शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पुस्तक प्रकाशन नीति बन्नु आवश्यक छ'' - रामचन्द्र तिमोथी
पूरा आकरमा हेर्नुहोस्अध्यक्ष, नेपाल राष्ट्रिय पुस्तक विक्री तथा प्रकाशक सङ्घ


पुस्तक विक्री तथा प्रकाशन व्यवसायको अवस्था कस्तो छ ?

अहिले पुस्तकको व्यवसाय राम्रो छ । नेपालमा पाठकको सङ्ख्या बढ्दै गएको छ । त्यहीअनुपातमा अहिले लेखक तथा प्रकाशन गृहहरू पनि बढिरहेका छन् । विगतको तुलनामा पुस्तक पनि स्तरीय हुँदै आएका छन् । नेपालको बढ्दो शैक्षिक दरसँगै  यसको व्यवसाय पनि बढिरहेको छ । अहिलेको सन्दर्भमा भन्नुपर्दा कक्षा १२ सम्मका पाठ्यपुस्तक मुद्रणमा हामी आत्मनिर्भर भइसकेका छौँ । यसता पुस्तकका लागी लेखक तथा पुस्तक प्रकाशन संस्थाहरू आवश्यक मात्रामा नेपालमा नै उपलब्ध छन् ।


कक्षा १२ सम्मका पुस्तकका लागि आत्मनिर्भर भन्नुभयो, तर अङग्रेजीलगायत केही पुस्तक बिदेशबाट नै आइरहेका छन् नि ?

पहिला नेपालमा स्नातक तहसम्मका लागि सबै नेपाली पुस्तक उपलब्ध थिए । तर, बीचमा केही कारणले गर्दा भारतीय पुस्तक हाबी हुनथाले । नेपालमा राम्रो गर्न चाहने थोरै मात्र छन् । त्यस्तै समालोचनाभन्दा आलोचना गर्ने प्रवृत्तिले पनि यस्तो भइरहेको छ । नेपाली लेखक तथा प्रकाशन गृहबीचको अस्वस्थ्य प्रतिस्पर्धाले गर्दा विदेशीहरूले ठाउँ पाइरहेका छन् । यसमा केही मात्रामा राजनीतिक हस्तक्षेपले पनि प्रभाव पारेको छ ।

नेपाली पुस्तकको गुणस्तर राम्रो नभएका कारण पनि विदेशबाट ल्याएको भन्ने सुनिन्छ नि ?

यो एकदम गलत हो । विदेशी पुस्तकको जस्तो गुणस्तरीय कागज तथा अन्य प्रविधि नेपालमा पनि उपलब्ध छ । पाठ्यक्रमको विषयमा भन्नुपर्दा नेपालमा पनि स्थापित लेखक धेरै छन् । यो त सबै स्थानीयहरूको आपसी प्रतिस्पर्धाले गर्दा यस्तो भएको हो । हामी र पुस्तक व्यवसायी सङ्घका साथीहरूबीच सहकार्य भए नेपालमा पाठ्यक्रमका विदेशी पुस्तकलाई विस्थापित गर्न सकिन्छ ।

व्यवसायीहरू किन प्रतिस्पर्धा गरिरहेका छन् त ?

मेरो विचारमा यस क्षेत्रमा व्यवसायसम्बन्धी  ज्ञान नभएका मानिसको प्रवेशले यस्तो भइरहेको छ । त्यसमा पनि छोटो समयमा नै धेरै पैसा कमाउने प्रलोभनले पनि अस्वस्थ्य प्रतिस्पर्धा बढिरहेको छ । यसले गर्दा पहिलादेखि स्थापित प्रकाशन संस्थाहरूलाई भने गाह्रो परिरहेको छ ।

प्रकाशकले सम्झौता भएअनुरूप लेखकलाई रोयल्टी दिँदैनन् भन्ने आरोप छ, यसमा के भन्नुहुन्छ ?

लेखक र प्रकाशन संस्था भनेको नङ र मासुजस्तै हो । यी दुइ एक अर्कोका परिपूरक हुन् । केही प्रकाशन संस्थाले यस्तो गरेको हल्ला पनि यदाकदा सुनिन्छ । तर, यस्तो मामिलामा लेखकहरू पनि अछुतो छैनन् । एक जना लेखकले पनि चार ओटासम्म प्रकाशन संस्थामा पाण्डुलिपी दिने गरेका छन् । यस्ता कुरामा दुवै पक्ष इमान्दार हुनुपर्छ । प्रकाशन संस्थाले पनि सम्झौतामा उल्लेख गरेअनुसार पारिश्रमिक उपलब्ध गराउनु पर्छ । यदि, कसैले यस्तो सम्झौताको पालना नगरेमा हाम्रो संस्थामा उजुरी गर्न सक्छन् । हामी सम्बन्धित पक्षसँग बसेर समस्याको समाधान गर्र्छौं ।

नेपाल सरकारले ३२ जिल्लाका लागि मात्र निजी प्रकाशन संस्थालाई पुस्तक छाप्न दिएको थियो, तर अन्य जिल्लामा पनि निजी प्रेसमा छापिएका पुस्तक पाइए नि ?

