शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''वार्षिक १४ अर्बको ग्यास खपत हुन्छ'' - ज्ञानेश्वर अर्याल

अध्यक्ष,
ग्यास विक्रेता महासङ्घ नेपाल


ग्यास विक्रेता महासङ्घले के गर्दै छ ?

नेपालमा एलपी ग्यासको व्यावसायिक रूपले विक्री २०२८ सालबाट शुरू भएको हो । विक्रेता र उपभोक्ताका समस्याको आवाज उठाउन विगत २ वर्षअघि ग्यास विक्रेता महासङ्घ अस्तित्वमा आएको हो । महासङ्घमा ४५ ओटा जिल्लासङ्घ आबद्ध भइसकेका छन् । हामीले काठमाडौँ जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरेका छौं । काठमाडौँका हरेक क्षेत्रमा ३ सयभन्दा बढी सदस्य आबद्ध छन् । एलपी ग्यास व्यवसायसम्बद्ध समस्याको उचित समाधान गर्न सम्बन्धित निकायलाई जागरुक बनाउने काम हामीले गरिरहेका छौं ।

नेपालमा एलपी ग्यासको विक्रीवितरणको प्रक्रिया कस्तो छ ?

इण्डियन आयल कर्पोरेशनसँग नेपाल आयाल निगमले 'पर्चेज डेलिभरी' गर्छ । सोहीअनुसार नेपालका बोटलिङ प्लाण्ट सिलिण्डरमा भर्ने (कम्पनी)हरूले रिफिलिङ गर्छन् । नेपालमा भएका कम्पनीलाई उद्योगका रूपमा भन्दा बोटलिङ प्लाण्टका रूपमा हेरिनुपर्छ । यस्ता कम्पनीले ल्याउने र रिफिलिङ गर्ने काम मात्र गर्छन् । त्यस्तै, कम्पनीका डिलरहरूले सिलिण्डर आमउपभोक्तासम्म पुर्याउने काम गरिरहेका छन् ।

कम तौल र कम गुणस्तरका सिलिण्डर विक्री हुनुको कारण के हो ?

अनुगमन प्रभावकारी हुन सकेको छैन । एलपी ग्यासमा धेरै समस्या छन् । विशेष गरी सिलिण्डर, रेगुलेटर र पाइपमा मुख्य समस्या छ । नेपाली बजारमा सुरक्षाको मापदण्ड पूरा नगरेका सिलिण्डर धेरै छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको निश्चित मापदण्डभित्र धेरै ग्यास कम्पनी आएका छैनन् । अहिले कतिपय कम्पनीका सिलिण्डर हाइड्रोस्टेटिक परीक्षण नगरीकन बजारमा आएका छन् । कम गुणस्तरका वस्तुलाई उपभोक्ताले महँगोमा खरीद गर्नु परिरहेको छ । खास गरी सरकारका जिम्मेवार निकायहरू नै अनुगमन गर्न चाहँदैनन् । किनकि, उनीहरू स्वयम् व्यापारीहरूको प्रभावमा छन् । भारतमा कुनै कम्पनीका कारण सानो दुर्घटना भएमा तत्काल उसको अनुमतिपत्र खारेज गरिन्छ । तर, नेपालमा कानूनसमेत प्रभावकारी बन्न सकेको छैन ।

हाइड्रोस्टेटिक परीक्षण के हो ?

करीब ९० केजी एयरप्रेसरमा सिलिण्डर पड्किन्छ ।  सिलिण्डर ९० केजीभन्दा कम एयरप्रेसरमा नै पड्किएमा त्यस्ता सिलिण्डरलाई प्रयोगयोग्य मानिँदैन । यस प्रक्रियालाई हाइड्रोस्टेटिक परीक्षण भनिन्छ । भारतमा बोटलिङ गर्ने सबै सरकारी कम्पनी भएकाले उनीहरू आफै हाइड्रोस्टेटिक परीक्षण गर्छन् । तर, अन्य मुलुकमा भने तेस्रो पक्षबाट परीक्षण हुने गरेको छ ।  नेपालमा बोटलिङ गर्नेहरूलाई नै हाइड्रोस्टेटिक परीक्षण गर्ने अधिकार दिइएको छ । यसले गर्दा सही ढङ्गले परीक्षण हुन सकेको छैन । अहिले बजारमा गुणस्तरहीन सिलिण्डरको उपस्थिति बढेको छ । यसले ठूलो दुर्घटना निम्त्याउने सम्भावना छ । त्यस्तै, बजारमा रेगुलेटर र पाइप पनि गुणस्तरहीन आइरहेका छन् । अहिले उत्पादक कम्पनीले नेपाल गुणस्तर (एनएस) प्रमाणपत्र नलिइकनै बजारमा सामान विक्री गरिरहेका छन् ।

