शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''बजारमा चलेको हल्लाजस्तो वास्तविकता छैन'' - गोविन्दप्रसाद कँडेल
अध्यक्ष
नेपाल विद्युतीय व्यवसायी महासंघ
विद्युतीय सामानमा कस्ता उत्पादन पर्छन् ? तिहार आइसक्यो, यस्ता सामानको विक्री कस्तो छ ?
विद्युत्बाट सञ्चालन हुने सबैलाई विद्युतीय सामानको रूपमा बुझ्न सक्नुपर्छ । केही अपवादलाई छोडेर केबुलमा त नेपाल आत्मनिर्भर बनिसकेको छ । हाउस वायरिङ, पावर केबुल, विद्युत् प्राधिकरण र नेपाल टेलिकमका केबुलमा समेत आत्मनिर्भर भएको महसूस गरेका छौं । विद्युतीय सामग्री वर्षौभरि विक्री हुन्छन् ।

अरू समयभन्दा दीपावलीकै अवधिमा बालिने झिलिमिली लाइट कतिको खपत हुन्छ ?
नेपालमा दीपावलीकै अवसरमा बालिने लाइट यति नै विक्री हुन्छ भन्ने आधिकारिक तथ्याङ्क छैन र निकाल्न पनि सकिँदैन । हाम्रो अनुमानमा दीपावलीकै लागि भनेर १५ देखि २० करोड रुपैयाँबराबरका यस्ता लाइट आउने गर्छन् । यी सबै लाइट दशैं र तिहारको बीचमा पर्ने पन्ध्र दिनमा विक्री  भइसक्छन् ।
 
नेपालमा यस्ता लाइट कहाँ कहाँबाट ल्याउने गरिन्छ ?
दीपावलीका अवसरमा बालिने झिलिमिली लाइटहरू गएको ४/५ वर्षघि सम्म सबै भारतबाट आउने गरेका थिए । आजको मितिमा ९५ प्रतिशत झिलिमिली लाइट चीनबाट आउने गरेका छन् । यस्ता लाइटको उत्पादन नेपालमा हुँदैन ।

गएका वर्षहरूको तुलनामा यसपालि खपतमा कत्तिको वृद्धि हुने देख्नुहुन्छ ?
गएको ४/५ वर्षको आरोहअवरोह हेर्दा क्रमिक रूपले माग बढ्दै गएको देखिन्छ । यी सामान भनेको तिहारअघि मात्रै विक्री हुनेहुन् । कहिलेकाहीँ ३०/३५ करोडको सामान पनि आउने गरेको छ । नेपालमा आयात हुने सबै सामान विक्री नहुन पनि सक्छन् । यस्तो अवस्थामा व्यापारीहरू आत्तिने गर्छन् । दीपावलीबाहेक अन्य समयमा लाइट विक्री धेरै कम हुन्छ ।

यस्ता झिलिमिली लाइट पहिल्यै ल्याएर स्टक राख्नुहुन्छ कि तत्कालै आयात गर्नुहुन्छ ?
सबै सामान दशैंपछि आउन शुरू गर्छन् । अहिले पनि आइरहेकै छन् । बाटो, भन्सारलगायतका समस्या छन् । कतिपय सामान त दीपावलीपछि पनि आउने गर्छन् । यस्ता सामान विक्री गर्न अर्को वर्ष पर्खनुपर्छ । विक्री नभएका सबै सामान हामी आफैंले राख्छौं । फिर्ता पठाउन सकिन्न । धेरै सामानहरू बिग्रने गरेका छन् । भन्सारमा शुल्क तिरेर पनि समयमा सामान ल्याउन सकिएको छैन ।

सरकारी ढिलासुस्तीप्रति सङ्केत गर्न खोज्नुभएको हो ?
सामान लोड भएका सबै गाडी लाइनमा हुन्छन् । तर, मौसमी व्यापारका सामान बोक्ने गाडीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो माग हो । यसो भएमा हामीले क्षति बेहोर्नु पर्दैनथ्यो । नेपालमा विभिन्न देशबाट यस्ता सामान आयात हुने गर्छन् । त्यस्ता सामानको भन्सारमा गुणस्तर परीक्षण भई स्तरीय सामान मात्रै नेपाल आओस् भन्ने हाम्रो आग्रह हो ।

यसबाट नक्कली सामान आयातकर्ताको मनोबल गिरोस् र तातोपानी, वीरगञ्ज, भैरहवा र विराटनगर भन्सारजस्ता नाकामा न्यूनतम मापदण्ड अपनाएर निर्धारित गुणस्तरअनुसारका सामान मात्रै बजारमा आओस् भन्ने हाम्रो माग हो ।

त्यसो भए चाइनिज सामानलाई कम गर्नुपर्छ भन्ने हो ?
चाइनिज सामान मात्रै कमस्तरका आउँछन् भन्ने होइन । बजारमा धेरै ठाउँबाट गुणस्तरहीन सामान आउने गरेका छन् । गुणस्तरीय सामान उपयुक्त मूल्यमा उपभोक्ताले प्रयोग गर्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो ।

