''नक्कली उत्पादनले बजार प्रभावित छ'' - राकेश वंशल
प्रबन्ध निर्देशक
आरबी ब्रश इण्डष्ट्रीज प्रालि
टूथपेष्टका उत्पादनमा बजारबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
बजारको प्रतिक्रिया राम्रो भएकाले अहिलेसम्म उत्पादन गरिरहेका छौँ । यही भएर हामीहरू अटोमेटिक मेशीनमा गएका छौँ । पहिले हाम्रो सेमी अटोमेटिक मेशीन थियो । सेमी अटोमेटिकमा जनशक्ति पनि बढी लाग्छ । प्रडक्टको फिनिसिङ पनि राम्रो आउँदैन । तर, अटोमेटिक मेशीनमा प्रडक्ट पनि स्तरीय आउने र जनशक्ति पनि कम लाग्ने भएकाले यतातिर गएका हौँ ।
यहाँहरूको उत्पादनक्षमता कति छ ?
हाम्रा उत्पादनले मात्रै नेपालभर बजार प्रवर्द्धन गर्न सक्छौँ । यस कम्पनीको उत्पादन क्षमता अहिले प्रतिदिन ३५ देखि ४० हजार पिस टूथब्रशमा छ । टूथपेष्टमा पनि दैनिक १ टन उत्पादनक्षमता छ । तर, अहिले चीन र भारतबाट चोरीपैठारीले गर्दा बजार प्रवर्द्धनमा अप्ठेरो परेको छ । हामीले पर्ल ब्राण्डमा टूथपेष्ट उत्पादन गर्छौँ |
पर्ल ब्राण्डका टूथपेष्टको बजार कस्तो छ ?
हाम्रा उत्पादनले ब्रशको मात्रै कुरा गर्दा ७० देखि ८० प्रतिशत बजार ओगटेको छ । टूथपेष्टमा चाहिँ ४५ देखि ५० प्रतिशत बजार ओगटेको छ । यस्ता उत्पादनको माग बढी रहेको पाएका छौँ ।
यति ठूलो बजार हिस्सा भएको कम्पनीका उत्पादन त बजारमा कमै देखिन्छन्, कारण के हो ?
बजारमा देखिने चिनियाँ सामान नै स्वदेशी उत्पादकहरूका लागि मुख्य समस्या हो । भारतबाट आउने टूथपेष्टमा त्यति ठूलो समस्या छैन । चीनबाट एकदमै न्यून मूल्यमा टूथपेष्ट र टूथब्रशका सामान आयात भइरहेका छन् । चिनियाँ सामानभन्दा स्वदेशी उत्पादन केही महङ्गा पर्छन् । उपभोक्ताले प्याकेजिङको आकर्षण मात्र हेरिरहेका छन् । उनीहरूले सामानको गुणस्तरीयता बुझ्न सक्दैनन् । हामीले पनि पर्याप्त रूपमा बुझाउन सकेका छैनौँ ।
त्यसो भए स्वदेशी उद्योगको अवस्था कमजोर बन्दै गएको छ, हैन ?
हो, स्वदेशी उद्योगको अवस्था खराब बन्दै गएको छ । यही भएर धरै प्लाष्टिक उद्योग पनि बन्द भइसकेका छन् । विस्तारै टूथपेष्टका उद्योग पनि बन्द हुदै जाने अवस्थामा छन् । केही उद्योग त बन्द हुँदै सञ्चालन हुँदै गरेको पनि देखिन्छ । उद्योगमा अहिले श्रमको समस्या पनि छ । अहिलेको अवस्थामा कसैले पनि पूँजी लगानी गर्न चाहेका छैनन् । यही अवस्था रहेमा सबै उद्योग धराशायी भएर जान्छन् ।
बजारमा देखिने नक्कली सामानलाई नियन्त्रण गर्न कसले कति भूमिका खेल्नुपर्छ ?
