शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

समान यूपीका मदिराको मूल्यमा पनि धेरै फरक छ
डा. बृजमोहन मिश्र
महाप्रबन्धक
डिष्टिलरी एकाइ
लुम्बिनी चिनी उद्योग प्रालि



लुम्बिनी चिनी उद्योगको डिष्टिलरीबाट अहिले कुन कुन ब्राण्डका मदिरा उत्पादन भइरहेको छ ?
हामी अहिले ७० डिग्री  यूपीमा एउटा ब्राण्ड 'ब्लाष्ट’ र ५० डिग्री यूपीमा 'हिलसाइड हि्वस्की तथा ५० डिग्री  यूपीमै 'विनसेण्ट’ जिन उत्पादन गरिरहेका छौं । यसबाहेक ५० डिग्री  यूपीमै अरू दुई ब्राण्ड मर्लिन जिन र मेरीट हि्वस्की, रेडहर्ट र ह्वाइट र्डार्क रमको उत्पादन छिट्टै शुरू गर्दैछौं । विस्तारै २५ यूपी शक्तिको मदिरा उत्पादननिम्ति पनि हाम्रो तयारी जारी छ ।

नेपालमा उत्पादित निम्नकोटीका मदिराहरूको लेबलमा उल्लेख गरिएअनुरूप नै गुणस्तर हुन्छ भन्ने ग्यारेण्टी छ ?
सबै प्रकारका मदिरामा सधैंभरि एकनासको गुणस्तर हुन्छ भनेर ठोकुवा गर्न अत्यन्तै कठिन छ । नेपालमा सानाठूला गरी ४१ ओटा डिष्टिलरी छन् । ती डिष्टिलरी सबैमा अल्कोहल विशेषज्ञ राखिएका छैनन् । उत्पादित सबै ब्राण्डका मदिराको सरकारी स्तरबाट नियमित परीक्षण पनि हुने गरेको छैन । भन्सार विभागमा रहेको एउटा मात्र सरकारी प्रयोगशालाबाट उत्पादनको शुरूमा यूपी शक्तिको परीक्षण गरेपछि फेरि त्यो प्रक्रियालाई निरन्तरता दिइँदैन । यद्यपि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले मदिरामा अखाद्य पदार्थ प्रयोग गरिएको छ कि छैन भनेर परीक्षण गर्न सक्छ । तर, त्यस्तो परीक्षण नियमित रूपले हुने गरेको छैन । मदिराको यूपी शक्ति र खाद्य-अखाद्य पदार्थको मिश्रण के कस्तो अवस्थामा छ, नियामक निकायद्वारा नियमित परीक्षणबाट मात्र जान्न सकिने विषय हो । यस विषयमा नेपालका नियामक निकाय अत्यन्तै कमजोर देखिएका छन् ।

सिद्धान्तत: मदिरा उत्पादन गर्दा हमेशा हर्बल फ्लेवर मात्र प्रयोग गर्नु पर्ने हुन्छ । तर, यहाँका धेरैजसो डिष्टिलरीले कृत्रिम फ्लेवर प्रयोग गरिरहेका पाइएको छ । मदिरा उत्पादनमा कृत्रिम फ्लेवरको प्रयोग विल्कुलै गलत कुरा हो । मदिरालाई गुणस्तरयुक्त बनाउन फ्लेवरको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले हरेक डिष्टिलरीले प्राकृतिक फ्लेवर नै प्रयोग गर्नुपर्छ । यसबाट मदिरा सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्दैन । अखाद्य पदार्थबाट निर्मित मदिरा मानव स्वास्थ्यका निम्ति अत्यन्तै हानिकारक हुन्छ । यस्ता खराब मदिरा सेवनबाट मानिसको मृत्युसमेत हुने गरेको हामी कसैबाट छिपेको छैन । त्यसैले मदिराको गुणस्तर व्यवस्थापनका निम्ति नेपालमा एउटा छुट्टै र शक्तिशाली निकाय तत्काल आवश्यक छ ।

नेपालमा अल्कोहल विशेषज्ञ कति छन् ?
यहाँ नौ/दशजना अल्कोहल विशेषज्ञ छन् । तर, नेशनल सुगर इन्षिटच्युट कानपुरबाट उत्पादित अल्कोहल विशेषज्ञ बढीमा पाँचजना मात्र छन् । भारतको पुनामा पनि यो कोर्षमा पढाइ हुन्छ । त्यहाँबाट उत्पादित प्रविधिक चार/पाँचजना होलान् ।

