शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सरल बैङ्किङ, सबैका लागि'' - गणेशकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत,
सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेड


नेपाल राष्ट्र बैङ्कमा करीब २९ वर्ष विभिन्न पदको अनुभव सङ्गालेका गणेशकुमार श्रेष्ठले ३ वर्षअघि नियमित अवकास पाएका हुन् । बैङ्किङ कार्यालय थापाथलीको प्रमुखबाट नियमित अवकास पाएपछि उनले सेञ्चुरी बैङ्क खोल्ने योजना बनाएका थिए । यो बैङ्कले फागुन २६ गतेबाट औपचारिक कारोबार शुरू गर्दैछ । नयाँ बैङ्कलाई केन्द्रबिन्दुमा राखेर आर्थिक अभियानले गरेको वार्ताको सार :

नयाँ बैङ्कको शुभारम्भको तयारी कसरी गर्दै हुनुहुन्छ ?

मुलुकको सबैभन्दा कान्छो बैङ्कका रूपमा सेञ्चुरी बैङ्कले फागुन २६ गतेबाट आफ्नो औपचारिक कारोबार शुरू गर्नेछ । बैङ्कका रूपमा पूरा गर्नुपर्ने कानूनीलगायत सम्पूर्ण दायित्व हामीले पूरा गरिसकेका छौं । 'सरल बैङ्किङ, सबैका लागि' भन्ने मूलनाराका साथ हामी नेपालको वित्तीय बजारमा प्रवेश गर्दैछौं । झुपडीदेखि महलसम्म बस्ने सबैका लागि उपयुक्त हुने किसिमका 'प्रडक्ट'हरू ल्याउँदैछौं ।

बैङ्कको लगानी नीति चाहिँ कस्तो हुनेछ ?

आम बैङ्कले लिँदै आएको नीतिभन्दा खासै फरक हुनेछैन । तथापि हामी मुख्य रूपले साना व्यवसायमा बढी केन्द्रित हुनेछौं । ठूला उद्योगहरूमा धेरै समस्या हुन्छन् । हामीसँग पूँजी पनि कम छ । साना उद्योग व्यवसायमा लगानी गर्दा छिट्टै फिर्ता हुन्छ । त्यस्ता उद्योग व्यवसायलाई अन्तरराष्ट्रिय बजारले पनि खासै प्रभाव पार्दैन । हामी छिट्टै नै ऊर्जा उत्पादनमा पनि लगानी गर्नेछौं । बैङ्कहरूको सामूहिक लगानीमा तेह्रथुममा ५ मेगावाटसम्मको जलविद्युत् आयोजनामा लगानी गर्ने तयारीमा छौं । अर्को कुरा, हामीले ग्रीन बैङ्किङ र वैकल्पिक ऊर्जामा लगानी गर्ने योजना बनाएका छौं । हामी चाहन्छौं, उपत्यकाका हजारौं घरमा सोलार ऊर्जा राखियोस् । र, त्यसका निम्ति उपत्यकावासी सेञ्चुरी बैङ्कमा आऊन् । काठमाडौंका १ हजार घरमा बिजुलीको समस्या समाधान गर्न सक्यौं भने त्यो हाम्रा निम्ति गर्वको कुरा हुनेछ ।

बैङ्कको ब्याज बढी भएर उद्योग व्यवसाय गर्न कठिन भएको गुनासो छ नि ?

अहिले बैङ्क कर्जाको ब्याज निश्चित रूपले बढेको छ । निक्षेपमै बढी ब्याज दिएको हुनाले कर्जाको ब्याज बढेको कुरा सबैले बुझेका छन् । हरेक बैङ्कले आफ्ना शेयर धनीहरूलाई उपयुक्त प्रतिफल दिनै पर्ने हुन्छ । तर, अहिले ठूला बैङ्कहरूमा ब्याजदरको जुन अन्तर देखिएको छ, त्यस्तो चाहिँ हाम्रो बैङ्कमा हुँदैन । सेञ्चुरी बैङ्कले ब्याजदरको न्यूनतम अन्तर राखेर काम गर्नेछ ।

नेपाल राष्ट्र बैङ्कले जारी गरिरहेका पछिल्ला नीति निर्देशनलाई तपाईंले कसरी लिनुभएको छ ?

