शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''लोडसेडिङले व्यवसायमा वृद्धि भइरहेकेको छ'' - प्रचन्द्र श्रेष्ठ
'उज्ज्वल’ बिक्री प्रबन्धक इन्फ्राटेक प्रालि

लोडसेडिङले जेनेरेटर व्यापार बढेको हो ?
नेपालमा अहिले जेनेरेटरको बजार राम्रो रहेको छ । अझ लोडसेडिङको वृद्धिले पनि यसको मागलाई बढाएको छ । औद्योगिक क्षेत्रमा लोडसेडिङ नभए पनि जेनेरेटरको आवश्यकता पर्छ । त्यस्तै अत्यावश्यक क्षेत्र, जस्तै अस्पताल बैङ्क वा वित्तीय संस्थामा पनि यसको आवश्यकता पर्ने देखिन्छ । नेपालमा यस्ता संस्थाको वृद्धिसँगै जेनेरेटरको माग पनि बढिरहेको छ । तर, व्यावसायिक रूपमा भन्नुपर्दा लोडसेडिङले पनि जेनेरेटरको व्यवसाय बढेको छ ।


इन्फ्राटेकले विक्री गर्ने कोहलरको विशेषता के हो ?

हामीले विक्री गर्ने सबै मेशिनको आवाज मसिनो छ । भाइब्रेशन धेरै छैन । यस्तो मेशिनको १ मिटरमा रहेर पनि हामी मोबाइलमा कुरा गर्न सक्छौँ । हामीले १५ देखि २ हजार केभीएसम्मका जेनेरेटर उपलब्ध गराएका छौँ । यसको बाहिरी भागमा 'कोटेड पेण्ट’ आउँछ । यसका कारण घामपानीले असर गर्दैन । प्रयोग गर्ने स्थानमा पनि बाहिर खुला वातावरणमा नै राख्दा पनि हुन्छ । हामीले बजारमा विक्री गर्ने सबै मेशिनको मूल्यमा एकरूपता हुन्छ । हाम्रा मेशिनमा २ वर्षवारेण्टी वा ५ हजार घण्टाको वारेण्टी सुविधा प्रदान गरिएको छ ।

मेशिनको मूल्य कसरी निर्धारण गर्नुहुन्छ ?

मेशिनको मूल्य भनेको अन्तरराष्ट्रिय बजारले असर गर्छ । डलरको मूल्यमा परिवर्तनसँगै यहाँ पनि मूल्यमा परिवर्तन हुन्छ । बजारमा चलेका अन्य ब्राण्डको तुलनामा हाम्रो मेशिनको मूल्य अलिकति महङ्गो छ । गुणस्तरीय सामानको प्रयोगका कारण यस्तो भएको हो । महङ्गो भए पनि मेशिनको माग बढिरहेको छ । बजार अनुगमन गरेर पनि मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । एक पटक प्रयोग गर्ने ग्राहकहरूले पुनः कोहलरको माग गर्ने गरेका छन् । हामीले २ वर्षदेखि कोहलर ब्राण्डको 'इण्डष्ट्रियल जेनेरेटर' विक्री गरिरहेका छौँ । यसबीचमा करीब ३ सय थान जेनेरेटर विक्री गरिसकेका छौँ ।

नेपालमा ननब्राण्डेड जेनेरेटर मेशिनको आयात छ कि छैन ?

मलाई थाहा भएसम्म नेपालमा ननब्राण्डेड जेनेरेटर आयात हुने गरेको छैन । गुणस्तरमा जेजस्तो भए पनि सबैको आ-आफ्नै ब्राण्ड हुने गरेको छ । तिनीहरूको मूल्यमा भने गुणस्तरअनुसार फरक पर्न सक्छ ।

जेनेरेटरको बजारमा प्रतिस्पर्धा कुन कुरामा हुने गरेको छ ?

हामीकहाँ प्रतिस्पर्धा त ज्यादा हुने गरेको छ । मेरो अनुभवमा भन्ने हो भने मूल्यमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ । गुणस्तर खोज्ने ग्राहक धेरै कम आउने गरेका छन् । मेशिन खरीद गर्न आउने ग्राहकहरू सबैभन्दा पहिला मूल्यको जानकारी लिन्छन् । त्यसपछि गुणस्तर तथा प्रविधिसम्बन्धी जानकारी लिन्छन् । त्यस्तै विक्रेताहरूबीच विक्रीपछिको सुविधामा पनि प्रतिस्पर्धा भइरहेको छ । अहिले केही मात्रामा विज्ञापनमा पनि कम्पनीहरू आउन लागेका छन् । प्रतिस्पर्धा भने सबै कम्पनीहरूले आफ्नो नीतिनियममा बसेर गरिरहेका छन् ।

लोडसेडिङमा जेनेरेटर विद्युत्को विकल्प बनेको छ, यस्तोमा सरकारी तवरबाट केही सुविधा पाउनुभएको छ ?

लोडसेडिङको समयमा विद्युत् शक्तिका लागि जेनेरेटरले धेरै नै सहयोग गरेको छ । तर, सरकारले यसको निर्यातमा त्यस्तो सहुलियत दिएको मलाई थाहा छैन । दुइ वर्षअघिसम्म औद्योगिक क्षेत्रमा प्रयोग गर्ने मेशिनका लागि मूल्य अभिवृद्धि कर छूट थियो । तर, अहिले त्यस्तो सुविधा पनि हटेको छ । विद्युतीय सङ्कटको अवस्थामा त्यस्तो सुविधा प्रदान गर्नुपर्ने हो । यसको निर्यातमा एक प्रतिशत अतिरिक्त कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ ।

जेनेरेटरको व्यापारमा केही चुनौती छन् कि ?

