''पोखरा पर्यटन र सेवाव्यवसायको केन्द्र बन्न सक्छ'' - आनन्दराज मुल्मी
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ
विगत ५ वर्षमा पोखराको समग्र व्यावसायिक तथा औद्योगिक अवस्था कस्तो रहयो ?
विगत ५ वर्षमा नेपाली जनता र निजीक्षेत्रले अपेक्षा गरेका अत्यन्त कम कुरा मात्र पूरा भए । देशमा आएको राजनीतिक परिवर्तनसँगै सम्पूर्ण आर्थिक तथा सामाजिक संरचनामा पनि परिवर्तन हुनेमा आम नेपाली विश्वस्त थिए । तर, त्यो अवस्था हामीबाट टाढा भइरहेको छ । अहिले नेपालमा कानून नै नभएको जस्तो अवस्था छ । कुनै पनि गल्ती वा कानून उल्लङ्घन गर्ने मान्छे पनि दण्डित नहुने परम्परा विकसित हुँदै गएको छ । यस्तो अवस्थामा देशको सम्पूर्ण अर्थतन्त्र तथा उद्योग-व्यवसाय नै नराम्ररी प्रभावित भएको छ । यसबाट पोखरा पनि अछुतो रहन सकेको छैन । तथापि विगत केही वर्षमा बसाइँसराईबाट पोखराको जनसङ्ख्या निकै बढेकाले उपभोग्य तथा आयातित विलासिताका वस्तुहरूको कारोबार भने बढेको छ । उदाहरणका लागि घरजग्गा तथा गाडीको खरीदविक्री यस अवधिमा निकै बढयो । तर, यसले व्यापार घाटा बढाउनेबाहेक कुनै उपलब्धिमूलक परिणाम ल्याउन सकेन । यसरी विगत ५ वर्ष व्यावसायिक तथा आर्थिक उन्नतिका हिसाबले निराशापूर्ण रह्यो ।
यस अवधिमा पोखरालाई केन्द्र बनाएर बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ने क्रम त बढेको छ नि ?
अवश्य पनि यस अवधिमा पोखरालाई आधार बनाएर थुप्रै विकास बैङ्क तथा वित्तकम्पनी खुलेका छन् । तर, तिनीहरूले पोखराको व्यावसायिक तथा आर्थिक गतिविधिमा उल्लेख्य सहयोग गरेका छैनन् । मेरो भनाइको अर्थ जति बैङ्क तथा वित्तीय संस्था पोखरामा सञ्चालित छन्, ती सबैले पोखरालाई निक्षेप सङ्कलन गर्ने उपयुक्त स्थानका रूपमा लिएका छन् । उनीहरूको प्रमुख उद्देश्य भनेको यहाँबाट निक्षेप सङ्कलन गरेर अन्य स्थानमा लगानी गर्ने रहेको छ । अलिअलि भएको लगानी पनि घरजग्गा, गहना तथा गाडी खरीदविक्रीमा मात्रै भएको छ । त्यसकारण अब यहाँका निक्षेपकर्ता तथा सरोकारवालाले यस विषयमा आवाज उठाउने समय भएको छ । यहाँबाट सङ्कलन गरिएको निक्षेप यहीँ वरिपरिका क्षेत्रमा प्राथमिकताका आधारमा लगानी गर्न जोडदार माग गर्नुपर्ने देखिन्छ । त्यसो भएमा मात्रै पोखरावरिपरि कृषि, पशुपालन, जडीबुटी खेतीजस्ता तुलनात्मक लाभ भएका क्षेत्रको विकास र विस्तार हुनसक्छ । नत्र, पोखराको खानेपानी कार्यालयको हालत हुन्छ । अहिले पोखरामा उठेको खानेपानी शुल्क काठमाडौंमा खर्च गरिन्छ, त्यसबाट न काठमाडौंमा पर्याप्त पानी पुगेको छ न पोखरामा नै थप विकास हुन सकेको छ ।
बैङ्कहरू त पोखरामा उद्यमशीलताको कमी भएकाले उत्पादनशील व्यवसायको विस्तार हुन नसकेको भन्छन् के पोखरामा उद्यमशीलताको कमी नै भएको हो र ?
उद्यमशीलता मात्र भन्दा पनि सृजनशील र नवपरिवर्तनमुखी उद्यमीहरूको कमी भएको जस्तो मलाई लाग्छ । किनभने विगत लामो समयदेखि पोखराको व्यावसायिक प्रवृत्तिमा नयाँपनको आभास मिलेको छैन । मेरो अध्ययनले के देखाएको छ भने पोखरामा जति पनि व्यवसाय छन् ती सबै कि त पुख्र्यौली छन् कि त देखासिकीमा गरिएका छन् । उदाहरणका लागि कसैले लेकसाइडमा होटल वा रेष्टुराँ किन्यो भने अर्कोले पनि त्यही गर्ने प्रवृत्ति यहाँ छ । नयाँ क्षेत्र तथा उत्पादनहरूको पहिचान गरेर त्यसको बजार तथा उपभोक्ता सृजना गर्ने बानी यहाँका व्यवसायीहरूमा देखिएको छैन । जहिले जुन कारोबारको लहर बढ्छ, त्यतै लाग्ने बानी पनि देखिन्छ । जस्तै १-२ वर्ष पहिला घरजग्गाको कारोबारमा धेरै लागेको पाइयो । अहिले त्यो सुस्तायो अनि सबैको व्यवसायमा मन्दी आयो । नयाँनयाँ उत्पादन तथा क्षेत्रको पहिचान गरेर त्यसको 'भ्यालु चेन' लाई बलियो र प्रभावकारी पारेर समाज तथा अर्थतन्त्रमा मूल्य अभिवृद्धिसहितको सकारात्मक गुणात्मक (मल्टिप्लाएर) प्रभाव पार्न सकेमा मात्रै वास्तविक उद्यमशीलताको विकास भएको मानिन्छ । अहिले पोखरामा मात्रै होइन, सम्पूर्ण नेपालमा नै त्यसो हुन सकेको छैन । धेरैजसो युवाशक्ति विदेश पलायन हुने क्रम बढेको छ । तर, यसको पनि समाधान छ । तुलनात्मक रूपमा बढी प्राज्ञिक र युवा जनशक्ति भएको बैङ्किङ क्षेत्रले उद्यमशीलता सृजना गर्न र उद्यमी जन्माउन सकारात्मक भूमिका खेल्नुपर्छ । सम्भावना र प्रतिस्पर्धात्मक लाभ बढी भएका क्षेत्रको पहिचान गरेर त्यससम्बन्धी आधारभूत विषयमा उद्यमीलाई तालीम दिएर वा सल्लाहसुझाव दिएर पनि बैङ्क तथा वित्त कम्पनीले आफ्नो लगानी त्यस्ता क्षेत्रमा विस्तार गर्न सक्छन् ।
नेपाल भ्रमण वर्ष२०११ मा पोखराका लागि के-कस्ता अवसर तथा चुनौती देख्नुभएको छ ?
नेपाल भ्रमण वर्षसन् २०११ मा पोखराका लागि के गर्न सक्छौँ भन्ने विषय हाम्रा लागि महत्त्वपूर्ण बनेको छ । यसका लागि अवसर र चुनौती दुवै बराबर भएजस्तो मलाई लाग्दछ । यस्तो अवस्थामा चुनौतीलाई सुल्झाउँदै अवसरहरूको आदर्शतम उपयोग गरेर आर्थिक विकासका आधार पहिल्याउनु भनेको निकै चुनौतीको विषय हो । यसका लागि हामीसँग भएका अवसरहरूलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । देशको आर्थिक उन्नयनका लागि सरकारले निजीक्षेत्रलाई पनि साझेदारका रूपमा व्यवहार गर्नुपर्छ । तर, त्यो कुरा भाषणमा मात्रै सीमित भएको छ ।
सरकारका विभिन्न आर्थिक नीतिहरू देशको आर्थिक विकासमा निजीक्षेत्रको सहभागिता तथा क्षमता विस्तार गर्नमा कत्तिको सहयोगी भएको पाउनुभएको छ ?
नेपालका राजनीतिक दलहरू पुरातनवादी मानसिकताबाट अगाडि बढेका छन् । सरकारी क्रियाकलाप, मौद्रिक नीति तथा वित्तीय नीतिमा सरकार नियन्त्रणमुखी बन्दै गएको देखिन थालेको छ । यसले मुलुकलाई कुन शासकीय प्रणालीमा लैजाने, निजीक्षेत्रको भूमिका के हुने भन्ने कुरामा नै द्विविधा उत्पन्न भएको सङ्केत मिलेको छ । अहिले नेपालमा परम्परागत व्यवसायभन्दा पनि नयाँ अवसरहरू खोज्नुपर्ने अवस्था आएको छ । यसका लागि सरकारी नीतिहरू सहायकभन्दा पनि बाधक भएजस्तो मलाई लागेको छ ।
पोखराका प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन र सदुपयोग गरेर यहाँको आर्थिक विकासमा टेवा पुर्याउनमा स्थानीय निकायहरूले कस्तो भूमिका खेलेका छन् ?
पोखरा विभिन्न बहुउपयोगी प्राकृतिक स्रोतसाधन तथा सम्पदामा धनी छ । तर, यसको उचित व्यवस्थापन र उपयोग हुन सकेको छैन । अहिलेसम्म जति भएको त्यो सबै निजीक्षेत्रको अगुवाइमा भएको छ । स्थानीय निकायहरू यसमा उदासीनजस्तै देखिएका छन् । उनीहरूले न आफूले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन गर्ने योजना बनाएका छन् न निजीक्षेत्रको सहभागिता, व्यवस्थापनका मापदण्ड तथा त्यसको अनुगमन तथा मूल्याङ्कन गर्ने संयन्त्र नै बनाएका छन् । उदाहरणका लागि फेवाताललाई लिन सकिन्छ । यसको रेखदेख तथा व्यवस्थापन नगरपालिका, नगरविकास समिति वा जिल्ला विकास समिति कसले गर्ने हो अझैसम्म पनि संयन्त्र बनेको छैन । त्यस्तै पोखरावरिपरिका थुप्रै सरकारी तथा सामुदायिक वनलाई शिकार आरक्षका रूपमा विकास गर्न सकिन्छ । त्यहाँ चोरीशिकारी भइरहेको छ । तर, स्थानीय निकायले न त्यसलाई नियन्त्रण गर्न चासो देखाउँछ । न त्यसलाई व्यवस्थित गरेर राजस्व सङ्कलन गर्ने संयन्त्र विकास गरेको छ । यस्ता उदाहरण थुप्रै छन् ।
पोखरामा भौतिक पूर्वाधार विकासमा यहाँहरूले कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?
अहिले सम्पूर्ण पोखराबासी यहाँको भौतिक पूर्वाधारको विकासमा केन्द्रित भएका छौँ । पोखराबाट लुम्बिनी जोड्ने फाष्ट ट्रयाकको काम भइरहेको छ । यो सडक बन्ने हो भने यहाको कृषि, पर्यटन तथा औद्योगिक विकासले अझै गति लिन सक्ने हाम्रो विश्वास छ । यसैगरी, काठमाडौँ -पोखरा रेल्वेको प्रारम्भिक अध्ययन पूरा भएको छ । यसलाई सकेसम्म छिटो कार्यान्वयन गर्न हामी प्रयासरत छौं । यो परियोजनामा निजीक्षेत्र पनि सहभागी हुन इच्छुक छ । यस विषयमा केही प्राविधिक विषयमा टुङ्गो लाग्न बाँकी छ । नयाँ अन्तरराष्ट्रिय विमानस्थलसम्बन्धी फाइल मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रिपरिषद्बाट पास भएपछि डीपीआरको काम अघि बढ्छ । यो वर्षभित्रै पोखरा विमानस्थलको क्षमता बढाउने गरी काम शुरू भएको छ । यी कामको शुरुआतले मात्रै पनि पोखराको विकासमा नयाँ ढोका खुल्नेमा हामीहरू विश्वस्त छौं ।
बुद्ध एयरको पोखरा-लखनऊ उडान किन रोकिएको होला ?
यसका विभिन्न कारण छन् । पहिलो पोखरा विमानस्थलको स्तरोन्नतिको काम समयमा हुन नसकेर हो । दोस्रो बुद्ध एयरले प्रयोग गर्ने हवाई रुटको टुङ्गो नलागेर हो । यस विषयमा अहिले पनि वार्ता भइरहेको छ । पोखराबासीले पनि त्यसमा सहयोग गरेका छन् । अर्को नेपाल र भारत सरकारबीचको द्विपक्षीय विषय पनि यसमा छ । यस विषयमा सरकारी स्तरमा छलफल भइरहेको खुल्न आएको छ । पोखरा अन्तरराष्ट्रिय शहरका रूपमा विकास भइसकेकाले यी सबै विषयको टुङ्गो लगाएर छिट्टै पोखरा-लखनऊ उडान सञ्चालन हुनेछ ।