अवसर देखिए हामी अन्य क्षेत्रमा लगानी गर्छौं
सिध्दार्थ शमशेर राणा
कार्यकारी अध्यक्ष
सिप्रदी ट्रेडिङ
सिध्दार्थ शमशेर राणा नेपालको अग्रणी अटोमोबाइल कम्पनी सिप्रदी टे्रडिङका कार्यकारी अध्यक्ष हुन् । यसबाहेक होटल, जलविद्युत् र उत्पादनमूलक व्यवसायमा पनि राणाको संलग्नता छ । राणा परिवार विगतमा राजतन्त्रात्मक नेपालको एउटा शक्तिकेन्द्रका रूपमा रहेको थियो । यद्यपि यो परिवारको राजनीतिमा संलग्नता कहिल्यै पनि रहेन । उद्योग व्यवसायका माध्यमबाट नै मुलुकको सेवा पुग्न सक्छ भन्ने विश्वास राख्ने राणालाई राजनीतिसँग खासै सरोकार छैन । तर, मुलुकको अर्थतन्त्रको भविष्यलाई अनुकूल, प्रतिकूल बनाउन राजनीतिले नै अहम् भूमिका निर्वाह गर्ने हुँदा राजनेताहरूले यसप्रति गम्भीर हुनुपर्ने राणाको दृढ विचार छ । हरेक प्रश्नको अत्यन्तै सोच विचारका साथ तौलीतौली उत्तर दिने राणासँग सिप्रदीले भरखरै नेपाल भित्र्याएको टाटाको नानो कार, नेपालमा अटोमोबाइलको अवस्था र मुलुकको आर्थिक स्थितिका बारेमा आर्थिक अभियानका यादव थपलियाले गरेको कुराकानीको सार :
तपाईं प्रेस निकट आउन त्यति रुचाउनुहुन्न भनिन्छ, किन होला ?
यो पूर्ण सत्य होइन । सबै मानिसहरूको व्यक्तित्व पनि एकैनासको हुँदैन । फरक व्यक्तित्व र फरक सोचाइले मानिसको शील, स्वभाव र अचारविचारमा समेत प्रभाव पार्छ । म चाहिँ कुरामा भन्दा काममा अलि बढी विश्वास राख्ने प्रवृत्तिको मानिस हुँ । त्यसो त मलाई प्रेसले त्यति खोजिरहेको पनि हुँदैन ।
यति ठूलो संस्थाको जिम्मेवारी समाल्दाको सजिलाअप्ठेरा अनुभवहरू केही बताइदिनुहोस् न ?
कर्पोरेट क्षेत्रमा मेरो अनुभव सिप्रदी ट्रेडिङबाट नै शुरू भएको हो । सिप्रदीमा धेरै काम गरिसकेपछि मात्र अन्य कम्पनीको काममा लागेको हुँ । त्यसैले पनि यो कम्पनी र अटोमोबाइल क्षेत्र चाहिँ मेरो निम्ति अत्यन्तै प्यारो छ । जहाँसम्म जिम्मेवारीमा अप्ठेरा र सजिलाका कुरा छन्, ती त व्यापारव्यवसायमा मात्रै होइन, जिन्दगीमै आउने जाने कुरा हुन् । यद्यपि हामीले जुनजुन क्षेत्रमा हात हालेका छौं, त्यसमा राम्रै गरेका छौं भन्ने मेरो बुझाइ छ ।
अटोमोबाइल र पर्यटनबाहेक अन्य क्षेत्रको व्यवसाय विस्तारमा त्यति ध्यान दिनुभएको जस्तो छैन, किन ?
यातायातको क्षेत्रमा हामीले धेरै वृद्धिको अवसर देख्यौं । तर, अहिलेको अवस्थामा भने अलिकति अप्ठेरो स्थितिको सामना गरिरहेका छौं । यो समस्या आउनुमा मुलुकको खस्कँदो आर्थिक अवस्थाले मुख्य भूमिका निर्वाह गरिरहेको छ । तर, आउँदा दिनमा हाम्रोजस्तो विकासोन्मुख देशको मेरुदण्ड यातायात ट्रान्सपोर्ट क्षेत्र नै हो । सडक र यातायातको सुविधा भएपछि विकासका अन्य पूर्वाधारहरू सँगसँगै आउँछन् भन्ने मेरो धारणा छ । त्यसैले पनि हामी अटोमोबाइलको क्षेत्रमा बढी आकर्षित छौं । तापनि हामीले जलविद्युत् क्षेत्रमा पनि लगानी गरेका छौं । अहिले यिनै क्षेत्रका व्यवसायको दायरालाई फराकिलो बनाउँदै लैजाने योजनामा छौं । यसको अर्थ अन्य क्षेत्रमा जाँदै नजाने भन्ने चाहिँ पटक्कै होइन । राम्रो अवसर देख्यौं भने हामी अन्य क्षेत्रमा पनि लगानी गर्नेछौं ।
टाटाको नानो कारलाई निकै उत्साहका साथ नेपाल भिफ्याउनुभयो । त्यसको बजार रणनीति चाहिँ कस्तो छ ?
भारतमा नानो २००८ मा लञ्च भयो । टाटा मोटर्सले नानोलाई भारतबाहिर लैजाने योजना त्यही बेलामै बनाएको हो । त्यही रणनीतिअन्तर्गत टाटाले १ महीनाअघि नानो श्रीलङ्का गयो । त्यसको १ महीनापछाडि नेपालमा आयो । अटोमोबाइलमा नेपालको कर, राजस्व बढी छ । त्यसले गर्दा यहाँ नानोको मूल्य अलि बढी परेको हो कि जस्तो पनि देखिन सक्छ । अहिले नेपाल आर्थिक समस्यासँग पनि बेस्सरी जुधिरहेको छ । हामीलाई यी सबै कुराको राम्रो ज्ञान छ । यी सबै कुरा हुँदाहुँदै पनि हामीले टाटा नानोलाई नेपाल भित्र्याएका छौं । एक दिन आफ्नै मोटर चढ्नुपर्छ भन्ने योजना बनाएर आशामा बसिरहनुभएका नेपाली दाजुभाइ र दिदीबहिनीको इच्छालाई 'नानो' कारले पूरा गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।
कति प्रतिशत नेपालीले नानो कार चढ्लान् भन्ने हिसाब गर्नुभएको छ ?
यो भन्न त एकदमै कठिन छ । मानिसको आर्थिक अवस्थाले मात्रै कार चढ्न सक्ने वा नसक्ने कुराको निर्णयहुन सक्दैन । मानिस कहाँ बस्छ, त्यहाँ सडक सुविधा छ-छैन, यस्ता कुराले पनि मोटर किन्ने नकिन्ने कुरामा प्रत्यक्ष प्रभाव पर्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिससँग पैसा भएर पनि सडक सुविधाको अभावमा उसले मोटर किन्दैन । तर, हामीले नेपालमा 'नानो यात्रा' शुरू गरेपछि ६ हजारभन्दा बढी सम्भावित ग्राहकले यसप्रति उत्कट अभिरुचि देखाएका छन् । त्यसबाट पनि अहिले म के भन्न सक्छु भने सडक सुविधा पुगेका गाउँघरमा बसोबास गर्ने अलिकति सम्पन्न नेपाली नागरिकले पनि 'नानो' किन्न सक्छन् ।
नानो विक्रीको वार्षिक लक्ष्य चाहिँ कति छ ?
हामीले सङ्ख्याभन्दा पनि बजारमा हाम्रो उपस्थितिलाई हेर्नेछौं । अन्य गाडीको तुलनामा नानो अधिकतम जनताको पहुँचभित्र छ । त्यही कारणले यसले बजारमा चाँडै नै आधिपत्य जमाउनेछ भन्ने हाम्रो विश्वास छ ।
मुलुक यति धेरै आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा समग्र अटोमोबाइलको विक्रीमा कस्तो असर पर्ने अनुमान गर्नुभएको छ ?
