''मुद्रण उद्योगमा रू.२५ अर्ब लगानी भएको छ'' - नरेशबहादुर मल्ल
अध्यक्ष, नेपाल मुद्रण उद्योग सङ्घ
तथ्याङ्कअनुसार नेपालमा २ हजारभन्दा बढी मुद्रण उद्योग छन्, यिनमा कति लगानी भएको छ ?
औसतमा एउटा मुद्रण उद्योगमा १ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यसअनुसार करीब २५ अर्ब रुपैयाँको लगानी भइसकेको छ । कान्तिपुर, नागरिक, जगदम्बा, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र समाजस्ता प्रेस सञ्चालनमा आएका छन् । यिनीहरूले नयाँनयाँ प्रविधिका मेशिन थप्दै गएका छन् । हाम्रो उद्योगमा प्रत्यक्ष-अप्रत्यक्ष गरी करीब ६० हजार मानिसले रोजगारी पाएका छन् ।
लगानी मात्र बढेको हो कि व्यापार पनि ?
व्यापार नबढी नयाँ लगानी थपिँदैन । अहिले वार्षिक १५ देखि २० प्रतिशतसम्म व्यापार बढिरहेको छ । नेपालमा निरन्तर लगानी बढ्दै गएको मुद्रण उद्योग मात्र हुनसक्छ ।
मुद्रण उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको भनिन्छ नि ?
नेपालमा भएका उद्योगहरू पूर्ण रूपले सञ्चालन हुन सकेका छैनन् । अहिले देखिएको प्रमुख समस्या लोडशेडिङको हो । तर, पुरानो तथा निरन्तर भोग्दै आएको समस्या कच्चापदार्थको हो । यसको आयातमा सरकारले अन्याय गरिरहेको छ ।
कच्चापदार्थ आयातमा कस्तो समस्या छ ?
मुद्रण उद्योगलाई आवश्यक सबै कच्चापदार्थ नेपालमा उपलब्ध छैन । यस उद्योगलाई कागज, मसी, केमिकलजस्ता कच्चापदार्थ आवश्यक पर्छ । हामीले ७० प्रतिशत कच्चापदार्थ भारतबाट ल्याउनुपर्छ । कच्चापदार्थ ल्याउँदा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) र २५ प्रतिशत भन्सारशुल्क गरी ३८ प्रतिशत कर लगाएको छ । तर, विदेशमा छापिएर आउने सामानमा दुइ प्रतिशत मात्र कर लिने गरिन्छ । हाम्रो माग भनेको यी दुवैमा बराबर कर लगाउनुपर्छ भन्ने हो । हामीले २०३५ सालदेखि आवाज उठाएका हौं । तर, अहिलेसम्म सुनुवाइ भएको छैन ।