''१२ बजेपछि पनि 'बार' खोल्न दिनुपर्छ'' - म्याक्स खत्री
प्रबन्ध निर्देशक, द फयाक्ट्री रेष्टुरेण्ट एण्ड बार
सगरमाथा बजार, ठमेल, काठमाडौं
'बार’को व्यवसाय कस्तो छ ?
कार्यालयपछिको समय बिताउने स्थानका रूपमा बारलाई लिइन्छ । दिनभरिको काम, तनाव र थकाइआदिबाट मुक्त हुने स्थान बार हो । वास्तवमा बार एक्लै गएर आनन्द लिने स्थान हो । बारमा बारटेण्डर ग्राहकको एकदमै मिल्ने साथीका रूपमा प्रस्तुत हुन सक्नुपर्छ । टेण्डरको सेवाको गुणस्तरले नै एउटा बारलाई एउटा स्तरबाट अर्को स्तरमा पुर्याउन सक्छ । विदेशमा साँझ ६ बजेपछि बार शुरू हुन्छ र रातको २ बजेसम्म चल्छ । हरेक व्यवसायलाई आठ घण्टा समय दिनुपर्छ । तर, नेपालमा भने सरकारले रातको १२ बजेसम्ममा बन्द गरिसक्नुपर्ने नियम बनाएको छ । यसले यस व्यवसायलाई निकै असर पारेको छ । बार सबैभन्दा धेरै राजस्व सङ्कलन हुनेमध्येको व्यवसाय हो । प्रत्येक बारले १५/२० जनालाई रोजगारी पनि दिएको छ ।
एउटा सुविधासम्पन्न बारमा केके हुनुपर्छ ?
पहिलो कुरा बार सबैलाई पायक पर्ने ठाउँमा सञ्चालन हुनु पर्छ । तालीमप्राप्त र दक्ष बार टेण्डरहरू हुनुपर्छ । उसले ग्राहकको मागअनुसारका पेयपदार्थहरू आकर्षक तरीकाले उपलब्ध गराउन सक्नुपर्छ । ग्राहकलाई आनन्दको अनुभूति दिलाउने वातावरण हुनुपर्छ ।
नेपालमा बारको व्यावसायिक अवस्था कस्तो छ ?
नेपालमा ३/४ वर्षको अवधिमा करोडौँ लगानीका बार पनि खुलेका छन् । उनीहरूको दैनिक लाखौँको व्यापार छ । तर, ग्राहकले चाहेको जति समय बारमा बिताउन पाइरहेका छैनन् । हामीले ग्राहकलाई अब तपाईं जानुहोस् भन्नुपर्ने अवस्था छ । पर्यटकलाई पनि समयसीमा नतोक्ने हो भने उनीहरूले एक रातमा रू. १० हजारसम्म बारमा खर्च गर्न सक्छन् । तर, १२ बजे बन्द गर्नुपर्ने नियमले उनीहरूले चाहेको जति पनि खर्च गर्न पाएका छैनन् । सरकारले बारका कारण सुरक्षा भएन भन्ने तर्क गरेको छ । त्यो गलत हो । बार त विश्वभर छन् । बैङ्ककमा राति १० देखि शुरू भएको बार बिहान ५ बजेसम्म चल्छ । त्यहाँको सुरक्षामा कुनै असर परेको छैन । हामीले राजस्व तिरिरेहका छौँ भने व्यवसाय सञ्चालनको सहज वातावरण बनाउनु सरकारको कर्तव्य हो । नेपालमा अन्तरराष्ट्रियस्तरका बार पनि खुलेका छन् । उनीहरूलाई व्यवसाय गर्न प्रोत्साहन गर्ने कि नगर्ने भन्ने सरकारको नीतिमा भर पर्छ । अहिले बार व्यवसाय बढेको छ । तर, सन्तुष्ट हुनसक्ने अवस्था भने छैन ।
नेपालका बारमा विदेशी बारमा जस्तै सबै सुविधा उपलब्ध छन् ?
उपलब्ध हुने सुविधा त्यहाँको व्यवसाय गर्ने वातावरणमा भर पर्छ । आफूले गरेको लगानीको प्रतिफल छ, आउँछ आउँदैन भन्ने कुराले पनि कस्तो सुविधा दिने भन्ने फरक पार्छ । आम्दानी छैन भने जसले पनि सुविधामा कम गर्दै लान्छ । कतिपय बारले निकै गाह्रो गरेर चलाइरहेको अवस्था पनि छ । त्यसैले सबै बारमा उत्तिकै सुविधा छ भन्ने अवस्था भने छैन ।
नेपालमा बारका लागि दक्ष जनशक्ति छन् ?
तालीम लिएका बार टेण्डरहरू दक्ष छन् । उनीहरूले यूरोपियन स्टयार्ण्र्डडमा सेवा दिन्छन् । तर, अहिले दक्ष बारटेण्डरहरू विदेश पलायन हुन थालेका छन् । नेपालमा बार टेण्डरको तालीम लिनका लागि गरेको खर्चअनुसारको आम्दानी नभएको हुनाले नै उनीहरू विदेशिएका हुन् । नेपालमा पनि विदेशमा हुनेजति कमाइ हुने सम्भावना छ । तर, यसका लागि सरकारले व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ ।
बारहरूले निकै नाफा कमाएका छन्, तर कामदारलाई राम्रो सुविधा दिएका छैनन् भनिन्छ नि ?
कतिपय बारमा मालिक र कामदारको सम्बन्ध कमजोर भएकाले समस्या भएको छ । हाम्रो बारमा व्यवस्थापन पक्ष र कामदारबीचको सम्बन्ध एकदमै राम्रो छ । हामीले कामदारको मनोबल उच्च हुने गरी उनीहरूलाई सुविधा दिएका छौँ । समयसमयमा उनीहरूलाई बढुवा गर्ने व्यवस्था गरेका छौँ । बारमा एकदमै धेरै व्यापार देखिन्छ । तर, खर्च पनि उत्तिकै भएको हुन्छ । अहिले त जति व्यापार भएको छ, त्यसले हामीलाई व्यवसाय धान्न नै अप्ठयारो भएको छ । तर, हामीले १२ बजेपछि पनि व्यापार गर्न पाउने हो भने त्यो समयको सबै कमाइ हाम्रो नाफा हो । त्यसपछि कामदारलाई अझ धेरै सुविधा दिन सक्छौँ ।
द फयाक्ट्री रेष्टुरेष्ट एण्ड बारका ग्राहक बढी स्वदेशी छन् कि विदेशी ?
हामी नेपालीहरूको बीचमा धेरै परिचित छौं । यसो हुनाले कुल ग्राहकको ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी हुन्छन् । हाम्रो लक्ष्य भनेको ६० प्रतिशत विदेशी ४० प्रतिशत नेपाली ल्याउने हो । यसका लागि २/३ वर्षसमय लाग्न सक्छ ।नेपालीहरूमा एउटै बारबाट आनन्द लिनेभन्दा पनि एकै दिनमा धेरै ओटा बार चाहार्ने प्रवृत्ति पनि छ नि ! नेपालीहरूको बारसंस्कृति भनेको मनोरञ्जनका लागि हो । उनीहरू त्यहाँ मदिरा पिउनुभन्दा पनि मनोरञ्जन चाहन्छन् । विशेष गरी युवाहरूमा बार चाहार्ने प्रवृत्ति छ । बारसंस्कृतिमा अभ्यस्त नभइसकेकाहरू एकै दिनमा धेरै ओटा बार घुम्न चाहन्छन् । बार आउने धेरै मानिसहरू आज एउटा मदिरा पिउँछन् भने भोलि अर्को । नेपालीहरूमा बारसंस्कृतिको विकास भई नसकेकाले यस्तो भएको हो । तर, लामो समय बारमा जाने संस्कृति बनाइसकेकाले भने कुनै निश्चित बार छानिसकेका छन् ।
नेपालका बारमा कस्ता पेयको माग बढी हुन्छ ?
महिलाहरूले हल्का खालका पेयपदार्थ रुचाउने हुनाले अहिले मक्टेलको माग बढेको छ । साथै, कक्टेलको मागमा पनि कमी आएको छैन । कस्ता किसिमका कक्टेल वा मक्टेल उपलब्ध गराउने ग्राहक र बारटेण्डरमा भर पर्छ । उसको छनोट कस्तो हुन्छ र त्यसले कस्तो स्वादमा उपलब्ध गराउँछ भन्ने कुराले यसको प्रयोग निर्धारण हुन्छ ।