''दिनमा दुई ओटा रिकण्डिशनका मोटरसाइकल विक्री गर्छौं'' - रोहित भट्टराई
शोरुम इन्चार्ज
मोटरसाइकल ट्रेडिङ हाउस एमआरएच
मोटरसाइकल ट्रेडिङ हाउसबाट कसरी कारोबार हुन्छ ?
हामीले मोटरसाइकल किन्ने होइन अरु ब्राण्डका मोटरसाइकलसँग यामाहा ब्राण्डका मोटरसाइकल साटासाट गर्ने काम गर्दछौं । यसरी साटासाट गर्दा आएका मोटरसाइकल विक्री भने गर्छौँ। तर पैसा तिरेर मोटरसाइकल किन्दैनौँ । चाइनिजबाहेक अन्य ब्राण्डका मोटरसाइकल हाम्रो कम्पनीबाट साटासाट हुन्छन् । यहाँबाट यामाहा होण्डा टीभीएस र बजाज ब्राण्डका मोटरसाइकलसँग यामाहा मोटरसाइकल साटासाट हुन्छ ।
रिकण्डिशन मोटरसाइकलको कुन आधारमा मूल्यनिर्धारण हुन्छ ?
पहिलो कुरा त मोटरसाइकलको अवस्था हेर्छौँ । त्यसपछि बजारमा उक्त मोटरसाइकल कत्तिको चलेको छ भन्ने कुरामा पनि ध्यान दिन्छौँ । यसका लागि ईाजनको अवस्था हेर्दछौं । यो अनिवार्य कुरा हो । मोटरसाइकल किनेर रिकण्डिशनमा विक्री हुन्छ भने मात्र हामी लिन्छौँ ।
नयाँभन्दा रिकण्डिशन मोटरसाइकल किन्नेको सङ्ख्या बढेको छ के कारणले गर्दा हो ?
अहिले मोटरसाइकलमा भएको १० प्रतिशत मूल्यवृद्धिले गर्दा प्रत्येक नयाँ मोटरसाइकलमा रु.७ देखि २० हजारसम्म मूल्य बढेको छ । यसले गर्दा मोटरसाइकल किन्नेले पनि नयाँभन्दा पुरानो मोटरसाइकलतर्फ ध्यान दिन थालेका छन् । साथै आयस्रोत कम भएका मानिसले पनि यस्ता मोटरसाइकलमा ध्यान दिन थालेका छन् । रिकण्डिशनका मोटरसाइकलहरु केही सस्ता हुने भएकाले पनि ग्राहकले यस्ता मोटरसाइकलप्रति ध्यान दिन थालेका छन् ।
रिकण्डिशन मोटरसाइकल कत्तिको सुरक्षित हुन्छन् ?
सुरक्षाको कुरा चलाइमा भर पर्छ । हामीले राम्रो अवस्थाको मोटरसाइकल दिने गरेका हुन्छौं । हामीले यो क्षेत्रमा लामो समयदेखि कारोबार गर्दै आएका छौँ । भविष्यमा पनि व्यवसाय गर्नुपर्छ । यस कारणले पनि हामी ग्राहकलाई सुरक्षित अवस्थाको मोटरसाइकल नै उपलब्ध गराउने प्रयास गरेका हुन्छौँ | यस्ता मोटरसाइकल खरीद गर्दा यसको ईाजनको अवस्थामा ध्यान दिनुपर्छ । बाहिरी अवस्था पनि कस्तो छ भन्ने पनि हेर्नुपर्छ । रिकण्डिशन मोटरसाइकलको निश्चित मूल्य हुँदैन । ठाउँ र ब्राण्डअनुसार फरक मूल्यमा कारोबार भइरहेको हुन्छ । मोटरसाइकल मर्मत गर्दा लागि कति खर्च लागेको छ भन्ने कुरालाई ध्यानमा राखेर त्यसको मूल्यनिर्धारण गरिएको हुन्छ ।
रिकण्डिशन मोटरसाइकल पनि किस्ताबन्दीमा उपलब्ध छन् ?
हामीले किस्ताबन्दीमा पनि मोटरसाइकल उपलब्ध गराएका छौं । यसका लागि ५० प्रतिशत डाउन पेमेण्ट गर्नुपर्छ । ग्राहकले आयस्रोत देखाउनुपर्छ । काठमाडौँमा घर भएकालाई मात्र किस्ताबन्दीको सुविधा उपलब्ध गराएका छौँ।
काठमाडौँबाहिरबाट आउनेलाई चाहिँ किस्ताबन्दी सुलभ छैन नि किन ?
