''विद्युत् निकासीबाट भारतसँगको व्यापारघाटा शून्य बनाउन सकिन्छ''
सञ्जीव केशवा
प्रबन्ध निर्देशक,
सूर्य नेपाल प्रालि
हालै नेपाल भारत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित सूर्यनेपाल प्रालिका प्रबन्ध निर्देशक सञ्जीव केशवासँग नेपाल भारतबीचको व्यापार अवस्था, दुई देशका उद्योगी व्यवसायीहरूले भोगेका समस्या र नेपालमा लगानीको सम्भावना तथा भारतीय लगानीकर्ताको चासोका सम्बन्धमा गरिएको कुराकानीको सार :
तपाईं अहिले नेपाल भारत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । अब सङ्घलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?
नेपाल र भारतबीचको वाणिज्य तथा व्यापारिक सम्बन्ध निकै लामो छ । त्यही सम्बन्धलाई अझ बलियो बनाउन र उद्योग वाणिज्यका क्षेत्रमा दुई देशका उद्योगी व्यवसायीहरूले भोगेका समस्या समाधानमा सघाउने उद्देश्यले नेपाल भारत उद्योग वाणिज्य सङ्घ (निक्की) को स्थापना भएको हो । सङ्घको नवनिर्वाचित अध्यक्षका रूपमा मैले नेपाल र भारतबीचको व्यापार व्यवसायका क्षेत्रमा देखिएका समस्याहरूको समाधानका उपाय खोज्ने प्रयास गर्नेछु । अर्को कुरा व्यापार भनेको दुवै पक्षलाई लाभदायक हुनुपर्छ । यही कुरालाई ध्यानमा राखेर मैले कार्य योजना तथा रणनीति बनाउनेछु । नेपाल तथा भारत सरकारका तर्फबाट व्यापारसम्बन्धी नयाँ नीति तथा कार्यक्रमहरू बनाउने क्रममा संस्थागत सल्लाह सुझाव दिने प्रयास गर्नेछु । यसका साथै नेपालमा थप भारतीय प्रत्यक्ष लगानी भित्र्याउन पनि मेरो प्रयास रहनेछ ।
अहिले निक्कीलगायत थुप्रै द्विपक्षीय व्यापार सङ्घहरू पनि अस्तित्वमा छन् । त्यस्ता संस्थाहरूले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार विस्तार गर्नमा कत्तिको सहयोगी भूमिका खेले जस्तो लाग्छ ?
कुनै पनि द्विपक्षीय व्यापार सङ्घको उद्देश्य भनेको सम्बन्धित देशबीचको व्यापार विस्तारमा सहजीकरण गर्ने हो । त्यसैकारण, नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्ने उद्देश्यले थुप्रै द्विपक्षीय व्यापार सङ्घहरू स्थापना भएका छन् । ती सबैको छाता सङ्गठनका रूपमा नेपाल भारत उद्योग वाणिज्य सङ्घले काम गरिरहेको छ । त्यसैको परिणाम स्वरूप नेपालमा भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीको ४५ प्रतिशत भारतबाट प्राप्त भएको छ । नेपालमा भारतीय प्रत्यक्ष लगानी अझै धेरै हुने सम्भावना छ । तर, नेपालमा विद्यमान विभिन्न समस्याका कारणले भारतीय लगानीकर्ता आश्वस्त हुन सकेका छैनन् । यही कुरालाई ध्यान दिएर हामीले नेपालमा लगानीमैत्री वातावरण सृजना गर्न तथा विद्यमान वातावरणका विषयमा सकारात्मक सन्देश दिनका लागि विभिन्न चरणमा नेपाल तथा भारतका सरकारी प्रतिनिधिका साथै उद्योगी व्यवसायीहरूबीच अन्तरक्रिया र छलफल गर्ने गरेका छौं । यस्ता अन्तरक्रिया, गोष्ठी तथा सम्मेलनहरूले यहाँको वास्तविक अवस्थाका बारेमा बुझ्न सजिलो हुने र आपसी हित अभिवृद्धि गर्न सहजीकरण गर्ने गर्छ । त्यसकारण, सबै द्विपक्षीय व्यापार सङ्घहरूले व्यापार सहजीकरणमा राम्रै भूमिका खेलेका छन् ।
नेपाल र भारतबीचको व्यापारमा देखिएका प्रमुख समस्या र नेपालमा भारतीय लगानी बढ्न नसक्नुको कारण के होला ?
नेपाल र भारतबीचको व्यापारमा देखिएका थुप्रै अवरोधहरूमध्ये प्रमुख नेपालको व्यावसायिक वातावरण हो । कुनै पनि देशमा उद्योग तथा व्यापार व्यवसाय फस्टाउनका निम्ति त्यहाँ उपयुक्त वातावरण हुनु जरुरी छ । अहिले नेपालको व्यावसायिक वातावरण त्यस्तो देखिएको छैन । सबैभन्दा पहिला नाफामूलक व्यापार व्यवसायका लागि नेपालमा आवश्यक पूर्वाधारको कमी छ । उद्योगधन्दाका लागि नभइनहुने ऊर्जाको अभाव छ । दैनिक १४?१५ घण्टा लोडशेडिङ भएको अवस्थामा कसरी व्यापार व्यवसाय विस्तार हुन सक्छ ? नेपालमा जलविद्युत्बाहेक अन्य ऊर्जाको सम्भावना कम छ । तुलनात्मक रूपमा बढी सहज र सर्वसुलभ मानिएको जलविद्युत् पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्दा उद्योग व्यवसायका लागि नभइनहुने ऊर्जाको सङ्कट नै छ । दोस्रो, नेपालमा नचाहिँदो र अस्वभाविक श्रम समस्या छ । यसलाई राजनीतिकरण गर्ने अर्को नराम्रो परिपाटी छ । नेपालमा पूँजी प्रधान उद्योग व्यवसायको तुलनामा श्रम प्रधान व्यवसाय बढी उपयोगी हुन्छन् । उच्च श्रम समस्या भएका कारणले त्यस्ता उद्योग व्यवसायहरू पनि फस्टाउन सकेका छैनन् । तेस्रो, अनिश्चित (परिर्वतन भइरहने) तथा अव्यावहारिक सरकारी नीतिहरू पनि व्यापार व्यवसाय विस्तारमा बाधक बनेका छन् । सरकारी नीतिहरू पहिला नै असजिला र झन्झटिला छन् । त्यसैमाथि अहिले सरकारबाट थप कडाइ हुन थालेको महसूस भएको छ । चौथो, अस्थिर राजनीति र सङ्क्रमणकालीन व्यवस्था पनि व्यापार व्यवसाय विस्तारमा बाधक बनेको छ । यसरी, व्यापार व्यवसाय नै राम्रोसँग फस्टाउन नसकेको अवस्थामा थप लगानीको अपेक्षा गर्नु बेकार हो । फलस्वरूप, सन् २००३ देखि नेपालमा थप भारतीय लगानी भित्रिन सकेको छैन । पूँजीप्रधान उद्योगमा लगानी गर्न पूर्वाधारको अभाव छ भने श्रमप्रधान उद्योग तथा व्यवसायमा लगानी गर्न पनि श्रम समस्या, कमजोर सुरक्षाका कारणले गर्दा लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन् । त्यसकारण, नेपालमा भारतीय लगानी भित्र्याउन चाहने हो भने सबैभन्दा पहिला लगानीमैत्री वातावरण जरुरी छ । सरकारले त्यसमा बढी ध्यान दिनुपर्छ ।
अहिले नेपालमा सञ्चालित भारतीय संयुक्त लगानीका कम्पनीहरूबाट विभिन्न गुनासो सुनिन्छ । वास्तविक समस्या के हो ?
आधारभूत समस्या सबैका एउटै हुन् । नेपाली कम्पनीलाई एकखाले र भारतीय कम्पनीलाई अर्कै खाले समस्या भन्ने हुँदैन । पूर्वाधार नहुँदा नेपाली कम्पनीलाई अप्ठयारो हुन्छ भने भारतीयलाई पनि त्यही हो । त्यसैगरी, ऊर्जा सङ्कटको प्रभाव सबैलाई एउटै हो । श्रम समस्याले पनि सबै कम्पनीहरूलाई प्रभावित पारेको छ । त्यसकारण आधारभूत समस्याहरू एउटै भएकाले त्यसमा भारतीय कम्पनीहरूले गुनासो गर्ने स्थान नै छैन । तर, मुख्य कुरा के हो भने भारतीय लगानीका कम्पनीहरूप्रति नेपाली सरोकारवालाहरूको हेराइ केही नकारात्मक भएको जस्तो देखिन्छ । उदाहरणका लागि यूटीएल, पोखराको मणिपाल शिक्षण अस्पताल तथा डाबर नेपाललगायत भारतीय लगानीका कम्पनीहरूमा त्यस्तो समस्या रहेको गुनासो आएको छ । यूटीएलले नेपालमा दूरसञ्चारको पहुँच न्यून भएको समयमा आएर आफ्नो सेवा दिइरहेको छ भने मणिपालले नेपालमै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । डाबरले पनि नेपालमा रोजगारी तथा आय सृजनामा ठूलो योगदान पुर्याएको छ । यस्ता सकारात्मक कुराहरूलाई बिर्सेर केही कमी कमजोरीलाई उचालेर हिड्नु भनेको नकारात्मक सोचाइको उपज भएको उनीहरूको गुनासो हो । उद्योग व्यवसायको विस्तार गर्न र थप विदेशी लगानी भित्र्याउन यस्तो अवस्था आउन दिनुहुँदैन । सबैलाई समान खालको व्यवहार हुनुपर्छ ।
यस्ता समस्याहरूको समाधानका निम्ति निक्कीले कसरी सघाउन सक्छ ?
यस्ता विषयमा निक्कीले सहजकर्ताको भूमिका मात्रै खेल्ने हो । यसले हस्तक्षेप गर्न वा यो ठीक र यो बेठीक भन्न मिल्दैन । सहजीकरणका लागि निक्कीले समयसमयमा विभिन्न छलफल तथा गोष्ठीहरू आयोजना गर्दै आएको छ । त्यसैगरी, व्यवसयीहरूले बेहोर्नुपरेको समस्याका सम्बन्धमा दुवै देशका सरकारी निकाय तथा नीति निर्माताहरूलाई भटेर अवगत गराउने काम निक्कीले गरिरहेको छ । द्विपक्षीय उद्योग वाणिज्य सङ्घको हैसियतले निक्कीजस्ता संस्थाहरूको माग भनेको दुवै देशका उद्योगी व्यापारीहरूलाई एक अर्काको देशमा समान हैसियत दिनुपर्छ भन्ने हो । उनीहरूलाई आफ्नो व्यवसाय विस्तार तथा प्रवर्द्धनमा समान अवसर प्रदान गरिनुपर्छ भन्ने हो । राज्यका नीतिनियमहरू सबैलाई समान हुनुपर्छ र त्यहीअनुरूप व्यवहार हुनुपर्छ ।
नेपालले भारतसँगको व्यापार घाटा ठूलो परिमाणमा बेहोरिरहेको अवस्थामा कसरी दुवै देशलाई लाभ पुग्ने व्यवस्था गर्न सकिएला ?
अवश्य पनि भारतसँग नेपालको व्यापार घाटा ठूलो छ । यो बढ्दो अवस्थामा देखिएको छ । यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । मेरो विचारमा यसरी व्यापारघाटा बढ्दै जानुको कारण नेपालमा आर्थिक विकासका आधारभूत पूर्वाधारको कमी र लगानीमैत्री वातावरणको अभाव नै हो । व्यापार विस्तार गर्न सबैभन्दा पहिला उत्पादकत्व तथा उत्पादनमा वृद्धि हुनु जरुरी छ । त्यसका लागि दीर्घकालीन पूँजी निर्माण हुने खालका थप लगानी चाहिन्छ । देशमा लगानी मैत्री वातावरण छैन भन्ने सन्देश प्रचार भइरहेको छ, ऊर्जा सङ्कट छ, पारदर्शी श्रम कानून छैन भने त्यहाँ थप लगानी भित्रिने सम्भावना निकै कम हुन्छ । नेपालको अवस्था पनि त्यस्तै छ । नेपालले आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँगको व्यापारघाटा कम गर्न आफ्ना तुलनात्मक लाभ भएका क्षेत्रका वस्तु तथा सेवाहरूको उत्पादन बढाउनतिर लाग्नुपर्छ । मेरो विचारमा नेपालले उच्च तुलनात्मक लाभ र अधिकतम सम्भाव्यता भएको जलविद्युत् उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्छ । नेपालले आर्थिक तथा प्रविधिक रूपमा उत्पादन गर्न सकिने भनेर घोषणा गरेको ४३ हजार मेगावाटमध्ये १ हजार मात्रै उत्पादन गरेर निर्यात गर्ने हो भने पनि भारतसँगको व्यापारघाटा शून्यमा र्झछ । भारतमा विद्युत्को ठूलो अभाव छ । तर, नेपालले त्यहीँबाट विद्युत् आयात गरेर गुजारा चलाइरहेको छ । नेपालभन्दा निकै कम उत्पादन सम्भाव्यता भएको भुटानले जलविद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गरिरहेको छ । नेपालले पनि त्यही बाटो पछयाउनु राम्रो हुन्छ ।
नेपालको जलविद्युत् क्षेत्रमा भारतीय लगानी भित्र्याउन निक्कीले कस्तो प्रयास गरिरहेको छ ?
जलविद्युत् उत्पादनको प्रचुर सम्भाव्यता र भारतीय लगानीकर्ताहरूको चाहना हुँदाहुँदै पनि त्यसलाई नेपालले उपयोग गर्न सकिरहेको छैन । यस विषयलाई ध्यानमा राखेर निक्कीले विभिन्न चरणमा दुवै देशका उद्योगी व्यवसायीहरूलाई समेटेर गोष्ठी तथा छलफल आयोजना गरेको छ । यसका लागि नेपालका केही नियम कानूनहरूले अप्ठयारो पारेको देखिएको छ । यस्ता नीतिगत विषयहरूमा सुधार हुने हो र सुरक्षा तथा स्थानीयस्तरका अवरोधहरू हट्ने हो भने निक्कीले ठूलो परिमाणमा भारतीय लगानी भित्र्याउन सक्छ । किनभने, हामीसँग पहिलादेखि नै थुप्रै सम्भावित भारतीय लगानीकर्ताहरूले यस विषयमा चासो देखाइराखेका छन् । उनीहरूलाई हामीले सजिलै उपयोग गर्न सक्छौं । त्यसको लागि नेपाल सरकारले केही सकारात्मक शुरुआत पनि गरिसकेको छ । थप सुधार भएमा अवश्य पनि भारतीय लगानी आउँछ ।
तराईबाट उत्पादन गर्दै आएको कम्पनी सूर्य नेपालले पश्चिम नेपालको तनहुँमा नयाँ कारखाना स्थापना गरेर उत्पादन विस्तार गर्दै छ । पहाडमा उद्योग विस्तार गर्नुको कारण के हो ?
नेपालको १४ अञ्चल ७५ जिल्लामा सूर्य नेपालले आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ । तर, सूर्य नेपाल नाफा मात्रै कमाउने उद्देश्यले स्थापना भएको नभई यसले आफूले भ्याएसम्म नेपालको चौतर्फी विकासमा सहयोग पुर्याउने प्रयास गर्दै आएको छ । त्यसैले उद्योग तराईमा मात्र स्थापना गर्न सकिन्छ भन्ने हालसम्मको मानसिकता तोड्दै पहाडी क्षेत्रको पनि विकास गर्ने उद्देश्यका साथ हाल तराईमा भन्दा धेरै बढी शान्तिसुरक्षाको अनुभूतिले गर्दा पनि हामीले तनहुँमा उद्योग स्थापना गर्न लागेका हौं । यसबाट हामी पूर्ण विश्वस्त छौं कि अब उप्रान्त त्यस क्षेत्रमा अन्य उद्योगको पनि स्थापना हुन्छ र त्यस क्षेत्रका बासिन्दाको ठूलो विकास हुनेछ ।
सूर्य नेपाल नेपालकै उत्कृष्ट रोजगारदाता कम्पनीका रूपमा चिनिन्छ र यसमा श्रम समस्या पनि कम भएको सुनिन्छ । यसको रहस्य के होला ?
कम्पनीहरूको व्यवस्थापन तरीका आआफ्नो हुन्छ । हाम्रो पनि आफ्नै व्यवस्थापन मन्त्र छ । हामीले कर्मचारीहरूलाई कहिल्लै पनि कामदारका रूपमा हेरेका छैनौं । उनीहरूको दु:खसुखलाई बुझ्ने प्रयास गरेका छौं र सम्भव भएसम्म उनीहरूका समस्या समाधान गर्ने प्रयास पनि गरेका छौं । त्यसैगरी, कर्मचारी व्यवस्थापनलाई रणनीतिक व्यवस्थापनको एक अङ्गका रूपमा लिने व्यवस्था गरिएको छ । सबभन्दा पहिलो कुरा के हो भने सम्भव भएसम्म कर्मचारीका आधारभूत आश्यकता परिपूर्ति हुनुपर्छ । तब मात्र उनीहरूको उत्पादकत्व वृद्धि हुन्छ र व्यवसायको नाफा पनि बढ्छ । व्यवस्थापन तथा कर्मचारी दुवैलाई लाभ हुने अवस्था भएमा मात्र व्यवसाय सफल हुन्छ । मेरो विचारमा अन्य नेपाली व्यवसायीहरूले पनि यो कुरा राम्रोसँग बुझेका छन् । तर, पनि किन उनीहरूकहाँ श्रम समस्या देखिएको छ ? त्यसमा मैले केही भन्न मिल्दैन । त्यस्ता कम्पनीहरूले हाम्रो व्यवस्थापन मन्त्रलाई ध्यान दिएर व्यवसाय सञ्चालन गरेमा धेरै समस्याको समाधन होला भन्ने विश्वास म लिन्छु ।