शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''तरल दूध आयात गर्दा नेपालकै दूधको गुणस्तर सुध्रिएको छ'' - सियारामप्रसाद सिंह
उपमहाप्रबन्धक, दुग्ध विकास संस्थान  
 

नेपालमा दूधजन्य उत्पादनको बजार कस्तो छ ?

अहिले दूधबाट उत्पादन हुने सामानको माग पहिलेको तुलनामा बढेको छ । यसमा पनि दूध र पनिरको माग निकै बढेको छ । नेपालमा चिज, आइसक्रिमलगायतमा नेपालको उत्पादनले नपुगेर बाहिरबाट पनि ल्याउने गरिएको छ । नेपालमा नै ठूलो मात्रामा पाउडर दूधको उत्पादन पनि शुरू भएको छ । यस्ता सामानको माग बढेको भए पनि दूधको उत्पादन भने घटेको छ । उद्योगहरूले पर्याप्त मात्रामा दूध पाइरहेको अवस्था छैन ।

के कारणले माग बढेको हो ?

माग बढ्नुमा दुइ/तीन ओटा कारण छन् । पहिलो कुरा डेरी प्रडक्टप्रति मानिसहरूको अभिरुचि बढ्दै गएको छ । दूधले हानी नगर्ने र यसको उत्पादनमा विवाद नआएको हुनाले पनि सबैले मन पराएका छन् । यसका साथै बढ्दो शहरीकरणले गर्दा यस्ता उत्पादनको माग बढेको हो । मानिसहरूको आर्थिक हैसियत पनि बढेको छ । यस्ता सामानको माग बढाउनमा रेमिटयान्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । मानिसहरू गाईभैंसी पाल्नुभन्दा तयारी अवस्थाका दूधजन्य उत्पादन किनेर खान मन पराउने भएकाले दुग्ध उत्पादनको माग बढेको हो । गाउँघरमा उत्पादन घटेको छ । तर, शहरमा भने माग बढेको छ ।

अहिले थुप्रै डेरीले पनि दुग्धजन्य उत्पादनहरू बजारमा ल्याएका छन्, तिनीहरूसँग दुग्ध विकास संस्थानको उत्पादनको प्रतिस्पर्धा कस्तो छ ?

ती सामानहरूसँग केही मात्रामा प्रतिस्पर्धा छ । जति उत्पादन भएको छ, ती सबै सामान विक्री भएका छन् । हाम्रो क्षमता निश्चित छ । काठमाडौँमा हामीले क्षमताभन्दा बढी उत्पादन गरिरहेका छौँ । काडमाडौंको तुलनामा बाहिरका शहरमा केही बढी प्रतिस्पर्धा छ । हेटौँडा , भरतपुर, वीरगञ्ज, विराटनगर, धरानलगायत शहरमा निजीक्षेत्रले उत्पादन गरेका सामान बढी विक्री हुने गरेका छन् । उनीहरूको प्लाण्टको क्षमता बढी र हाम्रो कम भएकाले यस्तो भएको हो । कतिपय ठाउँमा गुणस्तरको समस्या छ । दुग्ध विकास संस्थान सरकारी निकाय भएकाले हामीले गुणस्तर कायम गर्नुपर्छ । यो हामीले गरेका पनि छौँ । केही कम्पनीले उत्पादन गरेका सामानको गुणस्तरमा समस्या देखिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई अहिलेको परिस्थितिले गर्दा तराई क्षेत्रमा अनुगमन गर्न अप्ठ्यारो भएकाले पनि यस्तो भएको हुनसक्छ ।

डीडीसीका उत्पादनको बजारहिस्सा कति प्रतिशत छ ?

तरल दूधको हकमा यसको ५० प्रतिशत उपस्थिति छ । अरू सामान पनि जोडेर हेर्ने हो भने लगभग ४० प्रतिशत बजार छ ।

नेपालमा कति मूल्यबराबर दुग्ध उत्पादनको कारोबार हुन्छ ?

डीडीसीले उत्पादन गरेका सामानको वार्षिक कारोबार ३ अर्बको छ । नेपालमा वार्षिक ६ देखि ८ अर्बसम्मको दूधजन्य उत्पादनको कारोबार हुने गरेको छ ।

अहिले डीडीसीअन्तर्गत केके उत्पादन हुने गरेको छ ?

