शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''क्रिसमसको दिन स्पेशल थिम मेनु हुनेछ'' - गोपाल मैनाली
सञ्चालन प्रमुख, लब्स्टर्स सीफूड क्विजिन प्रालि


क्रिसमसको तयारी कस्तो चलिरहेको छ ?

नेपालमा अहिले क्रिसमस मनाउने संस्कृतिको विकास भइरहेको छ । मानिसहरू आफ्नो चाहनाअनुसारको रेष्टुरेण्टमा गएर विभिन्न पर्व मनाउन थालेका छन् । त्यसमा पनि क्रिसमस पश्चिमी मुलुकहरूले बढी मनाउने हुनाले यहाँ पनि त्यस्तै तरीकाले मनाउने चाहना गरिएको मैले महसूस गरेको छु । क्रिसमस इभका लागि रेष्टुरेण्ट सिँगार्ने काम भइसकेको छ । खानाको परिकारमा पनि क्रिसमस विशेष प्याकेजको व्यवस्था गरिनेछ । साथमा देव राणा ब्याण्डको सङ्गीतिक प्रस्तुतिको  पनि व्यवस्था हुनेछ । तर, हामीकहाँ टिकेटिङ सिष्टमको कुनै डीजे वा डान्स पार्टी भने हुनेछैन । हामीकहाँ शान्त वातावरणमा सबैले क्रिसमस मनाउन सक्छन् । यहाँ कुनै पनि प्रकारको भीडभाड तथा होहल्ला हुनेछैन । हामीले यसका लागि तयारी गरिरहेका छौँ ।

खानाको परिकारमा विशेष प्याकेज कस्तो हुन्छ ?

क्रिसमसको अवसरमा हामीकहाँ आलाकार्ट मेनु रहनेछ । यो मेनु हाम्रो नियमित पनि हो । तर, सो दिन स्पेशल क्रिसमस थिम मेनु हुनेछ । क्रिसमस मेनु भन्नेबित्तिकै त्यसमा पोम्फ्रेट (एक प्रकारको माछा) रोष्टेड टर्की विथ हनी ग्लेज  भन्ने जनाउँछ । जसरी नेपालमा सेल भन्नासाथ तिहारको याद आउँछ । त्यस्तै पोम्फ्रेटले क्रिसमस मनाउनेलाई क्रिसमसको याद दिलाउँछ । हामी हाम्रो खानाका परिकारमा यसका साथै अन्य क्रिसमसका परिकार पनि उपलब्ध गराउछौं । हामीहरू २४ डिसेम्बरका दिन क्रिसमस इभ मनाउने तयारीमा छौं ।

यहाँ क्रिसमस मनाउनका लागि ग्राहकले कति खर्च गर्नुपर्ने हुन्छ ?

हामीले दिने आलाकार्टको मूल्य प्रतिमेनु करीब ७ सय ५० रुपैयाँको छ । अब व्यक्तिको कुरा गर्नुपर्दा हामीले हरेकका लागि प्रवेशशुल्क १ हजार रुपैयाँ निर्धारण गरेका छौँ । तर, त्यो शुल्क पछि उनीहरूले खाएको परिकारमा कट्टा गरिनेछ । त्यस अर्थमा त्यहाँ प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन । त्यसमा टिकट लिने हरेक व्यक्तिलाई करीब ३० मिलिलिटर ह्विस्की उपहारका रूपमा दिइनेछ ।

तपाईंहरूले कहिलेदेखि क्रिसमस विशेष कार्यक्रम शुरू गर्नुभएको हो ?

हामीले यो दोस्रो पटक क्रिसमस मनाउँदै छौं । गत सालको सफलताको कारण नै यो वर्षपनि आयोजना गरिएको हो । हामी यो वर्षअझै राम्रो गर्ने प्रयासमा छौं ।

होटलहरूले क्रिसमसलगायत पर्वहरूमा विशेष योजना ल्याउनुको कारण के हुनसक्छ ?

मेरो विचारमा यसमा तीन ओटा कारण हुनसक्छन् । पहिलो त क्रिसमस धेरै नै चर्चित चाड हो । नेपालभन्दा बाहिर अझ व्यापक रूपमा यो मनाउने गरिन्छ । धेरै बाहिर गएर आएका नेपालीहरूले विदेशजस्तै नेपालमा पनि क्रिसमस मनाउन चाहन्छन् । त्यसका लागि यस्ता होटल तथा रेष्टुरेण्ट नै उत्तम विकल्प हुने गरेको छ । अर्को कुरा यो अन्तरराष्ट्रिय चाड हो । रेष्टुरेण्टहरू पनि 'अन्तरराष्ट्रिय’ हुन चाहन्छन् ।

क्रिसमसका अवसरमा मात्र यस्ता रेष्टुरेण्टले थप कति लगानी गर्नुपर्छ ?

