''पाँच वर्षमै देश खाद्यान्नमा आत्मनिर्भर हुने सूत्र मसँग छ'' - केशरबहादुर विष्ट
पूर्वशिक्षा एवम् कृषिमन्त्री
राजनीतिज्ञका रूपमा परिचय बनाएका पूर्वशिक्षा तथा कृषिमन्त्री केशरबहादुर विष्ट झण्डै तीन दशकदेखि नयाँनयाँ प्रकारका कृषि कर्ममा व्यस्त छन् । कृषिमा आधारित विभिन्न खालका दर्जनौं काम गरिसकेका विष्ट हाल मोसो बाँसखेतीमा लागेका छन् । उनीसँग नेपालको खाद्यान्न उत्पादन र मोसो बाँसखेतीको सम्भाव्यताबारे अभियानले गरेको कुराकानीको सारः
तपाईंको राजनीतिक जीवनलाई अलग्याएर हेर्ने हो भने के बाँकी रहला ?
यो धेरै ठूलो र गम्भीर विषय हो । मानिसको सृष्टिलाई इज्जत गर्ने र जीवनलाई दुरुपयोग नगर्ने हो भने ऊसँग बाँकी रहने कुराको कुनै सीमा हुँदैन । जीवनको गहिराइमा पुग्दा त्यहाँ अनगिन्ती पक्ष हुन्छन् । मैले आफैलाई मूल्याङ्कन गर्दा नेपालको राजनीतिमा आफूलाई त्यति सफल मान्दिनँ । र, मलाई यसमा दुःख पनि छैन । आजको राजनीति भनेको विशुद्ध धोका हो । जसले जसलाई जसरी बढी धोका दिएर बेइमानी गर्न सक्यो, त्यही सफल ठहरिएको छ । इतिहास साक्षी छ, नेपालको राजनीति राणाकालदेखि अत्यन्तै धोकापूर्ण हुँदै आएको छ । आधुनिक राजनीतिको कुरा गर्दा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई धोका दिएपछि गिरिजाप्रसाद कोइरालाको उदय भएको हो । गिरिजाप्रसादलाई उल्टापाल्टा पारेर शेरबहादुर देउवाको उदय र देउवालाई सिध्याएर ज्ञानेन्द्र शाहको उदय भयो । अर्थात्, एकले अर्कालाई बेइमानी, गद्दारी र धोका दिएर अर्कोको उदय हुने संस्कारमा नेपाली राजनीति हुर्केको हुनाले नेपालमा राजकीय नेतृत्व 'स्टेटमेनशिप' को अभाव छ । यस्तो राजनीतिक संस्कार मलाई पचेन ।
तपाईं पछिल्लो समयमा कृषिमन्त्री हुनुभयो, मुलुकको कृषिक्षेत्रको समग्र स्थिति कस्तो पाउनुभयो ?
कृषिमन्त्री हुँदा त म नेपालको कृषि सम्भाव्यता देखेर अति उत्साहित भएँ । यद्यपि, मैले त्यहाँ साढे चार महीनामात्रै बस्ने मौका पाएँ । तर, त्यो अवधिमा मुलुकलाई खाद्यान्न अभावबाट मुक्त बनाएर फेरि खाद्यान्न निर्यातकर्ता कसरी बनाउन सकिन्छ भन्ने एउटा स्पष्ट सोच र तस्वीर मेरो आँखामा आएको थियो । मैले त्यसका लागि नीतिगत कामको शुरुआतसमेत थालेको थिएँ । नेपालमा पशुपालन, दुग्ध उत्पादन, तरकारी, माछा, अन्न, फलफूलजस्ता कृषिजन्य वस्तुको उत्पादन तत्कालै अकल्पनीय रूपले वृद्धि गर्न सकिने अवस्था छ । तर, आजसम्म मुलुकलाई पटक्कै नबुझेर राजनीतिक तहबाट अनेक निर्णय हुँदै आएकाले हामी नेपालीले दुःखकष्ट भोग्दै आएका रहेछौं भन्ने पनि मलाई प्रस्ट भयो । उदाहरणका लागि, कर्णाली अञ्चललाई चामल खुवाउने नाममा करोडौं खर्च हुँदै आएको छ । तर, प्रकृतिले कर्णाली अञ्चललाई यति धेरै चिज दिएको छ कि तिनका अगाडि चामलजस्तो वस्तु तुच्छ देखिन्छन् । फापर, कोदो, आलु, गेडागुडी, जडीबुटी, पशुपालन, माछा, फलफूलजस्ता वस्तु उत्पादनमा कर्णालीलाई कसैले पनि भेट्न सक्दैन । तर, हाम्रा नीतिनिर्माताले त्यसलाई प्रोत्साहन गर्नुको साटो हवाईजहाजबाट चामल लगेर कर्णालीवासीलाई परान्नभोजी बनाइदिएका छन् । यो अत्यन्तै दुःखद र मूर्खतापूर्ण काम हो । नेपालको उत्तरी भेगमा जुन गरीबी व्याप्त छ, वास्तवमा त्यहाँ जति सम्पन्नता कहीँ पनि हुन सक्ने देखिनँ म । चिसो पानीमा मात्रै उत्पादन हुने ट्राउट माछाको पालनबाट २ वर्षभित्रमै उत्तरी भेगलाई सम्पन्न बनाउन सकिन्छ । तर, देश चलाउनेमा 'भिजन' नभएपछि कसैको केही लाग्दो रहेनछ ।
नेपालका कृषिविज्ञ र कर्मचारीहरूको अकर्मण्यताले पनि कृषिक्षेत्रको उन्नति हुन नसकेको भनिन्छ नि ?
देशको उन्नति त टाढाको कुरा भयो, आफ्नै मन्त्रालयको सरसफाइमा समेत कृषि कर्मचारीहरूको कुनै चासो हुँदैन । कृषिका कर्मचारीहरू फोहोर र दुर्गन्धमा बस्न अभ्यस्त भइसकेका जस्तो लाग्यो, म कृषि मन्त्रालय छिर्दा । त्यसो त नेपालमा धेरै पहिलेदेखि प्रविधि र प्राथमिकता पाउँदै आएको कुनै मन्त्रालय छ भने त्यो कृषि मन्त्रालय नै हो । कृषि मन्त्रालयमा इमानदारीपूर्वक काम गर्ने हो भने बजेट पनि कहिल्यै कम परेको छैन । कृषि अध्ययन र अनुसन्धानका निम्ति मेचीदेखि महाकालीसम्मका सबै ठाउँमा केन्द्रहरू खोलिएका छन् । कृषि वैज्ञानिक र विज्ञहरूको पनि कुनै कमी छैन । विश्वका अन्य देशमा गएर नेपालका कृषिविज्ञ र वैज्ञानिकहरू प्रायः सबैले हजारौं डलरको जागीर तत्कालै पाउने योग्यता र क्षमता राख्छन् । अत्यन्तै उच्च तहका कृषि वैज्ञानिकहरूले भरिपूर्ण छ नेपाल । कृषि अनुसन्धान परिषद्जस्तो संस्था पनि हामीसँग छ । नेपालको दुई तिहाइ खण्ड नष्ट भयो भने पनि बीउबिजनको अन्तरराष्ट्रिय भण्डार भएको देश हो हाम्रो । कृषिक्षेत्रलाई विदेशी सहयोगको समेत कुनै कमी छैन । संसारमा उपलब्ध सबै हावापानी र भूबनोट भएको नेपाल र त्यो सबैलाई प्रतिनिधित्व गर्ने कृषि मन्त्रालयलाई अहिले देशको सबैभन्दा काम नलाग्ने, अनुत्पादक, कृषकको हत्यारा र देशको माटोको बलात्कार गर्ने संस्थाका रूपमा परिणत गराइएको छ । किसानलाई रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने लत लगाइदिएर मुलुकको उत्पादनशील र उर्वर भूमिलाई जर्जर बनाइएको छ । कृषिविज्ञको अकर्मण्यताले नै यो स्थिति उत्पन्न भएको हो भन्यो भने उहाँहरूलाई चित्त दुख्न सक्छ । तर, सत्य यही हो ।
तपाईंले त सबै खराबैखराब मात्रै देखाउनुभयो, राम्रो केही भएको छैन ?
राम्रा काम पनि भएका छन् । तर, थोरै राम्रा कामहरूलाई धेरै नराम्रा पक्षले ओझेलमा पारिदिन्छन् । नेपालका कतिपय ठाउँमा गाईको नश्लमा आमूल परिवर्तन भएको छ । माछापालनलाई प्रोत्साहन र व्यवस्थित बनाउने हो भने नेपाल मासुमा तुरुन्तै आत्मनिर्भर बन्न सक्छ । चिया र कफीमा आत्मनिर्भर बन्न सक्ने पूर्वाधार विकास भएको छ । स्याउ, सुन्तला, केरालगायतका फलफूलको आवश्यकतालाई पूरा गर्न सक्ने दिशामा मुलुक उन्मुख छ । तर, कर्तव्यप्रतिको विचलन र गद्दारीले गर्दा कृषिको उन्नति अवरुद्ध भएको छ । अहिले देशका सयभन्दा बढी नमूना सरकारी कृषि फार्महरूको अवस्था नाजुक र दयनीय बनाइएको छ । कुनै पनि बागवानी फार्म र बीउ उत्पादन केन्द्र आत्मनिर्भर छैनन् । हरेक वर्षराज्यकोषबाट ती कृषि फार्महरूका निम्ति रकम अनुदान गइरहेछ । नपढीकन पास हुनुपर्ने विद्यार्थी, नपढाएरै जागीर खानुपर्ने शिक्षक, काम नगरीकनै तलब खानुपर्ने कर्मचारी, सुरक्षामा भन्दा व्यक्ति वा पार्टीको कार्यकर्ता बनेर हिँड्न रमाउने प्रहरी, निजी सम्पत्ति बनाउन उद्यत मन्त्री, न्याय निसाफमा भन्दा राजनीति प्रेरित अड्डाअदालत आज मुलुकको कटु यथार्थ बनेको छ ।
तपाईं कृषि मन्त्रालयमा पर्याप्त बजेट छ भन्नुहुन्छ । तर, त्यहाँका सचिवदेखिका सबै कर्मचारी र कृषिविज्ञहरू त पैसा नै नभएर केही पनि काम हुन नसकेको भन्छन् ?
क?कसले के कस्ता योजना बुनेर मागेको पैसा पक्कै पनि पाएनन् होला । तर, कृषिक्षेत्रका लागि छुटयाइएको बजेट बिलकुल कम छैन । कृषिक्षेत्रका निम्ति ठूलो ठूलो कागजी योजना बन्छन्, तर काम हुँदैन । विशेषज्ञ?विद्वान्हरू कृषिक्षेत्रको उन्नतिमा लाग्नुभन्दा राजनीतिक पार्टी र तिनका नेताका पछि लागेर कहाँ बढी आर्थिक लाभ हुन्छ, कसरी विदेश भ्रमणमा जान पाइन्छ भन्ने धन्दामा तल्लीन छन् ।
तपाईं आफै पनि कृषि कर्म गर्दै आउनुभएको छ, अनुभव कस्तो छ ?
मैले कृषिक्षेत्रमा अनगिन्ती अनुभव बटुलेको छु । कुनै बेलामा म नेपालको सबैभन्दा ठूलो गाईपालक किसान थिएँ । २५ वर्षघि मैले ८४ ओटा उन्नत जातका गाई पालेको थिएँ । मेरै अगुवाइमा पशुबीमा शुरू भएको हो । तर, विविध व्यावहारिक कठिनाइले त्यो कामलाई निरन्तरता दिन सकिनँ । रेशमखेती पनि गरेँ । दशौं हजार बिरुवा लगाएको थिएँ । तर, रेशम कोया विक्री गर्ने कार्य यति झन्झटिलो थियो कि, त्यसबाट मैले हार खाएर काम छोड्नुपर्यो । त्यसपछि सेतो नेपाली कागज बनाउने लोक्ताको खेती गरेँ । मिचुमाता नाम गरेको जापानी लोक्ताखेती गराउन एक जना जापानी व्यापारीले मलाई प्रेरित गरेको थियो । मैले झण्डै डेढ लाख मिचुमाता 'लोक्ता' का बिरुवा लगाएँ । केही समयपछि त नेपालको पूर्वीक्षेत्रमा 'अर्घेली' भन्ने लोक्ताको बिरुवा पत्ता लागेछ । नेपालको त्यो अर्घेली त जापानको त्यही मिचुमाता 'लोक्ता' रहेछ । पूर्वतिर प्रशस्तै प्राकृतिक 'मिचुमाता' पाउन थालेपछि मैले खेती गरेको लोक्ता महँगो पर्ने देखियो । त्यसपछि त्यो काम पनि छोडिदिएँ । झण्डै सवा सय रोपनीमा लगाएको बिरुवा फाँड्न नै ३ वर्ष लाग्यो । मिचुमातापछि मैले केशरको खेती शुरू गरेँ । स्पेनका नरेश नेपाल आउँदा केशरको बीउ राजा वीरेन्द्रलाई उपहार ल्याइदिएका थिए ।