यो सबै निरीक्षण र नियन्त्रण गर्ने काम सरकारी निकायको हो । कमजोर संयन्त्रका कारण नै यस्तो भएको हुन सक्छ । त्यसमा केही मात्रामा निजी प्रकाशन गृहको पनि दोष हुन सक्छ । यो मामिला त सरकार र व्यवसायी दुवै पक्ष बसेर समाधान गर्नुपर्छ । मिडियामा मात्र आएका कुरालाई पनि आधार मान्नुभएन । कतिपय सञ्चारमाध्यमले सत्यतथ्यभन्दा बढी हल्लालाई पनि विषय बनाएका हुन्छन् । तर, सबैभन्दा बलियो सरकारी संयन्त्र नै हुनुपर्छ ।

नेपालमा पुस्तक प्रकाशन व्यवसाय सञ्चालन गर्न केकस्ता अप्ठ्याराहरू छन् ?

नेपालमा यो व्यवसाय सञ्चालन गर्न त अप्ठ्यारो नै अप्ठ्यारो छ । सबैभन्दा गाह्रो नेपालमा पुस्तक प्रकाशनसम्बन्धी कुनै पनि नीति नभएका कारण भइरहेको छ । नेपालमा पुस्तक प्रकाशनका लागि कुनै मापदण्ड छैन । न त कुनै प्रकारको प्रतिलिपीसम्बन्धी कानूनको व्यवस्था नै छ । नेपाल सरकारले मदिराजस्तो उद्योगका लागि नीतिनियम बनाएको छ । तर, पुस्तक प्रकाशनसम्बन्धी नीति बनाउन आवश्यक देखेन । त्यस्तै प्रकाशन संस्थालाई उद्योगका रूपमा सरकारले मान्यता दिएको छैन । यसले गर्दा पुस्तक प्रकाशनमा १३ प्रतिशत मूल्य अभिवृद्धि र १५ प्रतिशत भन्सार कर अतिरिक्त लाग्ने गर्दछ । यसले गर्दा पुस्तक तयार गर्दा केही महँगो हुने गर्छ ।

सरकारको तर्फबाट के अपेक्षा गरिएको छ ?

सरकारले सबैभन्दा पहिले पुस्तक प्रकाशन नीति बनाउनु पर्‍यो । त्यसमा प्रकाशक, लेखक तथा अन्य संलग्न व्यक्तिहरूको पनि हक र अधिकारको सुनिश्चितता हुनुपर्‍यो । अर्को अहिले प्रेसलाई मात्र उद्योगका रूपमा दर्ता गर्ने सुविधा प्रदान गरिएको छ । देशको शैक्षिक विकाशमा योगदान पुर्‍याउने प्रकाशन संस्थालाई पनि उद्योगका रूपमा दर्ता गर्न पाउने व्यवस्था गर्नपु र्‍यो । अन्य मुलुकमा भने यस्तो व्ययसायलाई केही सहुलियतको व्यवस्था गरिएको हुन्छ । तर, नेपालमा थप कर लिने गरिएको छ । हामीले आफ्नो तर्फबाट यी मागहरू नेपाल सरकारसमक्ष प्रस्तुत गरिसकेका छौं । कार्यान्वयन हुने आशमा पनि छौँ ।
 
नेपालमा उत्पादित पुस्तक निर्यात पनि हुने गरेका छन् ?

नेपाली पुस्तक निर्यातको मात्रा अहिले ज्यादै न्यून छ । नेपालमा उत्पादन भएका पुस्तकको दुइ प्रतिशत मात्र निर्यात हुन्छ होला । तर, स्नातक तहदेखि ९५ प्रतिशतभन्दा बढी पुस्तक विदेशबाट आयात गरिन्छ । नेपालमा वार्षिक २० करोडभन्दा बढीको पुस्तक आयात गरिन्छ । यहाँ अहिले वार्षिक १५ देखि २५ प्रतिशतका दरले पुस्तक व्यवसायमा वृद्धि हुँदै गएको छ ।