शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''यो ठाउँ कमाइ गर्ने हो'' - त्रिरत्न मानन्धर
सञ्चालक
अष्टनारायण पिक्चर्स प्रालि

सिनेमा घर सञ्चालकहरू त एकले अर्कोलाई पाखा लगाउँछन् भन्छन् नि ?

पहिलेदेखि सञ्चालनमा आएका सिनेमा घर सञ्चालकहरूले हामी जस्ता नयाँ सञ्चालकलाई सकेसम्म पाखा लगाउन चाहन्छन् । हामी जस्ता सञ्चालकलाई उद्योगमै नरहून् भन्ने चाहन्छन् । यस उद्योगमा अर्काले गर्ला, कमाउला भन्ने ईर्ष्या गर्ने पनि छन् । उद्योगमा रहन हामी नयाँ सिनेमा घर सञ्चालकहरूले चाहिँ दर्शकका लागि धेरै सुविधा उपलब्ध गराउन सक्नुपर्छ । सुविधा दिएर महँगोमा त सबैले फिल्म देखाउन सक्छन् । तर कम शुल्कमा धेरै सुविधा दिएर फिल्म देखाउन सके नयाँ सिनेमा घर पनि स्थापित हुन सक्छन् ।

नेपाली सिनेमा घर डिजिटल प्रविधितिर उन्मुख भइरहेका छन् । पुरानो प्रविधिलाई चटक्कै छोड्नु राम्रो हो र ?

डिजिटल प्रविधिमा लैजानु राम्रो हो । नेपालमा सिनेमाको बजारै सानो छ । ठूलो सिनेमास्कोपको रील किन्न महँगो पर्न जान्छ । कम खर्चिलो, साउण्ड पनि राम्रो आउने भएकाले मोनोभन्दा डिजिटल प्रविधि नै उचित हुन्छ ।

तर, कतिपय व्यवसायीहरू डिजिटल प्रविधिमा जाँदा उद्योग नै खतरामा पर्ने भनिरहेका छन् नि ?

त्यस्तो होइन । डिजिटलमा लैजाँदा अझ राम्रो हुन्छ । मोनो प्रविधिमा हामीले आवश्यक लाइट दिइरहन सकेका हुँदैनौं । रील एक ठाउँबाट अर्को ठाउँमा देखाउँदा खिइसकेको हुन्छ । देखाउनलाई सजिलो, सञ्चालकलाई पनि सजिलो र दर्शकले पनि यही प्रविधिलाई रुचाइरहेका छन् ।

यहाँको अनुभवमा एउटा सिनेमा घर सञ्चालनमा ल्याउनका लागि कति खर्चिनुपर्छ ?

सबैभन्दा पहिले त कस्तो खालको सिनेमा घर सञ्चालन गर्ने हो त्यसमा भर पर्छ । अहिलेको अवस्थामा अष्टनारायण जस्तो सिनेमा घर सञ्चालन गर्न कम्तीमा पनि ७/८ करोड रुपैयाँ खर्चिनुपर्छ । हाम्रो सिनेमा घरमा कुनै दिन कारोबार ठप्पै पनि हुन्छ । कुनै बेला धेरै राम्रो व्यापार पनि हुन्छ । अहिलेको अवस्थामा फिल्म हेर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ ।

कुन उमेर समूहका मानिस हलमै आएर फिल्म हेर्ने गरेका छन् ?

सबैभन्दा बढी युवा नै फिल्म हेर्न आउने हुन् । सिनेमा घरमै गएर फिल्म हेर्नेको सङ्ख्या बढ्दै छ ।

अष्टनारायण पिक्चर्समा के कस्ता फिल्म प्रदर्शन हुन्छन् ?

