शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''जलस्रोत र जडीबुटीभन्दा 'रत्नपत्थर'बाट छिटो आर्थिक उन्नति हुन्छ ।'' - हरिभक्त उपाध्याय अधिकारी
रत्नपत्थर (जेमष्टोन)विशेषज्ञ

भारतको तत्कालीन रुड्की विश्वविद्यालयबाट भारतका सिभिल इञ्जिनीयर उपाधि प्राप्त   हरिभक्त उपाध्यायले जीवनको उत्तर्रार्द्धमा आफूलाई 'जेम्सष्टोन’ रत्नपत्थर विशेषज्ञका रूपमा परिचित गराएका छन् । नेपाल सरकारको सेवामा २५ वर्ष विताएका उपाध्यायले २०४८ सालमा स्वेच्छिक अवकाश लिएपछि विशेष रूपले नेपालमा रत्नपत्थरका सम्बन्धमा लगातार १८ वर्षसम्म अध्ययन र अनुसन्धान गरे । सो क्रममा पूर्वमेचीदेखि पश्चिम महकालीसम्मका पहाड पर्वत र नदीनाला चहारेका उपाध्यायले आफूले जानेका नेपालका रत्नपत्थरबारे 'नेपाल रत्न’ नामक पुस्तकमार्फत सार्वजनिक गरेका छन् । ललितपुरको गोदावरीमा 'जेमष्टोन अनुसन्धान तथा तालीम केन्द्र’ समेत सञ्चालन गरेर बसेका ८१ वर्षीय उपाध्यायसँग नेपालमा रत्नपत्थरको स्थिति र सम्भावनाका बारेमा आर्थिक अभियानले गरेको वार्ताको सारः

तपाइं सिभिल इञ्जिनीयर भएर रत्नपत्थरप्रति कसरी आकर्षित हुनुभयो ?

२५ वर्ष जागिरे जीवनमा म नेपालको धेरै ठाउँमा पुगेँ । जडीबुटीप्रति पनि मेरो रुचि थियो । जागिरे अवस्थामै नेपालको रत्नपत्थरका सम्बन्धमा जानकारी लिन थालेको थिएँ । प्राविधिक ज्ञान भएका कारणले मलाई यसबारेमा बुझ्न सजिलो पनि भयो । २०४८ सालमा सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिएपछि मैले रत्नपत्थरका बारेमा विशेष अध्ययन र अनुसन्धान गर्न थाले । रत्नपत्थरका सम्बन्धमा लेखिएका विश्व साहित्यले विशेष गरेर यसप्रति मेरो रुचि जगायो । मैले लगातार १८ वर्षसम्म नेपालमा पाइने रत्नपत्थरहरूको अनुसन्धान र अध्ययन गरेर दुइओटा पुस्तकसमेत लेखेको छु । 'नेपाल रत्न' नामक ती दुइ पुस्तक अहिले रत्नपत्थरसम्बन्धी शिक्षा र तालीम दिनका निम्ति सहयोगी  भएको छ ।

रत्नपत्थरको खोजीमा कति जिल्ला घुम्नुभयो ?

पूर्वमेची देखि महाकालीसम्मको यात्रा गरेँ । प्रायः गरेर नेपालका नदीनालाहरू त छोडेकै छैन ।

कहाँ कहाँ कस्ताकस्ता रत्नपत्थर पाउनुभयो त ?

नदीहरूमा, कालीगण्डीमा रुबी, मणिक, निलम (सफायर) टुर्मालिन (शोभामणि) ज्यास्परजस्ता बहुमूल्य पत्थर पाइन्छ । त्रिशुली नदी त पुष्पराजको उद्गम स्रोत नै हो । मादी, फिदिम र कर्णाली नदीमा प्रशस्तमात्रामा हिराजस्तै बहुमुल्य गार्नेट पत्थर पाइन्छ । नारायणी, त्रिशुली र महाकाली नदी पनि रत्नपत्थरको खानी नै हुन् । यहाँ काइनाइट, क्वार्ज र ज्यास्फर प्रशस्तै पाइन्छ । विशेष गरेर नेपालका ताप्लेजुङ, मनाङ, सङ्खुवासभा, भोजपुर, जाजरकोट, आछाम, बर्दिया, कालिकोट, लमजुङ, धनकुटाजस्ता जिल्लामा  पन्ना, मणिक, नीलम, शोभामणि, बेरिल, कुरिनजस्ता मूल्यवान् रत्नका भण्डार नै छन् । यी बाहेक कोरोण्डम (कुरुन्द), टोपाज (पुष्पराज), क्वार्ज (स्फटिक), गार्नेट (कुरिन), जलनीलम, ओपल (रत्नोपल), ज्याडेट (हरितमणि), मुनष्टोन (चन्द्रमणि) नेपालका पूर्वदेखि पश्चिमसम्मका पहाडहरूमा प्रशस्तै पाइन्छन् । गणेश हिमालमा त रुबीको पहाड नै भेटेको थिएँ । धादिङ र इलाममा मणिक तथा नीलम पाइन्छ ।

