मुख्य कच्चा पदार्थ स्पिरिट हो । नेपालमा १० ओटा उद्योगले स्पिरिट उत्पादन गर्छन् ।

यसले देशमा सञ्चालन भएका ३८ ओटा उद्योगलाई पुग्ने स्पिरिट उत्पादन हुन सकेको छैन । अपुग स्पिरिट भारतबाट आयात हुन्छ । नेपालमा उत्पादन हुने स्पिरिटले कुल मागको ६० प्रतिशतमात्र ओगटेको छ । मदिरा नेपालका धेरै आदिवासीको संस्कृतिसँग जोडिएको छ । यसले गर्दा राज्यले ५ लिटरसम्म मदिरा र १० लिटरसम्म जाँड घरमा उत्पादन गरी उपभोग गर्न पाउने कानूनी अधिकार प्रदान गरेको छ । तर, राज्यले दिएको अधिकार दुरुपयोग गरी व्यावसायिक रूपमा मदिरा उत्पादन हुने गरेको छ । घरेलु मदिरामा अखाद्य वस्तुको प्रयोग हुने सम्भावना रहन्छ । हामीले उत्पादन गर्ने मदिराको हरेक ब्याचमा ल्याब टेष्ट गरी उत्पादन गरिन्छ । हाम्रा उत्पादनहरू गुणस्तरयुक्त छन् । वैध मदिरासेवन स्वास्थ्यका लागि असुरक्षित छैन । राज्यले अवैध मदिराको उत्पादन बन्द गराउन सकेमा वैध मदिराको उपभोग बढी स्वतः राजस्व वृद्धि हुन्छ । यस्तो भएमा सरकारले हरेक वर्ष अन्तःशुल्क वृद्धि गर्नुपर्ने थिएन ।

नेपालमा स्तरीय मदिरा उत्पादन हुन नसकेका कारण विदेशी मदिराको आयात बढेको हो ?


त्यस्तो होइन । नेपालमा रोयल स्ट्याग, सिग्नेचरजस्ता उच्च गुणस्तरका मदिरा उत्पादन भइरहेका छन् । धेरै पैसा खर्च गर्न चाहनेहरूले मात्र विदेशी मदिरा प्रयोग गर्ने गरेका हुन् । नेपालका धनाढ्यहरूले मात्र विदशी मदिराको प्रयोग गरिरहेका छन् ।