सबै कम्पनीहरूले आफ्नै तरीकाले काम गरिरहेका छन् । हामीले पनि मागअनुसारको आपर्ूर्ति गरिरहेका छौँ । अहिले त्यस्तो ठूलो चुनौती तथा समस्या छजस्तो लाग्दैन ।

करीब ५ वर्षमा लोडसेडिङको अन्त्य हुने सरकारले बताएको छ, लोडसेडिङको अन्त्यपछि यो व्यवसायको अवस्था कस्तो होला ?

हो, अहिले लोडसेडिङले व्यवसायमा वृद्धि भइरहेको छ । लोडसेडिङको अन्त्य हुनु भनेको त पूरै राष्ट्रका लागि नै राम्रो कुरा हो । त्यहाँ कुनै व्यक्तिगत व्यवसायको बारेमा भन्न सकिँदैन । नेपालमा भएका औद्योगिक क्षेत्र तथा उद्योगहरूले जेनेरेटर खरीद गरिसकेका छन् । उनीहरूले थप किन्ने सम्भावना पनि हुदैन । विद्युतीय समस्याको समाधानसँगै व्यवसायमा असर त परिहाल्छ । नयाँ संरचनाको निर्माणसँगै जेनेरेटरको माग बढी नै रहन्छ । खरीद गरेका जनेरेटरहरूको मर्मत पनि गर्नुपर्ने हुन्छ । हामीलाई त्यही मर्मत गर्दा मात्र पनि कार्यालय सञ्चालन गर्न पुग्छ । त्यस्तै नयाँनयाँ खुल्ने व्यावसायिक भवन तथा औद्योगिक सस्थासँगै यसको मागमा पनि वृद्धि हुन्छ ।

जेनेरेटर खरीद गर्न आउने ग्राहकको चाहना कस्ता मेशिनमा बढी छ ?

हाम्रोमा जेनेरेटरको जानकारी लिन आउने अधिकांश ग्राहक मूल्यकै बारेमा जानकारी लिन चाहन्छन् । त्यसपछि विक्रीपछिको सुविधा, मर्मतको व्यवस्था तथा चाहिने पार्टस्के उपलब्धता बारे जानकारी लिन्छन् । हामीकहाँ अधिकांश ग्राहक मूल्यभन्दा बढी गुणस्तर चाहने आउने गरेका छन् । त्यसमा पनि कोहलरको ब्राण्डले गर्दा नै ग्राहकहरू आउने गरेका छन् ।

अरूभन्दा कोहलरको गुणस्तर राम्रो भन्ने आधारचाहिँ के हो ?

यसको आवाज कम छ । अन्य कति जेनेरेटरको साइलेन्सर बाहिर निस्केको हुन्छ । तर, हाम्रो मेशिनमा साइलेन्सर भित्र लुकेर रहेको हुन्छ । हाम्रो मेशिनको हरेक गडबडी डिजिटल स्क्रीनमा देखिन्छ । यसले गर्दा खराबी तुरुन्त पत्ता लाग्छ र मर्मत गर्न सजिलो हुन्छ । साथै मेशिन सञ्चालन गर्न पनि सजिलो हुन्छ । त्यसमा कम्पनीको नियमअनुसार विक्रीपछिको सुविधा पनि प्रदान गरिरहेका छौँ । कम्पनीकै कर्मचरीले चार पटकसम्म सर्भिसिङ गरिदिने तथा ग्राहकलाई नै सिकाइदिने गरेका छौँ ।
 
सामान्यतः मेशिनको आयु कति वर्षको हुन्छ ?

त्यो त सञ्चालन गर्ने तरीकामा भर पर्छ । मेशिनलाई जति माया गर्‍यो, मेशिनले पनि त्यति नै माया गर्ने हो । नेपालमा १५/१७ वर्षअगाडीदेखि सञ्चालन गरिरहेका मेशिनहरू पनि छन् । तिनीहरूको अवस्था रामै्र रहेको छ । प्राविधिक सामानको बेलाबेलामा मर्मत गरिरहनुपर्ने हुन्छ । यसमा धयान पुर्‍याए  जेनेरेटर वर्षौं चल्छन् ।

जेनेरेटरको खरीदका लागि ग्राहकले कस्ता कुरामा विचार पुर्‍याउनु पर्छ ?

घर वा औद्योगिक प्रयोजनका लागि आवश्यक मेशिनको सबैभन्दा पहिला त ब्राण्डमा सचेत हुनुपर्छ । विक्रीपछिको सुविधाको बारेमा पूर्ण जानकारी राख्नुपर्छ । कम्पनीको नीतिनियमबारे पनि जान्नुपर्छ । साथै, मेशिन सञ्चालन गर्ने तरीका तथा अपनाउनुपर्ने सावधानीबारेमा पनि पूर्ण जानकारी राख्नुपर्छ ।

कोहलर मेशिनको विक्रीप्रक्रिया कस्तो रहेको छ ?

हामीले सामानको अर्डर लिँदा ३० देखि ५० प्रतिशत पेश्की लिने गरेका छौँ । बाँकी रकम मेशिनको आयात गरिसकेपछि लिन्छौँ । त्यस्तै हाम्रो भण्डारबाट मेशिन सम्बन्धित स्थानमा लाने ढुवानी खर्च पनि ग्राहकले नै दिनुपर्ने हुन्छ ।