गणेश हिमालमा रुबीको पडाड नै भेटेको भन्नुभयो, अहिले छैन र ?

यो बडो दुःखको कुरो छ । नेपालमा हैदरावाद इण्डष्ट्रिज लि, नेपाल सरकार र पब्लिकको शेयरमा २०३३ सालमा नेपाल मेटल कम्पनी स्थापना गरिएको थियो । नेपाल सरकार र भारतीय कम्पनीपछि त्यसमा सबैभन्दा बढी शेयर मोहन गोपाल खेतानको थियो । मैले पनि थोरै शेयर लिएको थिएँ । मोहनगोपाल खेतान नै त्यो कम्पनीका निर्णायक थिए । २०५२ सालमा कम्पनीको १४औं साधारणसभामा गणेश हिमालबाट रत्नपत्थरहरू निकालेर विदेश लगिएको खबर पाइएको छ भन्ने बारेमा मैले जोडदार आवाज उठाएँ । त्यसपछि त्यही सभाले मेरो संयोजकत्वमा ७ सदस्यीय छानविन समिति बनायो । तर, पछि कुनै पनि सदस्य मसँग गणेश हिमाल नजाने भए । किन नजाने भनेर सोध्दा, मोहन गोपाल खेतानले चाहे भने तिमीहरू चढेको मोटर नै पहाडबाट खसालेर एउटै चिहान बनाइदिन सक्छन् भनेर कसैले भनिदिएछ । त्यसैभएर सबैजना डराएर उनीहरू नजाने भनेका रहेछन् । अनि म पनि गइन । तर, म २०५३ सालमा कम्पनीको म्यानेजर सी के चक्रवर्तीसँग गणेश हिमाल गएँ । जुन ठाउँमा रुबीको पहाड थियो त्यहाँ 'ब्लाष्ट' गरिएको रहेछ । १५ मिटर चौडाइ र ८ मिटर उचाइ रहेको त्यो पहाडमा १९ मेटि्रक टन रुबी  मापन गरिएको थियो । रुबी भएको त्यो ठाउँमा पुरै पहिरो गएजस्तो देखिन्थ्यो । तर, अत्यन्तै कडा चट्टानको त्यो पहाडमा 'ब्लाष्ट' नगराई भत्कने, फुट्ने वा पैरो जाने कुनै सम्भावना नै थिएन ।  त्यो पहाड फोडेर त्यहाँको रुबी त लगि नै हाले, तर ६० हेक्टर क्षेत्रफलमा फैलिएको त्यो क्षेत्रमा अझै पनि अथाह रुबीको भण्डार छ ।

मूल्य मा आँकलन गर्ने हो भने गणेश हिमालमा देखिएको रुबी कति रकमको थियो होला ?

असली रुबी अहिले क्यारेटकै रू. १७ हजार पर्छ । पाँच क्यारेटको १ ग्राम हुन्छ । त्यो हिसाबले १ ग्रामकै रू. ८५ हजार पर्ने भयो । १९ टन रुबीलाई रकममा रूपान्तरण गर्ने हो भने नेपाललाई झण्डै ५ सयवर्षमा निम्ति बजेट पुग्थ्यो । त्यतिखेर राजदरबारसमेत मिलेर त्यो सबै सिध्याए ।

अहिले  नेपाल मेटल कम्पनी अस्तित्वमा छ कि छैन  ?

कम्पनीलाई मरणासन्न अवस्थामा पुर्याएर खानी विभागको एउटा कोठामा सीमित बनाइएको छ । एउटा म्यानेजर र एउटा एकाउण्टेण्ट छन् भनेको सुन्छु । के भइरहेकोछ, मैले चासो दिएको छैन ।

नेपालमा रत्नपत्थरको यति व्यापक सम्भावना रहेछ । तर अहिलेसम्म किन केही हुन नसकेको  ?

