शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एलोभेरा र स्टेभियाको खेतीबाट अर्बौं कमाउन सकिन्छ
रुद्रप्रसाद गिरि
अध्यक्ष
पाम एग्रोटेक एण्ड वायो-इनर्जी नेपाल प्रालि

ग्रीनफोर्ड युनिभसिटी, अमेरिकाबाट सूचनाप्रविधि (आईटी)मा स्नातकोत्तर गरेका रुद्रप्रसाद गिरि कृषिक्रान्तिबाट नै नेपालको उन्नति हुनेमा विश्वास राख्छन् । १ वर्षअघि पाम एग्रोटेक एण्ड वायो इनर्जी नेपाल प्रालि दर्ता गरेर नेपालमा गिरिले स्टेभिया (चिनी बिरुवा) र एलोभेरा (घ्यूकुमारी)को व्यावसायिक खेती शुरू गरेका छन् । किसानलाई स्टेभिया र एलोभेराको खेती गराएर निर्यात गर्ने योजनामा रहेका ४४ वर्षीय गिरिसँग नेपालमा ती दुई वनस्पति खेतीको सम्भावना र त्यसको प्रतिफलका विषयमा आर्थिक अभियानका यादव थपलियाले गरेको कुराकानीको सारः

स्टेभिया (चिनी बिरुवा) र एलोभेरा (घ्यूकुमारी) को खेती गर्ने विचार कसरी आयो ?


मेरा केही दक्षिण भारतीय साथीहरू अमेरिकीहरूसँगको संयुक्त लगानीमा मलेसियामा स्टेभिया र एलोभेराकै काम गर्ने कम्पनी सञ्चालन गरेर बसेका छन् । त्यहाँ उत्पादित स्टेभियाको चिनी र एलोभेरा यूरोपमा निर्यात हुने रहेछ । भियतनामको त राजस्वको आधार नै स्टेभिया रहेछ । विश्वमा अहिले स्टेभियाको अत्यन्त धेरै माग छ । तर, मागको १० प्रतिशत पनि उत्पादन हुन सकेको छैन । एलोभेराको माग पनि अति नै बढेर गएको छ । पूर्ण पोषणतत्त्वका लागि, सम्पूर्ण आयुर्वेदिक तथा एलोपेथिक उपचारका लागि र सम्पूर्ण कस्मेटिक वस्तुका निम्ति एलोभेरालाई अहिले विश्वमै पहिलो नम्बरमा राखिएको छ । स्टेभिया र एलोभेराबाट निर्मित खाद्यवस्तु, औषधि र सौन्दर्यका सामग्री अन्यका तुलनामा दोब्बर मूल्य पर्ने कारण पनि यही हो ।  यी दुई वनस्पतिको उत्पादन संसारभरि उच्च माग रहेको छ । तर, उत्पादन अत्यन्त कम भइरहेको छ । खासगरी बजारको सुनिश्चितताले मलाई स्टेभिया र एलोभेराको खेतीमा आकर्षित गरेको हो ।

खेती शुरू गर्नुभएको कति भयो ?

केही वर्षहिले नेपालमा पहिलोपटक एलो नेपाल नामक कम्पनीले एलोभेराको खेती शुरू गरेको रहेछ । तर, उचित व्यवस्थापनको आभावमा त्यो ठीकसँग चलिरहेको रहेनछ । २०६६ सालको जेठमा मैले त्यो कम्पनी लिएर आफ्नो नाममा एग्रोटेक एण्ड वायो-इनर्जी नेपाल प्रालि नामक कम्पनी दर्ता गरें । त्यतिखेर एलो नेपालसँग दमकमा भएको २ लाख बिरुवाबाट मैले एलोभेराको खेती शुरू गरेको हुँ । स्टेभियाको खेती शुरू गरेको पनि २ वर्ष नै भयो । कुनै पनि काम गर्नका लागि चार कुरा महत्त्वपूर्ण हुन्छन् -प्रविधि, प्रणाली, व्यवस्थापन र बजार । यी चार कुराको संयोजन र कार्यान्वयनमामा कुनै पनि कामको सफलता-असफलता निहित हुन्छ । यी चार कुरा मिलाउन नसक्ने हो भने कसैले कुनै पनि काम शुरू नगर्दा हुन्छ । मैले काम शुरू गरेपछि मलेसियाका साथीहरू यहाँ आएर हेर्नुभयो । उहाँहरूले परीक्षण गर्दा त नेपालमा उत्पादित एलोभेराको जल र एलोइन संसारकै उत्कृष्टमध्ये पर्ने रहेछ । त्यसपछि त म झनै उत्साहित भएर काममा लागें ।

एलोइन भनेको के हो ?

