शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

'' 'सबैका लागि बैङ्क' भन्ने नारालाई ग्लोबलले सार्थक बनाएको छ '' - जनक शर्मा पौडयाल
निमित्त प्रमुख कार्यकारी अधिकृत
ग्लोबल बैङ्क लि.


लण्डन स्कूल अफ कमर्शबाट एमबीए गरेका जनक शर्मा पौडयालले स्वदेश र विदेशका ख्यातिप्राप्त  बैङ्कको लामो अनुभव सँगालेका छन् । झण्डै २० वर्षअघि नबिल बैङ्कबाट बैङ्किङ करीअर शुरू गरेका पौडयाल एनआईसी बैङ्क, लक्ष्मी बैङ्क र बेलायतको बार्कलेज बैङ्क हुँदै डेढ वर्षअघि ग्लोबल बैङ्कको उपमहाप्रबन्धक बनेका हुन् । ग्लोबल बैङ्कले चौथो वर्षपूरा गरेको अवसरमा निमित्त प्रमुख कार्यकारी अधिकृत पौडयालसँग आर्थिक अभियानले गरेको वार्ताको सारः

वित्तीय क्षेत्रमा ग्लोबल बैङ्कको पहिचान कुन रूपमा गराउन चाहनुहुन्छ ?

'सबैका लागि बैङ्क' भन्ने जुन 'नारा' छ, त्यो नै ग्लोबल बैङ्कको विशिष्ठ पहिचान हो । स्थापनाकालदेखि नै यो बैङ्क सबैका लागि बैङ्क बन्न सकौं भन्ने लक्ष्य लिएर आएको हो । ग्लोबल बैङ्कले जुन किसिमका प्रडक्ट र सेवाहरू दिँदै आएको छ, ती प्रडक्ट र सेवाहरू देशभरिका सबै वर्गका निम्ति सुलभ होस् र त्यसमा बढीभन्दा बढी जनताको पहुँच बैङ्कसम्म पुगोस् भन्ने हाम्रो नीति छ । यी सबै कुराहरूले ग्लोबल बैङ्क सबैका लागि हो भन्ने पहिचान बनाउन हामी सफल भएको ठान्दछौं ।
 
ग्लोबल बैङ्कले ४ वर्षपूरा गर्दै छ । अन्य बैङ्कको तुलनामा यसको विकासको गति अलि मन्द भएको भनिँदै छ नि ?

नेपालको बैङ्किङ क्षेत्रमा ग्लोबल बैङ्क १९औँ वाणिज्य बैङ्कका रूपमा प्रवेश गरेको हो । सबैका लागि बैङ्क बन्छौं भन्ने अभियानका साथ शाखा विस्तार गर्ने जुन रणनीति थियो, त्यसमा हामी सफल छौँ । ४ वर्षकै  अन्तरालमा लगभग ९० हजार ग्राहक बनाउनु, २८ ओटा शाखा विस्तार गर्नु, ३५/३६ ओटा एटीएमको सञ्जाल तयार गर्नु, १५-२० मुलुकमा करेस्पोण्डेण्ट बैङ्क र एजेन्सीहरूको सञ्जाल बनाउनु, सात/आठ मुलुकबाट सीधै नेपालमा रेमिटयान्स भियभयाउन र पचहत्तरै जिल्लामा रेमिटयान्स पुर्‍याउनुलगायत जुन सञ्जाल बैङ्कले तयार गर्‍यो, समयको हिसाबले यसलाई धेरै ठूलो उपलब्धि मान्नुपर्छ । दीर्घकालीन रूपमा एउटा बैङ्कलाई अगाडि बढाउने हाम्रो आधारशिला ठीक छ कि छनै भनेर जाँच्ने हो भने त्यसमा हामी सफल छौँ । समय-क्रममा विकासको गति मन्द र तीव्र हुदै जाने कुरा हुन् । विगतका दिनलाई फर्केर हेर्दा कहिलेकाहीँ यसको गति मन्द भएको हो कि भन्नेजस्तो पनि देखियो । ग्लोबल बैङ्क १९औँ वाणिज्य बैङ्क भएर पर्फमेन्सका हिसाबले २५ औँ नम्बरमा पनि धकेलियो । तर, चालू आर्थिक वर्षको त्रैमासिकको परिणाम हेर्न हो भने ग्लोबल बैङ्क १४ औँ नम्बरमा आइपुगेको छ । यो परिणामले ग्लोबल बैङ्क आफ्नो दीर्घकालीन आधारशीला मजबुत बनाउने रणनीतिमा तल्लीन छ भन्ने प्रमाणित हुन्छ । त्यसैले हामी हाम्रो लक्ष्य, रणनीतिक दृष्टि र बाटोमा पूर्णतः सफल र सन्तुष्ट छौँ ।