यस्ता वस्तुको नियन्त्रणमा सबैभन्दा ठूलो भूमिका भन्सारको हुन्छ । चिनियाँ नाकामा भन्सारले कडा गर्नेबित्तिकै नक्कली टूथपेष्ट र टूथब्रशको बिगबिगी स्वतः घटेर जान्छ । नक्कली टूथपेष्ट र टूथब्रशको नियन्त्रणका लागि हामीले धेरै पटक सरकारलाई आग्रह गरेका छौँ । थौरै भन्सार दरमा यस्ता सामान नेपाली बजारमा आयात हुन्छन् । यतिको भन्सार दरमा हामी नै सामान खरीद गर्न तयार छौँ । हामीले कच्चा पदार्थ मात्रै प्रयोग गर्न सक्छौँ । सबै सामानको नेपालमा अधिकृत विक्रेता तोकिएको हुन्छ । जुन सामानका लागि जसलाई अधिकृत विक्रेता तोकिएको हो, उसले मात्रै सामान आयात गर्न पाउनुपर्छ । यो नियम भन्सारमा लागू गरिदिएमा नक्कली सामानको बजार पूर्णतः हटेर जान्छ ।
त्यसो भए भारतीय सामानले चाहिँ स्वदेशी उत्पादनलाई असर पारेको छैन ?
त्यसो पनि होइन । भारतीय सामानले पनि केही मात्रामा असर गरेको छ । तर, भारतीय सामानमा गुणस्तर तलमाथि हुने सम्भावना एकदमै न्यून हुन्छ । जसरी, चीनबाट आउने सामानमा समस्या देखिएको छ, त्यसको तुलनामा भारतीय सामानमा समस्या छैन ।
स्वदेशी व्यवसायीका बीच नै अस्वस्थ प्रतिस्पर्धा बढेको भनिन्छ नि ?
बजारमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । जति प्रतिस्पर्धा भयो, त्यति नै उपभोक्ताले सहुलियत पाउने हो । स्थानीय उत्पादनमा प्रतिस्पर्धा हुँदा त्यति गाह्रो थिएन । तर, नक्कली सामानसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ । किनकि, यस्ता सामानको मूल्य थोरै हुन्छ । गुणस्तर पनि निश्चित हुँदैन । विक्रेताहरू पनि न्यून मूल्यमा पाउने टूथपेष्टका सामानले गर्दा स्वदेशी उत्पादन विक्रीवितरण गर्न गाह्रो मान्छन् । किनकि, हाम्रो उत्पादनमा उनीहरूले कम फाइदा पाउँछन् ।
उपभोक्तामा ब्राण्डप्रतिको चेतना विकास गर्न केही पहल गर्नुभएको छ ?
सबै उद्योगले विज्ञापन गरिरहेका छन् । तर, ग्राहकले सक्कली र नक्कली कसरी छुट् याउने ? त्यो सकिरहेका छैनन् । यसको लागि एउटा मात्रै माध्यम भनेको भन्सार हो । भन्सारले नक्कली र कम गुणस्तरका सामानमाको आयातमा कडा गरे बजारमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । यस्तो बजारमा प्रतिस्पर्धा गर्न सधैँ तयार छौँ ।
टूथपेष्टको उत्पादनमा नयाँ लगानीकर्ताको आकर्षा कस्तो छ ?
अहिले लगानीकर्ताहरू आकर्षित हुने अवस्था छैन । नेपालमा बहुराष्ट्रिय ब्राण्डको बजारहिस्सा धेरै माथि छ । हामीले पनि क्षमताअनुसार उत्पादन गर्न सकिरहेका छैनौँ । क्षमताको एकतिहाई पनि उत्पादन गर्न सकेका छैनौँ । हामीसँग दैनिक १ टन उत्पादन गर्न सक्ने क्षमताका मेशीन छन् । तर, अहिले दैनिक ५ सय किलोभन्दा बढी उत्पादन गर्न सकेका छैनौँ ।
यहाँको उद्योगले वार्षिक कतिको कारोबार गर्छ ?
