शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पाँच वर्ष विश्वविद्यालयमा लिएको ज्ञान एक दिनको अवलोकनमा'' - सागरदेव लाखे
अध्यक्ष, आईसीटी एशोसिएशन अफ नेपाल


आईसीटी इन्फोट्रेडलाई के कारणले अन्तरराष्ट्रिय स्तरको मान्न सकिन्छ ?

यसमा धेरै कारणहरू छन् ।  एउटा त कुनै पनि कम्प्युरको पार्ट्स नेपालमा बन्दैन । हामीले ब्राण्डिङका लागि छुट्टै हलको व्यवस्था गरेका छौं । त्यसमा ८० ओटा अन्तरराष्ट्रिय स्तरका सूचना तथा प्रविधिमा  आधारित ब्राण्डहरू रहने छन् । आईसीटीमा अन्तररराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू पनि आउँदै छन् । आईसीटी इन्फोट्रेड स्थल व्यवस्थापन, सूचना दिने तरीका, अवलोकन दृष्टिकोण, नियम, निर्देशन र सजावट व्यवस्थित हुनेछ । सबैमा उच्च स्तरको सजावट हुन्छ । विगत १५ वर्षको इतिहासमा यसपटक बनेको स्टल अन्तरराष्ट्रिय कम्पनीका ब्राण्डिङको अवधारणामा बनेको छ । यसपालि ब्यानर टाँगेर, डोरीले झुण्डयाउने खालका कुनै पनि स्टल हुने छैनन् । यस मानेमा पनि अन्तरराष्ट्रिय स्तरको ब्राण्डिङ एक्सपो भनिएको हो । ब्राण्डिङ हलभित्र ४० ओटा स्टल र विक्री वा प्रवर्द्धन भनेर ९२ ओटा स्टल रहनेछन् ।   

ब्राण्डिङ र विक्री प्रवर्द्धन स्टललाई कसरी बुझ्ने ?

ब्राण्डिङ स्टल प्रदर्शनी हलभित्र हुन्छ । यस्ता स्टलमा महँगा सूचना प्रविधिका सामान राखिएको हुन्छ । यी सामान विक्री गर्ने मनसायले राखिएको होइन । ब्राण्डको प्रवर्द्धन, गुणस्तर र कम्पनीको स्ट्रेन्थ देखाउन राखिएको हो । बाहिर हयाङ्गरमा राखिएका ९२ ओटा स्टलभित्र भएका ब्राण्डले आफ्नै सानासाना डिलरका लागि लिएका हुन् । यहाँ सूचनाप्रविधिका सामानको खरीदविक्री बढी हुन्छ । ब्राण्डिङमा राखिएकै सामान स्टलमा विक्रीका लागि राखिएको हुन्छ । ब्राण्डिङमा भएकामध्ये ३० प्रतिशतसम्म सामानको विक्री हुनसक्छ । हामीले बुझ्नका लागि र खरीद गर्नका लागि छुट्टाछुट्टै हलको व्यवस्था गरेका छौं । अवलोकनकर्ताको सजिलोका लागि यस्तो व्यवस्था गरेका हौं ।

ब्राण्डिङ एक्सपोका लक्षित ग्राहक को हुन् ?

ब्राण्डिङ एक्सपो भनेको फेसबूकका प्रयोगकर्ता, फेसबूक चलाउन सक्ने र च्याट गर्न जान्नेहरू हुन् । हाम्रो लक्ष्य पनि यही हो । एक्सपोमा ल्यापटप के हो भन्ने ग्राहक पनि आउँछन् । यो मेला उनीहरूका लागि होइन भन्ने सन्देश दिन चाहन्छौं । जसले इमेल आईडी चलाउन जान्दछन्, उनीहरू नै ब्राण्डिङ एक्सपोका ग्राहक हुन् । ५ वर्षसम्म विश्वविद्यालयमा अध्ययन गरेको जति ज्ञान एक्सपो अवलोकनको एक दिनमा व्यावहारिक रूपले पाउन सकिन्छ । हामी यसमा ग्यारेण्टी नै दिन सक्छौं । एक्सपो आईटी र आईसीटी बुझ्ने मान्छेले बढी ज्ञान लिने ठाउँ हो ।  

गत वर्षको तुलनामा अहिले आयोजना हुन लागेको एक्सपोमा के फरक छ ?

पहिलेका वर्षहरूमा अर्को पनि मेला गरेका थियौँ भन्ने थियो । सङ्ख्यात्मक रूपमा थप्दै लगेको मात्रै दखिन्थ्यो । अहिले आयोजना हुन लागेको मेला गुणस्तर, व्यवस्थापन, आयोजकको स्ट्रेन्थ र सूचना प्रविधिको फ्युजनका रूपमा देखाउन खोजेका छौं । नेपालमा यस्तो मेला कसैले आयोजना गरेको छैन । आईसीटीको इतिहासमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको ब्राण्डिङ एक्सपो गर्न गएका छौं ।  हाम्रा स्टलमा भएका ८० ओटै अन्तरराष्ट्रिय कम्पनी हुन् । एक्सपोमा उनीहरूका प्रतिनीधिहरू आउँछन् । नेपालमा यूपीएसबाहेक माउस पनि बन्दैन, सबै अन्तरराष्ट्रिय उत्पादन हुन् ।

बेञ्चमार्क के हो ?  

बेञ्चमार्क एउटा स्तरलाई दाँज्नु हो । यो एक हिसाबले एक्सपोको गुणस्तर मापन पनि हो । कुन स्तर पूरा गरेपछि स्तरीय एक्सपो हुन्छ भन्ने कुरा आयोजना हुन लागेको आईसीटी इन्फोट्रेड अवलोकन गरेपछि मात्र अवलोकनकर्ताले थाहा पाउनेछन् । आईसीटी इन्फोट्रेडका लागि हामीले पहिले नै त्यस्तो कार्ययोजना बनाएका छौं, जुन आजसम्म अरूले बनाएका थिएनन् ।

काठमाडौँ बाहिरका उपभोक्तालाई लक्षित गर्ने कार्यक्रम छैन ?

अहिलेसम्म काठमाडौँमा भएका एक्सपो काठमाडौँ मुखी मात्रै भएका छन् । तर, यसपटक हामीले काठमाडौंभन्दा बाहिरका डिलरलाई पनि छुट्टै कार्यक्रम बनाएर समेटेका छौं ।  हामीसँग ३ सय ५० देखि ४ सय ओटा डिलको नाम छ । यी डिलरले विगत ५ वर्षदेखि कम्प्युटरका सामान विक्रीवितरण गर्दै आएका छन् ।  उहाँहरूका लागि इन्फो ट्रेडभर खान र बस्नको व्यवस्थासमेत गरेका छौं । हाम्रो अवधारणा भनेको काठमाडौंबाहिरका ठाउँका लागि डिलरहरू आईटीका एम्बेसडर हुन् । त्यहाँका स्थानीय उपभोक्ताले डिलरसँग सल्लाह गरेर सामान खरीद गर्ने हो । जब कि उनीहरूलाई नै आईटीको ज्ञान नहुँदा कसरी उपभोक्ताले सही सामान छनोट गर्छन् । यस्ता डिलरका मान्छेलाई ब्राण्ड एम्बेसडर भनेर बोलाएका छौं । उनीहरूले ८० ओटा अन्तरराष्ट्रिय कम्पनीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेर आईटीका पछिल्ला प्रविधिका बारेमा बुझ्नेछन् । हामीले एक किसिमले अप्रत्यक्ष रूपमा सरकारले गर्नुपर्ने काम गरिरहेका छौं ।

एक्सपोले आईटीका सामान विक्रीवितरणमा कस्तो असर पार्छ ?

नेपालको सन्दर्भमा आईसीटीको व्यापार प्रत्येक वर्ष३० प्रतिशतका दरले बढिरहेको छ । जति पनि एक्सपो गरिन्छ, यसले सामान्य ग्राहक, विक्रेता, डिलर, सब-डिलर, इम्पोर्टर र उत्पादक कम्पनीसम्म पुलको रूपमा काम गरिरहेको हुन्छ । यति लामो प्रक्रियामा सम्बन्धित प्रडक्टको ज्ञान थोरैलाई मात्र हुन्छ । एक्स्पोले सम्बन्धित उत्पादनका बारेमा विस्तृत जानकारी दिने काम पनि गर्छ । यसले आईटी क्षेत्रलाई एकैपटक माथि उठाउने काम गर्छ । तर, यो कुरा प्रत्यक्ष रूपमा भने देखिँदैन ।