बैङ्कले चौथो वर्षपूरा गरेको अवसरमा नयाँ प्रडक्ट र सुविधा पनि ल्याउँदै छ कि ?

पक्कै पनि केही नयाँ सेवा र सुविधाहरू थप्ने नीतिमा छौँ । बैङ्किङ क्षेत्रमा प्रतिस्पर्धाका दृष्टिले पनि नयाँ- नयाँ प्रडक्टको आवश्यकता पर्छ । तर, हतारिएर होइन, हामीले ल्याएको प्रडक्ट दीर्घकालीन र दिगो हुन्छ कि हुदैन , ग्राहक र बैङ्कका निम्ति आवश्यक र फाइदाजनक छन् कि छैनन् भन्ने हेरेर मात्र अघि बढ्नेछौँ । १९औँ बैङ्क भएर पनि ग्लोबलले मुलुकका पहिलो ५/६ ओटा बैङ्कले दिएका सेवा-सुविधाहरू उपलब्ध गराइरहेको छ । भिसा ब्राण्डका क्रेडिट/डेबिट कार्ड र विद्युतीय प्रविधिबाट दिने सेवाहरूमा पनि हामी अग्रपङ्क्तिमै छौँ । चौथो वाषिर्कोत्सवका अवसरमा ग्लोबल बैङ्कका ग्राहकलाई अझै उच्चस्तरीय प्रविधियुक्त सेवा उपलब्ध होस् भन्ने ध्येयले अहिले भएको एसएमएसबाट बिल भुक्तानी गर्ने सुविधालाई मोबाइलमा 'मेनु बेस्ड' सेवाका रूपमा थप गर्दैछौँ । अनलाइन सेवा पनि अब मोबाइलबाटै लिन सक्ने सुविधा हाम्रा ग्राहकलाई प्राप्त हुनेछ । मोबाइलबाट इण्टरनेट बैङ्किङ सेवा अहिलेसम्म नेपालमा कुनै पनि बैङ्कले शुरू गरेका छैनन् । त्यो सुविधा उपलब्ध गराउने बैङ्कमा ग्लोबल पहिलो हुनेछ ।

प्रतिस्पर्धाको दृष्टिबाट ग्लोबल बैङ्क आफ्नो निकटतम प्रतिद्वन्द्वी कसलाई मान्छ ?

साधारण अर्थमा भन्ने हो भने बैङ्किङ क्षेत्रमा सबै बैङ्क एक-आपसमा प्रतिद्वन्द्वी हुन्छन् । तर, ग्लोबल बैङ्कको सर्न्दर्भमा चाहिँ हाम्रो प्रतिस्पर्धी कोही पनि छैनन् । ग्लोबल बैङ्कको एउटा छुट्टै परिचय भएको कारणले पनि  हामी त्यसरी हेरिरहेका छौं । 'सबैका लागि बैङ्क' म हुन सक्छु भन्ने अठोटका साथ ग्लोबल बैङ्क अगाडि आएको हो । यसका सञ्चालक र प्रोमोटरहरू पनि बैङ्कको पहिचान फरक किसिमको बनाएर नेपालमा 'सबैका लागि बैङ्क' भएर अगाडि बढ्न सकोस् भन्ने कुरामा स्पष्ट हुनुहुन्छ । आज नेपालमा रहेका हामी भविष्यमा पनि नेपालमै सीमित रहनुपर्छ भन्नेचाहिँ हाम्रो दीर्घकालीन उद्देश्य होइन । हामी हाम्रो नामअनुरूप नै ग्लोबल हुन चाहन्छौं । यसका निम्ति अलिकति समय त लाग्ला नै, तर हाम्रो उद्देश्यचाहिँ विश्वकै निम्ति बैङ्क बन्ने हो ।

