शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''नेपालमा पनि सेरामिक टायल  उद्योगको सम्भावना छ'' - प्रकाश बज्राचार्य
प्रबन्ध निर्देशक, बज्र एण्ड बज्राचार्य इण्टरप्राइजेज


नेपालमा अहिले सेरामिक टायलको प्रयोगको अवस्था कस्तो छ ?

आधुनिक जीवनशैलीमा मानिस आफ्नो व्यक्तित्वलाई विशिष्ट किसिमले देखाउन चाहन्छ । आफ्नो जिउलाई कपडा लगाएर आफ्नो विशिष्ट व्यक्तित्व देखाउँछ भने घरलाई पनि त्यस्तै विशिष्ट देखाउने उसको चाहना हुन्छ । घरमा त्यस्तो बाथरूम र भान्छामा गरिन्छ । सेरामिक टायल र कपडालाई तुलना गर्न सकिन्छ । अहिले कपडा जति धेरै डिजाइनका हुन्छन्, टायल पनि त्यति नै डिजाइनमा उपलब्ध हुन थालेका छन् । यसमा यति धेरै विविधता आउन थालेको छ कि कसैले यसको अनुमान नै गर्न सक्दैन । पहिले बोर्डर प्रणाली थियो भने अहिले हाइलाइट सिष्टम आउन थालेको छ । यसको प्रयोगले बाथरूमको प्रकृति अर्कै देखिन्छ ।

नेपालमा कति मूल्यबराबर टायलको कारोबार हुन्छ ?

यसमा मूल्यको तथ्याङ्क भन्न गाह्रो हुन्छ । नेपामा विभिन्न देशबाट सामान आयात हुने गरेका छन् । अहिले पनि नेपालका र्सवसाधारण मानिसले यसको प्रयोग गरेको अवस्था छैन । नेपालमा यसको उत्पादन नहुने हुनाले पनि सबै मानिसको पहुँचमा टायल पुग्न सकेको छैन । अहिलेसम्म टायल विदेशबाट नै आयात गर्नुपर्ने अवस्था छ । आयात गर्दा यसमा धेरै कर तिर्नुपर्छ । स्वस्थतामा पनि सहयोग गर्ने भएकाले धेरै जनतालाई यस्ता सामानको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो गर्न यस्ता सामानमा सरकारले विशेष सहुलियत दिनुपर्छ । पहिले घरभन्दा धेरै टाढा हुने बाथरूम अहिले एटयाच बाथरूमका रूपमा प्रयोग हुन थालेका छन् । यो सम्भव भएको पनि टायलको प्रयोगले गर्दा हो ।

नेपालमा टायल उत्पादन गर्न सकिन्छ कि सकिँदैन ?

टायल भन्दाअघिको स्वरूपलाई 'विस्क' तथा 'विस्किट' पनि भनिन्छ । सेरामिक, चुनको धुलोदेखि विभिन्न किसिमका केमिकलहरू प्रयोग गरेर टायल बनाइन्छ । नेपालमा उत्पादन गर्न नसकिने होइन, तर भारतमका सामानसँग यहाँ उत्पादन भएका सामानले कत्तिको प्रतिस्पर्धा गर्नसक्छन् भन्नेमा भर पर्छ । यहाँको सामान भारतमा उत्पादन भएकोभन्दा कम गुणस्तरको र मूल्यका हिसाबले पनि महँगो भयो भने विदेशबाट आउने सामानकै विक्री धेरै हुन्छ । तसर्थ  हत्तपत्त मानिसले यस्ता उद्योगमा हात हाल्ने अवस्था छैन ।

अहिले टायलको बजार काठमाडौंमा मात्र केन्द्रित छ, यो बजारले नेपालमा कुनै उद्योग स्थापना भएमा धान्न सक्छ कि सक्दैन ?

काठमाडौंमा अहिले विभिन्न हाउजिङ कम्पनीहरू आइरहेका छन् । विभिन्न व्यापारिक केन्द्र स्थापना हुन थालेका छन् । 'मल’ संस्कृतिको विकास भएको छ । नेपालले पनि विस्तारै विकसित देशले अपनाएको प्रणालीको विस्तारै सिको गर्दै छ । यहाँ बजारको सम्भाव्यता छ । तर, नेपालमा उत्पादन गरेर भारतको मूल्यसँग प्रतिस्पर्धा गर्न सकिन्छ कि सकिँदैन भन्ने मात्र हो । समग्रमा यी सबै कुरालाई हेर्दा नेपालमा पनि टायल उद्योगको स्थापना गर्न सकिन्छ ।

कच्चापदार्थ नेपालमा पनि पाइन्छ, यहाँ उद्योग स्थापना गरेर भारतीय सामानसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण के हो ?

नेपालमा चुनढुङ्गा पाइन्छ । यहाँ अन्य कच्चापदार्थको खानी पनि होला । तर, आजसम्म कसैले यसको अनुसन्धान गरेको छैन । यस्तो अवस्थामा धेरै जसो कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ । विदेशबाट कच्चापदार्थ ल्याएर सामान बनाउँदा यहाँ केही महँगो पर्छ ।

टायलको आयात सहज बनाउन सरकारबाट कस्तो अपेक्षा गर्न सकिन्छ ?

देशको अर्थनीति स्पष्ट हुने हो भने सबै समस्या सामाधान गर्न सकिन्छ । सकारकाले अरूले भनेको भरमा नलागी देशको आवश्यकता के हो र यहाँ के सम्भाव्यता छ भन्ने विषयमा ध्यान दिनुपर्छ । देशको अर्थतन्त्रलाई कसरी राम्रो बनाउने भन्ने रणनीति, राजनीति र अर्थनीति तयार नभएसम्म कुनै पनि समस्या समाधान हुँदैन । सरकारले यसतर्फध्यान दिनुपर्छ । सामान आयात गर्दा कर अत्यधिक तिर्नुपर्छ । यी सामग्रीको आयातमा कर र भ्याट गरेर झण्डै ६० प्रतिशत तिर्नुपर्छ । हामीले बढीमा ५ प्रतिशत कर लिनुपर्छ भनेर सरकारसँग माग गरेका छौँ । यसको सुनुवाई भएको छैन । टायलको प्रयोग सामान्य जनताले गर्न नसक्नुको मुख्य कारण कर धेरै भएर नै हो ।

अहिले बढेको हाउजिङ व्यवसायले टायलको व्यापारमा कस्तो प्रभाव पारेको छ ?

यसले टायल व्यवसायमा सकारात्मक असर पारेको छ । हाउजिङले टायलको व्यापार बढाएको छ । यी सामान भनेको घरलाई चाहिने आधारभूत सामग्री हुन् ।

अहिले मार्बलको प्रयोग बढ्न थालेको छ, यसले टायलको व्यापारमा असर गरेको छ कि छैन ?

मार्बल र टायल एकअर्काका परिपूरक हुन् । मार्बल प्रयोग भएको ठाउँमा पनि टायलको प्रयोग गर्न सकिन्छ । टायलको प्रयोगले मार्बलको माग घटेको पनि हुनसक्छ वा बढाएको पनि होला । हामीले यसलाई प्रतिस्पर्धीको रूपमा भन्दा पनि एक अर्काको परिपूरकका रूपमा लिएका छौं ।