''हामीसँग १० लाख पर्यटक धान्ने स्रोतसाधन छैन'' - रामहरि शर्मा
अध्यक्ष, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ
नेपालमा पर्यटक यातायात व्यवसायको अवस्था कस्तो छ ?
'पर्यटक यातायात’ले सरकारी सुविधा र मान्यता पाएको छैन । यो व्यवसाय पनि पर्यटन व्यवसायसँग आबद्ध हो भन्ने कुनै पनि सरकारले आजसम्म स्वीकारेको छैन । नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशतलाई हामीले सुविधा दिइरहेका छौँ । यसबाहेक ३० प्रतिशत होटल र ट्राभल्स टुर्सले धानेको छ । पहिले होटल र ट्राभल्स टुर्सले नेपालमा आउने पर्यटकलाई धान्न सक्छ भन्ने थियो । अहिले सरकारले ध्यान नदिएको हुनाले समस्या भएको छ । अहिले नेपालको पर्यटक यातायातलाई व्यवस्थित गर्नका लागि निर्देशिका बन्दै छ । हाल यो अन्तिम चरणमा पुगेको छ । निर्देशिका आएमा यस व्यवसायमा सहयोग पुग्छ भन्ने लागेको छ ।
पर्यटक यातायात व्यवसाय फस्टाउन नसक्नुको कारण के हो ?
नेपालको पर्यटन बजार नै सानो छ । टाढा गयो भने लुम्बिनीसम्म हो । नेपालमा भएका पर्यटकीय स्थललाई पनि चर्चामा ल्याउन सकिएको छैन । सुदूरपश्चिममा भएका सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिएको छैन । नेपालका पर्यटकीय गन्तव्य छोटो दूरीमा भएका कारण पनि धेरै गाडी गुडाउन नसकिएको हो । अर्कोतर्फनेपालका गाडी सञ्चालकहरूको सिण्डिकेट प्रथाले पनि व्यवसायमा केही असर गरेको छ । कतिपय ठाउँमा पर्यटक बोकेको गाडीलाई प्रवेश गर्न नै दिइँदैन । पर्यटक गाडीले उनीहरूको व्यवसायमा असर पुग्छ भनेर प्रवेश गर्न दिँदैनन् । यसले पनि व्यवसायमा असर परेको छ ।
नेपालमा महँगा गाडी भित्र्याएर सुविधा दिन सक्ने अवस्था छैन । यहाँको सडक सानो र पर्यटकीय क्षेत्रमा दूरी पनि त्यति धेरै छैन । यहाँको बजार सानो भएकाले गाडीमा लगानी गरेको पैसा उठाउन पनि लामो समय कुर्नुपर्छ । त्यस्तै, अहिले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेको छ । वर्षमा २० हजार किलोमिटर गाडी गुडाउन पनि नसकिने अवस्था छ ।
यो व्यवसायबाट नेपालमा कति कारोबार हुन्छ ?
वार्षिक एक अर्बबराबरको कारोबार हुन्छ । अहिले काठमाडौँमा मात्र ४० भन्दा बढी व्यवसायी छन् । यस क्षेत्रमा करीब ४ अर्बको लगानी भएको छ । प्रत्येक वर्ष करीब ३० प्रतिशतले व्यवसाय बढेको छ ।
यस्ता सवारीसाधनमा कस्तो सुविधा हुन्छ ?
नेपालमा आएका पर्यटकले हामीकहाँ उपलब्ध बस रुचाउँदैनन् । हामीले अहिले पनि विदेशका जस्ता सुविधासम्पन्न गाडी उपलब्ध गराउन सकेका छैनौं । यहाँको व्यवसाय र खराब सडकका कारण पनि यस्तो भएको हो । नेपालमा एयर कण्डिशनको सुविधासहितका बस उपलब्ध छन् । कार भने पुराना मात्र चल्ने गरेका छन् । सरकारले भन्सारमा धेरै कर लगाएका कारण नेपालमा नयाँ कार भित्र्याउन सक्ने अवस्था छैन । ठूला बसमा भन्सार कम भएकाले बसहरू धेरै चल्ने गरेका हुन् ।
प्रतिस्पर्धा कस्तो छ ?
एकदमै गाह्रो छ । एकआपसमा मिलेर काम गर्न नसक्नुले पनि हामीलाई गाह्रो पारेको छ । साथै, भाडादरमा पनि अस्वस्थ प्रतिस्पर्धा नै छ । कार चलाउने हो भने त झनै धान्नै नसकिने अवस्था छ ।
भाडादर कसरी निर्धारण गरिन्छ ?
