''रिकण्डिशनको गाडी तीस प्रतिशतसम्म सस्तो पर्छ'' - सुमन गौतम
निर्देशक, ग्रीनलाइट अटोमोबाइल प्रालि
रिकण्डिशन हाउसको आवश्यकता किन ?
गाडी उत्पादन गर्ने कम्पनीले नयाँ गाडी मात्र बेच्छ । कतिपय मानिसलाई नयाँ गाडी २/४ महीना चढेपछि अर्को गाडी चढ्ने रहर हुन्छ । कतिपयले भने पुराना गाडी नै चाहन्छन् । यी दुवै पक्षका लागि सजिलो माध्यम रिकण्डिशन हाउस हो । यसले गर्दा मानिसलाई आफ्नो पुरानो गाडी बेच्न आफैले ग्राहक खोज्नुपर्दैन । रिकण्डिशन हाउसले नै ग्राहक खोजेर गाडी विक्री गरिदिन्छ । साथै, रिकण्डिशन हाउसमा गाडी सट्टापट्टा पनि गर्न पनि सकिन्छ । यसले गाडी चढ्ने मानिसलाई सजिलो भएको छ । नयाँ गाडी बेच्ने कम्पनी मात्र हुने हो भने सेकेण्ड हयाण्डका गाडी किन्न अप्ठयारो हुन्छ ।
रिकण्डिशन हाउसमा विशेष गरी कस्ता गाडी उपलब्ध छन् ?
रिकण्डिशन हाउसमा कार, जीप र भ्यान धेरै हुन्छन् । यसमा पनि ग्रीनलाइट अटोमोबाइलले जुन गाडी तुरुन्तै बजारमा विक्री गर्न सकिन्छ, त्यस्ता गाडी मात्र रिकण्डिशन गर्दछ । बजारमा भएका सबै गाडी तुरुन्त विक्री गर्न सकिँदैन । कुनै गाडीको पुनः विक्री गर्ने मूल्य धेरै हुन्छ, कुनैको कम हुन्छ । यसलाई ध्यानमा राखेर गाडीको रिकण्डिशन गर्ने गरेका छौँ ।
रिकण्डिशन हाउसबाट लिएका गाडी कत्तिको सुरक्षित हुन्छन् ?
हाम्रो कम्पनीबाट लिएका गाडी सुरक्षित हुन्छन् । हामीले दुर्घटनामा परेका गाडी रिकण्डिशनका लागि लिदैनौँ । तर, सबै रिकण्डिशन हाउसमा राम्रो गाडी पाइन्छ भन्नेचाहिँ होइन ।
नयाँ मानिसले रिकण्डिशन हाउसबाट गाडी किन्नुपर्यो भने केके कुरामा ध्यान दिनुपर्छ ?
दुर्घटनामा ठोक्किएका गाडीको च्यासिस बिग्रिएको हुन्छ । त्यस्तो गाडी हाईस्पीडमा कुदाउँदा दुर्घटना हुन्छ । त्यस्तो च्यासिसमा डेण्टिङ गरेर रिकण्डिशण्ड गाडीका रूपमा बेच्न राखिएको हुनसक्छ । सामान्य मानिसले यस्तो कुरा थाहा पाउन सक्दैनन् । यसका लागि गाडीको दक्ष मिस्त्रीलाई देखाएर मात्र किन्नु राम्रो हुन्छ ।
नयाँ र रिकण्डिशनका गाडीमा मूल्यको अन्तर कति हुन्छ ?
नयाँ गाडी किनेपछि २/३ महीनामा विक्री गर्ने हो भने पनि त्यसमा ५/६ लाख घाटा हुन्छ । अरू कसैले पहिले नै घाटा बेहोरिसकेको गाडी हो, रिकण्डिशण्ड गाडी । यस्तो गाडी किन्ने हो भने बेच्दा एकदमै कम मात्रामा घाटा पर्छ । नयाँभन्दा पुरानो गाडी किन्दा मूल्यमा करीब ३० प्रतिशत सस्तो पर्छ ।
कस्तो गाडी रिकण्डिशनमा दिन सकिन्छ ?
