''यस वर्ष पन्ध्र सय एलसीडी विक्रीको लक्ष्य'' - बाबुराम निरौला
बजार प्रब्रन्धक
इसिता ट्रेडिङ प्रालि
तपाईंहरू कस्तो टीभी विक्री गर्नुहुन्छ ?
हामीले सबै इलेक्ट्रोनिक्सका ब्राण्ड इसिता ट्रेडिङको नामबाट विक्री गर्छौं | एलसीडी टेलिभिजनमा हायर ब्राण्डका मात्रै विक्री गर्र्छौं । हामीसँग अन्य ब्राण्डका एलसीडी छैनन् । हायर जर्मन ब्राण्ड हो । तर, यहाँ आउने सबै सामान चीनमा बनाइएका हुन्छन् । यस्ता एलसीडी सबै चीनबाट तयारी अवस्थामा आउने गरेका छन् । हामीले कुनै पनि एलसीडी नेपालमा एसेम्बल गर्दैनौं । हामीले एलसीडी र एलईडीका टेलिभिजन विक्रीवितरण गर्छौं | एलसीडीमा २२ देखि ५५ इञ्चसम्मका उपलब्ध छन् । हामीकहाँ २२,२४,३२,३७,४०,४२,४६ र ५५ गरी आठ वटा मोडलमा हायर ब्राण्डका एलसीडी टेलिभिजन उपलब्ध छन् ।
हायर ब्राण्डका एलसीडीको विशेषता के हो ?
हायर मल्टिनेशनल ब्राण्ड हो । यसका फ्याक्ट्री मात्र १३/१४ वटा देशमा छन् । अरूभन्दा हायरमा उच्चस्तरको प्रविधि राखिएको छ । ३२ इञ्चभन्दा माथिका सबै एलसीडीमा फूल एचडी (हाइडेफिनेशन) प्रविधि अपनाइएको छ । एचडी रिजोलुशन जति बढी भयो, त्यति नै तस्वीरमा गुणस्तरीयता आउँछ । १९०० ह १०८० रिजोलुशन भएकोलाई फूल एचडी भनिन्छ । तर, योभन्दा कम रिजोलुशनका पनि धेरै एलसीडी टेलिभिजन बजारमा पाउन सकिन्छ । हाम्रा पनि ३२ इञ्चभन्दा कमका एलसीडीमा फूल एचडी छैन । फूल एचडी नभएका एलसीडीमा कम गुणस्तरको तस्वीर आउँछ । फूलएचडीमा चार वटा पोर्ट छन् । कुनै एलसीडीमा एउटा मात्र पोर्ट पनि दिइएको हुन्छ । हायरका एलसीडीमा मोडल हेरेर तीनदेखि चार वटा पोर्ट छन् । बजारमा आएका अन्य ब्राण्डका एलसीडीजस्तै हाम्रो पनि मूल्यमा धेरै अन्तर छैन । कम्पनीको नीति र आयात लागतलाई आधार मानेर हामीले यस्ता एलसीडीको मूल्य निर्धारण गर्छौं |
तपाईंका उत्पादनमा गुणस्तरको दाबी गर्ने आधार के हो ?
उपयोगिताका आधारमा हायरका एलसीडी गुणस्तरीय भएको दाबी गर्छौँ । हायरका एलसीडीमा मोटार प्रविधि छ । यसमा कुनै पनि प्रोग्राम रेकर्ड गर्न सकिन्छ । यो प्रविधि हायर ब्राण्डका एलसीडीमा मात्र छ । नेपालमा उपलब्ध अन्य एलसीडीसँग यस्तो प्रविधि पाइँदैन । हायरका एलसीडी रू. २९ हजारदेखि २ लाख १९ हजारसम्ममा उपलब्ध छन् ।
हायरका एलसीडीको विक्री बढेको हो ?
गएका तीन वर्षको तथ्याङ्कलाई हेर्दा हायरका एलसीडीको माग बढी रहेको छ । बजारमा हायरका एलसीडीको २५ प्रतिशत हिस्सा छ । हामीले एलसीडीको विक्री गर्न लागेको पनि ३ वर्षमात्र भयो । गत वर्षहामीले ८ सय थान एलसीडी विक्री गरेका थियौँ । यसको मूल्य रू. ८ करोड हुन जान्छ । यस वर्ष१ हजार ५ सय थान हायरका एलसीडी विक्री गर्ने लक्ष्य लिएका छौँ ।
ट्रेडिङ कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेको छ नि ?
हो, यस्ता कम्पनीका बीचमा अस्वस्थ प्रतिस्पर्धा छ । गुणस्तर कम गर्ने र पुरानै मूल्यमा सामान विक्रीवितरण गर्ने कम्पनी पनि धेरै देख्न सकिन्छ । यो कुरा सर्वसाधारण ग्राहकलाई थाहा हुँदैन । फूल एचडी नभएका एलसीडीलाई पनि फूल एचडी भनेर विक्री गीररहेको पाउन सकिन्छ । फूल एचडीको गुणस्तरीयता मापन गर्ने निकाय नेपालमा छैन । मल्टिनेशनल कम्पनीको त गुणस्तर थाहा पाउन सकिन्छ । अहिले स्थानीय कम्पनी पनि धेरै आइरहेका छन् । तर, स्थानीय उत्पादनमा यो जाँच्ने सुविधा छैन ।
एलसीडीको बजार विस्तार हुने अवस्था देख्नुहुन्छ ?
अबको बजार नै एलसीडीको हो । सीआरटीको बजार निरन्तर घटिरहेको छ । उपत्यकाबाहिरका शहरी इलाकामा पनि एलसीडीको बजार बढी रहेको छ । अहिले ७० प्रतिशत एलसीडी काठमाडौं उपत्यकामा मात्र खपत हुन्छन् ।
ननब्राण्डेडले त यहाँहरूलाई बजारबाट विस्थापित गरिसक्यो नि ?
हो, ननब्राण्डेडसँग हामीहरू प्रतिस्पर्धा गर्न सक्दैनौं । तर, यो प्रक्रिया धेरै लामो समयसम्म चल्लाजस्तो पनि लाग्दैन । गलत सूचना दिएर, गुणस्तर झुक्याएर यस्ता एलसीडी विक्री भइरहेका छन् । ब्राण्डेडको मूल्य ननब्राण्डेडभन्दा केही महँगो पर्छ । ग्राहकहरूमा ब्राण्डप्रति चेतनाको कमी हुनुले पनि ननब्राण्डेड विक्री गर्नेहरूले फाइदा लुटिरहेका छन् ।