हालसम्म यसको भाडादर नाटाले निर्धारण गर्दै आएको छ । किलोमिटर र दूरीका आधारमा भाडा निर्धारण हुन्छ । भाडा निर्धारण गर्दा कारलाई आधार मानिन्छ । काठमाडौँ उपत्यकाबाहिर कार एक किलोमिटर गुडेपछि २० देखि ३५ रुपैयाँ भाडा लाग्छ । उपत्यकाभित्र गन्तव्यसम्मको दूरीलाई आधार मानेर भाडा निर्धारण गरिन्छ । अहिलको भाडादर हेर्ने हो भने सुविधासम्पन्न कार पनि टयाक्सीभन्दा सस्तोमा गुडिरहेका छन् । भ्यानमा चाहिँ कारको दोब्बर भाडा लाग्छ । कोष्टर गाडीमा तीनदोब्बर र ठूला बसमा कारको भाडाको चारदोब्बर भाडा लाग्छ ।
एशोसिएशनले के गर्दै छ ?
व्यवसायीहरूको हकहित र व्यवसायलाई मर्यादित बनाउन एशोसिएशनको आवश्यकता भएको हो । व्यवसायीहरूमा पनि अहिले एकअर्कामा प्रतिस्पर्धाको भावना कम हुँदै गएको छ । एउटालाई अप्ठयारो पर्दा अर्कोले सहयोग गर्ने भावनाको विकास भएको छ । अहिले हामी निर्देशिका बनाउनमा नै केन्द्रित भएका छौं ।
निर्देशिका बनेपछि के फाइदा हुन्छ ?
अहिले हामीले कार रातो प्लेट र बस कालो प्लेटमा चलाइरहेका छौं । यसले गर्दा हामीलाई बाटोमा विभिन्न समस्या आउने गरेका छन् । निर्देशिका बन्नेबित्तिकै सबै गाडी हरियो प्लेटमा दर्ता गर्न पाउँछौ । यो व्यवसाय पनि पर्यटन व्यवसाय हुन्छ । यसबाट हामीलाई काम गर्न सजिलो हुन्छ । अहिले गाडीमा हरियो प्लेट लिनका लागि मात्र पनि ट्राभल्स एण्ड टुर्सको दर्ता गर्नुपर्ने अवस्था छ । यस्तो समस्याबाट पनि हामीले मुक्ति पाउँछौं । सरकारले हामीलाई भन्सार सुविधा दिएको छैन । हामीले जति लगानी गरेका छौं, कुनै सरकारी सुविधा नलिई गरिरहेका छौं ।
शुरू भएको पर्यटन वर्षले व्यवसायलाई कत्तिको फाइदा पुग्ने देख्नुहुन्छ ?
पर्यटन वर्षले केही फाइदा हुन्छजस्तो लागेको छैन । नेपालमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरेर त्यसको प्रवर्द्धन गर्न सकिएको छैन । सरकारले १० लाख पर्यटक भित्र्याउने भनेर मात्र हुँदैन । यसका लागि आवश्यक पूर्वाधारको विकास पनि गर्नुपर्छ । यहाँ १० लाख पर्यटक आउने हो भने नेपालका व्यवसायीहरूले त्यसको व्यवस्थापन नै गर्न सक्दैनन् । नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशतलाई हामीले सवारी सुविधा उपलब्ध गराइरहेका छौं । सरकारले भने जति पर्यटक आउने हो भने हामीले नै सुविधा दिन सक्दैनौँ । यसका लागि सरकारले सम्बन्धित पक्षसँग छलफल गरेर आवश्यक तयारी गर्न सकेको छैन । क्षमता अभिवृद्धि हुन नसक्नाले यस्तो भएको हो । हुन त सरकारले ठूला संस्थासँग छलफल गरेको होला, तर यस क्षेत्रमा साना संस्थाहरूको भूमिका बढी हुन्छ । २०१० कै अक्टुबर?नोभेम्बरमा आएका पर्यटकलाई सेवा दिन हामीलाई धौ?धौ परेको थियो । त्यसभन्दा पछि कसैले गाडी थपेका छैनन् । सरकारले पनि गर्नुपर्ने जति तयारी गरेको छैन ।
यो व्यवसायको भविष्य कस्तो छ ?
नेपालका सबै क्षेत्रमा हवाईसेवा पुग्न सकेको छैन । सबै पर्यटकले हवाईसेवा प्रयोग गर्न पनि रुचाउँदैनन् । धेरैले सडक यातायातको प्रयोग गर्न रुचाउँछन् । अहिले नेपाल आउने पर्यटकको सङ्ख्या पनि बढिरहेको छ । त्यसकारण पनि यो व्यवसायको भविष्य राम्रो छ ।