यस्ता विद्युतीय सामानको मूल्य कसरी निर्धारण गरिन्छ ?
मूल्य त दुर्गम क्षेत्रमा भिन्नता पाइएको छ । विद्युतीय सामानको विक्रीमा निकै ठूलो प्रतिस्पर्धा छ । दुइ सयको सामानलाई ३ सयसम्ममा विक्री गर्न सकिन्छ । तर, बजारमा चलेको हल्लाजस्तो वास्तविकतामा छैन । अहिले सीजन भएकाले नियन्त्रण गर्न सक्ने अवस्था पनि छैन । यसलाई नियन्त्रण गर्न त्यति सजिलो हुन्छ जस्तो लाग्दैन ।

यी झिलिमिली लाइट कस्ता उपभोक्ताले किन्ने गर्छन् ?
एक जनाले बाल्यो, त्यसपछि छिमेकीले अनि टोलका सबैले बाल्ने गरेको पाइन्छ । देखासिकी र शहरमा सम्पन्नता देखाउने होडबाजीले पनि यी वस्तु विक्री हुन्छन् । नेपालमा बत्ती पुगेको ८० प्रतिशत ठाउँमा दीपावलीका लाइट बाल्ने प्रवृत्ति बढेको छ । कसैले नसकेर पनि प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ । कसैले रमाइलोका लागि पनि बाल्ने गरेका छन् । अहिले पटका पड्काउन गृह प्रशासनले रोक लगाएको छ । यसले पनि लाइटको माग बढी भए जस्तो लाग्छ ।

सरकारले विलासी वस्तुको सूचीमा राखेको छ, यसमा तपार्इंहरूको धारणा के छ ?
सरकारले विलासितामै राखे पनि धेरै ठूलो विलासितामा त राखेको छैन । यस्ता सामानको भन्सार घटाएर सरकारलाई कम राजस्व आओस् भन्ने हाम्रो उद्देश्य पनि होइन । भन्सार शुल्क पनि धेरै नलागोस् र सर्वसाधारणले पनि चाडपर्वका बेला घरआँगन उज्याले पारी बस्न पाऊन् भन्ने हाम्रो धारणा हो । हाम्रो तथ्याङ्क अनुसार नेपालमा ३ हजार व्यवसायी छन् । यसमध्ये २ हजार ५ सय व्यवसायीको पसलमा यस्ता सामान उपलब्ध छन् ।

तपाईंहरूले विक्री गर्ने सामान गुणस्तरीय नै हुन्छन् भन्ने आधार के छन् ?
यसका लागि हामीले नेपाल गुणस्तर तथा नाप तौल विभागसँग धेरै पटक अनुरोध गरेका छौं । इलेक्ट्रिकका सामान संवेदनशील हुन्छन् । यिनले मान्छेको क्षति गर्न समेत सक्छन् । बजारमा देखिने गुणस्तरहीन सामानलाई हामीले विभागमा लगेका पनि हौं । यस्ता सामानको परीक्षण गर्ने मापदण्ड नहुँदा हामीले सुविधा पाउन सकेका छैनौं । सरकारले त मापदण्ड तयार गर्न सकेको छैन भने, व्यक्ति विशेषले यस्तो व्यवस्थापन गर्न सम्भव होला जस्तो लाग्दैन ।

त्यसो भए व्यापारीको दाबीलाई नै स्तरीय मान्नुपर्ने स्थिति हो ?
गलतलाई गलत नै भन्नुपर्छ । व्यापारीहरूको दाबीलाई नै सही मान्नुपर्छ भन्ने होइन । ग्यारेण्टी वा वारेण्टीका आधारले उपभोक्ता ठगिनु हुँदैन । सामानलाई निश्चित अवधिभित्र साट्नुपर्छ भन्ने मान्यताका आधारमा व्यवसायीहरूले उच्च गुणस्तरका सामान आयात गरून् । स्तरीय सामानले बजार पाओस् भन्ने हाम्रो मान्यता हो ।

दीपावलीमा मात्रै प्रयोग हुने यी सामान कस्ता कस्ता छन् ?
पहिले बनारसमा बनेका १५/२० वटा बल्ब बल्ने सानो प्याकमा आउने गर्थे । अहिले विभिन्न किसिमका लाइट पाउन सकिन्छ । लक्ष्मी र सरस्वतीका मूर्ति १२ फीट लामो चार लाइनको नेट तथा झ्यालमा लगाउने स्क्वायर नेटमा पनि पाउन सकिन्छ । नेपालमा पाइने सबैजसो फलफूलका आकारमा यस्ता लाइट पाइन्छन् । केही अण्डा आकारमा पनि आइरहेका छन् । ५० भन्दा बढी प्रकारका लाइटहरू बजारमा उपलब्ध छन् । केही पुरानै किसिमका र धेरैजसो नयाँ डिजाइनका सामान आइरहेका छन् ।

नयाँ सामानको माग बढी छ । यसको मूल्य पनि धेरै पर्छ । व्यापारीहरूले पनि नयाँ सामान नै बढी ल्याउने गरेका छन् । बजार हेर्दा यस्ता सामानको व्यवसाय बढ्दै जान्छ जस्तो लाग्छ । नेपामा कुल व्यवसायको ८ देखि १० प्रतिशत हिस्सा विद्युतीय सामग्रीले लिएका छन् ।