बैङ्किङ, रियल इस्टेटजस्ता क्षेत्रका बारेमा म पूर्ण जानकार छैन । तर, बैङ्क तथा वित्तीय संस्थाहरूले अटोऋणमा कडाइ गरेको सत्य हो । विगत ९ महीनादेखि अटोमोटिभ क्षेत्रमा धेरै समस्या आइरहेका छन् । तरलता अभाव, व्यवसायमा मन्दी, मानिसको क्रयशक्तिमा आएको कमीजस्ता कुराहरू अटोमोबाइल क्षेत्रले पनि झेलिरहेको छ । तर, मेरो के विश्वास छ भने आगामी दिनहरूमा हामी चिन्तित हुनुपर्दैन । अर्थतन्त्रमा तलमाथि भइरहन्छ, आत्तिइहाल्नुपर्ने स्थिति चाहिँ मैले देखेको छैन ।
यो अवधिमा टाटाका गाडीहरूको आयात र विक्रीको अवस्था कस्तो छ ?
निश्चय पनि यस अवधिमा टाटाका गाडीहरू आयात र विक्रीमा कमी आएको छ । व्यापारिक प्रयोजनका ठूला गाडी, यात्रु गाडी र मोटरसाइकलसमेतको लगभग ५० प्रतिशत विक्री परिमाण घटेको हाम्रो अनुभव छ । नेपालको अटोक्षेत्रमा सिप्रदी ट्रेडिङ सबैभन्दा ठूलो र अग्रणी कम्पनी हो । सिप्रदीको पूर्वाधारलाई हेर्ने हो भने सेल्स, सर्भिस, स्पेयर पार्ट्सको विक्री व्यवस्थापनमा ६ सयभन्दा बढी कर्मचारी संलग्न छन् । बस, ट्रकजस्ता व्यापारिक प्रयोजनका गाडीमा सिप्रदीको बजार हिस्सा ७१ प्रतिशत छ । त्यसैगरी यात्रु गाडीमा ११ प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको छ । नानोको आगमनपछि यो प्रतिशतमा निश्चय पनि अझ वृद्धि हुनेछ । तर, अर्थक्षेत्रको खराब अवस्थाका कारणले मुलुकका अन्य क्षेत्रमा जुन प्रतिकूल प्रभाव परेको छ, अटोमोबाइल क्षेत्रमा पनि त्यो प्रभाव परेकै छ । बैङ्कको ब्याजदर बढी छ, तरलता अभाव, फाइनान्समा देखिएको समस्या र बढेको अन्त:शुल्कले गाडीहरू महँगो भएका छन् । तथापि यो समस्या अल्पकालीन मात्र हो भन्ने मेरो बुझाइ छ ।
नानोको विशेषताका बारेमा बताइदिनुस् न ?
नानो वास्तवमै 'युनिक गाडी' हो । यो मोटरको भित्री साइज यही साइजका अन्य गाडीहरूको तुलनामा २१ प्रतिशत फराकिलो छ । यसको अर्को महत्त्वपूर्ण पक्ष भनेको अन्य गाडीको तुलनामा कम मूल्य पनि हो । नानोको खरीदकर्तालाई ४ वर्षको मर्मतसम्भार सुविधा दिएका छौ । नेपालमा नानोले झण्डै ७ हजार किलोमिटरको यात्रा पूरा गरिसकेको छ । पक्कीमात्रै नभएर कच्ची बाटोमा समेत समानरूपले यसबाट यात्रा गर्न सकिन्छ । यो गाडी ४ मिटरको परिधिमा मोड्न, घुमाउन सकिन्छ । खासगरी युवाहरूको मानसिकतालाई ध्यानमा राखेर टाटा कम्पनीले नानोलाई तयार गरेको हो । इन्धनको खपतमा कमी, मध्यमवर्ग लक्षित, आरामदायी र आकर्षक कार हो नानो ।
नेपालभित्र सिप्रदीको कतिओटा डिलरहरू छन् ?
