शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''६ महीनाभित्र राजधानीमा सेवा विस्तार गर्दैछौं''
सी मणि चौलागाईं
प्रमुख कार्यकारी अधिकृत
नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)
क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठन (एनआरएन)का सदस्य सी मणि चौलागाईं २ वर्षअघि नेपाल आएका हुन् । विश्वका चर्चित दूरसञ्चार सेवा प्रदायक कम्पनीले दिने आकर्षक आर्थिक एवम् भौतिक सुविधा त्यागेर उनी नेपाल स्याटेलाइट टेलिकम प्रालिजस्तो अपेक्षाकृत सानो कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका छन् । यसअघि विश्वका ३० भन्दा बढी मुलुकका प्रतिष्ठित टेलिकममा काम गरिसकेका चौलागाईं आफू नेपाल आउनुलाई 'माटोले तानेको’ बताउँछन् । चीन र भारतको उन्नतिमा त्यहाँका गैरआवासीय नागरिकको अहम् भूमिका रहेजस्तै शान्ति-सुरक्षा कायम भएमा एनआरएनहरू पनि नेपाल फर्केर विकास निर्माणमा लाग्ने वातावरण बन्न सक्ने चौलागाईंको ठहर छ । बेइजिङ युनिभसिटी अफ पोष्ट्स एण्ड टेलिकम्युनिकेशनबाट इञ्जिनीयरिङ गरेका ३८ वर्षीय चौलागाईंसँग नेपाल स्याटेलाइट टेलिकमको काम तथा दूरसञ्चारमा नेपालको स्थितिबारे आर्थिक अभियानका यादव थपलियाले गरेको कुराकानीको सारः

विश्वका चर्चित टेलिकम कम्पनीमा काम गरिसक्नुभएको तपाईं किन नेपाल फर्कनुभएको ?

मेरो ५ वर्षको अध्ययन र १३ वर्षको टेलिकमको करिअरमा विश्वका ३० भन्दा बढी मुलुकमा काम गर्ने अवसर पाएँ । टेलिकमको मल्टीनेशनल कम्पनी हुबई टेक्नोलोजीबाट मेरो करिअर शुरू भयो । भौतिक र आर्थिक दृष्टिले विश्वको उच्चस्तरीय सुविधा उपभोग गर्दै थिएँ । तर पनि मनभित्र एक किसिमको असन्तुष्टि र छटपटी थियो । सधैं विदेशीका लागि मात्र काम गरियो, आफ्नो मुलुकमा केही गर्न पाए हुन्थ्यो भन्ने भावनाले नै त्यो असन्तुष्टि र छटपटी उत्पन्न गराएको थियो । सन् २००९ को अप्रिलमा नेपाल स्याटेलाइट टेलिकमले मलाई अवसर उपलब्ध गरायो । म खुशी भएर नै नेपालमा काम गर्न आएँ । तर, विदेशमा जुन आर्थिक र भौतिक सुविधा मैले प्राप्त गर्दै आएको थिएँ, त्यो चाहिँ नेपालमा छैन । तथापि, म आफ्नो जन्मभूमिमा काम गर्न पाएकोमा अत्यन्तै सन्तुष्ट छु । इमान्दारीका साथ भन्ने हो भने मलाई माटोले तानेको हो ।

लाइसेन्स लिएको १५ महीनाभित्र मध्यपश्चिमका २ सय ७३ गाविसमा फोन सेवा पुर्याउने नेपाल स्याटेलाइटको घोषणा पूरा भएन नि ?

निश्चय पनि तोकेको समयमा हामीले काम पूरा गर्न सकेनौं । यसका विविध कारण छन् । तर, मुख्य कारण चाहिँ मध्यपश्चिमको भौगोलिक विकटता नै हो । अत्यन्तै विकट गाउँहरूमा टेलिफोनको टावर निर्माण गरेर फोन सञ्चालन गर्ने कुरा आफैमा ठूलो चुनौती हो । नेपाल स्याटेलाइटका प्रवर्द्धक अजयराज सुमार्गीले यो चुनौतीलाई स्वीकार गर्ने जुन आँट गर्नुभयो त्यो नै महत्त्वपूर्ण कुरा हो । १७ हजार किलोग्रामको टावर हेलिकप्टरमा ढुवानी गर्नुपर्ने, सडक यातायातको अभावले मानिसले नै बोकेर पुर्याउनुपर्ने बाध्यताले यो काम कठिन भएको हो । ४ हजार ५ सय मिटरको उचाइसम्म सामान पुर्याएर टावर निर्माण गर्नुपर्ने हुनाले घोषित समयसीमाभित्र काम पूरा गर्न सकेनौं । त्यसकारण हामीले नेपाल दूरसञ्चार प्राधिकरणसँग अनुरोध गरेर समयसीमा बढाएर काम पूरा गर्यौं ।

कति समय बढाउनुभयो ?

पहिलो पटक ६ महीना र दोस्रो पटक ६ महीना गरी १ वर्षसमय थपेर काम सिध्यायौं । तर, काम सिध्याएपछि पनि त्यस अवधिमा हाम्रा प्राविधिकहरू गएर प्रमाणित (भेरिफिकेशन) गर्न झण्डै ३ महीना लाग्यो । त्यसैले गर्दा समय अलि बढी लागेको जस्तो देखियो ।

तपाईंहरूले लिएको १९ मेगाहर्जको फ्रिक्वेन्सी बढी भयो भनेर दूरसञ्चार प्राधिकरणले फिर्ता लिने कुरा गर्दैछ नि ?

हामीले त हाम्रो आवश्यकता अनुसारको फ्रिक्वेन्सी लिएका हौं । त्यो फिर्ता लिने भन्नेबारे हामीले कुनै जानकारी पाएका छैनौं । त्यसो त १९ मेगाहर्ज भनेको दूरसञ्चार सेवा प्रदायक एउटा राष्ट्रिय अपरेटलाई चाहिने नै इकाइ हो । ग्रामीण भेगबाट दूरसञ्चार सेवा शुरू गरे पनि नेपाल स्याटेलाइट टेलिकम राष्ट्रिय अपरेटर हो । राष्ट्रिय अपरेटरलाई करीबकरीब त्यही 'रेञ्ज’को फ्रिक्वेन्सी आवश्यक पर्छ । त्यसैले दिइसकेको फ्रिक्वेन्सी प्राधिरकणले फिर्ता गर्छु भन्न मिल्दैन ।

सीडीएमए र जीएसएम प्रविधिको अनुमति लिएर पनि प्रयोगमा नल्याउनुको कारण के हो ?

जीएसएम प्रविधिको प्रयोग त हामीले शुरू गरिसकेका छौं । तर, सीडीएमए प्रविधिको प्रयोगका निम्ति भने योजना बनाइरहेका छौं । हाम्रो सेवा मध्यपश्चिमका १५ जिल्लाको २ सय ७३ गाविसमा मात्रै सीमित रहँदैन । पश्चिम, सुदूरपश्चिम हुँदै राजधानीसम्म सेवाविस्तार गर्ने हाम्रो लक्ष्य हो । त्यसैले जीएसएम र सीडीएमए दुवै प्रविधिको प्रयोग भरपुर हुनेछ । हामीले थन्क्याउनका लागि प्रविधिको अनुमति लिएका होइनौं ।

अहिले बीटीएस (बेस ट्रान्सरिसिभर स्टेशन) कति जिल्लाका कति ठाउँमा राखिएको छ ?

बीटीएसको विस्तृत विवरण तत्कालै मसँग छैन । तर, १५ जिल्लामा ६८ बीटीएस बेस स्थापना गरिएको छ । बाँकी २६ ओटा स्टेशन बन्ने क्रममा छन् ।

दूरसञ्चार प्राधिकरणको सहयोग पाइरहनुभएको छ ?

राजपत्रमा प्रकाशित सूचनाले व्यवस्था गरेको अवस्थालाई पूरा गरेर हामीले नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स लिएका हौं । सिधा भन्नुपर्दा, हामीले एउटा चुनौतीलाई स्वीकार गरेर यो लाइसेन्स लिएका हौं । प्रतिबद्धताअनुसारको काम गरेकै छौं । तर, केही निश्चित कुराहरू (पूर्वाधार प्रयोग) अप्टिकल फाइवर (पूर्व पश्चिम सूचना हाइवे) उपयोग गर्ने सम्बन्धमा चाहिँ प्राधिकरणले आनाकानी गरिरहेको छ । त्यो सूचना हाइवे नेपाल टेलिकमको भए पनि राष्ट्रकै सम्पत्ति हो । त्यसको उपयोग गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूले पाउनुपर्छ भन्ने हाम्रो आग्रह हो । त्यो फाइवरको प्रयोग हामीले पनि गर्न पाउने हो भने समानान्तर रूपमा सय दुई सय करोड खर्च गरेर अर्को फाइवर बिछयाउनुपर्दैनथ्यो । नेपाल टेलिकमको २४ कोरको त्यो फाइवर अधिकतम खालि नै छ । त्यसमध्ये दुईओटा अथवा हामीलाई आवश्यक फाइवर किन्न दिने हो भने टेलिकमको व्यापार बढ्नुका साथै राष्ट्रको स्रोतसाधनको सही ढङ्गले प्रयोग हुन सक्थ्यो । यसबाट सबैलाई लाभ पनि पुग्छ । यसबारे दूरसञ्चार प्राधिकरणले सहयोग गरिदेओस् भन्ने हामी चाहन्छौं । यसबाहेक सबैले मिलिजुली टावर प्रयोग गर्न पाउनुपर्ने कुरा पनि छ । जस्तो, डोल्पामा हाम्रो १२ ओटा टावर छ भने त्यहाँ एनसेल वा एनटीसीले किन टावर बनाउने ? हाम्रै टावर प्रयोग गर्दा काम चल्छ । त्यस्तै, एनटीसी र एनसेलको टावर भएको ठाउँमा हामीले किन अर्को टावर बनाउनु ? सबैले सबैको यस्ता पूर्वाधार प्रयोग गर्न पाएमा लागत कम पर्छ । यसबाट त ग्राहकलाई अझ बढी फाइदा दिन सकिन्छ ।

यो प्रस्ताव प्राधिकरणसमक्ष राख्नुभएको छैन ?

राखेको छु । प्राधिकरण पनि लागिरहेको छ । तर, असाध्यै ढिलो भइरहेको छ । विश्वका कतिपय देशहरूमा त नियमले नै नयाँ टावर राख्न नदिएर भएकै टावर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । तर, हामीकहाँ त्यस्तो हुन सकेको छैन । सूचना हाइवे (अप्टिकल फाइवर) प्रयोगको बारेमा भने नेपाल टेलिकम फाइवर दिन्न, ब्याण्डविथ चाहिँ दिन्छु भन्छ । ब्याण्डविथ किन्दा त हामीलाई धेरै महँगो पर्छ । फाइवर पाइयो भने हामीले चाहेको ठाउँमा चाहेको जति सूचना आदानप्रदान गर्न पाइन्छ । ब्याण्डविथमा यो सुविधा हुँदैन । त्यसैले अप्ठेरो परेको छ ।

ग्रामीण क्षेत्र हुँदै राजधानीसम्म सेवा विस्तार गर्ने योजनाचाहिँ कहाँ पुग्यो ?

२०११ को अन्त्यसम्ममा राजधानीमा सेवा विस्तार गर्ने हाम्रो लक्ष्य हो । योजनाअनुसार काम भयो भने हामी त्यो लक्ष्यमा पुग्छौं भन्ने विश्वास छ । तर, ढिलै भयो भने पनि २०१२ को मार्चसम्म नेपाल स्याटेलाइटले राजधानीमा आफ्नो सेवा विस्तार गरिसक्नेछ । तर, त्योभन्दा पहिला पश्चिम र सुदूर पश्चिममा हाम्रो सेवा विस्तार हुनेछ । त्यसको लागि भर्खरै प्राधिकरणबाट अनुमति पाइसकेका छौं ।

आफ्नै गेटवेबाट अन्तराष्ट्रिय सेवा चाहिँ कहिलेदेखि शुरू गर्दै हुनुहन्छ ?

त्यसको अनुमति पनि हामीले भर्खरै पाएका छौं । २ महीनाभित्रै आफ्नै गेटवेबाट अन्तरराष्ट्रिय सेवा शुरू गर्नेछौं ।

सबैभन्दा कान्छो कम्पनीको हैसियतबाट प्रतिस्पर्धामा कत्तिको कठिनाइ परेको छ ?

प्रतिस्पर्धा अवश्य पनि अधिक छ । हामी मध्यपश्चिममा गएको थाहा पाएपछि एनसेललगायत ठूला सेवा प्रदायकहरू पनि आक्रामक ढङ्गले त्यो क्षेत्रमा पुगे । हामीले सेवा शुरू गर्नु पहिले नेपालगञ्ज र घोराहीबाहेक एनसेल अन्य क्षेत्रमा पुगेको थिएन । तर, अहिले एनसेल र एनटीसी दुवै धेरै अगाडि बढिसकेका छन् । प्रतिस्पर्धा भनेको प्राकृतिक कुरा नै हो, यसमा अन्यथा मान्नुपर्ने कुनै कारण छैन । हामी ग्रामीण क्षेत्रमा गएकोले त्यहाँ प्रतिस्पर्धा अलि कम हो कि जस्तो पनि देखिएको छ । दैलेख, रोल्पा, डोल्पाजस्ता ठाउँमा प्रतिस्पर्धा कम छ । तर, सम्पूर्णतामा हेर्ने हो भने दूरसञ्चार क्षेत्रमा एकदमै आक्रामक ढङ्गको प्रतिस्पर्धा छ ।

अन्य कम्पनीको तुलनामा नेपाल स्याटेलाइटको महशुल (टयारिफ) महँगो छ, कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?

यसलाई 'प्राइस वार’ पनि भनिन्छ । हामी पनि चाँडोभन्दा चाँडो राष्ट्रिय अपरेटर बनेर एउटै लेवलको 'प्लेइङ फिल्ड'मा पुगौं भन्ने सोचाइमा छौं । नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धामा आउनका निम्ति योजना बनाइरहेका छौं । निकट भविष्यमा अन्य सेवा प्रदायकसरहको टयारिफ दर बनाउनेछौं ।

अहिलेसम्म ग्राहक सङ्ख्या कति पुगे ?

ग्राहक सङ्ख्या ९० हजार पुगेको छ । तर, मध्यपश्चिममा २०११ को अन्त्यसम्म कम्तिमा पनि २ लाख ५० हजार ग्राहक पुर्याउनेछौं । त्यसबेलासम्म सुदूरपश्चिम र पोखरामा पनि हाम्रो नेटवर्क पुगिसकेको हुनेछ । २०११ को अन्त्यसम्ममा सबैतिरका गरी झण्डै ५ लाख ग्राहक पुर्याउने हाम्रो लक्ष्य छ ।

अन्य टेलिकम र नेपाल स्याटेलाइटले दिने सेवा-सुविधामा के फरक छ ?

सबैभन्दा पहिले त हामी नेर्टवर्कको समस्या आउन दिँदैनौं । सेवाहरूमा भ्वाइस र एसएमएस हुन्छन् नै । त्यसबाहेक अतिरिक्त सेवामा भर्च्र्युअल एड्रेश ट्रान्सलेटर 'भ्याट' सेवालाई धेरै केन्द्रित गरिरहेका छौं । गाउँमा साक्षारताको कमीले गर्दा हाम्रा सेवाहरू लिन नसकेको स्थिति पनि छ । तथापि, हामी हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय अतरिक्त सेवाहरू उपलब्ध गराउन कटीबद्ध छौं । मिष्ड कल अलर्ट, सीआरबीटी, एसएमएसजस्ता सेवाहरूमा हामी विशेष रूपमा केन्द्रित छौं । नेपालका अरू सेवा प्रदायकहरूमा देखिएको कमी कमजोरीलाई दृष्टिगत गर्दै उत्कृष्ट सेवा दिने हाम्रो लक्ष्य हो । हेर्दै जाऔं कत्तिको सफल भइन्छ । हामी गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा कसैसँग कुनै पनि कुरामा सम्झौता गर्दैनौं ।

अन्य मुलुकका तुलनामा नेपालमा काम गर्दा भोग्नुपरेका अप्ठेराहरू कस्ता छन् ?

म एउटा मल्टीनेशनल कम्पनीको सिष्टममा काम गरेको व्यक्ति हुँ । त्यस्तो सिष्टमको विकास नभएको अवस्था नेपालमा काम गर्नु साँच्चै नै चुनौतीपूर्ण हुँदो रहेछ । तर, कानूनी र नीतिगत कुराहरू चाहिँ त्यति अप्ठेरा छैनन् । यसबाहेक पनि अप्ठेराहरू छन्, जुन अहिले नै नभनौं ।

दूरसञ्चारमा नेपालको अवस्था कस्तो पाउनुभयो ?

संसारमा दूरसञ्चार क्षेत्रमा विकास गरेका मुलुकमध्ये अमेरिकालाई नै पहिलो मान्नुपर्छ । तर, चीनले अत्यन्तै छोटो समयमा दूरसञ्चार प्रविधिको विकास गरेको छ । नयाँ प्रविधिको विकास गर्ने वित्तिकै पुरानोलाई तुरुन्तै विस्थापित गरिदिने चीनको प्रवृत्ति छ । त्यसले चीनलाई विश्वकै अग्रस्थानमा पुर्याउन खोजिरहेको छ । यूरोप, अमेरिकाजस्ता विकसित देशहरूचाहिँ प्रविधिका मामिलामा केही 'क्लासिक' छन् । तर, सन् १९९० अघिको अवस्थालाई हेर्ने हो भने त्यसबेला चीन र अमेरिकालाई तुलना गर्नै मिल्दैन थियो । सन् २००५ मा आइपुग्दा चीनले विश्व टेलिकमको प्रवृत्तिलाई नै 'ब्रेक' गरेर एउटा नयाँ दिशा प्रदान गर्यो । त्यसैले चीनलाई दूरसञ्चारको 'ट्रेण्ड ब्रेकर' भन्न सकिन्छ । नेपालको दूरसञ्चार प्रविधिलाई हेर्ने हो भने आधारभूत रूपमा मोबाइल फोनमा एउटा यूरोपियन प्रविधि जीएसएम र अर्को अतिरिक्त प्रविधि सीडीएमए प्रयोग भएको छ । संसारका विकसित मुलुकहरूले जुन प्रविधि अपनाएका छन्, नेपालले पनि त्यही अपनाएको छ । जीएसएम यूरोप र अमेरिकामा पनि छ । सीडीएमए अमेरिकामा छ । सीडीएमए प्रविधि यूरोपियनहरूले खासै मन पराउँदैनन् । यी प्रविधिलाई विशिष्टीकृत (अप्टिमाइज) गर्ने, फाइन टयुनिङ (सुन्न सहज) गर्ने प्रक्रिया नै नेपालको मुख्य समस्या हो । नेपालका दूरसञ्चार प्रदायकहरूको मूख्य चुनौती नै फाइन टयुनिङ गर्नुरहेको छ । नेटवर्कको समस्या र आवाजको गुणस्तरीयताका निम्ति अप्टिमाइज र फाइनटयुनिङको अहम् भूमिका हुन्छ । त्यसलाई पूर्ण क्षमतामा उपयोग गरी उच्च गुणस्तरको बनाउने प्रणालीलाई ठीकसँग सञ्चालन गर्न नसक्नु हाम्रो कमजोरी हो ।

नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या पनि यही हो ?

यो त मैले भन्न मिल्दैन । तर, कमजोर उपकरण प्रयोगका कारण यस्तो समस्या उत्पन्न हुन्छ । नेपालका अपरेटरहरूको नेर्टवर्क र भ्वाइस क्वालिटी नराम्रो हुनुका पछाडि राम्रो कम्पनीको उच्चस्तरीय उपकरणहरू नराखेको पनि हुन सक्छ वा क्षमताभन्दा बढी फोन वितरण गर्दा पनि त्यस्ता समस्याहरू देखिन्छन् । नेर्टवर्क र सफा भ्वाइसका निम्ति उच्चस्तरीय उपकरणका साथमा तिनलाई राम्ररी जडान गर्नु पनि महत्त्वपूर्ण कुरा हो ।

नेपाल स्याटेलाइटको नेर्टवर्कमा चाहिँ त्यस्ता समस्या आउँदैनन् ?

नेपाल स्याटेलाइटले चीनमा निर्मित उच्चस्तरीय उपकरणहरू प्रयोग गरेको छ । त्यसका आधारमा हाम्रो सेवा उच्च गुणस्तरको हुनेछ भन्नेमा हामी ढुक्क छौं । चीनमा पनि राम्रा र नराम्रा उपकरणहरू उत्पादन गर्ने दुवै खालका कम्पनीहरू छन् । तर, हामीले राम्रोमध्येमा पनि राम्रा तथा विश्वस्तरीय उपकरणहरू जडान गरेका छौं । त्यसैले हामीले प्रदान गर्ने दूरसञ्चार सेवामा त्यस्ता कुनै समस्या नआउने कुरामा हामी विश्वस्त छौं ।