राष्ट्र बैङ्कले जुन नीति निर्देशनहरू जारी गरेको छ, त्यो रातारात ल्याइएको होइन । धेरै अध्ययन र अनुसन्धानपछि राष्ट्र बैङ्कको नीति निर्देशन आउने गर्छ । जब वित्तीय बजारमा विकृति र विसङ्गतिहरू देखा पर्न थाल्छन्, तब त्यसलाई रोक्न राष्ट्र बैङ्क अग्रसर हुनै पर्छ । बैङ्क र वित्तीय संस्थाहरूलाई स्वस्थ र सक्षम बनाउने दिशामा राष्ट्र बैङ्क क्रियाशील देखिएको छ । त्यो वास्तवमै राम्रो कुरा हो । सम्पूर्ण निक्षेपकर्ताहरूको संरक्षक राष्ट्र बैङ्क नै हुने हुनाले उसले ल्याएको नीति निर्देशनप्रति कसैलाई आपत्ति हुनुपर्ने कुरा होइन । तर, जसले अनुत्पादक क्षेत्रमा खुला रूपले लगानी गर्दै आएका थिए, तिनलाई राष्ट्र बैङ्कको नीतिले अलिकति बाँधिदिएकाले नराम्रो पनि लाग्न सक्छ । तर, बिरामी भएपछि औषधि गर्नै पर्छ । यसप्रति हामी आफैं सचेत भएर बस्नुपर्ने हुन्छ ।

बैङ्कको औपचारिक शुरुआत नभइकन नै तपाईंले मर्जरको कुरा उठाउन थाल्नुभएको छ । त्यस्तो कुनै तयारी भइसकेको छ र ?

राष्ट्र बैङ्कमा रहँदा मैले बारम्बार 'मर्जर' का निम्ति वर्तमान ऐन नियमले पुग्दैन भन्दै आएको हुँ । अहिले पनि मेरो कुरा त्यही हो । त्यसका निम्ति छुट्टै मर्जर ऐन बन्नुपर्दछ । अहिले राष्ट्र बैङ्क त्यसैमा क्रियाशील रहेको भन्ने बुझेको छु । यो निश्चय पनि सकारात्मक कुरा हो । राष्ट्र बैङ्कको नियमन र अनुगमनले धान्नै नसक्ने गरी बैङ्क तथा वित्तीय संस्थाहरू खुल्न थालेका छन् । त्यसैले पनि अब बैङ्क तथा वित्तीय संस्थाहरू धेरै हुनुभन्दा सन्तुलित र सबल संस्थाहरूको विकास होस भनेर मैले पनि मर्जरको कुरालाई विशेष जोड दिँदै आएको हुँ । हामीले औपचारिक कारोबार शुरू गरेपछि निश्चय पनि मर्जरको कुरालाई अगाडि बढाउने छौं । केही साना साना वित्तीय संस्थाहरूसँग यस बारेमा कुरा पनि भइरहेको छ । वित्तीय क्षेत्रको सबलताका निम्ति मर्जर नै अहिलेको प्रमुख आवश्यकता हो । खर्च कम गर्न र मुनाफा बढाउन मर्जरको विकल्प छैन ।

सहकारी संस्थाका कारण बैङ्कहरूको निक्षेपमा ठूलो असर पारेको छ भनिँदैछ नि ?

सहकारीले बैङ्कको निक्षेप सङ्कलनमा निश्चय पनि असर पारेको छ । तर, जहाँ बैङ्क तथा वित्तीय संस्थाहरू पुग्न सकेका छैनन्, त्यहँ सहकारी क्रियाशील छ । सवसाधारणका निम्ति यो अत्यन्तै सकारात्मक कुरा हो । यसमा इष्र्या गरेर होइन, बैङ्कले पनि आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने बेला भएको छ । तपाईंहरू आर्श्चर्य नमान्नुहोला, सेञ्चुरी बैङ्क पनि सहकारी मोडेल अपनाएर ग्राहकको घर घरमा पुग्न सक्छ ।

अन्य बैङ्कका तुलनामा आफूलाई पृथक देखाउन सेञ्चुरी बैङ्कले कुनै योजना बनाएको छ कि ?

अन्य बैङ्कहरूका तुलनामा एकदमै पृथक बनाउने त्यस्तो खास योजना केही छैन । तर, यसअघि वित्तीय बजारले भोग्नुपरेको समस्या सेञ्चुरी बैङ्कले भोग्नुनपरोस् भन्ने कुरामा भने हामी सचेत छौं । त्यसैले पनि हामीले ग्रीन बैङ्किङ र ऊर्जा उत्पादनको कुरा गरेका हौं । लगानीका लागि डिजेल र सोलारबाट चल्ने कारमध्ये एउटा छान्नुपर्यो भने हामी सोलार कारलाई प्राथमिकता दिनेछौं ।

बैङ्क सञ्चालनका निम्ति कस्तो प्रविधि अपनाउँदै हुनुहुन्छ ?

अहिले हामी स्वदेशी प्रविधिकै प्रयोगबाट बैङ्क सञ्चालन गर्न गइरहेका छौं । पुमोरीको सबैभन्दा नवीनतम सफ्टवेयर उपयोग गरेका छौं । मुलुकका ठूला बैङ्कहरूले पनि पुमोरीको सफ्टवेयर प्रयोग गरेका छन् । यसबाट अहिलेसम्म प्रयोगमा आएका सबै बैङ्किङ् सेवा दिन सकिन्छ । हाम्रा सेवा ग्राहीलाई यो प्रविधिबाट सम्पूर्ण बैङ्किङ सुविधा दिन सक्छौं भन्ने विश्वास लिएका छौं ।

बैङ्कका शेयरधनी कति छन् ?

मुलुकका झण्डै ५० जिल्लाका ५ सय ६८ जना शेयरधनी रहेका छन् । केही एनआरएन साथीहरू पनि शेयरधनी बन्नुभएको छ । हिमाल, तराई, पहाड र विदेशमा बसेका व्यक्तिहरूलाई समेत समेटेर बैङ्क सञ्चालन गर्ने कुरा  धेरै चुनौतीपूर्ण रहेछ । हामी बैङ्क खोल्ने क्रममा मेचीदेखि महाकालीसम्मका ५० जिल्लामा पुगेका छौं । त्यही सम्पर्कका आधारमा झण्डै ६ सय शेयरधनी बनाउन सफल भएका हौं । हामीले एउटा यस्तो बैङ्किङ संस्कृतिको परिकल्पना गरेका छौं, जहाँ कुनै पनि सेवाग्राही आएपछि दु:खी भएर र्फकनुनपरोस् । तर, आएका जति सबै सेवाग्राहीलाई कर्जा दिएरै छोड्छौं वा दिन सक्छौं भन्ने हाम्रो घमण्ड होइन । त्यसै पनि थोरै पूँजीबाट सञ्चालन हुन लागेको सेञ्चुरी बैङ्कले असाध्य धेरै कर्जा प्रवाह गर्न नसक्ने प्रष्टै छ । तर, हामीकहाँ आउने सेवाग्राहीलाई असल व्यवहार र चित्त बुझ्दो जवाफ दिएर पठाउनेछौं । हामी सबैले गरेकै काम गछौं, तर फरक ढङ्गबाट । सेवाको गुणस्तरले सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।

बैङ्कको पूँजी चाहिँ कति छ ?

अहिले बैङ्कको अधिकृत पूँजी रू.५ अर्ब, जारी पूँजी रू.२ अर्ब र चुक्ता पूँजी रू.१ अर्ब ८ करोड रहेको छ ।