''कम गुणस्तरका सामानले ब्राण्डेडलाई असर गर्दैन'' - जगदीश पराजुलुली
फ्लोर इञ्चार्ज, एभीन्यू मार्केटिङ प्रालि
ब्राण्डेड स्पोर्ट्स् वियरको नेपाली बजार कस्तो छ ?
अहिले धेरै नेपालीहरू ब्राण्डप्रति सचेत हुँदै गइरहेका छन् । यसले पनि ब्राण्डेड स्पोर्ट्स् वियरको बजार राम्रो हुँदै छ । हामीले नेपालमा नाइक ब्राण्डको स्पोर्ट्स्का सामान विक्री गर्न लागेको १० वर्ष भइसकेको छ । विगतको तुलनामा अहिले यसको बजार ज्यादै फराकिलो हुँदै गएको छ । तर, धेरै ब्राण्डेड सामानको उपलब्धताले ग्राहक भने बाँडिएका छन् । अहिले ब्राण्डप्रति सबै ग्राहक चनाखो भएका छन् । विज्ञापन तथा प्रचारप्रसारले मानिसमा ब्राण्डेड स्पोर्ट्स् वियरप्रति मोह बढ्दै छ । त्यसमा पनि बदलिँदो परिवेश र आधुनिकीकरणका कारण पनि अन्तरराष्ट्रिय ब्राण्ड खोज्दै ग्राहक आउने गर्दछन् । हाम्रो ब्राण्डका स्पोर्ट्स् वियर धेरैजसो व्यायामका लागि प्रयोग हुने गर्दछन् ।
नाइकका कुन वर्गका ग्राहक बढी छन् ?
हामीकहाँ स्पोर्ट्स् वियर खरीद गर्नका लागि अधिकांश युवा वर्ग नै आउने गरेका छन् । करीब १८ देखि ३५ वर्ष उमेरका वर्ग हाम्रा मुख्य ग्राहक हुन् ।
नाइकका स्पोर्ट्स् वियरको विशेषता के हो ?
विश्वमा स्पोर्ट्स् वियरका लागि धेरै ब्राण्डहरू छन् । तिनीहरू सबैको आ-आफ्नो विशेषता हुन्छ । हाम्रो ब्राण्डको स्पोर्ट्स् वियरको कुरा गर्नुपर्दा सबैभन्दा पहिला नाइकका सामान आरामदायी हुन्छन् । यसका सामानले शरीरलाई हानी गर्दैनन् । लगाउँदा हलुका र पसिना सोस्ने किसिमका हुन्छन् । नाइकको उत्पादनको गुणस्तर विश्वभर एउटै छ । यो अमेरिकाको ब्राण्ड हो । तर, नेपालमा भने यसको आयात थाइल्याण्डबाट हुन्छ । नेपाली बजारमा अन्य सामानको तुलनामा नाइकका जुत्ताको माग बढी छ । नाइकका सामानमा हरेक पल्ट केही न केही नयाँ परिवर्तन भएर आउने गर्दछन् ।
ब्राण्डेड स्पोर्ट्स् वियरको व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
यो व्यवसायमा प्रतिस्पर्धा अहिले ज्यादै छ । नेपाली बजारमा उपलब्ध स्पोर्ट्स् वियरमध्ये एडिडास, रिबोक, नाइक र पुमाबीच प्रतिस्पर्धा हुने गर्दछ । सबैले ग्राहक तान्नका लागि सक्दो प्रयास गरिरहेका छन् ।
यस्ता सामानको व्यवसायमा कुन विषयमा प्रतिस्पर्धा हुने गर्दछ ?
स्पोर्ट्स् वियर भनेको नै नयाँनयाँ मोडलका लागि भनेजस्तो भइसकेको छ । कम्पनीहरूले पनि नयाँ र आकर्षक मोडलहरू उत्पादन गरेर ग्राहकलाई आकर्षित गर्ने गरेका छन् । सबैले गुणस्तरीय उत्पादनका साथै आकर्षित मोडल तथा आरामदायी सामान उत्पादनमा जोड दिइरहेका छन् । अहिले सबै कम्पनीहरू आफ्नो छुट्टै पहिचान बनाउने कोशिसमा छन् ।
बजारमा ब्राण्डेड सामानका नाममा सस्ता र कम गुणस्तरका सामानहरू पाइन्छन्, यस्ता सामानले ब्राण्डेडको व्यवसायमा कस्तो प्रभाव परेको छ ?
