शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''एउटा ग्यास गिजरले सामान्य परिवारलाई ६ महीना पुग्छ'' - विनोद महत
बजार व्यवस्थापक, नेपाल हिलटप इण्डष्ट्रिज प्रालि


नेपालमा ग्यास गिजरको बजार कस्तो छ ?

नेपालमा विशेष गरी मङ्सिरदेखि माघसम्म ग्यास गिजरको माग बढ्ने गरेको छ । अन्य पानी तताउने उपकरणको तुलनामा ग्यास गिजरको मूल्य केही सस्तो रहेको छ । त्यसैले मध्यमवर्गीय जनसङ्ख्या धेरै भएको नेपालमा यसको माग बढेको देखिन्छ । अलिकति उच्चवर्गका ग्राहकले सोलार हिटर जडान गर्ने भएकाले पनि यस्ता उपकरणका लक्षित ग्राहक पनि निम्नवर्गीय ग्राहक रहेका छन् । काठमाडौँ लगायत ठूला शहरमा भाडामा बस्नेले पनि गिजर प्रयोग गरिरहेका छन् । सानो आकारको बोक्न तथा जडान गर्न पनि सजिलो हुने कारण यसको माग बढिरहेको छ । जाडो मौसमको ३ महीनामा सबै ब्राण्डका गरी लगभग ८ करोड रुपैयाँबराबरको गिजर विक्री हुने गर्दछ ।

ग्यास गिजरको बजारमा प्रतिस्पर्धा कस्तो छ ?

नेपालमा ब्राण्डेड ग्यास गिजर बेच्ने औद्योगिक कम्पनीहरू करीब चार ओटा मात्र छन् । छोटो समयमा विक्री गरिसक्नुपर्ने भएकाले प्रतिस्पर्धा निकै हुने गरेको छ । औद्योगिक कम्पनीहरूले गुणस्तर तथा मूल्यमा प्रतिस्पर्धा गरिरहेका छन् । व्यवसायीहरूले भने क्षणिक मुनाफा हेरेर गलत ढङ्गबाट व्यवसाय गरिरहेका छन् । यसले गुणस्तरीय सामान विक्री गर्ने कम्पनीहरूलाई केही गाह्रो परिरहेको छ ।

ग्यास गिजरको कारोबारको वार्षिक वृद्धि कस्तो छ ?

निश्चित दरमा कति वृद्धि भयो त्यो त भन्न सकिँदैन । तर, ग्यास गिजरको बढ्दो प्रयोग र मागका आधारमा भन्ने हो भने यसको बजार वार्षिक २० प्रतिशतभन्दा बढी वृद्धि भइरहेको छ । मानिसको आयमा वृद्धि हुँदै गएकाले पनि मानिस विलासी बन्दै छन् । प्रतिस्पर्धाले मूल्यमा पनि कमी हुँदै आएको छ । यसले पनि मागमा वृद्धि भएको हो । सोलार हिटरहरूको मूल्यमा भएको वृद्धि र बढ्दै गएको लोडशेडिङले पनि ग्यास गिजरको माग बढ्न सहयोग गरेको छ ।

नेपाटप ग्यास गिजरको विशेषता के हो ?

हामीले बजारको माग देखेर यसपालिबाट मात्र ग्यास गिजरको विक्री गर्न लागेका हौँ। नेपाटप ग्यास गिजर चीनमा उत्पादन हुने नेपाली ब्राण्ड हो । बजारमा यसको डिजिटल र साधारण गरी दुइ मोडल उपलब्ध छन् । हरेका मोडलमा कम्पनीले १ वर्षको वारेण्टी दिएको छ । यो शून्य प्रेसरमा सञ्चालन हुन्छ । यसमा प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार तातो वा चिसो पानी प्रयोग गर्न सक्छन् । हाम्रो ग्यास गिजरमा नुहाउँदै गर्दा ग्यासको मात्रा वा धुवाँ बढी भयो भने मेशिन आफै बन्द हुन्छ । गिजरमा स्मोक सेन्सर जडान गरिएको छ । यसमा तातो पानीको तापक्रम बढी तथा कम हुँदा पनि यसले नियन्त्रण गर्छ । साथै आगोको मात्रामा घटबढ वा अन्य प्राविधिक समस्या देखापरेमा पनि यसले नियन्त्रण गर्दछ । नेपाटपको ग्यास गिजरमा एक किलोग्राम कपर वायर प्रयोग गरिएको छ ।

ग्यास गिजर प्रयोग कत्तिको महँगो पर्छ ?

गिजर खरीद गर्दा शुरूमा ब्राण्डअनुसार करीब ५ हजार रुपैयाँ लगानी गरे पुग्छ पर्छ । प्रयोग गर्दा खासै त्यस्तो महँगो पर्दैन । एक पटक राखिएको ग्यासले एउटा सामान्य परिवारलाई करीब ६ महीना नुहाउन पुग्छ । त्यसमा केवल एक सिलिण्डर ग्यासको मूल्य जोडे पुग्छ ।

नेपाटपले यस वर्ष कति ग्यास गिजर विक्री गर्ने लक्ष्य लिएको छ ?

ग्यास गिजर यसपालिबाट मात्र बजारमा ल्याएको भए पनि नेपाटप नेपालमा स्थापित भइसकेको ब्राण्ड हो । यसको बजार अहिले पनि राम्रो छ । यसपटक हामी नेपाली ग्यास गिजरको बजारको २० प्रतिशत बजार लिन्छौँ  होला । नेपाटपले यो मौसममा ४ हजार थान ग्यास गिजर विक्री गर्ने लक्ष्य लिएको छ । विक्रीलाई हेर्दा हामी सजिलै लक्ष्यमा पुग्छौँ ।

ग्यास गिजर आयातमा सरकारी नीति कस्तो छ ?

नेपालमा ग्यास गिजर आयातमा सरकारले खासै त्यस्तो सुविधा दिएको छैन । यसलाई सरकारले विलासिताको वस्तुका रूपमा लिएको छ । मध्यमवर्गीय नेपालीहरूले बढी प्रयोग गर्ने सामानलाई सरकारले केही सहुलियत दिनुपर्ने हो । अझै त्योभन्दा पनि कम गुणस्तरका सामान आयातले पनि समस्या पैदा गरिरहेको छ । विदेशबाट सामान आयात गर्दा यस्ता सामानको गुणस्तरसम्बन्धी मापदण्ड नतोकिएका कारण पनि समस्या भइरहेको छ ।

ग्यास गिजर व्यवसाय सञ्चालन गर्न कति लगानी गर्नुपर्छ ?

हामीले ग्यास गिजर मात्र हैन, अरू पनि धेरै क्षेत्रको व्यवसाय गरिरहेका छौँ । गिजर व्यवसाय गर्न कम्पनीले करीब ४० लाख रुपैयाँ लगानी गरेको छ । तर, सामान्य ग्यास गिजर मात्र ल्याएर विक्री गर्ने व्यवसायीले २० लाख रुपैयाँ लगानी गरेर पनि व्यवसाय गरिरहेका छन् ।

नेपालमा ग्यास गिजर व्यवसायको भविष्य कस्तो छ ?

अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालमा गिजर व्यवसायीहरूलाई सहज छैन । सरकारको कमजोर नीतिका कारण कम गुणस्तरका सामान धेरै भित्रिएका छन् । त्यसले गर्दा औद्योगिक कम्पनीले ल्याउने सामान गुणस्तरीय भए पनि विक्री गर्न गाह्रो परिरहेको छ । बजार अहिले राम्रो छ र भविष्य पनि राम्रो नै छ । तर, सरकारले निश्चित मापदण्ड तोकेर सामान आयात गर्ने नीति बनाएको खण्डमा गिजरलगायत अन्य सबै ब्राण्डेड सामान विक्री गर्ने कम्पनीहरूलाई पनि सजिलो हुन्छ ।

ग्यास गिजर खरीद गर्ने ग्राहकले कस्ता कुरामा विचार पुर्याउनु पर्छ ?

ग्यास गिजर खरीदमा सानो गल्तीले पनि मानिसले ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । त्यसैले ग्राहकले सबैभन्दा पहिला त मेशिनको ब्राण्ड र विश्वसनीय कम्पनीको नाम हेरेर मात्र खरीद गर्नुपर्छ । मेशिनमा कम्पनीले उपलब्ध गराएको विक्रीपछिको सुविधा तथा वारेण्टी, सञ्चालन गर्ने तरीकाआदिको बारेमा जानकारी लिनुपर्छ । साथै प्रयोग गर्दा पनि नुहाउने स्थान गुम्सिने खालको हुनुहुँदैन । ग्यासको प्रयोगले बाथरूममा अक्सिजनको कमीले मानिस बेहोश पनि हुन सक्छ । त्यसैले, भ्याण्टिलेशन खुल्ला राख्नुपर्दछ । धेरै लामो समयसम्म ग्यास गिजरको पानीमा निरन्तर बसिरहनु पनि हुँदैन ।