नेपालबाहिर कहिलेसम्ममा जाने सोच छ ?

हामीले कोरियालगायतका मुलुकको अध्ययन गरेका थियौं । तर, ती मुलुकहरूको केन्द्रीय बैङ्कको नीति, पूँजी राख्ने प्रक्रिया अहिल्यै हामीले पूरा गर्न सकिने अवस्था नभएर हामी रोकिएका छौं । त्यसैले अहिल्यै विदेशमा जाने समय तोक्नुभन्दा हामी  त्यसका निम्ति आफूलाई अनुकूल बनाउने प्रयासमा लागिरहेका छौं ।

राष्ट्र बैङ्कको वर्तमान नीति निर्देशनहरूका बारेमा तपार्इंको धारणा के छ ?

राष्ट्र बैङ्कले एउटा सुपरभाइजरका नाताले देशका वाणिज्य बैङ्क दीर्घकालीन रूपमा कसरी सबल भएर जान्छन् भन्ने कुरा जहिले पनि हेरिरहेको हुन्छ । नेपाल सन् ९० को दशकबाट उदार अर्थतन्त्रको नीतिअनुरूप अगाडि बढेको हो । त्यसपछि नै नेपालको वित्तीय क्षेत्रमा धेरै बैङ्क खुलेका हुन् । त्यसले अर्थतन्त्रलाई सकारात्मक दिशा पनि दिएको छ । तर, राष्ट्र बैङ्कले बैङ्कमा सीईओको तलबभत्ताजस्ता कुराहरूमा नियन्त्रण गर्ने कुराहरू आएका छन्, त्यसमा मेरो व्यक्तिगत धारणाचाहिँ यसलाई राष्ट्र बैङ्कले नहेरेकै भए राम्रो हुने थियो भन्ने छ । केन्द्रीय बैङ्कको यस्तो निर्देशनले हामी बजार अर्थतन्त्रअन्तर्गत नहिँडेर नियन्त्रित अर्थव्यवस्थामा पो फर्किरहेका छौं कि भनेजस्तो आभास पाइन्छ ।

राष्ट्र बैङ्कको नीति निर्देशनलाई राजनीतिक दर्शन  रझुकावले प्रभावित बनाएको हो कि ?

नेपाल राष्ट्र बैङ्कको गभर्नर भनेको मुलुकको वित्तीयक्षेत्रको सबैभन्दा ठूलो 'लिडर' हो । मुलुकको अर्थतन्त्र र बैङ्किङ क्षेत्रलाई 'ड्राइभ' गर्ने ठूलो संस्थाले राजनीतिक विचारधाराबाट नियमन निकायहरू सञ्चालन गर्ला भन्ने मलाई लाग्दैन । तर पनि, राष्ट्र बैङ्कबाट भएको एक-दुइओटा निर्देशनलाई बजारकै जिम्मामा छोड्नु उपयुक्त हुन्थ्यो । सीईओको तलबभत्ता, ब्याजदरजस्ता कुराहरू बजारलाई नै छोड्दा बजार प्रतिस्पर्धी हुन्छ । यद्यपि बजारको मनोमानी प्रतिस्पर्धा पनि त्यति उपयुक्त त हुँदैन । तर, अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा भयो भने त्यसले राम्रो नै गर्छ । नियन्त्रित आर्थिक नीतिअर्न्तर्गत हिँड्न थाल्यौं भने त्यसले बजारको पूर्ण प्रतिस्पर्धाको जोश र जाँगरलाई समाप्त पारिदिन्छ । यस्तो नीतिले विगत दुइ दशकबाट मुलुकमा हुँदै आएको आर्थिक विकासको गतिलाई मन्द बनाउन पनि सक्छ । ग्लोबल आर्थिक नीतिका विरुद्धमा हिँड्न शुरू गर्‍यौं भने त्यसले हामीलाई कहाँ पुर्‍याउला भन्ने अनुमान लगाउन नै कठिन हुन्छ ।