कृषि मन्त्रालयलाई लगाएर राजा वीरेन्द्रले कर्णालीको हुम्ला?जुम्लामा त्यो बीउबाट केशरखेती गराएका थिए । मैले चाहिँ जापानबाट त्यो बीउ झिकाएर खेती शुरू गरेँ । केशरको प्राकृतिक खेतीका निम्ति कर्णाली अञ्चल अत्यन्तै सुहाउँदो भूमि हो । तर, आधुनिक खेतीका निम्ति भने असोज?कात्तिकमा लगाएर फागुनमा प्याजको गाना निकालेजस्तो निकालेर स्टोर गर्नुपर्छ । मैले स्टोरको राम्रो व्यवस्था मिलाउन सकिनँ, म असफल भएँ । तर, त्यतिखेर केशर प्रतिकिलोको रू. ४ लाख पथ्र्यो । त्यसपछि मैले फूल 'ग्लाडियोलोस' खेती शुरू गरेँ । मेरी श्रीमती फ्लोरीकल्चर एशोसिएशनकी अध्यक्ष भएकीले फूलखेती गर्न प्रेरणा मिलेको थियो । ग्लाडियोलोसको बीउ भारतबाट ल्याएर पहिलो लटमा ६० हजार 'पीस' फूल उत्पादन गरेका थियौं । त्यतिखेर यो ठूलो परिमाणको उत्पादन थियो । पछि १ लाख 'पीस' सम्म पुर्याएका थियौं । त्यो फूल बङ्गलादेश निर्यातको व्यवस्था मिलाइएको थियो । तर, बङ्गलादेशको भन्सारको झन्झटले समयमा फूल पुग्न नपाउँदा ओइलाउने समस्या आयो । बङ्गलादेशका भन्सार कर्मचारीहरूले अनेक बहानामा फूल रोकिदिने गरे । त्यहाँ शीतगृह थिएन । त्यसैले फूलखेतीलाई पनि निरन्तरता दिन सकिएन । तर, अहिले स्थायी किसिमको चाँडै नब्रि्रने फूलको अलिकति खेती गरिरहेको छु । सिताके च्याउको खेती पनि मैले यस क्रममा गरेँ ।
कृषिमा अरु पनि केही गर्नुभयो कि ?
ललितपुरको लेलेमा जडीबुटी पनि लगाएको थिएँ । त्यहाँ सिमेण्ट कारखानाको निम्ति ढुङ्गा उत्खनन हुन थाल्यो । लेलेको सिङ्गो गाउँ नै सबै काम छोडेर रक्सी बनाएर बेच्न थाले । अहिले पनि त्यही भइरहेको छ । मेरो जडीबुटीको खेतीका निम्ति श्रमिक पाइनै छोडयो । लेमन ग्रास, तीतेपाती, धसिङ्गरेको खेती गरेको थिएँ । त्यो अहिले अलपत्र अवस्थामा छ । २ वर्षजति जुम्लाबाट जटामसी पनि ल्याएँ । तर जुम्लादेखि काठमाडौंसम्म आइपुग्दा वन कार्यालयको १८ ठाउँका चेकपोष्टमा घुस खाने रहेछन् । १८ ठाउँमा बोरा खोल्दै सिउँदै गर्न सम्भव पनि नहुने । १८ ठाउँमा घूस खुवाएर जटामसीको तेल निकाल्ने काम मेरो आत्माले मानेन, छोडिदिएँ । जापानी नास्पाती पनि लगाएको छु ।
कालिज पनि पाल्नुभएको छ, होइन ?
हो, मैले कालिज पनि पालेको छु । तर, त्यो नेपाली कालिज होइन । त्यो 'फेजेण्ट फेमेली' को 'गेम बर्ड’ हो, यो एउटाको कम्तीमा रू. ३ हजार रुपैयाँ पर्छ । नेपालको कानूनमा नेपाली कालिज पाल्न पाइन्छ, खान पाइँदैन ! यो कस्तो अचम्मको कानून ? नेपाली कालिज पाल्न लाइसेन्स लिएर शुरू गर्न पनि बडो अप्ठेरो छ । नेपाली कालिज पाल्न र बेच्न धेरै कानूनी लफडा पर्ने हुनाले म त्यता लागिनँ ।
लेलेस्थित तपाईंको बगैंचाको निकै चर्चा छ नि ?
हो, बोटनीका विद्यार्थीहरूले त यो बगैंचालाई हेर्न लायकको मान्छन् । उनीहरू त्यहाँ अध्ययनका निम्ति जाने गरेका छन् । मैले बोटनी पढेको होइन, तर मेरो पिताजी (डोरबहादुर विष्ट)का कारण र आफ्नै अनुभवले मलाई बोटनीसम्बन्धी धेरै ज्ञान प्राप्त भएको छ । मेरो बगैंचामा बोटनीको अध्ययन गर्न आउने विद्यार्थीहरूलाई मैले नै बोटबिरुवाका बारेमा जानकारी गराउने गरेको छु । एक 'लेक्चरको’ ५ हजार रुपैयाँ लिन्छु । बोटनीका विद्यार्थीहरूले सिद्धान्त पढेका हुन्छन्, उनीहरूलाई व्यावहारिक ज्ञान खासै हुँदैन । नेपालका कृषिविज्ञ पनि त्यस्तै छन् ।
तपाईंको बगैंचामा के कस्ता बोटबिरुवा छन् त ?
जडीबुटीको हकमा हर्बल, मेडिसिनल र बास्नादार बिरुवा (एरोमेटिक प्लाण्ट) मेरो बगैंचाका खास विशेषता हुन् । बगैंचाको अर्को सुन्दरता भनेको यो जैविक विविधता (बायोडाइभर्सिटी) केन्द्रका रूपमा विकसित भएको छ । अहिले मैले यसलाई खुला गरेको छैन । तर, निकट भविष्यमै यसलाई सार्वजनिक रूपमै खुला गर्ने सोचाइमा छु । यो बगैंचामा ३ हजारदेखि २४ हजार फिटसम्मको हावापानी र मौसममा हुन सक्ने बिरुवाहरूको सङ्कलन छ ।
तपाईंको यो बगैंचा भएको स्थानको उचाइ कति छ ?
मेरो बगैंचा ६ हजार ५ सय फिटको उचाइमा छ । तर, ३ हजारदेखि २४ हजार फिटसम्ममा हुने जातका बोटबिरुवालाई अहिलेसम्म बचाएर राख्न सफल भएको छु । नेपालमा यत्तिको जैविक विविधतायुक्त बोटबिरुवा सङ्कलन गरिएको निजी बगैंचा अन्त छैनन् । यसलाई जोगाएर राख्न पनि मलाई ठूलो मेहनत गर्नु परेको छ ।
अहिलेचाहिँ के गरिरहनु भएको छ ?
म अहिले नेपालमा अन्त कतै नभएको, कसैले नगरेको मोसो जातको चिनियाँ बाँसको खेती गरिरहेको छु । यो एउटा अर्को चाखलाग्दो विषय हो । चीनमा एउटा इण्टरनेशनल नेटवर्क फर ब्याम्बो एण्ड र्याटन 'इनबार’ नामक अन्तराष्ट्रिय संस्थाको मुख्यालय छ । त्यसैले संसारभरि नै बेत र बाँसको विकासका लागि सहयोग पुर्याइरहेको रहेछ । नेपालमा १२/१४ वर्षअघिदेखि वन मन्त्रालय, निजी उद्यमी र किसानहरूलाई समेत त्यो संस्थाले चीन लगेर मोसो बाँसका बारेमा जानकारी गराएको रहेछ । तर, त्यो कामचाँहि कसैले गरेनछन् । संयोगले त्यो संस्थाको मानिससँग मेरो भेट भयो । मैले ऊसँग मोसो बाँसको बीउ मागेँ । तर, उसले मलाई पत्याएन । तर, इनबारमै काम गर्ने एक जना नेपाली श्याम पौडेलको मद्दत लिएर त्यो बाँस विशेषज्ञलाई मेरो बगैंचा देखाएँ । बगैंचा देखेर अलिअलि प्रभावित भएर ल त ल कोशिश गरौंला भनेर ऊ चीन गयो । त्यसपछि उसले २ सय बिरुवा हवाईजहाजमा नेपाल पठायो । मैले त्यसमध्ये १ सय ९५ बिरुवा हुर्काएर १ वर्षसम्म चीनमा त्यसको फोटो पठाउन थालेँ । त्यसपछि भने उसले १ किलो बाँसको बीउ पठायो । मैले २० हजार बिरुवा उमारेँ ।
त्यो सबै लगाउनुभयो ?
होइन, त्यसमध्ये १० हजार बिरुवा मैले लगाएर हुर्काएको छु । त्यसमध्ये कीर्तिनिधि विष्टका छोरा विनोद विष्टले प्रतिबिरुवा रू. १ सयका दरले आफैले मूल्य राखेर रू. २ लाख तिरेर २ हजार बिरुवा लगे । त्यो उनले पनौतीमा लगाएका छन् । अहिले पनौतीमा उनको एकदमै राम्रो बाँसखेती छ । त्यसपछि इनबारले थप २ किलो बीउ पठाइदियो । त्यसबाट ६० हजार बिरुवा उत्पादन गरेर मैले इलाम, धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, नवलपरासी, कास्की र कञ्चरपुरसम्म पठाएँ । अहिले त्यो देशभरि फैलिइरहेको छ ।
त्यो बाँसको विशेषता के हो ?
चिनियाँ जातको यो मोसो बाँस सोझो र ७० फिट अग्लो हुन्छ । रुखो, बाँझो र केही पनी उब्जनी नहुने ठाउँमा पनि यो राम्ररी फस्टाउने र एक रोपनीमा ३ सय ५० बिरुवा लगाउन सकिन्छ । मकै रोपेजस्तो ३ फिटको दूरीमा एक्लै एक्लै लगाएर टुसा 'तरकारी’ समेत बेच्न पाइन्छ । यो बाँसको टुप्पामा मात्रै झुप्प पात हुने हुँदा फेदमा सजिलै मानिस छिर्न र टुसा टिप्न सकिन्छ । एक रोपनी बञ्जड जमीनमा रोपीएको बाँसको टुसाबाट रू. २० हजार र बाँसकै विक्रीबाट रू. ३० हजार आम्दानी हुन्छ । यो बाँस लगाएर त देशै धनी हुन सक्छ । तर, पाँच वर्षचाहिँ कुर्नुपर्छ । एक रोपनीबाट ६ सय ओटा बाँस वर्षै पिच्छे झिक्न सकिन्छ ।
यो बाँसका निम्ति कस्तो हावापानी चाहिन्छ ?
माइनस १० डिग्रीसम्मको चिसो यसले खप्न सक्छ । ३० डिग्रीमाथिको गर्मी यसले खप्दैन । त्यसैले यो बाँस उच्च पहाडी र हिमाली भेगमा असाध्यै राम्रो हुन्छ । नेपालको सबैभन्दा गरीबी रहेको भाग पनि त्यही हो । एक रोपनबाट रू. ५० हजार आम्दानी भएपछि के चाहियो ? मैले यो बाँसका बारेमा चीनमा समेत कार्यपत्र प्रस्तुत गरेको छु । जापानले बोलाइरहेको छ । संसारको २० प्रतिशत जनता पहाडी भू भागमा बस्छन् । यही बाँसलाई पहाडी भूभागमा लगाएर गरीबी उन्मूलन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालको अनुभव 'शेयर’ गर्न यूएनले मलाई सन् २०२० को 'मिलेनियम गोल' कार्यक्रममा बोलाएको छ । यही बाँसका कारण अहिले म इथियोपिया, भारतको उत्तराञ्चल, भुटान र चीनको एउटा संयुक्त समितिमा नीति निर्माण गर्ने मुख्य सदस्य बनेको छु । अहिले त मलाई अन्तरराष्ट्रिय स्तरमा यो बाँसको बारेमा बुझाउँदैमा फुर्सद छैन ।
तपाईंले भने जस्तै गर्यो भने त कृषिक्षेत्रबाटै नेपालको कायापलट हुने रहेछ, होइन त ?
यहाँका कर्मचारी र नेता कसैमा पनि इमानदारी छैन । इमानदारीपूर्वक काम गर्ने हो भने ५ वर्षभित्रै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । म त अहिले कसैसँग केही माग्न सक्ने स्थितिमा पनि छैन । तर मैले नेपालको कृषिक्षेत्र व्यवस्थापन गर्ने मौका पाउने हो भने २ देखि ५ वर्षभित्रमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छु । मसँग त्यो 'भिजन’ छ ।