शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''गलैंचामा स्वेदशी लगानी पर्याप्त छ'' - कवीन्द्रनाथ ठाकुर
कवीन्द्रनाथ ठाकुरअध्यक्ष, नेपाल गलैंचा निकासीकर्ता सङ्घ

 

 

कुनै बेला नेपालको प्रतिष्ठा बनेको गलैंचा निर्यात लामो समयदेखि सुस्ताएको छ, यसको मुख्य कारण के हो ?

तालीमप्राप्त दक्षजनशक्तिको संरक्षण गर्न नसक्दा तयारी गलैंचाको निर्यात सुस्ताउँदै गएको हो । नेपाली गलैंचा उत्पादनमा विविधता नहुनु पनि सुस्ताउनुको अर्को कारण हो । हामीले अहिलेसम्म पुरानै ढङ्गले गलैंचाको डिजाइन गरिरहेका छौं । यसले गर्दा श्रमिकले पनि आफ्नो श्रमअनुसारको पारिश्रमिक, सेवा तथा सुविधा पाउन सकेका छैनन् । पछिल्लो समय मुलुकबाट दक्षजनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यी र यस्तै विविध कारणले गर्दा नेपाली गलैंचाको निर्यात खस्केको हो ।


 

खस्केको गलैंचा निर्यातलाई उकास्न के गर्नुपर्छ ?

गलैंचा उद्योगका लागि अहिले अनुकूल वातावरण बन्नसकेको छैन । तर, डराउनुपर्ने अवस्था पनि आएको छैन । व्यवसायीहरूले मात्र उद्योगका सबै समस्या समाधान गर्न सक्दैनन् । यसमा सरकारको सहयोग पनि उत्तिकै आवश्यक छ । अहिलेसम्म सरकारले अपेक्षाअनुरूप यस उद्योगमा ध्यानकेन्द्रित गरेको छैन । दक्षजनशक्ति विदेश पलायन हुनबाट रोक्न र नयाँ जनशक्ति उत्पादनमा सरकारले ध्यानकेन्द्रित गर्नुपर्छ ।

उद्योगमा संलग्न दक्षजनशक्तिलाई विदेश पलायन हुनबाट किन रोक्न नसकिएको हो ?

श्रमअनुसारको ज्याला नपाउनु पनि श्रमिक विदेश पलायन हुनुको एउटा कारण हो । सङ्क्रमणकालमा कच्चापदार्थको अभावले लगानी बढ्न सकेन । सञ्चालनमा रहेका उद्योगहरू धमाधम बन्द हुन थाले । लोडशेडिङ बढिरहेको छ । उद्योगले सरकारी सहयोग पाउन सकेन । यस्तो अवस्थामा व्यवसायीले मात्र दक्षजनशक्ति पलायन हुनबाट कसरी रोक्न सक्छन् ?

नेपाली गलैंचाको उत्पादन बढाउन विदेशी लगानी कत्तिको आवश्यक छ ?


नेपाली गलैंचाको विकास र विस्तारका लागि विदेशी लगानी आवश्यक छैन । सरकारले अनुकूल वातावरण तयार गरेमा नेपाली व्यवसायीहरू लगानी विस्तार गर्न तयार छन् । नेपाली व्यवसायी लगानी गर्न सक्षम पनि छन् । सरकारले व्यवसायीहरूसँग छलफल नगरी विदेशी लगानी ल्याउने निर्णय गरेमा हामीलाई मान्य हुने छैन । नेपाल गलैंचा निकासीकर्ता सङ्घलाई उपेक्षित गरिएमा त्यसले नराम्रो अवस्थाको सृजना गर्छ । सरकारले गलैंचा उद्योगको उत्थान हुने, निर्यात प्रवर्द्धन हुने काम गर्नुपर्ने हो । तर, अहिलेसम्म त्यस्तो भएको छैन । गलैंचा उद्योग यो अवस्थामा आइपुग्नुमा सरकार पनि दोषी छ ।

नेपाली गलैंचा कुनकुन देशमा निर्यात हुन्छ ?

नेपाली गलैंचा सबैभन्दा बढी जर्मनीमा निर्यात हुन्छ । अमेरिका, बेलायत र टर्कीमा पनि निर्यात हुँदै आएको छ । क्यानडा र अष्ट्रेलियामा पनि नेपाली गलैंचाको माग छ ।   

विश्वबजारमा नेपाली गलैंचाको प्रतिस्पर्धा कस्तो छ ?


नेपाली गलैंचाले विश्वबजारमा भारतीय गलैंचासँग प्रतिस्पर्धा गर्नुपर्छ । भारतीयको तुलनामा नेपाली गलैंचाको मूल्य केही बढी पर्छ । भारतबाट गएको गलैंचा प्रतिवर्गमिटर ११ यूरोमा विक्री हुन्छ । तर, नेपाली गलैंचाको ५५ देखि ६० यूरोमा विक्री भइरहेको छ । नेपाली गलैंचा विविधीकरणमा जान सकेको छैन । गलैंचा उत्पादनमा विविधीकरण गर्न आवश्यक छ । उत्पादनमा विविधीकरण भएमा नेपाली गलैंचाको निर्यात बढ्न सक्ने सम्भावना छ ।

गलैंचाका लागि आवश्यक कच्चापदार्थ कहाँबाट ल्याइन्छ ?

अल्लो नेपालमै उपलब्ध छ । यसका लागि मुख्य कच्चापदार्थ भनेको ऊन हो । ऊन न्यूजिल्याण्ड र तिब्बतबाट ल्याउँछौं । स्वदेशमै ऊन उत्पादनका लागि भेडापालनको प्रयास गरेका थियौं । तर, अहिलेसम्म त्यो प्रभावकारी हुन सकेको छैन । सरकारले भेडापालनलाई प्राथमिकता दिएमा नेपालका प्रत्येक घरबाट एक/एक ओटा गलैंचाको तान सञ्चालन गर्न सकिन्छ । नेपालमै कच्चापदार्थ उत्पादन गर्न सकिन्छ ।

नेपाली गलैंचा गुणस्तरीय छ भन्ने आधार के हो ?


वर्षौंदेखि विदेशमा तयारी गलैंचा निर्यात गर्दै आएका छौं । असली नेपाली गलैंचामा अहिलेसम्म कुनै कमजोरी भेटिएको छैन । गुणस्तर मात्र होइन, डिजाइन पनि क्रमिक रूपले परिवर्तन हुँदै आएको छ । अहिले गलैंचा फेशनका रूपमा विकास हुँदै छ । उत्पादनको स्तरीयतासँगै विभिन्न रङ र आकारमा उत्पादन गरेमा विश्वबजारमा नेपाली गलैंचाको ख्याति कायम रहन्छ ।

नेपाली गलैंचाको ब्राण्डिङ गर्ने प्रक्रिया त्यसै थन्किएको हो ?


नेपाली गलैंचाको ब्राण्डिङ प्रक्रिया थन्किएको होइन । तर, प्रभावकारी रूपमा काम अघि बढ्न नसकेको चाहिँ पक्कै हो । हामी अहिले पनि नेपाली गलैंचाको ब्राण्डिङ गर्ने प्रयासमै छौं । यस विषयमा वाणिज्य मन्त्रालयसँग विभिन्न चरणमा वार्ता पनि भएका छन् । अहिले जति परिमाणमा गलैंचा निर्यात भइरहेको छ, ती सबैको ब्राण्ड एउटै हुनुपर्छ भन्ने सङ्घको मान्यता हो । नेपाली गलैंचाको सामूहिक ब्राण्डिङ गर्दा विश्वबजारमा नक्कली गलैंचाले कुनै असर गर्दैन । वाणिज्य मन्त्रालयले ब्राण्डिङको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ ।