शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''व्यापार नब्बे प्रतिशत बढेको छ'' - रवि अग्रवाल
प्रमुख कार्यकारी अधिकृत, इम्पोरियस प्रालि

फ्लोरिङ एण्ड फर्निशिङको व्यवसाय केही वर्षता निकै फस्टाएको छ, यसका उत्प्रेरक केके हुन् ?

पछिल्लो समय अपार्टमेण्ट बन्ने क्रम निकै बढेको छ । अपार्टमेण्टको प्रकृतिअनुसार सबैमा फ्लोरिङ एण्ड फर्निशिङ आवश्यकजस्तै बनिसकेको छ । अहिले फ्लोरिङ एण्ड फर्निशिङको समग्र व्यवसाय वार्षिक १५ प्रतिशतसम्मले बढिरहेको अनुमान छ । नेपालमा १५ करोड रुपैयाँसम्म लगानी भएका फ्लोरिङ एण्ड फर्निशिङ कम्पनीहरू सञ्चालनमा छन् । यसको कुल व्यवसाय वार्षिक करीब ५ अर्ब रुपैयाँबराबर हुने अनुमान छ । अहिलेको वृद्धिदरअनुसार आउने १० वर्षभित्र  व्यवसायको कारोबार दोब्बरले बढ्ने अपेक्षा छ । अहिले इण्टेरियर डिजाइनप्रति सबैको आकर्षण बढ्दै गएको छ । यसले पनि व्यवसाय बढ्ने निश्चित छ । होटलहरूले प्रत्येक ३ वर्षा पुनः फर्निशिङ र १० वर्षमा फ्लोरिङ गर्छन् । यिनै कारणले व्यवसाय बढेको छ ।

इम्पोरियस प्रालिले फ्लोरिङ एण्ड फर्निशिङ व्यवसाय शुरू गरेको कति भयो ?

फ्लोरिङ एण्ड फर्निशिङको व्यवसाय शुरू गरेको ३ वर्षभयो । हामीले फ्लोरिङ एण्ड फर्निशिङका लागि आवश्यक सामग्रीको आयातका साथै विक्रीवितरण पनि गर्दै आएका छौं । फर्निशिङका सामान विशेष गरी भारतबाट ल्याउँछौं । यसबाहेक मलेसियाबाट पनि सामान आउँछ । फ्लोरिङका लागि भने यूरोपियन मुलुकबाट चार थरीका कार्पेट ल्याउँछौं । त्यस्तै, फ्लोरिङका पार्केटिङहरू जर्मनीबाट आउँछन् । व्यवसाय शुरू गरेको छोटो अवधिमा नै हामी नेपालका प्रमुख पाँच फर्निशिङ कम्पनीमध्ये एक हुन सफल भएका छौं ।  हाम्रो सबैभन्दा ठूलो ग्राहक ब्रिटिश गोर्खा ग्रूप हो ।

कम्पनीले फ्लोरिङ एण्ड फर्निशिङका सामानको विक्रीबाहेक कस्तो सेवा उपलब्ध गराउँछ ?

इम्पोरियस प्रालिले फ्लोरिङ एण्ड फर्निशिङका सबै किसिमका सेवा उपलब्ध गराउँछ । हामीले सम्बन्धित कम्पनीमा गएर फिटिङ एण्ड फिक्सिङ गर्दै आएका छौं । साधारणतया एउटा अफिसको फ्लोरिङ एण्ड फर्निशिङ गर्दा न्यूनतम ३ लाख रुपैयाँसम्म लाग्छ । उक्त मूल्यमा सोफासेटको कपडा, आवश्यक काठ, पर्दालगायत सबै सामान समावेश  गरिएको हुन्छ ।

एउटा फर्निशिङ शोरूम सञ्चालन गर्न कति लगानी आवश्यक छ ?