क्रिसमस भन्नासाथ जहीँतहीँ झिलिमिली र रमाइलो भन्ने मनमा परिहाल्छ । त्योभन्दा पनि साण्टा क्लजको सम्झना आइहाल्छ । त्यही भएर क्रिसमसको समयमा हाम्रा सबै कर्मचारीहरू सोही पहिरनमा हुनेछन् । झिलिमिली ताराहरूको जडान भइरहेको छ । एक्समस ट्रीको तयारी भइसकेको छ । यी र यस्तै तयारी गर्नुपर्ने हुन्छ । साथमा क्रिसमसमा आउने बालबालिकाका लागि साण्टा क्लजले उपहारहरू पनि दिनेछन् । यसका लागि करीब ५० हजारको थप लगानी गर्नुपर्ने हुन्छ ।

अन्य समयभन्दा क्रिसमसको समयमा रेष्टुरेण्टप्रति ग्राहकको आकर्षण कस्तो छ ?

सामान्य समयमा करीब १ सय ५० जना ग्राहक आउने गरेका छन् । क्रिसमसको समयमा ३ सयभन्दा बढी ग्राहक आउने अपेक्षा गरिएको छ । वार्षिक रूपमा क्रिसमस मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । अहिले कुनै समुदाय मात्र नभएर सबै जात र धर्मले मनाउन लागेका छन् ।

नेपाली ग्राहकको आगमन कस्तो छ ?

हाम्रो रेष्टुरेण्टमा त अहिले नेपाली ग्राहकहरू नै बढी आउने गरेका छन् । क्रिसमस पर्व मनाउनेमा पनि उनीहरू नै धेरै छन् । मेरो विचारमा आउने ग्राहकमध्ये करीब ७५ प्रतिशत जति नेपाली रहेका छन् । अहिले नेपालीमा पनि रेष्टुरेण्टमा खाने संस्कृतिको विकास हुँदै गएको छ । पहिला आज शुक्रवार हो, रेष्टुरेण्टमा खाऊ भन्ने पनि थोरै थिए । अहिले बाहिर नखाएको दुइतीन दिन भइसक्यो भन्ने धेरै छन् । विदेशी खानाको स्वाद चाख्न चाहनेहरूले गर्दा पनि नेपाली ग्राहक बढिरहेका छन् ।

क्रिसमस मनाउनका लागि कुन वर्गका ग्राहक बढी आउँछन् ?

हाम्रोमा युवा वर्गहरू त्यति धेरै आउँदैनन् । हामीकहाँ आउनेमा २५ वर्षभन्दा बढी उमेरका ग्राहकको सङ्ख्या धेरै छ । यहाँ भएको शान्त वातावरणले पनि यस्तो भएको हुनसक्छ । यहाँ उपलब्ध खानाको परिकारले पनि युवा वर्गको कमी भएको हुनसक्छ ।

क्रिसमस मनाउने कुरामा पनि यस्ता होटल तथा रेष्टुरेण्टबीच निकै प्रतिस्पर्धा चलिरहेको छ नि ?

प्रतिस्पर्धा हुनु राम्रो हो । जति धेरै प्रतिस्पर्धा भयो, त्यति उपभोक्तालाई फाइदा हुन्छ । होटल तथा रेष्टुरेण्टबीच प्रतिस्पर्धा चलिरहेको छ । तर, यो एकदम स्वस्थ्य प्रतिस्पर्धा हो । हरेक व्यवसायीले ग्राहक तान्नका लागि विभिन्न योजना बनाउने  गर्दछन् ।

होटल तथा रेष्टुरेण्टबीच कुन विषयमा बढी प्रतिस्पर्धा हुन्छ ?

ग्राहक तान्नका लागि यस्ता अवसरमा आ-आफ्नो क्षमताअनुसारको प्रतिस्पर्धा हुन्छ । कसैले नयाँनयाँ परिकार तथा सेवासुविधामा थप गरेका हुन्छन् । कसैले रेष्टुरेण्टमा विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गरेका हुन्छन् । त्यसका लागि विभिन्न सेलिब्रेटी तथा मोडलहरूको प्रयोग गरिएको पनि पाउछौँ । तर, हाम्रो सीफूडका कारण कुनै प्रतिस्पर्धा गर्नुपरेको छैन । सम्भवतः नेपालमा माछाका परिकारको लागि पहिलो र राम्रो स्थान यही हो ।