एक पटक तयार गर्ने सिलिण्डरको सङ्ख्यालाई 'लट' भनिन्छ । उक्त लटमध्येबाट तीन-चार ओटा सिलिण्डरलाई नमूनाको रूपमा हाइड्रोस्टेटिक विधिबाट विस्फोट गरिन्छ । तर, नेपाली उपभोक्तालाई कसले हाइड्रोस्टेटिक परीक्षण गर्छ भन्ने नै थाहा छैन । सरकारले गर्नुपर्ने काम नेपालमा व्यवसायीहरूले गर्दै आएका छन् ।  उपभोक्ताका लागि यो बिडम्वनापूर्ण कुरा हो । व्यवसायीहरूबाट उपभोक्तालाई झुक्याउने काम भइरहेको छ  । र, त्यसको संरक्षण राज्यले गरेको छ । उपभोक्तामाथि राज्यले मनोमानी गरिरहेको छ ।

नेपालमा वार्षिक कति सिलिण्डर ग्यास खपत हुन्छ ?

गत आर्थिक वर्षमा १ करोड ५ लाख सिलिण्डर एलपी ग्यास खपत भएको थियो । चालू आवमा पनि सोहीअनुपातमा विक्री हुने अनुमान छ ।  प्रत्येक वर्ष१५ देखि २० प्रतिशत एलपी ग्यासको खपत बढेको छ । एउटा सिलिण्डर ग्यासको औसत मूल्य १३ सय २५ रुपैयाँ राख्दा नेपालमा वार्षिक १४ अर्ब रुपैयाँबराबरको ग्यास खपत हुन्छ । नेपालमा आयात हुने ५० प्रतिशत ग्यासको प्रयोग व्यावसायिक प्रयोजनमा हुन्छ । आधाजति मात्र घरायशी प्रयोजनमा प्रयोग हुने गरेको छ ।

एलपी ग्यासको विक्रीवितरणको मुख्य समस्या के हो ?

अहिले सबैभन्दा ठूलो समस्या कर हो । सरकारले ग्यासको विक्रीमा १३ प्रतिशत कर लगाएको छ । तर, विश्वमा एलपी ग्यासको विक्रीमा कहीँ पनि कर लगाइँदैन । हामीले व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपी ग्यासमा कर लगाइनुपर्छ भनेका छौं । तर, घरायशी प्रयोजनको ग्यासमा कर लगाइनु हुँदैन । विशेष गरी तारे होटलमा प्रयोग हुने ग्यासमा दोस्रो मूल्य तय गरिनुपर्छ । यसको उचित वितरणका लागि घरायशी प्रयोजनमा प्रयोग हुने ग्यास नेपाल आयल निगम आफैले विक्री गर्नुपर्छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यास मात्र व्यवसायीलाई विक्री गर्न दिइनुपर्छ ।

तपाईंहरूले पाँच केजी क्षमताका सिलिण्डर विक्री गर्न पाउनुपर्ने माग राख्नुभएको थियो, अहिले के हुँदै छ ?

हामीले पाँच केजी क्षमताका एलपी ग्यास सिलिण्डर विक्री गर्नुपर्छ भन्दै आएका छौं । यो माग अहिले पनि कामय छ । विशेष गरी तराईका जिल्ला र गरीबीको सङ्ख्या उच्च रहेका ठाउँमा यसको माग छ । उनीहरूले एकै पटक १३ सय २५ रुपैयाँ तिर्नसक्ने अवस्था छैन । त्यसैले, हामीले पाँच केजीको सिलिण्डर उपलब्ध गराउनुपर्छ भनेका हौं । सरकारी निकायका केही पदाधिकारी व्यापारीका प्रभावमा परेर पाँच केजीको सिलिण्डर बजारमा ल्याउन नदिने प्रयत्नमा छन् । बोटलर्सहरूकै मुखबाट पनि यो कुरा बाहिर आएको छ । भैरहवा, विराटनगर, वीरगञ्जलगायत शहरमा पाँच केजीका कम गुणस्तर भएका सिलिण्डरको उपस्थिति बढी छ । कम गुणस्तरका सिलिण्डरलाई रोक्ने एउटै विधि पाँच केजी क्षमताका सुरक्षित एलपी ग्यास सिलिण्डर बजारमा पठाउनु हो ।