मारिकोका उत्पादनको विक्री वृद्धिदर राम्रो छ

प्रवीण भट्टराई
बिक्री अधिकृत (नेपाल र भुटान),
मारिको इण्डष्ट्रिज प्रालि
मारिको इण्डष्ट्रिज प्रालिले नेपालमा विगत १५ वर्षदेखि हेयर केयरसम्बन्धी उत्पादन विक्री गर्दै आएको छ । मुख्य कम्पनी भारतमा रहेको यसका उत्पादन एशिया र अफ्रिका महादेशका २५ देशमा विक्री भइरहेका छन् । नेपालमा मारिकोले आफ्ना हेयर केयरसम्बन्धी उत्पादनको विक्री प्रत्येक वर्ष बढाउदै लगेको छ । यसै सन्दर्भमा कम्पनीमा नेपाल र भुटानका लागि विक्री अधिकृतका रुपमा विगत ११ वर्षदेखि कार्यरत प्रवीण भट्टराईसँग गरिएको कुराकानी :
मारिको कम्पनीका बारेमा केही बताइदिनुस् न ?
मारिको बहुराष्ट्रिय कम्पनी हो । यसको मुख्य कार्यालय भारतको मुम्बईमा छ । हामी विशेष गरी बङ्गलादेश, मलेसिया, गल्फ राष्ट्रहरू र दक्षिण अफ्रिकामा काम गरिरहेका छौं। यो पुरानो र विश्वसनीय कम्पनीका रूपमा स्थापित भइसकेको छ । भर्खरैको अध्ययनअनुसार पनि भारतमा प्रत्येक चार जना मानिसमध्ये एक जनाले मारिकोको उत्पादन प्रयोग गरेको पाइएको छ । यसले पनि हाम्रा उत्पादन उपभोक्तामा लोकप्रिय भएको देखाउँछ । मारिको भारतमै पनि हेयर केयरसम्बन्धी वस्तु उत्पादन गर्ने प्रमुख कम्पनीअन्तर्गत पर्छ । नेपाली बजारमा मारिकोका कस्ता कस्ता उत्पादन उपलब्ध छन् ?कम्पनीका हेयर केयरसम्बन्धी सबै उत्पादन नेपालमा उपलब्ध छैनन् । त्यसैले नेपाली बजारमा कम्पनीका सबै उत्पादन पाउन सकिँदैन । कम्पनीका उत्पादन केन्द्र विभिन्न देशमा रहेका छन् । ती उत्पादन केन्द्रबाट त्यस ठाउँमा बस्ने मानिस र मौसम सुहाउँदो सामान उत्पादन गरिएको हुन्छ । त्यसैले सबै उत्पादन चाहेर पनि नेपालमा ल्याउन सकिँदैन । नेपालमा नरिवलको तेल, हेयर एण्ड केयर तेल, ज्यासमिन, शान्ति अमला, निहार, मेडिको श्याम्पू, एण्टी लाइस श्याम्पू (जुम्रा मार्ने), कोड टेन हेयर क्रिमलगायत ब्राण्डका हेयर केयरसम्बन्धी उत्पादन उपलब्ध छन् । यीमध्ये हेयर एण्ड केयर तेल नेपालमा खपत हुने प्रमुख तीन तेलअन्तर्गत पर्छ । हाम्रा उत्पादनमध्ये पनि कुनै तराई क्षेत्रमा बढी विक्री हुने गरेको छ भने कुनै पहाडी क्षेत्रमा बढी विक्री हुन्छ ।
नेपालमा हेयर केयरसम्बन्धी उत्पादनको बजार अवस्था कस्तो छ ?
नेपालका सबै क्षेत्रमा हाम्रा उत्पादन पाउन सकिन्छ । हामीले प्रमुख व्यापारिक केन्द्रमा डिलरको पनि व्यवस्था गरेका छौं । नेपालमा मारिकोका उत्पादन विगत १५ वर्षदेखि उपलब्ध छन् । बजारले आज जुन उचाइ लिएको छ, त्यो शुरूका दिनमा नगन्य थियो । प्रत्येक वर्ष ब्राण्डहरू पनि थपिइरहेका छन् । तर, विभिन्न ब्राण्डको उपस्थिति बढे पनि हाम्रा उत्पादनको विक्री हरेक वर्ष बढिरहेको छ । अहिलेको विक्री प्राकृतिक वृद्धिदरभन्दा पनि बढी हो । पहिला वर्षिक १५ देखि २५ प्रतिशतसम्म विक्री बढ्ने गरेकोमा अहिले शतप्रतिशतदेखि १ सय ५० प्रतिशतसम्म विक्री बढेको छ । त्यसैले विगत ३ वर्षदेखि कम्पनीले नेपाली बजारलाई पनि केन्द्रित गर्न थालेको छ । यसकारण पनि वृद्धिदर सामान्यभन्दा धेरै माथि छ । अहिले हामी नयाँ ब्राण्डको शुरुआत (लञ्च) गर्नेतिर केन्द्रित भएका छौं ।
मारिकोका उत्पादनको विक्री असामान्य ढङ्गले बढ्नुका कारण के हो ?