एलोइन भनेको एलोभेराभित्र रहेको पहेंलो तरलपदार्थ हो । यसलाई एलोभेराको 'रगत’ पनि भनिन्छ । पात र जलको बीचमा प्रवाहित हुने एलोइनले एलोभेराको सम्पूर्ण भागमा खाना पुर्याउने काम गर्दछ । आदिकालमा घ्यूकुमारीको पातबाट ठूलाठूला रोगको उपचार गरिन्थ्यो । यो एलो उपचारपद्धतिका रूपमा संसारमै परिचित छ । तर, त्यो पद्धति आज 'एलोपेथिक’ मा परिणत भएको छ । सुनभन्दा पनि महँगो र महत्त्वपूर्ण यो एलोइन किलोको २ देखि ४ लाख रुपैयाँ सम्ममा विक्री हुन्छ ।

एलोभेरा र स्टेभियाको विश्वबजार कस्तो छ ?

एशियाको 'गेटवे’ सिङ्गापुर र मलेसिया हो । त्यहाँबाट पश्चिम हुँदै जाँदा एलोभेरालाई अत्यन्तै मूल्यवान् वस्तुका रूपमा लिइन्छ । हामी नेपाली त केही थाहा नपाएका र ज्ञान नै नभएका मानिस रहेछौं । एलोभेराबाट त हजारौं वस्तु बन्ने रहेछन् । विश्व स्वास्थ्य सङ्गठनको मान्यतामा रहेर तयारी खानेकुरा उत्पादन गर्दा त्यसमा आवश्यक पूर्ण-पोषणतत्त्वका लागि एलोभेरा जेल अनिवार्य रूपमा मिसाउनुपर्ने रहेछ । त्यसैले, अन्तरराष्ट्रिय मान्यताप्राप्त प्याकेट बन्द खानेकुरा तयार गर्न एलोभेरा अत्यावश्यक वस्तु भएको छ । एलोभेरामा २ सय जैविक तत्त्व पाइन्छ । विश्वका १० उत्कृष्ट जडीबुटीमध्येमा पर्ने घ्यूकुमारीको बजारको पटक्कै अभाव छैन । संसारभर स्टेभिया र एलोभेराको बजार २ हजार प्रतिशत सुरक्षित छ ।

एलोभेरा त धेरै जातका हुन्छन्, खान र औषधि बनाउनका निम्ति कुन जात उपयुक्त हो ?

एलोभेरा ३ सयभन्दा बढी जातका हुन्छन् । त्यसमध्ये प्रविधि पुर्याएर खेती गरिएका आठ जातका एलोभेरा खानयोग्य मानिन्छन् । तर, एकजना अमेरिकी वैज्ञानिक एलो बार्वाडेन्सिस मिलरले 'पेटेण्ट राइट’ पाएको एलो बार्वाडेन्सिस मिल भनिने जातको घ्यूकुमारी मात्र खान र व्यावसायिक खेती गर्न योग्य मानिएको छ । अहिले विश्वमा 'एलो बार्वाडेन्सिस मिल'जातको घ्यूकुमारीलाई मात्र खान र व्यावसायिक खेतीमा प्रयोग गरिएको छ ।

अहिले कति जमीनमा खेती गरिरहनुभएको छ ?

एलोभेराका २० लाख बिरुवा यही जेठको अन्त्यसम्ममा लगाइसक्ने लक्ष्य लिएकोमा हामी त्यो पूरा गर्दै र्छौं । एक बिगाहामा १० हजार एलोभेराको बिरुवा लगाइन्छ । २० लाख बिरुवाका लागि २ सय बिगाहा जमीन आवश्यक पर्छ । एलोभेराका ५ हजार बिरुवा लगाउँदा त्योसँगै स्टेभियाको बिरुवा पनि १ हजार लगाइँदै आइएको छ । हामीले दुवै जातका बिरुवा लगाउन र हुर्काउनका निम्ति यही मापदण्ड तय गरेका छौं ।

उत्पादन लिन थाल्नुभयो ?

