''ठूला लगानीका कम्पनीको आवश्यकता छ'' - राजु श्रेष्ठ
सञ्चालक, आरआर अक्वारियम, बत्तीसपुतली, काठमाडौं
अक्वारियमको महत्त्व के हो ?
परापूर्वकालदेखि नै मानिसले शौखका रूपमा माछा पाल्दै आएको पाइन्छ । यस्तो कार्यको शुरुआत ८ औँ शताब्दीदेखि भएको बताइन्छ । शिशाको भाँडामा माछा पाल्ने चलन नेपलामा विदेशबाट भित्रिएको हो । अक्वारियमको प्रयोगले घरको सौर्न्दर्य बढाउने र ब्लडप्रेर, हाइपरटेन्सन, डिप्रेशनलगायत समस्या भएकालाई फाइदा हुन्छ । यसरी माछा पाल्दा त्यसको क्रियाकलापले मानिसमा एकाग्रता आउँछ र उनीहरूले आनन्द महसूस गर्छन् । यसले गर्दा ब्लडप्रेसरलगायत रोगलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
नेपालमा यसको प्रयोगको अवस्था कस्तो छ ?
नेपालमा पहिले र अहिलेको प्रयोगको अवस्थालाई मूल्याङ्कन गर्दा त्यस्तो उल्लेख्य फरक देखिँदैन । पहिले जस्तो हुन्थ्यो अहिले पनि त्यसैअनुरूप प्रयोग भइरहेको छ । देशको अवस्था, मानिसमा आएको व्यस्तता, यसप्रति चेतनाको कमी र कतिपय मानिसको कमजोर क्रयशक्तिका कारण यसको प्रयोग बढ्न नसकेको हो । यसबाहेक ठूला बङ्गलाहरूमा इनडोर र आउटडोर पोण्डहरू बनाएर माछा राख्ने चलनको पनि विकास भएको छ । तिब्बती र चिनियाँहरूले घरको कौसीमा पोखरी बनाएर माछा राख्ने चलनको विकास गरेका छन् । अहिले यसकै नक्कल नेपालमा पनि हुन थालेको छ ।
अक्वारियमको प्रयोग नबढ्नुको कारण के हुनसक्छ ?
यसका लागि २८ देखि ३२ डिग्री सेल्सियससम्मको तापक्रम आवश्यक हुन्छ । यो तापक्रम कायम गर्नका लागि नेपालमा बिजुलीको अभाव छ । तापक्रम सन्तुलनका लागि जेनेरेटर अथवा इन्भर्टर राखेर चलाउनुपर्ने हुन्छ । सबैले त्यसको व्यवस्थापन गर्न सक्दैनन् । यसले पनि व्यवसायमा असर गरेको छ ।
अक्वारियम राख्न र यसको स्याहार गर्न कत्तिको सहज छ ?
अक्वारियममा माछा पाल्न सोचेजस्तो कठिन भने छैन । यो खासै महँगो पनि हुँदैन । एउटा अक्वारियमका लागि १ सय रुपैयाँको दाना र १ सय ५० रुपैयाँको औषधिले करीब ३ महीना पुग्छ । यसमा तापक्रम सन्तुलनका लागि विद्युत् आवश्यक हुन्छ । तर, खपत भने निकै कम मात्र हुन्छ । पुसमाघको समयमा भने यसको निकै ख्याल गर्नुपर्ने हुन्छ । यो समयमा अत्यधिक चिसो हुने भएकाले आवश्यक तापक्रम कायम गर्न नसक्दा माछाहरू मर्न पनि सक्छन् । शुरूमा ५/७ सयदेखि १४/१५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ । यो घरभित्र राख्ने अक्वारियमको मूल्य हो । पानी फोहोर भयो भने यसलाई समयसमयमा परिवर्तन गर्नुपर्छ । बिहानबेलुका दाना हाल्ने र एक हप्तामा औषधि हाल्नेबाहेक यसका लागि छुट्टै समय दिनुपर्दैन ।
कस्ता खालका माछालाई अक्वारियममा पाल्न सकिन्छ ?
यसमा बहाव भएको पानीमा पाइने माछा राख्नुहुँदैन । यसका लागि 'कल्चरल ब्रिड फिश’ उपयुक्त हुन्छ । यो डेकोरेटिभ फिश हो । यसलाई फार्ममा विकास गरिएको हुन्छ । यसका फार्महरू थाइल्याण्ड, मलेसिया, भारतलगायत मुलुकमा छन् ।
नेपालमा यस्ता फार्मको विकास गर्न सम्भव छैन ?
यहाँको हावापानी र वातावरण कल्चरल ब्रिड फिश उत्पानका लागि अनुकूल छैन । यसकारण पनि नेपालमा फार्म विकास सम्भव छैन ।
एउटा अक्वारियमले कति विद्युत् खपत गर्छ ?
अक्वारियममा प्रयोग हुने एयरपम्प दुइदेखि तीन दशमलव पाँच वाटसम्म क्षमताको हुन्छ । त्यस्तै १० देखि १५ वाटसम्मको वाटरफिल्टर हुन्छ । नियमित चल्ने भनेको यही सामान मात्र हो । हिटरको प्रयोग जाडो मौसममा मात्र हुन्छ । जाडोमा एउटा अक्वारियममा २ सय रुपैयाँसम्मको विद्युत् खपत हुन्छ । यति सस्तो हुँदा पनि मानिसमा यसको प्रयोगप्रति आकर्षण बढ्न सकेको छैन ।
काठमाडौंमा मात्र यसको कारोबार कति हुन्छ ?
एउटा अक्वारियमले अहिले दिनमा २ हजार रुपैयाँको व्यापार गर्छन् । काठमाडौँमा करीब २० जना अक्वारियम व्यवसायी छन् । नेपालमा अहिलेसम्म ठूलो लगानीमा अक्वारियम व्यवसाय सञ्चालनमा आएको छैन । अहिले रहरका हिसाबले मात्र यो व्यवसाय सञ्चालन भएको छ । यसले व्यावसायिक रूप लिन सकेको छैन ।
धेरै व्यवसायीहरू यस व्यवसायबाट विस्थापित हुनुको कारण के हो ?
सानो ठाउँमा धेरै व्यवसायीहरू भएका कारण पनि बन्द भएका हुन् । नेपालमा यसको बजार पनि सानो छ । यसका बारेमा बुझेका मानिसले मात्र अक्वारियम राख्छन् । थोरै ग्राहक र धेरै व्यवसायी भएकाले पनि व्यवसायीहरूले यसबाट हात झिक्नुपरेको हो । काठमाडौँमा अक्वारियम राख्नेहरू पाँच प्रतिशतभन्दा पनि कम छन् ।
यो व्यवसायका अप्ठयाराहरू केके हुन् ?
सरकारले यसलाई कस्तो व्यवसायको पहिचान दिने भन्ने कुनै आधार छैन । अहिले व्यवसायीहरू आआफ्नो तरीकाले व्यवसाय गरिरहेका छन् । त्यस्तै, अर्को प्रमुख समस्या भनेको लोडशेडिङ हो । यसले पनि आम्दानीभन्दा खर्च बढाएको छ ।
अक्वारियमप्रति मानिसलाई आकर्षित गर्न तपाईंहरूको प्रयास पनि कम भएको छ नि ?
यस क्षेत्रमा लागेका व्यवसायीहरूमा एकता छैन । यसको कुनै सङ्घ पनि छैन । यो व्यवसाय प्रवर्द्धन गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुरा व्यवसायीहरूले नै सोचेका छैनन् । एक पटक बालाजु मत्यविकास केन्द्रले यसको प्रदर्शनीको आयोजना गरेको थियो । यसमा देशभरबाट केवल पाँच/सात व्यवसायीले मात्र सहभागिता जनाएका थिए । यसले व्यवसायीहरू नै सक्रिय छैनन् भन्ने प्रस्ट हुन्छ । त्यस्तै, अहिलेसम्म कुनै पनि व्यवसायी तयारी भएर आएका छैनन् । यो व्यवसाय रहरको भरमा मात्र हुँदै आएको छ । पहिलो कुरा त लगानीमा ध्यान दिनुपर्छ । अर्को, यो व्यवसायका बारेमा राम्रो ज्ञान भएको हुनुपर्छ । माछाहरू कहाँबाट ल्याउन र कसरी स्याहार गर्ने भन्ने विषयमा जानकारी भएको मानिस भएमा मात्र व्यवसाय राम्रोसँग चल्न सक्छ ।