अहिले दुइ प्रकारको दूध उत्पादन हुने गरेको छ । यसअन्तर्गत एउटामा तीन र अर्कोमा पाँच प्रतिशत फयाट हुन्छ । यसबाहेक दहीमा विविधता छ । पनिर, मख्खन, घ्यू, चिज, आइसक्रिम, फ्रेश मिल्क, मोही र मिठाइँहरू नै यहाँका मुख्य उत्पादन हुन् । हामीले आँपको स्वादमा समेत दहीको उत्पादन गर्ने योजना बताएका छौँ। अहिले हामीले उत्पादन हुँदै आएका वस्तुको गुणस्तरमा ध्यान दिएर प्याकेजिङमा अझ सुधार गर्न लागेका छौं । हामीसँग अहिले नै धेरै उत्पादन छन् । यिनीहरूको गुणस्तर बढाउनका लागि प्लाण्टलाई सुधार गर्ने र आधुनिक मेशिन ल्याउने सोचाइमा छौं ।

खुमलटारमा नयाँ प्लाण्ट बनाउने योजनामा हुनुहुन्थ्यो, यो योजना कहाँ पुग्यो ?

क्षमता विस्तारका लागि हामीले दुइ ओटा काम गर्न लागेका छौं । हामीलाई दूध वितरणमा समस्या हुने गरेको छ । काठमाडौँ दूध वितरण आयोजनाअन्तर्गत बालाजुमा रहेको कारखानाको १ लाख लिटर दूध प्रशोधन गर्ने क्षमता छ । यसलाई बढाएर २ लाख लिटर क्षमताको बनाउन लागेका छौं । यसको प्रतिवेदन सबै तयार भएर खरीद प्रक्रियामा छ । यस्तै खुमलटारमा पनि दूधबाहेकका पदार्थको उत्पादन गर्ने प्लाण्ट बनाउन लागेका छौँ । त्यसमा हामी एक दिनमा ३० हजार लिटर दही, ३ हजार लिटर आइसक्रिम र १ हजार किलो पनिर उत्पादन गर्न सक्ने क्षमतासहितको कारखाना स्थापना गर्न लागेका छौं । यो प्लाण्टमा अन्तरराष्ट्रिय स्तरको प्रणालीको व्यवस्था गर्ने सोच बनाएका छौं । यो काम बढीमा डेढ वर्षमा सकिन्छ ।

अहिलेको मागअनुसार नेपालमा उत्पादन हुने दूधले नपुग्ने अवस्था छ, तपाईंहरूले कति परिमाणमा दूध आयात गर्दै आउनुभएको छ ?

हामीले भारतबाट तरल दूध ल्याइरहेका छौँ । केही महीनाअघि पटना डेरी प्रोजेक्टसँग हामीले सम्झौता गरेका छौं । यसअर्न्तर्गत उक्त कम्पनीले हामीलाई प्रतिदिन २५ हजारदेखि ५० हजार लिटरसम्म दूध उपलब्ध गराउँदै आएको छ । यसअर्न्तर्गत अहिले दैनिक ३० हजार लिटर दूध आयात भइरहेको छ । पाउडर दूध ल्याउँदा महँगो पर्ने र गुणस्तरको पनि ग्यारेण्टी नहुने हुँदा तरल दूध आयात गरिएको हो । पाउडर दूध खरीद प्रक्रिया एकदमै झञ्झटिलो पनि छ । तरल दूध ल्याउँदा अहिले दूधको गुणस्तर राम्रो भएको छ । यसका साथै तरल दूधमा संस्थानलाई केही फाइदा पनि हुन्छ । अर्कोतर्फअहिले पाउडर दूध हामीले नै उत्पादन गरिरहेका छौँ ।

तपाईंहरूले ल्याउनुभएको दूध अभिवृद्धी कार्यक्रमले कत्तिको सफलता पाएको छ ?

यसअन्तर्गत गाईमाई कार्यक्रम रहेको छ । यो नेपाल सरकारबाट स्वीकृत भएको कार्यक्रम हो । यसमा गाई किन्दा लाग्ने रकमको ब्याजमा ४ दशमलव ५ प्रतिशत सरकारको तर्फबाट अनुदान प्राप्त हुन्छ । यस कार्यक्रममा महिलालाई मात्र स्वामित्व दिइन्छ । यो कार्यक्रममा महिलाबाहेक अरू सहभागी हुन पाउँदैनन् । यसअन्तर्गत गाई र सम्बन्धित महिलाको बीमा गरिएको हुन्छ । यसरी गरिएको बीमाको ५० प्रतिशत प्रिमियम दूग्ध संस्थानले तिर्छ । यो कार्यक्रम अहिले मकवानपुर, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा र सप्तरीमा चलेको छ । यसअन्तर्गत ४ सय ५० ओटा गाई दिने भनिएकोमा ४ सयभन्दा बढी गाई दिइसकिएको छ । अब केही गाई दिन बाँकी छ । कार्यक्रम समग्रमा सफल भएको छ ।