एलोभेरा र स्टेभियाको उत्पादन लिन बिरुवा रोपेपछि १ वर्षलाग्छ । अहिले हाम्रो बिरुवाबाट महीनाको लगभग पाँच क्विण्टल पात निक्लिन्छ । आगामी हिउँदबाट भने दैनिक पाँच क्विण्टल एलोभेराको पात निस्कन्छ । र, त्यसलाई सामान्य प्रशोधन गरेर मलेसिया पठाइनेछ । स्टेभियाको पनि पात नै निकाल्ने हो । स्टेभियाको फेददेखि टुप्पासम्मको पात सोरेर निकालिन्छ । त्यो पातलाई सुकाएर धूलो बनाइन्छ । चिनी बनाउनका लागि भने स्टेभियाको पातलाई बाफ बनाएर जमाइन्छ ।

बिरुवा कहाँबाट ल्याउनुहुन्छ ?

मलेसिया, इण्डिया र नेपालमै पनि बिरुवा उत्पादन हुन्छ । दक्षिण भारतमा मलेसियन कम्पनीको ठूलो नसरी छ । धेरै बिरुवा आवश्यक परेको बेलामा त्यहीँबाट ल्याउने गरेका छौं । एलोभेराको तुलनामा स्टेभियाको खेती अझै सजिलोसँग गर्न सकिन्छ । स्टेभिया बिरुवाको एकदेखि आठ तहसम्म ग्रेडिङ गरिएको हुन्छ । तर, एक र दुई ग्रेडको बिरुवामात्र खेती गर्नका लागि उपयुक्त हुन्छ । स्टेभियाको बिरुवा टिस्युकल्चर विधिबाट उत्पादन गर्नुपर्छ । अन्यथा, यसको गुणस्तर कायम राख्न सकिँदैन ।

नेपालमा स्टेभिया र एलोभेरा खेतीको व्यावसायिक सम्भावना कत्तिको देख्नुभएको छ ?

विभिन्न स्रोतहरूका अनुसार अहिले विश्वमा झण्डै साढे २ अर्ब नेपाली रुपैयाँबराबरको घ्यूकुमारीमा आधारित उत्पादनहरूको व्यवसाय भइरहेको छ, जसमध्ये अमेरिकाले ६५ प्रतिशत, ल्याटिन अमेरिकाले २५ प्रतिशत र अष्ट्रेलिया, चीन र भारतले १० प्रतिशत व्यवसाय गरेका छन् । विदेशबाट आएका कृषिवैज्ञानिकहरूले नेपाली माटो घ्यूकुमारीको व्यावसायिक खेती गर्नका निम्ति अत्यन्तै उपयुक्त रहेको ठहर्याएका छन् । वर्तमान विश्वबजारको मागलाई ध्यानमा राखेर गुणस्तरीय घ्यूकुमारी उत्पादन गर्न सक्ने हो भने नेपाललाई यसबाट मात्रै पनि आर्थिक उन्नतिको बाटोमा लैजान सकिन्छ । त्यसैगरी, स्टेभियाको खेतीका निम्ति पनि नेपाल अत्यन्तै उपयुक्त मुलुक हो । अत्यधिक गुलियोपना हुने स्टेभियालाई नेपालमा चिनीको विकल्पकै रूपमा खेती गर्न सकिन्छ । नेपालमा चिनीको आवश्यकता पूरा गर्न १ लाख हेक्टर जमीनमा उखुखेती गर्नुपर्छ । तर, १ हजार ५ सय हेक्टर जमीनमा स्टेभियाको खेती गर्ने हो भने नेपालमा चिनीको माग पूरा हुन्छ । स्टेभियामा कोलेष्ट्रल नहुने भएकाले यसको गुलियो मधुमेहका बिरामीलाई पनि अत्यन्त उपयुक्त हुन्छ । विश्व खाद्य सङ्गठनले स्टेभियालाई स्वास्थ्यवर्द्धक खानेकुराका रूपमा प्रमाणित गरिसकेको छ । त्यसैले, विश्वमै यसको बजारको कुनै समस्या छैन । नेपालको हावापानी स्टेभिया र घ्यूकुमारी खेतीका लागि अनुकूल भएकाले यसैको खेतीबाट मात्रै पनि वार्षिक अर्बौं डलर आर्जन गर्न सकिन्छ । तर, सरकारले पनि यो खेतीलाई आफ्नो नीति र कार्यक्रममा समावेश गर्नुपर्छ । त्यस्तो हुन सकेमा गाउँगाउँसम्म स्टेभिया र एलोभेराको खेती गराउन सकिन्छ ।

यी दुवै वनस्पतिका लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

हाम्रो कम्पनीले चितवनलाई मुख्य केन्द्रबिन्दु बनाएर झापा, मोरङ, इलाम, पर्सा,बारा, मकवानपुर, नवलपरासी, काभ्रेपलाञ्चोक, नुवाकोटलगायत जिल्लाका १ हजार ५ सय मिटरसम्मको उचाइका जमीनमा यी दुई खेतीको विस्तार गरिरहेको छ । घ्यूकुमारीको खेतीचाहिँ ५ हजार मिटरको उचाइसम्म पनि उपयुक्त मानिन्छ । तर, १६ देखि ४५ सेल्सियस तापक्रममा हुने स्टेभियाका निम्ति १ हाजर ५ सय मिटरभन्दा माथिको जमीन काम लाग्दैन । एक हेक्टरमा २० हजार स्टेभियाको बिरुवा लगाउनुपर्छ । पाँच फुटको फरकमा डयाङ बनाई एकएक फुटको दूरीमा लगाइने स्टेभियाका निम्ति स्प्रिङकल सिँचाइ (पाइपको फोहोराले बिरुवामाथिबाट गरिने सिँचाइ)को आवश्यकता पर्दछ । तर, एलोभेराका निम्ति भने खासै सिँचाइको आवश्यकता पर्दैन । ठयाम्मै सिँचाइ नहुने ठाउँमा पनि एलोभराको खेती गर्न सकिन्छ । तर, यो खेती रासायनिक मल र विषादीरहितको विल्कुलै अर्ग्यानिक हुनुपर्छ ।

यो खेती तपाइंहरू आफूमात्रै गर्नुहुन्छ कि सामान्य किसानलाई पनि गराउनुहुन्छ ?

हामी सामान्य किसानसम्म पनि यो खेती प्रविधि पुर्याउनका निम्ति तल्लीन भएर लागेका छौं । कम्तीमा ५ हजार बिरुवा लगाउन सक्ने किसानले हाम्रो कम्पनीको मुख्य कार्यालय चितवन र सम्पर्क कार्यालय काठमाडौंको मध्यबानेश्वरमा सम्पर्क राख्न सक्छन् । खेती गर्न चाहने किसानलाई हामीले प्रविधि, रेखदेख र सल्लाह पैसा नलिई उपलब्ध गराउँछौं । बिरुवा र मलको भने पैसा लाग्छ । त्यस्ता किसानसँग हामी करार ऐनअनुसार ६ वर्षको सम्झौता पनि गर्नेछौं । किसानद्वारा उत्पादित सबै स्टेभिया र एलोभेरा लिएर भुक्तानी दिने कुरा सम्झौतामै उल्लेख गरिने हुनाले किसानले बजार खोज्नुपर्ने आवश्यकता पर्दैन, त्यो हाम्रै कम्पनीको जिम्मा हुनेछ ।

यो खेतीको कुल लागत र आम्दानीको स्थिति कस्तो हुन्छ ?

एक हेक्टर (झण्डै डेढ बिगाहा) जमीनमा एलोभेराका १५ हजार बिरुवा रोप्नुपर्छ । स्टेभियाको खेतीका निम्ति प्रतिहेक्टर जमीनका लागि २० हजार बिरुवा लाग्छ । दुवैथरि बिरुवाको प्रतिबिरुवा रू. ४० पर्छ । डेढ बिगाहा जमीनमा स्टेभियाको खेती गर्न पहिलो वर्षझण्डै रू. ११ लाख खर्च लाग्छ । त्यसैगरी, एक हेक्टर जमीनमा एलोभेराको खेती गर्न पहिलो वर्षझण्डै ९ लाख रुपैयाँ लाग्छ । थोरै खेती गर्नेका लागि त्यहीअनुरूप खर्च लाग्छ । एक हेक्टरमा रोपेको स्टेभियाबाट पहिलो वर्षकम्तीमा रू. २१ लाख आम्दानी हुन्छ । त्यस्तै, एलोभेराले पहिलो वर्षै रू. १८ लाख आम्दानी दिन थाल्छ । यो आम्दानी निरन्तर ६ वर्षसम्म भइरहन्छ ।

बिरुवाको मूल्य त महँगो रहेछ नि ?

आम्दानीको तुलनामा बिरुवाको मूल्य महँगो होइन । बिरुवा, मल, प्रविधिका निम्ति किसानले कतै जानुपर्दैन । उत्पादित वस्तुको समेत उचित मूल्यको बजार सुनिश्चित भएपछि किसानले त बिरुवा लगाउने र हेरचाह मात्र गर्ने हुन् । एकपटक लगानी गरेर ६ वर्षसम्म लगातार आम्दानी हुने भएपछि यसमा किसान पनि ढुक्कले काम गर्न पाउँछन् । सरकारले नै बिरुवा उत्पादन गरेर सबै सहयोग उपलब्ध गराउने हो भने लागत मूल्य घट्न पनि सक्छ । तर, हामी त निजीक्षेत्रका कम्पनी हौं, अलिकति नाफा पनि राख्नै पर्छ, नभए कहाँबाट कम्पनी चलाउनु ? यसमा हामीले किसानलाई ६ वर्षको प्राविधिक सहयोग र उत्पादन खरीदको ग्यारेण्टी दिएका हुन्छौं । यस अवधिमा किसानको घरबारीमा पुग्ने हाम्रा प्राविधिकको खर्च किसानबाट गराउँदैनौं । त्यसैले पनि हामीले बिरुवामा लिने मूल्यलाई बढी मान्नु उपयुक्त हुँदैन ।

एलोभेराको प्राकृतिक खेती पनि गर्न सकिने बताइन्छ नि ?

प्राकृतिक रूपले कृषि वनमा एलोभेराको खेती गर्न सकिन्छ । निजी बारीभन्दा वनमा गरिने यो खेती सरल र आम्दानीका दृष्टिले पनि फाइदाजनक मानिन्छ । स्थानीय कबुलीयति वा सामुदायिक वन एलोभेराको प्राकृतिक खेतीका निम्ति उपयुक्त हुन्छ । वनमा खेती गर्दा लागत मूल्य कम पर्ने हुँदा वार्षिक प्रतिहेक्टर रू. २० लाखसम्म नाफा हुन सक्छ । मुलुकमा १६ हजारभन्दा बढी सामुदायिक वन छन् । ती वनहरूको सम्भाव्यता अध्ययन गरेर एलोभेराको प्राकृतिक खेती गर्ने हो भने वैदेशिक मुद्रा आर्जनका निम्ति सर्वोत्तम उपाय हुन सक्छ । सामुदायिक वन सङ्गठनले चाहेको अवस्थामा हामी यस विषयमा मद्दत गर्न तयार छौं । उखुको रसमा भन्दा ३ सय गुणा गुलियोपना हुने कोलेष्ट्रल शून्य रहेको वनस्पति स्टेभियालाई विकसित मुलुकहरूले चिनीको विकल्पका रूपमा लिन थालेका छन् । बहुवर्षीय यो वनस्पति १६ देखि ४५ डिग्री सेल्सियस तापक्रम र १ हजार ५ सय मिटरको उचाइसम्म खेती गर्न सकिन्छ । एक हेक्टर जमीनमा २० हजार बिरुवा लगाई प्रतिवर्ष२० देखि २८ लाख रुपैयाँसम्म खुद मुनाफा कमाउन सकिने यसका प्रवर्द्धकको दाबी छ ।

विश्वका १० उत्कृष्ट जडीबुटीमध्येमा एक मानिएको एलोभेरा (घ्यूकुमारी) ५ हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिन्छ । २ सय जैविक तत्त्व पाइने एलोभेराको प्रतिहेक्टर जमीनको खेतीबाट वार्षिक १८ देखि ३० लाख रुपैयाँसम्म मुनाफा गर्न सकिने यसका प्रवर्द्धकहरूले दाबी गरेका छन् । बहुवर्षीय यो वनस्पतिको पानी नजम्ने, सुख्खा, रुखोपाखो जमीनमा खेती गर्न सकिन्छ ।