मुख्य कुरा दुर्घटनामा नपरेको गाडी हुनुपर्छ । गाडीको इञ्जिन मात्र बिग्रिएको छ भने त्यसलाई राम्रोसँग बनाउँदा ६/७ वर्ष राम्रोसँग चलाउन सकिन्छ । गाडीको टायर खुइलिएको छ भने नयाँ फेरे हुन्छ ।
सट्टापट्टाको चलन बढेको भनिन्छ नि ?
कतिपय मानिसका लागि गाडीको प्रयोग अनिवार्य आवश्यकता भएको छ । त्यसमा पनि अहिले गाडी फेर्ने एक किसिमको फेशन चलेको छ । अहिले केही समय चढेपछि अर्को गाडी खोज्नेहरू धेरै छन् । उनीहरू ६/७ महीना चढेपछि नयाँ मोडलका गाडी खोज्न थाल्छन् ।
ग्रीनलाइटमा दैनिक कति गाडीको रिकण्डिशन हुन्छ ?
हाम्रोमा एक दिनमा १० ओटासम्म गाडी रिकण्डिशनमा आउँछन् । तर, सबै लिँदैनौँ । अहिले, पहिलेजस्तो जुन पायो त्यही गाडी विक्री हुने अवस्था पनि छैन । यसले गर्दा गाडी लिँदा विचार गरेर मात्र लिनुपर्ने हुन्छ । विक्रीको कुरा गर्ने हो भने पहिले दैनिक एउटा गाडीको विक्री हुन्थ्यो । तर, अहिले महीनामा ३/४ ओटा गाडी बेचेर बस्नुपर्ने बाध्यता छ ।
अहिले गाडीको विक्री हुन नसक्नुको कारण के हो ?
मुख्य त फाइनाइन्सको सुविधा नभएर नै हो । नेपालमा करीब ९० प्रतिशत गाडी चढ्ने मानिसले फाइनान्स गरेर गाडी चढ्छन् । बैङ्कहरूले गाडीमा कम लगानी गर्न थालेपछि विक्री कम भएको हो ।
पछिल्लो समय रिकण्डिशन हाउस एकदमै धेरै खुल्न थालेका छन्, मानिसको यसप्रति आकर्षा बढ्नुको कारण के हो ?
नेपालमा एउटाले गरेको काम अर्कोले पछयाउने चलन छ । अहिले गाडीका प्रयोगकर्ता बढेका छन् । तर, सबैले नयाँ चढ्न सक्ने अवस्था भने छैन । प्रायः कम आयस्रोत भएकाले रिकण्डिशन हाउसबाट गाडी लिने गरेका छन् । यसले गर्दा पनि रिकण्डिशन हाउस बढेका हुन सक्छन् । अहिलेको जस्तै गाडी विक्री नहुने अवस्था रहिरहने हो भने धेरै रिकण्डिशन हाउस छिट्टै बन्द हुने अवस्थामा छन् ।
कम्पनीले रिकण्डिशन गरेको गाडीमा ग्राहकले कस्तो सुविधा पाउन सक्छन् ?
हाम्रो कम्पनीबाट किनेको गाडीमा कुनै पनि समयमा आए सट्टापट्टा गर्न सक्छन् । विक्री गर्नुभन्दा पहिला उक्त गाडीको कर तिर्ने, नामसारीलगायत सबै काम हामी नै गरिदिन्छौँ ।
ग्रीनलाइट अटोमोबाइलमा फाइनान्स सुविधा छ कि छैन ?
हामीले फाइनाइन्सको सुविधामा गाडी उपलब्ध गराउँछौं । तर, ग्राहकले लिने सबै ऋणको जिम्मा भने हामी लिँदैनौँ । बैङ्क र ग्राहकलाई भेट गराउँछौँ । बैङ्कले ग्राहकलाई विश्वास गरेको अवस्थामा गाडी दिने गरेका छौँ ।