नेपालमा हामीले पूर्वाधार विकास गर्यौं । यसका साथसाथै केही नयाँ ब्राण्ड पनि थप्यौं । उपभोक्ताले पनि कुन उत्पादन वा ब्राण्डका सामान कस्ता छन् भनेर मूल्याङ्कन गरिरहेका हुन्छन् । कम्पनीको स्थापनादेखि उसका अन्य क्रियाकलाप पनि नियालिरहेका हुन्छन् । लामो समयदेखि सेवा दिँदै आएको कम्पनीप्रति ग्राहकको विश्वास पनि बढी नै हुन्छ । अर्को महइभ्वपूर्ण कुरा भनेको गुणस्तरीय उत्पादन पनि हो । मारिको हेयर केयरको क्षेत्रमा काम गर्ने पुरानो कम्पनीमा पर्छ । त्यसैले पनि कम्पनीका उत्पादनप्रति उपभोक्ताले धेरै विश्वास गर्छन् । शुरूका दिनमा उत्पादनको गुणस्तर थाहा पाउन पनि समय लाग्यो । अब विस्तारै यसका बारेमा धेरैले थाहा पाइसकेका छन् ।
नेपालमा यस्ता उत्पादनको आयात, विक्रीलगायतमा सरकारी नीति कत्तिको सहयोगी छ ?
अहिले आएर केही समस्या देखिएका छन् । नेपालले साफ्टा (दक्षिण एशिया स्वतन्त्र व्यापार क्षेत्र)को सहमतिपत्रमा हस्ताक्षर गरेको छ । तर, भन्सारमा त्यसको कार्यान्वयन हुन गाह्रो भइरहेको छ । यसले गर्दा साफ्टाबाट पाउने फाइदा हामीले पाउन सकिरहेका छैनौं । हामीले अहिले पनि सङ्घर्ष गरिरहेका छौं । अझै पनि हामीले कुनै फाइदा पाउन सकेका त छैनौं, तर भविष्यमा सहुलियत पाउनेमा भने आशावादी छौं । यसबाहेक अन्य समस्या भने मैले देखेको छैन ।
धेरै देशमा सामान विक्री गर्नुहुन्छ । नेपाली उपभोक्ताको छनोट कस्तो पाउनुभएको छ ?
नेपालका उपभोक्ता मिश्रित किसिमका छन् । यहाँ धरै महँगोदेखि अत्यन्त सस्तोसम्मका हेयर केयरसम्बन्धी उत्पादनको विक्री हुने गरेको छ । हामी सामान आयात गर्दा पनि उपभोक्ताको क्रय क्षमता र छनोटमा ध्यान दिने गर्छौं । पछिल्लो समय नेपाली उपभोक्ता पनि ब्राण्ड तथा गुणस्तरमा सचेत हुँदै गएका छन् । मारिकोका उत्पादन गुणस्तरीय भएकै कारण हामीले व्यापार बढाउन सकेका हौं । भविष्यमा पनि उपभोक्ताको माग र चाहनाअनुसारका नयाँनयाँ उत्पादन थप्दै जाने सोचमा छौं । त्यसमा पनि नेपाल सुहाउँदो उत्पादनमा ध्यान दिनेछौं ।
नेपालमा हेयर केयरसम्बन्धी उत्पादनको प्रतिस्पर्धा कस्तो छ ?
खुला बजारमा प्रतिस्पर्धा हुनु सामान्य कुरा हो । यो हुनु पनि पर्छ । तर, यसको अर्थ अस्वस्थ्य प्रतिस्पर्धा हुनु पर्छ भन्ने होइन । नेपाली बजारमा भएको प्रतिस्पर्धा स्वस्थ्य प्रतिस्पर्धा हो । कुनै पनि कम्पनीले आफ्नो सामान राम्रो भन्नु अन्यथा होइन । तर, अन्यको नराम्रो र मेरो मात्र राम्रो भन्नु चाहिँ गलत हो । यो प्रवृत्तिले अर्को प्रतिस्पर्धीलाई हानि पुग्छ । त्यस्तो कार्यलाई अस्वस्थ्य प्रतिस्पर्धा भन्न सकिन्छ । तर, अहिलेसम्म हेयर केयरको बजारमा यस्तो समस्या देखिएको छैन ।