अहिले नेपाली फिल्म मात्रै देखाउँछौँ । गएको डेढ वर्षदेखि नेपाली फिल्ममै सीमित छौँ । यसभन्दा अघि हिन्दी फिल्म पनि देखाउथ्यौँ । पुराना सिनेमा घर सञ्चालकहरू नयाँ सिनेमा घरमा फिल्म दियो भने आफ्नो सिनेमा घरमा फिल्म चल्दैन भन्ने मान्यता राख्छन् । त्यसकारण पनि हामीले निर्माता र डिष्ट्रिब्युटर्स बाट नयाँ हिन्दी फिल्म लिनै सकेनौँ। नयाँ नेपाली फिल्म पनि पर्याप्त पाउन सकेका छैनौँ । हिन्दी फिल्म दोहोर्याई तेहेर्याई देखाउनु पर्ने बाध्यता भएर हिन्दी सिनेमा देखाउनै छाडेका हौँ । यसो हुँदा नेपाली फिल्म पाइन थालेको छ ।

नयाँ र पुराना सिनेमा घर सञ्चालकहरूको द्वन्द्व कहिले अन्त्य होला ?

अहिले त थुप्रै नयाँ निर्माताहरू पनि आउनु भएको छ । यसले पनि नयाँ सिनेमा घर सञ्चालकलाई व्यापार गर्न केही सहज हुन्छ जस्तो लाग्छ । अहिले त हामी नयाँ सञ्चालकहरू मिलेर निर्मातालाई बचाउन सक्छौं । दर्शकलाई राम्रो सेवा र सफा हल दिएर हाम्रो फिल्म हेर्न आकर्षित गर्न सक्छौं ।

सिनेमा घर सञ्चालकहरूबीच सधैंजसो विवाद भइरहेको हुन्छ । कारण के हुन सक्छ ?
कस्तो भने, यो ठाउँ कमाइ गर्ने हो । एउटाको हल चल्यो अर्कोको चलेन भन्ने होइन । छिमेकी हलसँग त यस्तो विवाद पर्न सक्छ । तर टाढाका हलसँग यस्तो हुँदैन ।

औसतमा एउटा फिल्मले कतिको व्यापार गर्छ ?

कुनै फिल्म यस्तो रद्दी हुन्छ कि हलका कर्मचारीलाई तलब दिन पनि पुग्दैन । कुनै फिल्म राम्रोसँग चल्यो भने ४ लाख रुपैयाँसम्म  फाइदा हुनछ । यसकारण पनि अनुमान लगाउन सकिँदैन ।

दर्शकका लागि केही नयाँ प्रविधि जडान गर्नुभएको छ ?

अवश्य । पहिले पहिले नेपाली फिल्ममा मोनो साउण्ड मात्रै हुन्थ्यो । हामीकहाँ अब ५.१ को अगाडि-पछाडि दायाँ-बायाँ चारैतिर मोड्न सक्ने इफेक्ट छ । अब त जसले सिनेमा घरमा सुविधा बढाउँदैन, त्यो सञ्चालक नै पाखा लाग्न सक्छ ।

प्रायः गरेर कुन वर्गका मान्छे हलमै पुगेर फिल्म हेर्छन् ?

मध्यमवर्गीय मान्छे नै सिनेमा घरका नियमित दर्शक हुन् । उच्च परिवारका मान्छे हलमै आएर कमै फिल्म हेर्छन् । काठमाडौंका स्थानीय भनिने नेवार समुदायका हजारमा ७ जनाले पनि हलमै आएर फिल्म हेर्दैनन् । नेवार समुदायका कति मान्छे त हलमै पसेका छैनन् होला ।

यहाँले कहिलेदेखि सिनेमा हल सञ्चालन गर्नु भएको हो ?

हामीले करीब १० वर्षदेखि अष्टनारायण पिक्चर्सलाई सञ्चालनमा ल्याएका हौँ । हामीले पैसाका लागि भन्दा पनि इज्जतका लागि सिनेमा घर सञ्चालन गर्यौं । यही भएर बुबाको नाममा सिनेमा घर सञ्चालन गरिरहेका छौ ।