शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''नेपालमा आईटीको तथ्याङ्क सङ्कलन गर्ने आधिकारिक निकाय छैन'' - सुरेशकुमार कर्ण

अध्यक्ष, कम्प्युटर एशोसिएशन अफ नेपाल

नेपालको सूचनाप्रविधिको बजार कस्तो छ ?

अहिले सूचनाप्रविधिको बजार निरन्तर बढिरहेको छ । नेपालका शहरीक्षेत्रमा सूचना-प्रविधिसम्बन्धी चेतना पनि बढेको छ । गाउँमा पनि विस्तारै यसप्रतिको आकर्षण बढेको छ ।

नेपालमा कति मूल्यबराबर सूचनाप्रविधिका सामानको कारोबार हुन्छ ?

यसको आधिकारिक तथ्याङ्क छैन । हाम्रो जस्तो देशमा जब यसले उद्योगको रूप लिन्छ, त्यसपछि मात्र यसको तथ्याङ्क सङ्कलन गर्न शुरू गरिन्छ । अहिलेसम्म कसैले आधिकारिक रूपमा तथ्याङ्क सङ्कलन गरेको छैन । हामीले छिट्टै आईटीसम्बन्धी एउटा डाइरेक्ट्री प्रकाशन गर्ने योजना बनाएका छौँ । यसमा यो व्यवसायमा वार्षिक कति मूल्यबराबरको सामान आयात हुन्छ र कति कारोबार हुन्छ भन्ने कुराको तथ्याङ्क उल्लेख गर्ने योजना छ ।

सूचनाप्रविधिको बजार अहिले शहरकेन्द्रित भएको हो ?

बजारविस्तार गर्ने र जनचेतना बढाउने भनेको सँगसँगै हुँदै जान्छ । जब यसका बारेमा मानिसलाई थाहा हुन्छ, त्यसपछि मात्र यसको बजारविस्तार हुन्छ । पहिले काठमाडौंकेन्द्रित थियो, अहिले जनचेतनाका कार्यक्रमहरू बाहिर पनि हुन थालेका छन् । यसले ग्रामीण क्षेत्रमा पनि बजारविस्तार गराएको छ । आमजनताले यसको उपभोग गर्न नसकेसम्म यसको बजारविस्तार हुँदैन । जनतामा  सूचनाप्रविधिको पहुँच पुर्‍याउनका लागि सरकारले पनि केही सहयोग गर्नुपर्छ । प्रविधिले गर्दा नै जनतासम्म राज्य पुग्न सक्छ । यस्तो वातावरणको विकास विस्तारै भइरहेको छ ।

नेपालमा सूचनाप्रविधि बजारका अप्ठयारा पक्ष केके हुन् ?

अहिले व्यवसायीहरूले सहनुपरेको अप्ठयारो भनेकै पूर्वाधारको अभाव हो । व्यवसायलाई उत्पादनमुखी बनाउनका लागि निजीक्षेत्र र सरकारका तर्फबाट केही प्रयासहरू हुनुपर्छ । व्यवसायको वातावरण सृजनाका लागि सरकारले सहुलियत दिनुपर्छ । तर, बजारको विस्तार गर्ने भनेको निजीक्षेत्रले नै हो । सरकराले यसको व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।

सरकारको सहयोग कत्तिको छ ?

अहिले विस्तारै सरकारी निकाय पनि सकारात्मक हुन थालेको छ । नेपालका सरकारी कर्मचारीहरू र राजनीतिक तहमा रहेका व्यक्तिमा केही हदसम्म सूचनाप्रविधिका बारेमा चेतना बढेको छ । यो हामीलाई नै चाहिने वस्तु हो, यसको विकास गर्नुपर्छ भन्नेमा उनीहरू पुगेका छन् । सरकारी निकायले केही प्रयासहरू शुरू गरेका छन् । तर, सरकारको यति प्रयासले मात्र पुग्दैन । सरकारको सूचना-प्रविधिसम्बन्धी नीति आयो । यसले मात्र बजार बढाउन सहयोग गर्दैन । यो त एउटा फ्रेमवर्क मात्र हो । अहिले सरकारले एकीकृत एक्शन प्लान भनेर ड्राफ्ट गरेको छ । यस क्षेत्रलाई छुटाउनुहुन्न भन्ने निष्कर्षमा सरकारी निकायका मानिस पुगेका छन् ।
 
यस्ता नीतिहरूले सूचनाप्रविधिको बजारलाई फड्को मार्न सहयोग गर्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

यसमा पनि विभिन्न क्षेत्र छन् । एउटा प्रविधिको पूर्वाधारको कुरा हुन्छ । अर्को सफ्टवेयर विकास गर्ने कुरा हुन्छ । सबै कुरालाई समेटर लैजानका लागि एउटा नीति आएको छ । तर, नीतिमा भएका कुरालाई कार्यान्वयन गर्नका लागि यसको कार्यनीति बन्नु आवश्यक छ । छोटो समयमा कार्यान्वयन गर्न सकिने र लामो समयमा कार्यान्वयन गर्न सकिने कार्यनीतिहरू अहिले ड्राफ्ट भइरहेका छन् । यसलाई पूर्णरूपमा कार्यान्वयनको अवस्थामा ल्याउन सक्ने हो भने देशमा सूचनाप्रविधिको माग बढ्छ । विस्तारै देशमा सूचनाप्रविधिको माग बढाएर यहाँको व्यवसायलाई प्रवर्द्धन गर्न सकिने अवस्थाको सृजना भएको छ ।

नेपालमा आईटीका प्रयोगकर्ता र यसको कारोबारको आधिकारिक तथ्याङ्क पत्ता लगाउन क्यानले के गर्दै छ ?

कुनै पनि व्यवसायलाई पहिले त्यसको प्रवर्द्धन गर्नुपर्छ । अहिले सबैको प्रयास नै यो व्यवसायको विस्तार होस् भन्ने छ । हामीसँग तथ्याङ्क लिनका लागि आधिकारिक निकाय छैन । यस विषयमा अहिले सरकारसँग पनि छलफल भएको छ । हाम्रो सदस्यतामा आधारित संस्था हो । सबै हाम्रा सदस्य हुनुपर्छ भन्ने छैन । तसर्थ, हामीले चाहेको सबै सूचना हामीले लिन नसक्ने अवस्थामा छौँ । जो सदस्य छन्, उनीहरूले हामीलाई सूचना दिन्छन् । सदस्य नभएकालाई यस्तो सूचना दिने बाध्यता हुदैन । अब यी विषयमा तथ्याङ्क सङ्कलन गर्ने आधिकारिक निकायको स्थापना गर्ने बेला भएको छ ।

यस वर्ष काठमाडौंबाहिर पनि क्यान इन्फोटेकको आयोजना भयो, काठमाडौं र बाहिरका सूचनाप्रविधिका प्रयोगकर्तामा के फरक पाउनुभयो ?

काठमाडौँ र बाहिरको इन्फोटेकको स्वरूप फरक हुन्छ । किनभने यहाँ जनसङ्ख्या धेरै छ । काठमाडौँका मानिसलाई सूचनाप्रविधिका बारेमा जानकारी पनि धेरै छ । बुटवलमा क्यान लुम्बिनी गर्दा त्यहाँ व्यवसायीहरूले सूचनाप्रविधिको प्रवर्द्धन राम्रोसँग गरेका छन् भन्ने देखिएको छ । बाहिरका प्रयोगकर्तामा पनि सूचना-प्रविधिप्रतिको जिज्ञासा बढेको छ । काठमाडौंमा भ्रमण गर्नेको सङ्ख्या धेरै हुन्छ भने बाहिर जान्न चाहनेको ।

यस वर्ष कतिले यो मेला अवलोकन गर्ने अपेक्षा गर्नुभएको छ ?

गत वर्ष३ लाख ७० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष ३ लाख ९० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ ।

यस्तो खालका प्रदर्शनी आयोजना गर्दा कति खर्च लाग्छ ?

यस्तो खालका प्रदर्शनी गर्नका लागि व्यवस्थापन गर्न धेरै ठूलो मेहनत गर्नुपर्छ । यहाँ स्टल राखेर प्रदर्शनी गर्नेबाहेक क्यानले मात्र ९० लाखको बजेट योजना बनाएर खर्च गरेको हो । यो बढ्न पनि सक्छ ।