शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''२ सय मुक्तकमैयाका परिवारलाई बाससहित रोजगारी दिन सक्छौं'' - उदय चापागाईं
2sayeअध्यक्ष, अर्थोडक्स टी प्लाण्ट एशोसिएशन (हट्पा)

नेपालमा अर्थोडक्स चियाको व्यावसायिक अवस्था कस्तो छ ?

नेपालका पहाडमा उत्पादन हुने अर्थोडक्स चिया अधिकांश विदेश निर्यात हुन्छ । करीब ९६ प्रतिशत अर्थोडक्स चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गर्दछ । नेपालमा यस्ता अर्थोडक्स चियाका मेची र कोशी अञ्चलमा मात्र १९ ओटा उद्योग छन् । यिनीहरूले वार्षिक करीब २६ लाख किलोग्राम चिया उत्पादन गर्दछन् । केही वर्षअघिसम्म चिया आयात गर्ने देश अहिले निर्यात गर्ने देशमा बदलिएको छ । अहिले नेपालमा रहेको चियाको बोट छिप्पिँदै गएको छ । यसले उत्पादन पनि बढाएको छ । यसको गुणस्तर पनि उच्च हुँदै गएको छ । विश्वबजारमा दार्जिलिङपछि नेपालको अर्थोडक्स चिया गुणस्तरीय मानिन्छ । तर, नेपाल सरकारले गर्नुपर्ने सहयोग गरेको छैन । नेपालमा पर्यटन र जलस्रोतपछि चिया उद्योग सबैभन्दा बढी आम्दानी गर्ने क्षेत्र हो । यसमा अहिले करीब ८ हजार किसान संलग्न छन् । करीब ८ हजार हेक्टर क्षेत्रफलमा अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।

नेपालमा यस्ता चिया उद्योगप्रति सरकारीनीति कत्तिको सहयोगी छ ?

नेपालको चियाको माग विश्वबजारमा बढिरहेको छ । प्राकृतिक भू-बनोटले गर्दा पनि यहाँ उच्चगुणस्तरको अर्थोडक्स चिया उत्पादन हुन्छ । चिया उत्पादनका लागि अन्य देशमा दिनेजस्तो कुनै पनि सेवासुविधा नेपाल सरकारले उपलब्ध गराएको छैन । नेपालको निर्यात हुने कृषि उपजमा चिया मुख्य वस्तु भइसकेको छ । भारतमा सरकारले स्थापित भइसकेको चिया उद्योगका लागि पनि उत्पादन, बजारनिर्माण र मलखाद्यमा अनुदान दिएको छ । सबै सुविधा पाएको दार्जिलिङको चियासँग अन्तरराष्ट्रिय रूपमा हामीले प्रतिस्पर्धा गरिरहेका छौ । नेपाल सरकारले २०५७ सालमा चियानीति ल्यायो । तर, त्यसमा उल्लेख भएका कुनै पनि बूँदाहरू कार्यान्वयन हुन सकेका छैनन् । सरकारले चियाको प्रवर्द्धनका लागि बनाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड राजनीतिक दललाई कार्यकर्ता भर्ना गर्ने थलो भएको छ । त्यहाँ सरकारले चियासँग असम्बन्धित मानिसलाई नियुक्ति गरेर अख्तियारको दुरूपयोग गरिरहेको छ । यसले गर्दा नेपाली चियाले अन्तरराष्ट्रिय बजारमा लिनुपर्ने जति बजार लिन सकेको छैन ।

हिमालयन अर्थोडक्स टी प्लाण्ट एशोसिएशन (हट्पा) स्थापनाको उद्देश्य के हो ?

नेपाल सरकारले चिया विकास बोर्डको स्थापना त गर्यो । तर, त्यसले व्यवसायीलाई नेतृत्व दिन सकेन । त्यस संस्थामा हामी व्यवसायीहरूको कुनै किसिमको पहुँच नभएकाले सबै व्यवसायीहरूको सल्लाहमा यो संस्था स्थापना गरेका हौँ । अहिले हाम्रो संस्थामा सबै उद्योगका व्यवसायीहरू संलग्न छन् ।

नेपालबाट कति मूल्यबराबरको अर्थोडक्स चिया निर्यात हुने गर्दछ ?

