शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सबै गरी बुटिकमा एक अर्बको लगानी छ'' ? उज्ज्वलकृष्ण श्रेष्ठ
अध्यक्ष, नेपाल बुटिक एशोसिएशन

बुटिकलाई साधारणतया कसरी बुझ्न सकिन्छ ?

बुटिक भनेको कुनै नौलो कुरा या स्थान होइन । परम्परादेखि चलिआएको पेशा हो । पौराणिक कालदेखि लगाउने कपडामा विभिन्न डिजाइनहरू राखेको हामी पाउछौँ । हाम्रोभन्दा अघिल्लो पुस्ताले पनि कपडा लगाउँदा आफूसुहाउँदो डिजाइन सिलाउने गर्दथे । अहिलेको बुटिक पनि त्यस्तै हो । शरीरलाई सुहाउँदो किसिमको कपडाको सिलाइ तथा डिजाइन हुने स्थान नै बुटिक हो । यस्ता स्थानमा मानिसहरूको शरीरअनुसार सुहाउँदो कपडाका लागि सल्लाह तथा आकर्षक मोडलमा कपडा तयार गरिन्छ ।
 
नेपालमा बुटिकको व्यावसायिक अवस्था कस्तो छ ?

नेपालमा फेशनसम्बन्धी काम गर्ने व्यवसायीहरू वर्षेनी बढिरहेका छन् । त्यसको अनुपातमा बजारको आकार भने बढ्न सकेको छैन । अहिलेको अवस्थालाई हेर्दा कतिपय डिजाइनरले काम नपाइरहेको स्थिति पनि छ । काठमाडौँ र पाटनमा मात्र गरेर लगभग १ सय २० बुटिक सञ्चालनमा छन् । नेपालमा अन्तरराष्ट्रिय डिजाइनको माग गर्ने ग्राहकहरू छन् । सोही कारण पनि नेपालमा यस्ता व्यवसायीको सङ्ख्यामा वृद्धि भइरहेको हो । यसर्थ यसलाई व्यववस्थित बनाउने उद्देश्यले ५ वर्षअघि एशोसिएशन खोलेका हौं ।

यस्ता व्यवसायमा लाग्ने महिलाको सङ्ख्या कति छ ?

नेपालको सन्दर्भमा भन्नुपर्दा पुरुषको तुलनामा महिला बुटिक सञ्चालक अत्यधिक छन् । काठमाडौंलाई आधार मान्ने हो भने करीब ८० प्रतिशत महिलाहरूले बुटिक सञ्चालन गरिरहेका छन् । तर, कालीगढमा भने पुरुष नै बढी छन् । त्यसैले पनि बेलाबेलामा मजदूरहरूले सञ्चालकलाई विभिन्न दबाब दिने गरेको पाइन्छ । त्यस्तो बेलामा हाम्रो एशोसिएशनले समस्याको समाधान गरिदिने गरेको छ ।

बुटिक एशोसिएशन खोल्नुको उद्देश्य के हो ?

हाम्रो उद्देश्य भनेको बुटिक व्यवसायलाई  व्यवस्थित गर्नु हो । बुटिक सञ्चालनको क्रममा आउने धेरै समस्यासमाधानको प्रयास गर्नु हो । त्यस्तै एशोसिएशनको मुख्य उद्देश्य नेपाली डिजाइन र बुटिकहरूलाई अन्तरराष्ट्रिय करण गर्नु हो । अहिले एशोसिएशनमा करीब ५० जना सदस्य आबद्ध छन् । अन्य पनि सहभागी हुने प्रक्रियामा छन् ।

नेपालमा बुटिक व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?

यो व्यवसायमा त्यस्तो प्रतिस्पर्धा छैन । किनभने कुनै पनि एउटा बुटिकमा पाइने डिजाइन तथा सामान अन्य बुटिकसँग मिल्दैन । सबै बुटिकहरूको आ?आफ्नै विशेषता हुन्छ । यसमा उपभोक्ताले के चाहन्छ, त्यहीबमोजिम डिजाइन तयार गर्नुपर्ने हुन्छ । यही डिजाइनको विषयमा चाहिँ प्रतिस्पर्धा हुनसक्छ । त्यसमा अलिकति मूल्यले पनि प्रभाव पार्न सक्छ । तर, मूल्यभन्दा ठूलो गुणस्तर र डिजाइन हो ।

एउटा बुटिक सञ्चालनका लागि कति लगानी गर्नुपर्छ ?

बुटिक सञ्चालन गर्ने तरीकामा निर्भर हुन्छ । लगानी यति नै गर्नुपर्छ भन्ने छैन । सामान्य तरीकाले केही कपडा तथा डिजाइनर राखेर एक लाखमा पनि बुटिक सञ्चालन गर्न सकिन्छ । तर, नेपालमा १ करोडभन्दा बढी लगानी गररे बुटिक सञ्चालन गनर्हे रू पनि छन् । त्यसैले आफ्नो क्षमता तथा बजारको आकारअनुसार लगानी गर्न सकिन्छ ।

नेपालमा बुटिक सञ्चालनमा कति रकम लगानी भएको छ ?

यति नै छ भन्न सकिँदैन । तर, नेपालमा भएका सबै बुटिकहरूको अवस्थाअनुसार करीब १ अर्ब रुपैयाँ बुटिक व्यवसायमा लगानी भएको अनुमान गर्न सकिन्छ । प्रत्येक बुटिकले सरदर १५ देखि २० लाख रुपैयाँको कारोबार गर्दै आएका छन् । कारोबारमा उनीहरूले गरेको लगानीअनुसार फरक पनि पर्न सक्छ ।

यसको व्यवसायमा कस्तो परिवर्तन पाउनुभएको छ ?

सबै कुरा शिक्षामा निर्भर हुने गर्दछ । पहिलाको तुलनामा अहिलेका मानिसहरू धेरै नै शिक्षित भइसकेका छन् । त्यही अनुपातमा बुझ्दै पनि गइरहेका छन् । अहिले कुनै कुरामा खराबी भएमा पनि मानवीय कमजोरीका रूपमा लिने ग्राहक धेरै छन् । पहिला यस्तो भएमा मानिसहरू झगडा पनि गर्थे । त्यस्तै पहिलाको तुलनामा अहिलेका ग्राहक साधारण पहिरन रुचाउने धेरै छन् । पहिला सबै ग्राहक एउटै मोडलका कपडा प्रयोग गर्दथे । अहिलेका ग्राहकअनुसार रुचि फरक हुने गरेको छ । धेरै मोडल तथा डिजाइनका कपडाहरू एकै समयमा पनि माग हुने गरेको छ । त्यस्तै व्यवसायीहरू पनि पहिलाको तुलनामा धेरै योग्य बन्दै गएका छन् । उनीहरूलाई अन्तरराष्ट्रिय फेशनसम्बन्धी पनि सबै ज्ञान छ ।

नेपालमा बुटिक सञ्चालन गर्न कत्तिको सहज छ ?

अहिले नेपालमा बुटिक सञ्चालन गर्न अत्यन्त गाह्रो छ । सानो लगानीमा व्यवसाय सञ्चालन गर्दा पनि डिजाइनर तथा कालीगढ पाल्नै पर्ने हुन्छ । त्यस्तै कटिङ मास्टर, कपडा ड्रोइङ्ग गर्ने मानिस सबै राख्नुपर्ने हुन्छ । सबैलाई नियमित तलब दिन गाह्रो हुन जान्छ । त्यसैले पनि धेरै बुटिक सञ्चालकले केही वर्षसञ्चालन गरेर विक्री गरेको पनि पाइन्छ । यसमा बाहिर सोचेअनुरूप कमाइ छैन ।

बुटिकमा कमाइ छैन भन्नुभयो, तर अन्य स्थानभन्दा बुटिकमा सामान महँगो हुन्छ नि ?

तपाईँले भन्नुभएको त ठीकै हो । तर, अन्य स्थानमा त्यस्तो लुगा ठूलो परिमाणमा सिलाइ हुन्छ । त्यसको डिजाइनका लागि पनि खासै कुनै मेहनत गर्नु पर्दैन । तर, बुटिकमा सिलाइएको कुनै पनि कपडा ग्राहकको मागअनुसार डिजाइनरले डिजाइन गरेको हुन्छ । त्यस्तो कपडा बुटिकमा एक थान मात्र बनाइएको हुन्छ । बुटिकमा निर्माण गरिने कपडाका लागि करीब एक साताको समय लाग्न सक्छ । समय तथा मेहनतका कारण अलिकति महँगो पर्न गएको हो ।