''भन्सार छलेर आउने सामान व्यवसायको मुख्य समस्या'' - आर एस भण्डारी
प्रबन्ध निर्देशक, भण्डारी सर्जिकल हाउस
भण्डारी सर्जिकल हाउसले केकस्ता ब्राण्डका चिकित्सा सामग्रीको विक्रीवितरण गर्छ ?
हामीले सामान्य उपकरणदेखि सीटीस्क्यान, एमआरआईजस्ता अधिक मूल्यका उपकरणको समेत आयात गर्र्छौं । मुख्यतः हाम्रो ध्यान आयात, विक्रीवितरण र बोलपत्रमा छ । हामीले दुइ दजर्नभन्दा बढी ब्राण्डका सामग्री विक्री गर्र्छौं । आयात गरेका सामग्रीलाई काठमाडौँ, पोखरा, विराटनगरलयागयत शहरमा डिलर राखेर विक्रीवितरण गर्छौं |
भण्डारी सर्जिकलबाट यस्ता सामग्रीको वाषिर्क कारोबार कति हुन्छ ?
हामीले वार्षिक रू. १० करोड जति चिकित्सा सामग्रीको विक्रीवितरण गर्र्छौं । कारोबार रकम वार्षिक १० देखि १५ प्रतिशतले बढेको छ । व्यापारमा हरेक वर्षवृद्धि हुँदै आएको भए पनि यस व्यवसायमा निकै समस्या छ ।
कस्तो समस्या भन्न खोज्नुभएको हो ?
हामीलाई सबैभन्दा ठूलो समस्या कर हो । चिकित्सा सामग्रीको सप्लाई गर्दा अस्पतालले करको बिल लिन मान्दैन । अहिलेकै अवस्थामा सामान आयात गर्दा १३ प्रतिशत भन्सार तिर्नु पर्छ । सरकारले अस्पतालसँग पाँच प्रतिशत सेवाशुल्क मात्र लिन्छ । सिरिञ्जको निडलमा कर लाग्दैन । तर, सिरिञ्जमा कर लाग्छ । करमा भएको विभेदीकरणले काम गर्न अप्ठयारो परेको छ । बोलपत्र दर्ताको समयमा पनि गुण्डागर्दीको ठूलो समस्या हुने गरेको छ ।
यसका लागि ई-टेण्डर विकल्प हुन सक्दैन ?
कतिपय बोलपत्र ई-टेण्डरको माध्यमबाट हुने गरेका छन् । यो प्रक्रिया धेरै वैज्ञानिक छ । हाम्रो माग भनेकै सरकारले यस प्रक्रियालाई व्यापक विस्तार गरोस् भन्ने हो । तर, विभिन्न प्राविधिक कारणले ई-टेण्डरको प्रक्रिया प्रभावकारी हुनसकेको छैन ।
सप्लायर कम्पनी र सम्बन्धित स्वास्थ्य संस्थाका अधिकारीबीच कमिशनलाई लिएर ठूलै कसरत हुन्छ भनिन्छ नि ?
सरकारी बोलपत्र दुइ किसिमका हुन्छन् । यसमा एउटा प्राविधिक पक्ष हेरिन्छ । सबै कम्पनीले बोलपत्रमा सहभागी हुनका लागि सम्बन्धित संस्थाले तोकेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । यस विषयमा केही तलमाथि भएको हुनसक्छ । तर, तपाईंले भनेजस्तो ठूलो कसरतचाहिँ हुँदैन । हामीहरूले दु:ख पाएको गुण्डागर्दीबाट हो ।
मेडिकल कलेजहरू धमाधम खुलिरहेका छन्, यसले व्यापार बढाउँदैन ?