बजारमा हाम्रो ब्राण्डको नाम भएका कम गुणस्तरका सामान पाउन सकिन्छ । तर, यस्ता सामानले हाम्रो व्यवसायमा खासै असर पारेको छैन । कम गुणस्तरका सामान खरीद गर्ने र हामीकहाँ आउने ग्राहक फरक छन् । ब्राण्डेड सामान प्रयोग गर्ने मानिसले त्यसको गुणस्तर तथा कपडा हेरेर नै पत्ता लगाउन सक्छन् । हाम्रा ग्राहक सधैं हामीकहाँ नै आउने गर्दछन् । त्यसैले पनि कम गुणस्तरका सामानले ब्राण्डेड स्पोर्ट्स् वियरको व्यवसायमा केही फरक पार्दैन ।
नाइक ब्राण्डका कस्ता स्पोर्ट्स् वियरको माग बढी छ ?
हामीले सबै खेलका लागि नाइकका स्पोर्ट्स् वियर उपलब्ध गराउँदै आएका छौं । तर, व्यायाम र दौडका लागि आवश्यक सामग्रीको माग बढी हुने गरेको छ । यस्ता सामानहरू तुलनात्मक रूपमा जाडो मौसममा बढी विक्री हुन्छन् । नाइकका स्पोर्ट्स् वियर खासै महँगा छैनन् । अन्य ब्राण्डको तुलना गर्दा गुणस्तर र आकर्षणका कारण पनि उस्तै रहेको छ । यस कारण पनि सबै जसो सामग्रीको माग राम्रो छ । हामीकहाँ नाइकका २ हजारदेखिका सामग्री उपलब्ध छन् । यो ब्राण्डेड सामान खोज्ने नेपाली उपभोक्ताको पहुँचभित्र नै पर्दछ ।
व्यवसाय शुरू गरेको १० वर्षको अवधिमा कस्तो परिवर्तन भएको छ ?
समय र परिवेशअनुसार सबै कुरामा परिवर्तन भइरहेको छ । पहिलाको तुलनामा अहिले बजार व्यापक छ । हामीले पहिला वर्षको दुइ पटक मात्र सामान ल्याउँथ्यौं । तर, अहिले प्रत्येक २ महीनामा एक पटक सामान आयात गर्दछौँ ।
ग्राहकको रुचिमा चाहिँ कस्तो परिवर्तन पाउनुभयो ?
ग्राहकको रुचिमा धेरै परिवर्तन भएको छ । ग्राहकको मागअनुरूप नै कम्पनीले सामान उत्पादन गर्दछ । पहिलाका ग्राहकलाई सामान मात्र भए पुग्थ्यो । उनीहरूलाई कुनै निश्चित ब्राण्डको सामान उपलब्ध गराए खुशी भएर जान्थे । तर, अहिलेका ग्राहक ज्यादै सचेत छन् । उनीहरूलाई ब्राण्डका नयाँनयाँ मोडलको समेत सबै ज्ञान हुन्छ । अहिलेका ग्राहक सामानका बारेमा पूर्ण जानकारी राखेर मात्र किन्न आउँछन् ।
नेपालमा स्पोर्ट्स् वियर व्यवसायको भविष्य कस्तो छ ?
ब्राण्डेड स्पोर्ट्स् वियरको बजार अहिले पनि बढिरहेको छ । भविष्यमा यसको बजार नबढ्ने भन्ने त शङ्का नै छैन । नेपालीहरूलाई ब्राण्डेड सामानको महत्व तथा प्रयोगको फाइदाबारे जानकारी भइसकेको छ । ब्राण्डेड सामानप्रति आकर्षण पनि बढिरहेको छ । अझै सञ्चारमाध्यमको व्यापकताले अन्तरराष्ट्रिय स्तरका सबै सामानको माग यहाँ पनि हुन थालेको छ । भविष्यमा यस्ता सामानको माग बढ्ने निश्चित छ । यस अर्थमा पनि ब्राण्डेड स्पोर्ट्स् वियरको भविष्य राम्रो छ ।
उपत्यकाबाहिर पनि नाइकको शोरूम स्थापना गर्ने योजना छ ?
अहिलेलाई त्यस्तो कुनै नयाँ योजना छैन । हामीले काठमाडौंबाट नै नेपालभरका ग्राहकलाई विक्री गरिरहेका छौँ । बाहिर शोरूमको स्थापना गर्दा पनि ग्राहकहरू उपत्यका नै धाउँछन् । किनभने उपत्यकामा छनोटको सुविधा बढी हुन्छ । ब्राण्डेड सामान खरीद गर्न काठमाडौं नआएसम्म उनीहरूको चित्त बुझदैन । यहाँ अरू ब्राण्डसँग पनि तुलना गर्न पाउँछन् ।
नाइकको बजारहिस्सा कति छ ?
नेपालमा चलेका ब्राण्डेड स्पोर्ट्स् वियर मुख्य चार ओटा छन् । त्यसैलाई आधार मानेर भन्नुपर्दा हामीले नेपाली बजारको ३० देखि ४० प्रतिशत बजार लिएका छौँ । हामीले नियमित ग्राहकका लागि दश प्रतिशतसम्म छूटको व्यवस्था गरेका छौं ।