शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पार्टीप्यालेसमा अनुगमन भएको छैन''

प्रदीपकुमार कर्माचार्य
सचिव
ललितपुर रेण्टल, क्याटरिङ तथा पार्टीप्यालेस सङ्घ

पार्टीप्यालेसलाई कसरी ब्याख्या गर्नुहुन्छ ?

सबैभन्दा पहिले क्याटरिङ र पार्टीप्यालेसको परिभाषा स्पष्ट हुनु आवश्यक छ । क्याटरिङले ग्राहकको चाहनाअनुसार घर वा तोकिएको ठाउँमा गएर सेवा दिनुपर्छ । तर, पार्टीप्यालेसमा निश्चित ठाउँ तोकिएको हुन्छ, जहाँ ग्राहक आफैँ जानुपर्छ ।

पार्टीआयोजना गर्न पार्टीप्यालेसलाई नै रोज्ने प्रवृत्ति बढेको छ, किन ?

सबै मान्छेलाई राम्रो ठाउँमा पार्टीआयोजना गर्ने चाहना हुन्छ । वातावरण, सरसफाई र स्तरीय सेवाले पनि मान्छेहरू पार्टीप्यालेसप्रति आकषिर्त भएका हुन् । यस्ता पार्टीप्यालेसमा खर्चअनुसार पर्याप्त सुविधा उपलब्ध हुन्छन् । क्याटरिङबाट पार्टीआयोजना गर्दा घरछेउमा फोहोर र झन्झटिलो हुनेगर्छ । ठूला र स्तरीय होटलमा सबै मान्छेहरू पार्टीआयोजना गर्न सक्दैनन् । यसका लागि विकल्पको रूपमा पार्टीप्यालेस अगाडि आएका छन् । खास गरी मध्यम वर्गका मान्छेका लागि पार्टीप्यालेस उपयुक्त छन् ।

यसको व्यावसायिक भविष्यचाहिँ कस्तो देख्नुहुन्छ ?

पाँच वर्षघि एउटा साधारण पार्टीप्यालेस सञ्चालन गर्न २५/३० लाख रूपैयाँ भए पुग्थ्यो । तर, अहिले यस्तै प्रकृतिको पार्टीप्यालेस सञ्चालनमा ल्याउन कम्तीमा पनि ५०/६० लाख रूपैयाँ खर्चिनुपर्छ । घरछेउमा भोज आयोजना गर्न पर्याप्त ठाउँ नहुनु पार्टीप्यालेसको सङख्या बढ्ने अर्को कारण हो । हाम्रो संघमा दर्ता भएका पार्टीप्यालेसले स्तरीय सेवा दिइरहेका छन् ।

कतिपय ठूलो लगानीका पार्टीप्यालेस त बन्द भएका छन् नि ?

हो, कतिपय पार्टीप्यालेस बन्द पनि भएका छन् । ठाउँको अभाव र कारोबारमा आउने ह्रासबाट व्यवसायीहरूले यस क्षेत्रबाट केही गुमाएका पनि छन् । यस्तै समस्या समाधन गर्न सहयोगीको भूमिका खेल्नको लागि हामी चाँडै महासंघको रूपमा जाँदै छौँ । यसका लागि काठमाडौँ जिल्ला संघ पनि गठन हुन लागेको छ । अहिले यसबाहेक पार्टीप्यालेसको छुट्टै संघ/सस्था भएजस्तो लाग्दैन । अब यही संघ महासंघ बन्ने तयारीमा छ । यसमा देशभरिका पार्टीप्यालेस समेटिने विश्वास लिएका छौँ ।

सङ्घ गठन गर्नुपर्ने आवश्यकता महशुस किन गर्नुभयो ?

एउटै व्यवसायमा लागेका व्यवसायीहरू सङगठित हुनको लागि पनि संघ बनाएका हौँ । व्यवसायीका समस्या समाधान गर्ने पनि हामी नै हो । यसका लागि एकजूट भएका हौँ । काम पनि बनोस्, सहयोग पनि होस् भन्ने हाम्रो चाहना हो । वि.सं. २०५५ सालमा हामीले यस संघलाई गठन गरेका हौँ ।

यहाँको अनुभवमा सामान्यतः एउटा पार्टीप्यालेसले दैनिक कतिको कारोबार गर्छ ?

कुनै पनि पार्टीप्यालेसले यति नै कारोबार गर्छ भन्ने तथ्याङ्क छैन । औसतमा एउटा पार्टीप्यालेसले दैनिक २ लाख ५० हजार रूपैयाँसम्मको कारोबार गर्छन् । नेपालीको जीवनस्तर उकासिँदै गएको छ । यसले पनि पार्टीप्यालेसको व्यावसायिक विकास हुन्छ ।

कस्ता मानिसहरूले पार्टीको आयोजना गर्छन् ?

निम्न वर्गका मान्छेले त जसरी पनि काम चलाउँछन् । तर, मध्यम वर्गका अधिकांश मान्छे पार्टीप्यालेसमै आउने गर्छन् । होटलमै जाने उच्च वर्गका सीमित मान्छे मात्रै हुन् । यस्ता पार्टीप्यालेसमा ग्राहकको अर्डरअनुसार विभिन्न खानाका परिकार उपलब्ध हुन्छन् । मटन, चिकेन करी, मटन र पनिर सबै किसिमका परिकार पाउन सकिन्छ । ग्राहकको अर्डरअनुसार पाँच तारे होटलमा उपलब्ध हुने सेवा पार्टीप्यालेसले पनि उपलब्ध गराउँछन् । तारे होटलको विकल्पका रूपमा पार्टीप्यालेसलाई लिन सकिन्छ । तारे होटलले दिने त्यही सेवालाई पार्टीप्यालेसले आधा मूल्यमा उपलब्ध गराउँछन् ।

पार्टीप्यालेसले कम कारोबार देखाएर कर छलेको आरोप लाग्छ नि ?

यस संघको पहिलो काम सबै पार्टीप्यालेसलाई प्यान र भ्याटमा दर्ता गर्न सहयोग गर्ने हो । कर छल्ने माथिल्लो निकायदेखि नै हो । सरकामा बस्नेहरूले नै सिकाइरहेका छन् । पहिले त कर उठाउने व्यक्ति सक्षम हुनुपर्छ । सबैभन्दा पहिले त पार्टीप्यालेसमा अनुगमन शुरु गर्नुपर्छ । ललितपुरमा मात्रै २ हजार मान्छे अट्न सक्ने क्षमता भएका पार्टीप्यालेस छन् । समग्रमा ५ हजार जना अट्न सक्ने क्षमता भएका पार्टीप्यालेस पनि छन् । हाम्रा धेरै कार्यक्रम उद्योग बाणिज्य महासंघसँगको सहकार्यमा हुँदै आएका  छन् ।

ठूलो लगानीका पार्टीप्यालेस बन्द हुनुको कारण के हुनसक्छ ?

लाखौ रूपैयाँ मासिक भाडा तिर्ने पार्टीप्यालेस पनि छन् । अपेक्षित कारोबार हुनसकेन भने स्वभावैले बन्द हुन्छन् । पार्टीप्यालेस सञ्चालनका लागि कुनै विशेष ठाउँ तोकिएको हुँदैन । बढीमा ५ देखि १० वर्षका लागि ठाउँ लिजमा लिइएको हुन्छ । यसपछाडि हामीले उक्त ठाउँ छोड्नुपर्ने पनि हुन्छ । यसले गर्दा पार्टीप्यालेस सञ्चालक समस्यामा छन् ।