स्वास्थ्य संस्था थपिँदै जानु सुखद पक्ष हो । जति स्वास्थ्य संस्था थपिँदै गयो, उत्तिकै रूपमा चिकित्सा सामग्रीको माग बढ्ने हो । अहिले चिकित्सा सामग्रीको कारोबार वार्षिक २० देखि २५ प्रतिशतले बढिरहेको छ । अहिले सुविधासम्पन्न अस्पतालको सङ्ख्या पनि बढिरहेको छ । मेडिकल कलेज थपिँदै गएका छन् । यसले व्यापार त अवश्य बढाउँछ । अहिले स्वास्थ्य संस्थाकै अनुपातमा व्यवासयी पनि बढिरहेका छन् ।
चिकित्सा सामग्रीको गुणस्तर परीक्षण कसरी गरिन्छ ?
नेपालमा चिकित्सा सामग्रीको गुणस्तर परीक्षण हुँदैन । हामीलाई थाहा भएसम्म नेपालमा गुणस्तर परीक्षण गर्ने ल्याब पनि छैन । अहिले नेपाली नागरिकता भएको कुनै पनि व्यक्तिले सर्जिकल हाउस सञ्चालन गर्न पाउँछ । यसका लागि स्पष्ट व्यवस्था गरिएको छैन । तसर्थ, जोकोहीले पनि विभिन्न देशबाट चिकित्सा सामग्रीको आयात गर्ने र विक्री गर्ने गर्छन् । तर, यस विषयमा कसैले पनि ध्यान दिएका छैनन् । यही कारण बजारमा विक्री हुने सबै सामान गुणस्तरीय छन् भन्न सकिने अवस्था छैन ।
नेपाली बजारमा भन्सार छलीका सामान बढी भित्रिने गरेको सुनिन्छ नि ?
नेपाली बजारमा भन्सार छलेर आउने सामानको व्यापार ठूलो छ । खुल्ला सीमाना भएकाले भारतबाट झोलामा राखी नेपालमा चिकित्सा सामग्री आइरहेका छन् । एकातिर व्यापक रूपमा भन्सार छल्ने काम भइरहेको छ भने अर्कोतर्फस्वास्थ्य सेवामा प्रयोग हुने समान पनि गुणस्तरहीन आइरहेका छन् । हामीहरू भन्सार छलेर कुनै पनि सामान नआओस् भन्न चाहन्छौं । यसरी छलेर आउने चिकित्सा सामग्रीले हामीजस्ता व्यवसायीको व्यापारमा प्रत्यक्ष असर पारेको छ ।
बजारमा कहाँबाट आयात हुने समग्रीको बाहुल्यता छ ?
अहिले बजारमा सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले चिनियाँ प्रडक्ट बढी देखिन्छन् । तर, महँगा सामानमा चाहिँ बहुराष्ट्रिय कम्पनी नै अघि छन् । फिलिप्स, हिटाचीलगायत ब्राण्डमा महँगा सामान आइरहेका छन् । एमआरआई, सीटीस्क्यानजस्ता मेशिनमा यी कम्पनीका प्रडक्ट बढी विक्रीवितरण हुन्छन् । सामान्य किसिमका सामग्रीमा भने चीन र भारतका प्रडक्ट बढी आउने गरेका छन् । विगतका वर्षमा भारतका सामान बढी आइरहेका हुन्थे । तिनलाई अहिले चिनियाँ प्रडक्टले प्रतिस्थापन गर्दै आएको छ । नेपाली बजारमा चीनका प्रडक्टको हिस्सा ३० प्रतिशतभन्दा बढी छ । हामीले पनि चिनियाँ प्रडक्टलाई प्राथमिकता दिएका छौं । चीनियाँ प्रडक्ट भन्दैमा नकारात्मक धारणाले हेर्नु हुँदैन । चीनबाट अहिले उच्च गुणस्तरका सामान पनि आउन थालेका छन् ।
तपाईंको कुनै नयाँ विक्री योजना छ कि ?
हामीले चिकित्सा सामग्रीको ब्राण्डलाई विस्तार गर्ने योजना बनाएका छौं । बोलपत्रको कारोबारसँगै आयातलाई पनि बढाउँदै छौं । अहिले ४/५ ओटा नयाँ ब्राण्ड नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ ।