''काठमाडौँमा दैनिक ५० लाखको कारोबार हुन्छ'' - मोहन बुढाथोकी
महासचिव, फास्टफूड एशेसियशन अफ नेपाल
यहाँले जुनबेला बेकरी क्याफे व्यवसाय शुरु गर्नु भयो, त्यसबेला र अहिले कस्तो परिवर्तन पाउनुभएको छ ?
बेकरी क्याफेलाई यूरोपियन र अमेरिकन समाजमा कफी सप भनिन्छ । नेपालमा यसलाई बेकरी र क्याफेसँगै जोडेर व्यावसायिक रुपले अगाडि बढाइएको पाइन्छ । मलाई थाहा भएसम्म विसं २०३२ सालतिर रत्नपार्कमा फोरवाइज भन्ने क्याफे थियो । त्यहाँबाट बर्गर, पिज्जा र हट डगका परिकारबाट बेकरी क्याफे भनेर विकास भएको पाउन सकिन्छ । बेकरी मात्रैमा चाँही कृष्ण पाउरोटी सम्भवतः पहिलो बेकरी परिकार हो ।
अहिले त बेकरी र क्याफेलाई सँगै हेरिन्छ नि ?
अवश्य । रेष्टुराँमा पाइने खानाको परिकार र बेकरीमा पाइने परिकारलाई मिश्रति गरेर लगिएको छ । बेकरी क्याफे भन्नाले नेपाली ग्राहकमा केक मात्रै पाइने स्थान भन्ने बुझाई छ । तर, यथार्थमा केक मात्रै पाइने ठाउँलाई बेकरी क्याफे भनिँदैन । पिज्जा पनि एक किसिमको बेकिङ परिकार हो । तर, यस्तो कुरा धेरै मान्छेलाई थाहा हुँदैन । छिटो जे परिकार उपलब्ध हुन्छ, त्यही बेकरी क्याफेका रुपमा विकास भएर आएको छ ।
यस्ता बेकरी क्याफेका ग्राहक चाहीँ को हुन् ?
विगत २५ बर्षदेखि मैले यही व्यवसाय गर्दै आएको छु । रोयल एलिनाज बेकरी क्याफे पनि कुनै समय पार्टनरका रुपमा हामीले नै सञ्चालन गरेका थियौँ । विशेषगरी टिनएजरहरु बेकरी क्याफेका नियमित ग्राहक हुन् । साथै विदेशको वातावरण बुझेकाहरु बच्चालाई रेष्टुराँ र सपिङ सेन्टरमा लगेर घुमाउने परिवार बढी देखिन्छन् । सरकारी सेवाका कर्मचारीचाँही यस्ता बेकरी क्याफेमा कमै आउने गर्छन् । आधुनिक संसारमा परिवारका सबै सदस्यसँगै कुनै ठाउँ जानुपर्छ, खानुपर्छ भन्ने मनस्थिति भएका परिवार बेकरी क्याफेमा आउने गर्छन् ।
यस्ता ग्राहकका लागि यहाँहरुले के कस्ता खानाका परिकार उपलब्ध गराउनु हुन्छ ?
पिज्जा, बर्गर, मम र चाउमिनको प्रवेशले बेकरी क्याफेको विकास भएको हो । यसमा डोसाजस्ता भारतीय खानाका परिकारले पनि प्रवेश पाएका छन् । तन्दुरी, नान, चिउरा, छोइला र सेकुवाजस्ता परिकारलाई पनि क्याफेले पर््रवर्द्धन गरिरहेका छन् । विशेषगरी हरेक बेकरी क्याफेमा मम र पिज्जा उपलब्ध हुन्छन् । अहिले पास्ताजस्ता इटालियन खानाले पनि प्रवेश पाएका छन् । कण्टिनेण्टलमा सिजलर, स्याण्डविच र मेक्सिकन खाना पनि ल्याउन थालिएको छ । अहिले मिश्रति खानाका परिकारको व्यवसाय गर्नेहरु नै बेकरी क्याफेमा जमेका छन् ।
नेपाल पर्यटन वर्ष२०११ को प्रवर्द्धनमा बेकरी क्याफेको कस्तो भूमिका हुन्छ ?
पयर्टन तीनवटा विषयबस्तुसँग जोडिएको हुन्छ । पहिलो अवलोकन स्थल, वासस्थान र खानाको कुरा आउँछ । नेपालमा भएका बेकरी क्याफे मात्रै होइन, हरेक रेष्टुराले पनि पर्यटन वर्षलाई राष्ट्रिय पर्वका रुपमा लिनुपर्छ । हरेक बेकरी क्याफे र रेष्टुराले मौलिकता झल्कने खानाको व्यवस्था गर्नुपर्छ । पयर्टन वर्षका लागि प्रत्येक बेकरी क्याफेले सरसफाई र परिकारमा ध्यान पुर्याउनुपर्छ । यसो गर्न सके मात्रै नेपाली खानाका परिकारको प्रवर्द्धन हुन्छ । यसो गर्दा पर्यटक पनि खुशी हुन्छन् र हाम्रो व्यवसाय पनि बढ्न सक्छ ।
रेष्टुरा र बेकरी क्याफेमा अझै पनि अष्पष्टता देखिन्छ नि ?
अहिले रेष्टुरा र बेकरी क्याफेमा फरक छुट्याउन सकिने अवस्था नै छैन । यसको वर्गीकरण गरिनुपर्छ । सरकारले पनि एउटा निश्चित मापदण्ड तयार पारेर वर्गीकरण गर्नुपर्छ । अहिले रेष्टुरेण्ट, बार एशोसियसन नेपाल र फाष्ड फुड एशोसियसन अफ नेपाल यस व्यवसायका दुई छुट्टा छुट्टै सङघ छन् । अनुमति पत्र, व्यापार क्षेत्र, लगानी, सेवाको स्तरीयता र हाइजेनिकको आधारमा वर्गीकरण गरिनुपर्छ जस्तो लाग्छ । यसको वर्गीकरण गर्दा व्यवसायको थप विस्तार हुन्छ ।
तपाईं आफैँले सञ्चालन गर्ने रिचमण्ड चाहीँ कस्तो बेकरी क्याफे हो ?
रिचमण्डले भिन्न मौलिकता र महत्व राख्छ । र मैले यस्तो सेवा दिने प्रयास गरेको छु । यहाँ ओपन किचन अवधारणा छ । लाइभ कुकिङ गरेर दिने गरिन्छ । खानाको परिकार प्रचलित मूल्यमा नै उपलब्ध हुन्छ । मध्यमस्तरको मान्छेले पनि पिज्जा र सिजलरको स्वाद उपभोग गर्न पाओस् भनेर कम मूल्यमै उपलब्ध गराइएको छ । यहा“ रिचमण्ड स्पेशल खानाको परिकार पाइन्छ । हाम मेड र फ्रेस नूडल्स, मम, पिज्जा, सिजलर र बेकरीका परिकार पाइन्छन् ।
यहाँहरुलाई कारोवार कम देखाएर राजश्व छेलेको आरोप लाग्ने गरेको छ नि ?
अहिलेको बजेटमा क्याटरिङ व्यवसायलाई पनि भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने भनिएको छ, त्यसमा चाहीँ हामी सहमत छौँ । सिजनमा काठमाडौँमा मात्रै पार्टीप्यालेसले कम्तीमा पनि दैनिक ३/४ करोडको कारोबार गर्छन् । यसअघि यस्तो व्यवसायमा भ्याट लगाइएको थिएन । बेकरी क्याफेमा चाहीँ भ्याट लगाउने भनिएको छैन । राज्यले पनि हामीजस्ता कर तिर्ने व्यवसायिका सम्बन्धमा केही सोचिदिनु पर्छ । भ्याट नतिरे पनि आयकर तिरिरहेका छौँ ।
यस व्यवसायका समस्या चाँही के हुन् ?
व्यवसायको सुरक्षा छैन । सहुलियत, वर्गीकरणको मापदण्ड केही पनि बन्न सकेको छैन । व्यवसाय डुबेमा क्षतिपूर्तिको केही पनि व्यवस्था छैन । घर धनीले बेकरी क्याफे चल्न थालेपछि तुरुन्तै भाडा बढाइहाल्छन् । यहाँ ९० प्रतिशत बेकरी क्याफे भाडमा सञ्चालित छन् । यसको कुनै मापदण्ड छैन ।
अहिलेकै अवस्थामा सामान्यतः एउटा बेकरी क्याफे सञ्चालनमा ल्याउन कति खर्चिनुपर्छ ?
मध्यमस्तरको ४० देखि ५० जनासम्म अट्ने क्षमता भएको बेकरी क्याफे सञ्चालन गर्न २५ देखि ३० लाख रुपैयाँ लगानी गर्नुपर्छ । विभिन्न साधन, फ्लोरिङ, फर्निसिङ, स्टाफिङदेखि सबैलाई समेट्दा यति रकम खर्चिनुपर्छ । यसभन्दा माथि चाहिँ लगानीकर्तामा भर पर्छ । ५० लाखदेखि २ करोड रुपैयाँ लगानी भएका बेकरी क्याफे पनि छन् । काठमाडौँमा मात्रै कम्तीमा दिनको ५० लाख रुपैयाँको कारोबार हुन्छ । यहाँ साना ठूला गरेर २ सयको हाराहारीमा यस्ता बेकरी क्याफे छन् । यसमा विशेषगरी शुक्रवार र शनिवार बढी कारोवार हुने गर्छ । बेकरी क्याफेले हजारौँ जनशक्तिलाई रोजगारी उपलब्ध गराएका छन् । अहिले बेकरी क्याफेको सङख्या बढिरहेको छ । ती सबै चलिरहेका छन् ।
तर , कतिपय ठूलो लगानीका बेकरी क्याफे त बन्द भएको देखिन्छ ?
समय सापेक्ष परिवर्तन गर्दै जानुपर्छ । नयाँ स्वाद दिन सक्नुपर्छ । बजार व्यवस्थापन गर्न सक्नुपर्छ । मनोरञ्जन र व्यवसायप्रति ध्यान केन्द्रित गर्नुपर्छ । सजगता नअपनाएका कारण पनि केही बन्द भएका हुन सक्छन् । लगानी गर्ने वातावरण भएन भने पनि बन्द हुन्छन् ।