यसको मूल्य चियाको गुणस्तरअनुसार निर्धारण हुन्छ । अहिले उच्चगुणस्तरको चिया जर्मनीलगायत मुलुकमा निर्यात हुन्छ । त्यस्तै, अन्य गुणस्तरका चिया भारतको कोलकत्तामा विक्री हुन्छ । नेपालबाट निर्यात हुने अर्थोडक्स चिया यूरोपियन बजारमा प्रतिकिलो सात यूरोमा विक्री हुन्छ । यस्तो चिया सबैभन्दा राम्रो र उच्चकोटिको हुन्छ । त्यस्तै, अन्य चिया भने भारतको कोलकत्ता बजारमा करीब १ सय ५० भारतीय रुपैयाँ प्रतिकिलोमा विक्री हुन्छ ।

अर्थोडक्स चिया व्यवसायीबीच प्रतिस्पर्धा कस्तो छ ?

हामीबीच आपसमा त्यस्तो प्रतिस्पर्धा छैन । हाम्रो आफ्नो उत्पादनको गुणस्तर तथा विशेषताअनुसार मूल्यनिर्धारण हुने हुनाले प्रतिस्पर्धा कम हुन्छ । विदेशमा रहेको कम्पनीले चियाको माग गर्दा पनि हामी सबै व्यवसायीहरूले नमूना चिया एउटै खाममा हालेर पठाउँछौँ  । त्यहाँ निर्यात गरेको चियाको ग्रेडअनुसार मूल्यनिर्धारण हुन्छ । हामी सबै चिया व्यवसायीहरू नेपालको चिया विकासका लागि लागेका छौँ ।

नेपालको चिया विश्वबजारमा स्थापना हुन किन सकिरहेको छैन ?

विश्वबजारमा स्थापना हुनका लागि कुनै पनि उत्पादनको ब्राण्ड तथा लोगो स्थापित हुनुपर्दछ । हामीले नेपालको चियाका लागि लोगो स्थापित गर्न ५ वर्षदेखि संघर्ष गर्दा पनि सकिरहेका छैनौँ । यस्तो कुरामा टी बोर्डले सहयोग गर्नुपर्नेमा नेपालको नाम लोगोमा राखेको कारण देखाउँदै अवरोध गर्यो । बल्ल अहिले आएर सरकार पनि केही सकारात्मक देखिएको छ । आशा छ चाँडै नै नेपालको चियाको लोगो रजिष्टार हुन्छ । यसपछि नेपालको चियाको ब्राण्ड पनि विश्वबजारमा स्थापित हुन्छ ।

नेपालमा अर्थोडक्स चिया उत्पादनका लागि कति लगानी भएको छ ?

अहिले नेपालमा १९ ओटा फयाक्ट्री सञ्चालनमा छन् । यस्ता फयाक्ट्री सञ्चालन गर्न न्यूनतम ४ करोड रुपैयाँ लाग्छ । यसैलाई आधार मान्दा पनि करीब १ अर्ब रुपैयाँ अर्थोडक्स चिया उत्पादनमा लगानी भएको छ । त्यस्तै, सञ्चालन खर्चसमेत जोड्दा ५ अर्बभन्दा बढी लगानी भएको छ ।

व्यवसायमा कस्ता खालका समस्या छन् ?

अहिले नेपालमा सबैभन्दा समस्या कर्मचारीको रहेको छ । कर्मचारीको अभावले बगानमा भएको चिया पनि टिप्न नसकिने अवस्था छ । अहिले युवावर्ग विदेशिने क्रम बढिरहेको छ । नेपालमा रहेका मुक्तकमैयाले हामीले रोजगारी दिन्छौँ भन्दा पनि बेवास्ता गरिरहेका छन् । सरकारका तर्फबाट केही सुविधा भएमा हामीसँग भएका फयाक्ट्रीमा करीब २ सय परिवारले सहजै रोजगारी प्राप्त गर्न सक्छन् । उनीहरूलाई हामी बस्नका लागि पनि व्यवस्था गरिदिन्छौँ ।

नेपालमा अर्थोडक्स चियाको भविष्य कस्तो छ ?

विश्वबजारमा वार्षिक करीब ४ करोड किलोग्राम चियाको माग हुने गर्दछ । यसमध्ये करीब १ करोड किलोग्राम चिया दार्जिलिङले उत्पादन गरिरहेको छ । बाँकी भने दार्जिलिङको चियाको नामले व्यवसायीले विक्री गरिरहेका छन् । नेपाल र दार्जिलिङमा उत्पादन हुने एउटै गुणस्तरको चिया हो । तर, नेपालमा अहिले करीब २६ लाख किलोग्राम मात्र चिया उत्पादन भइरहेको छ । नेपालको प्राकृतिक वातावरणका कारण यहाँको चियाको भविष्य राम्रो छ । आवश्यक प्रचारप्रसारका कमीले पनि समस्या भइरहेको छ ।