नेपालमा रत्नपत्थरका सम्बन्धमा जान्ने मानिस नै छैनन् । नेपाल सरकारको मातहतमा एउटा खानी विभाग छ, तर त्यसमा एक जना पनि रत्नपत्थर विशेषज्ञ छैनन् । न हिजो थिए, न आज छन् । भोलि पनि तत्कालै नेपालमा रत्नपत्थर विशेषज्ञ पाउन मुस्किल छ । नेपालमा यो सम्बन्धमा कुनै पढाइ नै हुँदैन । जबसम्म दक्ष जनशक्ति उत्पादन हुँदैन, तबसम्म रत्नपत्थरको खोजी र उपयोगिता पनि हुन सक्दैन । त्यसैले सबैभन्दा पहिले यो क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्यो । यसका निम्ति सरकार नै लाग्नुपर्छ ।

तपार्इं चाहिँ के गरी रहनुभएको छ ?

रत्नपत्थरका बारेमा मैले अध्ययन अनुसन्धान गर्न थालेपछि नै मलाई यहाँ दक्ष जनशक्तिको अभाव खड्किएको हो । त्यसपछि मैले आफ्नै खर्चमा जेमष्टोन अनुसन्धान तथा तामील केन्द्र खोलेर यस सम्बन्धमा तालीम दिन थालेँ । तर, अहिले लोडसेडिङका कारणले तालीम दिने काम पनि बन्द गरेर बसेको छु ।

कति जनालाई कस्तो तालीम दिनुभयो ?

अहिलेसम्म ८० जनालाई तालीम दिएँ । तालीममा विशेष गरी नदी र खानीमा भएका रत्नपत्थर पहिचान गर्ने विधिको व्यावहारिक ज्ञान, रत्नपत्थर कटिङ गर्ने र चम्काउने, आधुनिक मेशिनबाट निर्यात योग्य कटिङ गर्ने, अल्ट्रासोनिक डि्रल मेशिनबाट रत्नमा प्वाल पार्ने र रत्नपत्थर पहिचान र प्रमाणीकरणका निम्ति मैले आवश्यक तालीम दिने गरेको छु । रत्नपत्थरका सम्बन्धमा राम्ररी जान्नका निम्ति विज्ञानमा स्नातक गरेको व्यक्तिलाई कम्तिमा ६ महीना लाग्छ । मैले घरेलु तथा साना उद्योग विभागअन्तर्गतका विभिन्न कार्यालयमा गएर पनि तालीम दिँदै आएको छु । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वरका निम्ति जेमष्टोन तयार गर्ने तालीमका निम्ति पाठ्यक्रमसमेत निर्माण गरेको थिएँ ।

तपाईंबाट तालीम पाएकाहरू अहिले के गर्दैछन् ?

केहीले आफ्नै व्यवसाय सञ्चालन पनि पनि गरेका छन् । भक्तपुर, सुर्खेत, ठमेलमा केही व्यक्तिहरूले रत्नपत्थरको काम गरिरहेका छन् । धेरै जसोले यो काम गरेका छैनन् । अथवा आर्थिक अभावले रत्नपत्थर खोजी र फ्याक्ट्री लगाउने काम गर्न सकेका छैनन् ।

कतिले त खानी सञ्चालको अनुमति नै लिएर रत्नपत्थरको खोजी गरिरहेका छन् भन्ने छ त ?

सरकारबाट अनुमति लिएर रत्नपत्थरको खानी सञ्चालन गर्ने अत्यन्तै कम छन् । यो क्षेत्रमा अवैधानिक रूपले काम भइरहेको छ । मासिक रूपमा ट्रकका ट्रक कच्चा रत्नपत्थर नेपालबाट  जयपुर पुग्छ भन्ने मैले थाहा पाएको छु । जापान, जर्मनी, अमेरिका, सिङ्गापुर, स्वीट्जरल्याण्ड बेल्जिमय, श्रीलङ्का र दक्षिण अप्रिmकामा नेपाली रुबी, निलम, टुर्मालिन र अक्वामेरिन निर्यात हुने गरेको छ । तर, रुबी, निलम र अक्वामेरिन उत्खननका निम्ति कसैले अनुमति लिएको मलाई थाहा छैन । धादिङ, गोरखा, रसुवा, दोलखा, दार्चुला, बझाङ र सिन्धुपाल्चोकबाट क्वार्ज, ताप्लेजुङ र रसुवाबाट अक्वामेरिन, मनाङ र जाजरकोटबाट टुर्मालिन, सङ्खुवासभाबाट गार्नेट र धादिङबाट रुबी र क्वार्जको अनुमति विना नै सङ्कलन गरेर विदेश निर्यात गर्ने काम हुँदै आएको छ । तर, यसतर्फ सरकारको ध्यान नै पुग्न सकेको छैन ।