डिष्टिलरी धेरै र विशेषज्ञ थोरै रहेको नेपालमा मदिरा उत्पादनको काम कसरी चलिरहेको छ त ?
यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । नेपालको कानूनमा मदिरा उत्पादनका लागि जेजस्ता प्रावधान रहे पनि व्यवहारमा त्यो पूर्ण रूपले लागू भएको देखिएको छैन । जो कसैले पनि डिष्टिलरी स्थापना गर्न चाहन्छ, त्यहाँ स्थायी रूपले अल्कोहलविशेषज्ञको आवश्यक पर्दछ । भारतकै कुरा गर्ने हो भने त्यहाँ अल्कोहल विशेषज्ञ नराखिएका डिष्टिलरीलाई मदिरा उत्पादन गर्ने लाइसेन्स नै दिइँदैन । विशेषज्ञको रेखदेखविना मदिरा उत्पादन गर्ने डिष्टिलरीको लाइसेन्स नै खारेज गरिन्छ । तर, नेपालमा त यसको कुनै मतलबै छैनजस्तो बुझिन्छ । यहाँ त फ्लेवर (वासना) विक्रेताले बताएअनुसार फ्लेवर हालेर हि्वस्की बनाइन्छ । नेपालका धेरै डिष्टिलरी यसैगरी चलेका पाएको छु मैले । तर, यो एकदमै खतरनाक कुरा हो । हरेक प्रकारका केमिकललाई एउटा निश्चित परिमाणमा मात्र प्रयोग गर्नु पर्ने हुन्छ । भूलवश कसैले अलिकति बढी केमिकल हालिदियो भने त्यस्ता मदिरा सेवन गर्दा ज्यान नै जान सक्छ ।

निम्नकोटीका मदिरा सेवनबाट यसअघि नेपालमा केही मानिसको ज्यान गएको उदाहरण पनि छन् । केमिकल बढी भएकै कारण उनीहरूको मृत्यु भएको हो त ?
यो अलग प्रकृतिको मुद्दा हो । मानिसले पिउनयोग्य इथाइल अल्कोहल मात्र मदिरामा प्रयोग गर्न सकिन्छ । नेपालमा उत्पादन हुने टिनएसएस स्पिरिट बन्थ्यो, तर सरकारले यसमा अन्त:शुल्क बढाएका कारण पेण्ट, बार्नेसजस्ता उद्योगका निम्ति मिथाइल अल्कोहल प्रयोग गर्न थालियो । भारतबाट मिथाइल अल्कोहल प्रशस्त मात्रामा आउन थाल्यो । नेपालमा उत्पादित केही मदिरामा त्यतिखेर यही मिथाइल अल्कोहल केही एमएल हालिएको हुनुपर्छ ।

मिथाइल अल्कोहलको नशा अत्यन्तै खतरनाक हुन्छ । कडा नशेदार बनाउन मदिरामा केही निश्चित मात्रामा मिथाइल अल्कोहल मिसाइदिएको हुन सक्ने मेरो आशङ्का छ । अल्कोहल प्राविधिक नभएका डिष्टिलरीहरूबाट यस्तो गल्ती बारम्बार हुन सक्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । त्यसैले पनि डिष्टिलरीका निम्ति अल्कोहल प्राविधिक अत्यन्त आवश्यक हुन्छ ।

मदिरामा मिथाइल अल्कोहल मिसाइएको कुरा पत्ता लगाउने तरीका के हो ?
यसको सही परीक्षण त प्रयोगशालाबाटै हुन सक्छ । तर, मानिसले मदिरा सेवन गर्नेबित्तिकै मिथाइल अल्कोहल मिसाइएको छ कि छैन भनेर बुझ्न सक्ने एउटा अर्को तरीका पनि छ । कुनै पनि मदिरा पिउनेबित्तिकै जिब्रोले एकदमै चिसो महसूस गर्यो भने त्यसमा निश्चित रूपले मिथाइल अल्कोहल मिसाइएको छ भनेर बुझ्नु पर्छ । मिथाइल अल्कोहल आफैमा ठण्डा (चिसो) तरल पदार्थ हो । हि्वस्कीमा पानीको तापक्रमभन्दा बढी चिसो महसूस हुनेबित्तिकै त्यसलाई तत्कालै पिउन छोडिदिनुपर्छ । नेपालमा नक्कली मदिरा बनाउनेहरू आज पनि सक्रिय छन् । पहिले त यस्ता व्यक्तिहरू पक्राउ पनि पर्थे । तर, अहिले नक्कली मदिरा बनाउनेहरू पक्राउ परेका छैनन् । यसको अर्थ नक्कली मदिरा बनेकै छैन भन्ने चाहिँ होइन । रेड लेबल र ब्ल्याक लेबलजस्ता उच्चस्तरीय हि्वस्कीको पनि यहाँ नक्कली उत्पादन भइरहेको छ । मानव स्वास्थ्यका निम्ति यो अत्यन्तै खतरनाक कुरा हो ।