बाहिरबाट आएर बसेका मानिसले समयमा किस्ता नतिर्ने देखिएको छ । काठमाडौँमा घर भएको मानिस जमानी बस्ने हो भने हामीले उनीहरुलाई पनि मोटरसाइकल उपलब्ध गराउछौं । हाम्रो लगानीको सुरक्षाका लागि पनि यस्तो गर्नुपरेको हो । मोटरसाइकल किस्ताबन्दी गर्दा त्यसको सम्पूर्ण लगानी फाइनान्सले गरेको हुन्छ । उनीहरुले समयमा किस्ता नपाउने हुनाले पनि पुराना मोटरसाइकललाई किस्ताबन्दी गर्न मानिरहेका हुँदैनन् ।
तपाईंको कम्पनीबाट महीनामा कति ओटा रिकण्डिशनका मोटरसाइकल विक्री हुन्छन् ?
महीनामा यति नै विक्री हुन्छ भन्ने निश्चित हुँदैन । अहिले महीनामा ४५ देखि ६० ओटासम्म विक्री भइरहेका छन् । यसमा पनि सिजनमा बढी कारोबार हुने गरेको छ । चाडपर्वका अवसरमा बढी कारोबार हुन्छ । यसमा पनि दशैँतिहारमा धेरै मोटरसाइकल विक्री हुने गरेका छन् ।
रिकण्डिशन मोटरसाइकलमा समस्या आउँछ भनिन्छ कस्ता मोटरसाइकल लिँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ?
पुरानो मोटरसाइकलमा केही बढी समस्या त आउँछ नै । समयसमयमा त्यसलाई परीक्षण गराउनुपर्छ । रिकण्डिशनका मोटरसाइकलमा सबै सामान परिवर्तन गर्न सकिँदैन । जुन सामान फेर्नुपर्ने हो त्यो मात्र फेरिएको हुन्छ । करीब १ हजार ५ सय किलोमिटर गुडेपछि सर्भिसिङ गर्नुपर्छ ।
तपाईंको कम्पनीबाट विक्रीपछि उपलब्ध हुने सुविधाहरु केके छन् ?
६ महीनासम्मका लागि ईाजनको वारेण्टी हुन्छ । यस्तै चार पटकसम्म निःशुल्क सर्भिसङ गरिदिने व्यवस्था गरेका छौँ । यस अवधिमा ईाजनमा समस्या देखिए कम्पनीले नै बेहोर्छ । तर बाहिरको भाग क्षति भएको छ भने ग्राहक आफैले खर्च बेहोर्नु पर्छ ।
कतिपय मोटरसाइकलका रिकण्डिशन हाउस समस्यमा परेको पनि देखिएको छ के कारणले होला ?
पुराना मोटरसाइकलको बजारमूल्य कति छ भन्ने विषयलाई ध्यान नदिई सामान किन्दा समस्यामा पर्ने गरेको छ । साथै मोटरसाइकल रिकण्डिशनका बारेमा थाहा नभएका मानिस पनि यस क्षेत्रमा लागेका छन् । यसले गर्दा पनि कतिपय कम्पनीमा समस्या देखिएको छ । यो व्यवसायमा बजार बुझ्न सक्ने मानिसको आवश्यकता पर्दछ । कुन मोटरसाइकल कतिमा किन्दा सजिलै बेच्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ ।
थुप्रै कम्पनी थपिएका छन् यस्तो अवस्थामा प्रतिस्पर्धा कतिको बढेको छ ?
प्रतिस्पर्धा एकदमै बढेको छ । यसमा जसले राम्रो सुविधा दिन सक्यो ग्राहक त्यतैतिर जान्छन् । जुनसुकै कम्पनीले पनि अरुलेभन्दा राम्रो सुविधा दिने प्रयास गर्नुपर्छ ।
एउटा मोटरसाइकल रिकण्डिशन हाउस खोल्नका लागि कति लगानी गर्नुपर्छ ?
मोटरसाइकलको रिकण्डिशन व्यवसाय गर्ने मानिसले दुईचार ओटा मोटरसाइकलको खरीद गरेर हुँदैन । सबै मोटरसाइकल एउटै मूल्यमा पनि पाइँदैनन् । यो व्यवसाय शुरु गर्नका लागि कम्तीमा पनि १० लाख रुपैयाँ लगानी गर्नुपर्दछ ।