खानीको खोजी र उत्खनन्का निम्ति सरकारसँग सहकार्यको कुरा गर्नुभएन ?

हृदेयश त्रिपाठी र सहाना प्रधान उद्योगमन्त्री भएकोबखत यस सम्बन्धमा केही कुरा भएको थियो । तर, बजेट नै छैन भन्छन् । खानी विभागसँग त पटकपटक कुरा भएको छ । तर, त्यहाँ यसप्रति चासो राख्ने र जान्ने मानिसको समेत अभाव छ । त्यसैले पनि मैले दक्ष जनशक्ति उत्पादनलाई विशेष जोड दिएको हुँ ।

खानीको खोजी र उत्खननका निम्ति के गर्नुपर्छ भन्ने लाग्छ तपाईंलाई ?

प्रविधि नसिकाई यो कामलाई अगाडि बढाउनै सकिँदैन । विश्वविद्यालयको पाठ्यक्रममा रत्नपत्थरसम्बन्धी विषय राख्नुपर्यो । सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान दिनुपर्यो । नेपालको पूर्व, पश्चिम र काठमाडौंमा गरी तीन ठाउँमा रत्नपत्थरको तालीम केन्द्र खोल्नुपर्छ । त्यसका निम्ति अहिले तत्काल रू. ५ करोडको बजेट भए पुग्छ । म ८१ वर्षो भइसकोको छु । जिन्दगीको कुनै भरोसा हुँदैन । यससम्बन्धी पूर्ण ज्ञान भएका मानिस नेपालमा छैनन् । मेरो जीवनकालमै सरकारीस्तरमा नेपालको तीन ठाउँमा तालीम केन्द्र सञ्चालन गर्न पाए यसबाट नेपालको ठूलो कल्याण हुन सक्थ्यो । लाखौँले रोजगारी पाउँथे । नेपालको आर्थिक विकास अत्यन्तै तीब्र गतिले हुने थियो ।

नेपालमा रत्नपत्थरको भविष्यका बारेमा तपार्इंको सोचाइ के छ ?

जलस्रोतबाट उद्योगधन्दा कलकारखाना सञ्चालन हुन्छन् र यसबाट देश सम्पन्न हुन सक्छ । तर, रत्नपत्थर त सोझै बेचेर धन आर्जन गर्न सकिन्छ । त्यसो त नेपालमा रत्नपत्थरका सम्बन्धमा कुनै विकास नै भएको छैन । यो भर्खरै वामे र्सदैछ । नेपालमा पाइने  काइनाइट (आलुमिनम सिलिकेट) ले विश्वलाई नै पुग्ने आल्मोनियम दिन सक्छ भन्ने मेरो विश्वास छ । जेमष्टोनमा काइनाइटको अन्तरराष्ट्रिय मूल्य १ ग्रामको १ हजार ५ सय अमेरिकी डलर छ । यही काइनाइट नेपालबाट अवैध रूपमा मासिक १ ट्रक भारतको जयपुर पुग्ने गरेको छ । भन्सार र प्रहरीलाई समेत यसको उपयोगिताका बारेमा केही थाहा छैन । किनकि उनीहरूलाई जेमष्टोनका बारेमा कुनै ज्ञान नै छैन । काइनाइटका बारेमा त झन केही नै थाहा छैन । त्यसैले सबैभन्दा पहिले नेपालमा रत्नपत्थरको अवैध उत्खनन् र निर्यात रोक्नुपर्यो । सरकारले निजी क्षेत्रलाई पनि संलग्न गराएर रत्नपत्थर उत्खनन्, उद्योग र निर्यातको व्यवस्था मिलाउने हो भने जलस्रोत र जडीबुटीबाट भन्दा पनि चाँडो र सजिलोसँग नेपालको आर्थिक उन्नति हुनसक्छ ।