राजधानीबाहिर प्रधान कार्यालय रहेकाले ग्लोबल बैङ्कलाई काम गर्न कुनै कठिनाइ त परेको छैन ?

आज पनि ग्लोबल बैङ्कको प्रधान कार्यालय वीरगञ्जमै छ । बैङ्कको प्रधान कार्यालय रहेको स्थानमै साधारणसभा गर्नुपर्छ भन्ने मान्यता छ । राष्ट्रियस्तरको ग्लोबल बैङ्क आज २८ शाखामार्फत ११ अञ्चलमा फैलिएको छ । यस दृष्टिले साधारणसभाका निम्ति वीरगञ्ज निश्चय पनि सानो ठाउँ हो । हाम्रा धेरै शेयरधनीलाई त्यहाँ उपस्थित हुन अनुकूल नहुन पनि सक्छ । यसले गर्दा साधारणसभाबाट बैङ्कको नीतिनियम तर्जुमा गर्ने कुरामा केही असजिलो हुन सक्छ । अहिलेको नियमले त प्रधान कार्यालय काठमाडौंमै र्सार्न पनि सकिन्छ । तर, वीरगञ्जवासीले यसको प्रधान कार्यालय नसार्नु होला है पनि भन्नुभएको छ । हामीले त्यसलाई पनि ध्यान दिएका छौं ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनले बैङ्कको काममा फरक पारेको छ कि छैन ?

सम्पत्ति शुद्धीकरण निवारणको कुरा संसारभरिकै चासोको विषय हो । खासगरी आतङ्कवादी क्रियाकलापमा 'फण्डिङ' नहोस् भनेर सबैले चासो लिएका हुन् । तर, बैङ्किङ क्षेत्रमा चाहिँ यसले एउटा नकारात्मक प्रभाव पनि पार्न थालेको छ । तोकिएभन्दा बढी रकम बैङ्कमा जम्मा गर्नुपर्दा त्यसको आयस्रोतदेखि विभिन्न कागजपत्र देखाउनुपर्ने भएकाले त्यस्तो रकम बरु बैङ्किङ प्रणालीमै नलैजाउँ भन्ने मानसिकता देखिन थालेको छ । त्यसले मुलुकमा अनौपचारिक ढङ्गबाट आर्थिक कारोबार बढ्ने अवस्था सृजना भएको छ ।

ग्लोबल बैङ्कको लगानी प्राथमिकताका क्षेत्रहरूचाहिँ कुन-कुन हुन् ?

आर्थिक क्रियाकलाप हुने हरेक क्षेत्रमा हाम्रो लगानी भएको छ । तर, विशेष गरी हाम्रो मुख्य लगानी साना र मध्यम किसिमको उत्पादनमूलक उद्योग व्यवसायमा भएको छ र भविष्यमा पनि त्यहीअनुरूप हुनेछ ।

ग्लोबल बैङ्कको आर्थिक अवस्थाचाहिँ कस्तो छ नि ?

हाम्रो कुल पूँजी रू. १ अर्ब ५२ करोड पुगेको छ । निक्षेप झण्डै रू. १५ अर्बको हाराहारीमा र लगानी रू. १३ अर्ब रहेको छ । असोज मसान्तसम्मको हिसाबमा हामीले रू. ९ करोड खुद मुनाफा कमाएका छौं ।