अहिले त वार्षिक ३ करोड ५० लाख रूपैयाँ जति मात्रै हो । यसलाई एकतिहाई कारोबार मात्र लिँदा हुन्छ । हामीले पूर्ण रूपमा सञ्चालन गर्ने हो भने वार्षिक १२ करोड रूपैयाँसम्म कारोबार पुग्छ । नेपालमा टूथपेष्टको बजार धेरै ठूलो छ । यसलाई यति नै छ भन्न सकिने अवस्था छैन । टूथपेष्ट दैनिक उपभोग्य वस्तुमा पर्छ । यसले पनि खपत बढी रहेको हो । हाम्रो वार्षिक वद्धि २४ प्रतिशतले हुनुपर्ने हो । गत वर्ष हाम्रो कम्पनीले कारोबार बढाउन सकेन । कर्मचारी आन्दोलन, लोडसेडिङलगायतका समस्याले पनि अप्ठेरो परेको थियो । गएको एक वर्षेखि चाहिँ उद्योगले निरन्तर उत्पादन गरिरहेको छ ।
पुराना कम्पनीहरू क्रमशः बन्द हुँदै जानुको कारणचाहिँ के हो ?
यसको एउटै कारण चीनबाट नक्कली टूथपेष्टको न्यून भन्सारमा आयात हुनु हो । नेपालमा ४ ओटा टूथपेष्ट उत्पादक कम्पनी थिए । यसमध्ये २ वटा बन्द भइसकेका छन् । एउटा पनि बन्दको स्थितिमा छ । हामीले क्षमताअनुसार पूर्णरूपले उत्पादन गर्न सकिरहेका छैनौ । जबरजस्त चलाइरहेका छौँ । यस्तै स्थिति रहे हामी पनि धेरै दिनसम्म धान्न सक्दैनौँ ।
यहाँले जुन स्थितिको व्याख्या गर्नुभयो, यसको समाधान कसरी गर्न सकिन्छ ?
सरकारले स्वदेशी टूथपेष्ट उद्योगलाई सहयोग गर्नुपर्छ । कच्चा पदार्थ आयातमा सुविधा दिनुपर्छ । कच्चा पदार्थ २५ प्रतिशत भन्सार तिरेर ल्याउनुपर्छ । तर, तयारी सामान १५ प्रतिशत भन्सार तिरे पुग्छ । त्यही भएर उद्योग बन्द हुँदै गएका हुन् ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ कहाँबाट आयात गर्नुहुन्छ ?
हामीले सबैजसो कच्चा पदार्थ भारतबाट नै आयात गर्दछौँ । कच्चा पदार्थका लागि नेपालमा स्रोत नै छैन । प्याकिङका सामान मात्रै उपलब्ध हुन्छन् । कतिपय उद्योगले तेस्रो मुलुकबाट पनि आयात गर्ने गरेको पाइन्छ ।
तपाईंहरूले उत्पादन गर्ने टूथपेष्ट गुणस्तरीय हुन्छ भन्ने आधार के हो ?
हाम्रा उत्पादन ल्याब्मा निरन्तर परीक्षण भइरहेका हुन्छन् । सबै उत्पादन परीक्षण नभइकन बजारमा पठाउदैनौँ । हाम्रा उत्पादनमा शङ्का गर्ने केही आधार छैनन् । अहिले १ सय जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएका छौँ । अप्रत्यक्षमा जम्मा ३ सय ५० जति छन् । हामीले उद्योगलाई विस्तार गर्ने योजना पनि बनाएका थियौँ । तर, अहिलेको स्थितिमा त्यो सम्भव भएन । सरकारले पनि उद्योगमैत्री नीति लिनुपर्छ जस्तो लाग्छ ।
यहाँहरूले कहिलेदेखि टूथपेष्ट उत्पादन शुरु गर्नुभएको हो ?
हामीले टूथपेष्ट, टूथब्रश, लाइटसाइन, टङ्कक्लिनर र सेम्पू गरी पाँच ओटा वस्तु उत्पादन गर्छौँ । यसमा सबैभन्दा पुरानो टूथ ब्रश हो । टूथपेष्ट र टूथब्रश दुबैमा हाम्रो दुइ/दुइ वटा प्रडक्ट छन् । टूथपेष्टमा पर्ल र फ्रेस सअप ब्राण्डका दुइ प्रडक्ट छन् । हाम्रो उद्योग २०४२ सालमा दर्ता भएको हो । उत्पादनचाहिँ २०४७ सालबाट शुरु गरेका हौँ । टूथ पेष्टको उत्पादन २०५७ सालबाट गर्न थालेका हौँ । अहिलेसम्म निरन्तर उत्पादन गरिरहेका छौँ ।