फ्लोरिङ एण्ड फर्निशिङ शोरूमको प्रकृतिअनुसार लगानीमा फरक पर्छ । अहिले सुविधासम्पन्न फ्लोरिङ एण्ड फर्निशिङको एउटा शोरूम सञ्चालन गर्न न्यूनतम ३ करोड रुपैयाँ लगानी आवश्यक छ । नेपालमा ३ करोड रुपैयाँभन्दा बढी लगानी भएका फर्निशिङ शोरूमको सङ्ख्या एक दर्जनको हाराहारीमा छन् । तर, फर्निशिङ शोरूमको कुल सङ्ख्या भने १ सयभन्दा बढी छ । इम्पोरियस प्रालिले ३ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । हामीले विदेशबाट डलरको भाउमा सामान ल्याउनुपर्छ । डलरको भाउ बढ्नेबित्तिकै सामानको मूल्य बढ्छ । यसले गर्दा पनि यस व्यवसायमा ठूलो लगानी आवश्यक भएको हो ।

फर्निशिङका सामानको मूल्यनिर्धारण कुन आधारमा गरिन्छ ?

सामानको आयात गर्दाको कुल लागतमा करीब १५ प्रतिशत नाफा राखेर मूल्यनिर्धारण गर्छौं | सबैले प्रयोग गर्न सकून् भनेर थोरै नाफा राखेका हौं । हाम्रा ग्राहक सामान्यतः मध्यम र उच्चवर्गका छन् । उनीहरू फ्लोरिङ एण्ड फर्निशिङका सामानको मूल्य तथा गुणस्तरमा सचेत हुन्छन् । हामीले ग्राहकलाई २५ प्रतिशतसम्म छूटको समेत व्यवस्था गर्दै आएका छौं ।

इम्पोरियसले वार्षिक कतिको कारोबार गर्छ ?

गतआर्थिक वर्षमा करीब २ करोड रुपैयाँको कारोबार भएको थियो । हाम्रो व्यापार प्रत्येक वर्ष९० प्रतिशतले बढेको छ । चालूआर्थिक वर्षमा पनि व्यापार बढ्नेमा विश्वस्त छौं । हाम्रो सेवाप्रति ग्राहकहरूको आकर्षण बढेको छ ।

तपाईंहरूको प्राथमिकताको क्षेत्र कुन हो ?

पहिलो प्राथमिकता होटल हो । अहिले सबैभन्दा बढी ग्राहक पनि यही क्षेत्रका छन् । अपार्टमेण्ट पनि प्राथमिकतामा छ । यसबाहेक अन्य क्षेत्रमा पनि सेवा दिइरहेका छौं ।

कम्पनीको नयाँ योजना के छ ?

फ्लोरिङ एण्ड फर्निशिङमा नै लगानी बढाउने तयारी गरेका छौं । आगामी २ वर्षभित्र करीब ३ करोड रुपैयाँ लगानी थप्ने योजना छ । हाम्रो सेवाप्रति ग्राहकको आकर्षाले गर्दा लगानी थप्न मद्दत पुगेको हो । अहिले फ्लोरिङ एण्ड फर्निशिङका नयाँनयाँ सामानको माग भइरहेको छ । तर, मागअनुसारका सबै सामान उपलब्ध गराउन सकेका छैनौं । फ्लोरिङ एण्ड फर्निशिङका सबै सामान एउटै शोरूमबाट उपलब्ध गराउने उद्देश्यले लगानी थप्न लागेका हौं । हामीले २० जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएका छौं ।

कम्पनीले विक्रीपछि कस्तो सेवा उपलब्ध गराउँछ ?

हामीले पार्केटिङमा १० वर्षको वारेण्टी दिएका छौं । उक्त अवधिभित्र पार्केट उप्किएमा त्यसको सट्टा नयाँ जडान गरिदिन्छौं । अन्य सामानको हकमा ३ वर्षसम्मको वारेण्टी दिँदै आएका छौं ।

यो व्यवसायमा कत्तिको प्रतिस्पर्धा छ ?

अहिले व्यावसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । कम्पनीहरूले आफूखुशी मूल्य घटाउने प्रवृत्ति बढेको छ । यसले ग्राहकलाई सजिलो भए पनि व्यवसायीहरूलाई भने नकारात्मक असर पार्छ ।