नेपालमा सञ्चालित सबै डिष्टिलरीमा अल्कोहल प्राविधिक छन् त ?
मुश्किलले आठ/दशओटा डिष्टिलरीमा अल्कोहल प्राविधिक होलान् । पर्याप्त अल्कोहल प्राविधिकको अनुपलब्धताले त्यस्तो भएको हो । तर, अल्कोहल प्राविधिकविना मदिरा उत्पादन गर्नु उपभोक्तामाथिको ठूलो खेलबाड हो । नेपालमा मुश्किलले सात/आठओटाबाहेक कुनै पनि डिष्टिलरीमा अल्कोहलको विश्लेषण गरिँदैन । अल्कोहल विश्लेषणका निम्ति यसमा टोटल एसिडको मात्रा, एसिटिक एसिडको मात्रा, भोलेटाइज एसिडिटी, एष्टर, एलडीहइड, फ्यूजल अयल, कपर नेण्टेण्ट र फरफुरलको मात्रा कति छ भन्ने कुराको पूर्ण जानकारी आवश्यक पर्दछ । मदिराको हरेक ब्याचमा यी विश्लेषणको रिपोर्ट अनिवार्य रूपले टाँसिएकै हुनुपर्छ । त्यस्तो रिपोर्ट कर कार्यालय र नियामक निकायबाट प्राप्त गरेपछि मात्र मदिरा विक्रीका निम्ति बजारमा पठाउन पाउने अनिवार्य व्यवस्था सरकारले लागू गर्नु पर्छ । तर, दु:खका साथ भन्नुपर्छ, सरकारी ल्याबमा पनि यी सबको विश्लेषण हुने गरेको छैन । सरकारी ल्याबले त मात्र स्टयाम्प र 'भोल्युम’ चेक गरेर छोडिदिने गरेको छ ।

यसको मतलब सरकारी स्तरबाट नेपालमा उत्पादित मदिराको खासै परीक्षण हुँदैन ?
कुनै पनि डिष्टिलरीले नयाँ ब्राण्डको मदिरा उत्पादन गर्यो भने त्यसलाई परीक्षण गर्न एक पटक भन्सार विभागको प्रयोगशालामा लगिन्छ । फेरि त्यसपछि परीक्षण नै हुँदैन । कुनैकुनै डिष्टिलरीले वर्षको एक पटक निजी प्रयोगशालाबाट परीक्षण गराउँछन् । तर, मदिराको गुणस्तर वर्षको एकपटक होइन, हरेक ब्याचको उत्पादनमा परीक्षण गर्नुपर्छ । अहिले नेपालमा २५ यूपी शक्तिका मदिरामा प्राय: भारतीय ब्राण्ड नै चलेका छन् । भारतीय ब्राण्ड उत्पादन गर्ने डिष्टिलरीले मदिरामा आवश्यक सबै प्रकारका गुणस्तर व्यवस्थापन गरेका हुन्छन्, किनकि त्यहाँ अल्कोहल प्राविधिक अनिवार्य रूपमा राखिएका छन् । नेपालका स्थानीय डिष्टिलरीले पनि अल्कोहल प्राविधिक राखेर मदिराको गुणस्तरप्रति सचेत हुने हो भने तिनीहरू पनि अगाडि आउन सक्छन् । तर, अहिलेसम्म त्यस्तो प्रवृत्ति देखा परेको छैन ।

नेपालका समान यूपी शक्तिको मदिराका मूल्यमा पनि धेरै फरक देखिन्छ । एउटै यूपी शक्तिको मदिराका गुणस्तरमा असमानताका कारणले मूल्य तल-माथि हुन्छ । राम्रो मेशिन, प्रशिक्षित प्राविधिक र गुणस्तरीय कच्चापदार्थको प्रयोग गर्ने हो भने समान यूपी शक्तिको मदिराका मूल्यमा फरक पर्दैन । प्राविधिक र गुणस्तरीय कच्चापदार्थ प्रयोग नगर्ने डिष्टिलरीबाट उत्पादित मदिरा निश्चित रूपले न्यून गुणस्तरको हुन्छ, र त्यसलाई मात्र सस्तोमा बेच्न सकिन्छ । नियमन निकायले ध्यान पुर्‍याउनु पर्ने र परीक्षण गर्नु पर्ने कुरा यी नै हुन् ।

मदिरा उत्पादननिम्ति सरकारले एउटा निश्चित मापदण्ड र मूल्य नतोकेकै कारण एउटै यूपी शक्तिका मदिराको असमान र मनपरी मूल्य भएको हो । नेपालमा त यस्ता कुराको कुनै मतलब नै राखिएको छैन ।

मदिरा उत्पादनमा आगामी योजना के छ ?
मैले यसअघि सुमी डिष्टिलरीबाट ४० डिग्री यूपी शक्तिको गीलमेरी ब्राण्ड निकालेको थिएँ । त्यतिखेर ४० डिग्री यूपीको कुनै मर्यादा नै थिएन । मैले त्यसमा ग्वाला क्लोजर (विशेष प्रकारको विर्को), माल्ट स्पिरिट र हर्बल फ्लेवर प्रयोग गरेको थिएँ । गीलमेरी ब्राण्ड राम्ररी चल्यो । राम्ररी मात्रै होइन, त्यति नै यूपी शक्तिमा अब सायदै कुनै ब्राण्ड चल्ला । अहिले मैले ५० डिग्री यूपीको हिलसाइड ब्राण्ड निकालेको छु । २ महीना मात्रै भयो, यो ब्राण्ड बजारमा आएको । काठमाडौंमा त अहिले ल्याएकै छैन यो ब्राण्ड । तर, तराईमा हिलसाइडले अत्यन्तै राम्रो बजार पाएको छ । मदिरा पारखीहरूले हिलसाइड ब्राण्डलाई असाध्यै मन पराएका छन् । माल्ट स्पिरिट र हर्बल फ्लेवरबाट निर्मित हिलसाइड ब्राण्ड 'लिडिङ ब्राण्ड’मा आउने मेरो विश्वास छ । अब हिलसाइडलाई ४० डिग्री यूपी शक्तिमा उत्पादन गर्ने योजना छ । त्यसपछि २५ डिग्री यूपीमा जाने र आफ्नै 'माल्ट स्पिरिट प्लाण्ट र ग्रेन स्पिरिट प्लाण्ट’ लगाउने हाम्रो योजना छ । लुम्बिनी चिनी कारखानाद्वारा उत्पादित मदिरालाई इण्डियन ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने मेरो कोशिस रहने छ । यसअघि मैले जहाँजहाँ काम गरेँ, त्यहाँ डिष्टिलेशन प्लाण्ट थिएन । तर, सौभाग्यले लुम्बिनी चिनी कारखानामा आफ्नै स्पिरिट बनाउने प्लाण्ट छ । यसबाट हामीलाई जुन गुणस्तरको स्पिरिट आवश्यक पर्छ, त्यो बनाउन सक्छौं ।

नयाँ उत्पादनहरू कहिलेसम्ममा बजारमा ल्याउँदै हुनुहुन्छ ?
४० डिग्री यूपीको उत्पादन आगामी ३ महीनामा आउने छ । २५ डिग्री यूपीको उत्पादनका निम्ति भने ६/७ महीना लाग्छ । यो उत्पादनमा धेरै ठूलो प्रतिस्पर्धा छ । २५ डिग्री यूपीमा मेकडबेल, सिग्नेचर, एण्टीक्विटी, ब्ल्यू रिवेण्डजस्ता भारतका चर्चित र स्थापित ब्राण्डहरू मैदानमा छन् । यिनै ब्राण्डसँग हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यद्यपि गुणस्तरमा हाम्रा उत्पादनहरू यी सबै ब्राण्डको तुलनामा कम हुने छैनन्, यसमा म पूर्णत: विश्वस्त छु ।

लुम्बिनी चिनी कारखानाको डिष्टिल्ड प्लाण्ट कस्तो छ ?
धेरै राम्रो र उच्चस्तरीय प्लाण्ट छ । मैले भारतलगायत नेपालमा पनि धेरै डिष्टिलरीमा काम गरिसकेको छु । लुम्बिनी सुगरको जस्तो डिष्टिलिङ् प्लाण्ट कहीँ पनि देखिनँ । पूरा प्लाण्ट तामाबाट बनाइएको छ ।

Admin 2011-10-02