मुख्य रूपले अटोमोबाइल क्षेत्रमा सिप्रदी ट्रेडिङ गतवर्षसम्म निजीक्षेत्रको दोस्रो ठूलो कम्पनी थियो । यात्रु गाडीका १० ओटा डिलर छन् । तर, नानोको लागि १४ ओटा डिष्ट्रिब्युटर बिन्दुबाट विक्री वितरण गर्दैछौं । त्यसमध्ये चारओटा सिप्रदीका आफ्नै कार्यालय छन् । विक्री भएका नानो कारले तत्कालै ११ ओटा सर्भिस सेण्टरमार्फत सेवा पाउनेछन् ।
अन्य गाडीसँग नानोको तुलना कसरी गर्नुहुन्छ ?
कुनै अन्य गाडीसँग नानोको तुलना हुनै सक्दैन । मूल्य, गाडीको भित्री ठाउँ, माइलेज दिने (२३ दशमलव ६ किलोमिटर प्रतिलिटर) लगायत विभिन्न कारणले नानोको तुलना अन्य गाडीसँग हुन सक्दैन । भारतमै यो गाडी चलेको २ वर्षभइसकेको छ । नेपालमा पनि ७ हजारभन्दा बढी किलोमिटर चलिसकेको छ । अहिलेसम्म कुनै समस्या देखिएको छैन । त्यसैले नेपालका लागि नानो अति नै उपयुक्त गाडी हो भन्ने हाम्रो विश्वास छ ।
खरीद गर्न चाहनेहरूका लागि बैङ्क तथा वित्तीय संस्थाहरूबाट लगानीको व्यवस्था पनि मिलाइएको छ कि ?
हामीले बैङ्कहरूसँग नानोका लगानीका लागि कुरा गरेका छौं । उनीहरूले यसप्रति चासो दिएका छन् । केही बैङ्क तथा वित्तीय संस्थाहरूले त नानोलाई लगानीसमेत शुरू गरेका छन् ।
सिप्रदीले वार्षिक कति राजस्व बुझाउँछ ?
गत वर्ष हामीले रू. १७ करोड आयकर बुझाएका हौं । गाडीहरू आयात गर्दादेखिको राजस्व हिसाब गर्ने हो भने त धेरै नै हुन्छ ।
कुनै जमानामा तपाईंहरूलाई एउटा शक्तिकेन्द्रका रूपमा लिइन्थ्यो । राजतन्त्रको अन्त्यपछि कस्तो महसूस गर्नुभएको छ ?
हामी कहिल्यै पनि राजनीतिमा लागेका व्यक्ति होइनौं । त्यसैले राजनीतिमा हाम्रो कुनै भूमिका हुने कुरा पनि भएन । अहिलेसम्म नेपालको अर्थतन्त्रमै बढी ध्यान दिएका छौं । हामीले कहीँकतै योगदान दिन सक्छौं भने यही क्षेत्रमै दिने हो । हामीलाई विश्वास छ, नेपालको आर्थिक भविष्य सुन्दर छ । त्यसैले हामी नेपालमा बढी लगानी ल्याउने र गर्ने पक्षमा छौं ।
नानो लञ्च भएको १२ दिन पुग्यो । कति बुकिङ भयो ?
यस अवधिमा ३ सय ५० ओटा नानोको बुकिङ भइसकेको छ । यीमध्ये ६५ प्रतिशत फाइनान्स योजनामार्फत र ३५ प्रतिशत नगदमा बुकिङ भएका छन् । बुकिङमा नानो स्टयाण्डर्ड ४० प्रतिशत, नानो सीएक्स ३० प्रतिशत र नानो एलएक्स ३० प्रतिशत रहेका छन् । बुकिङ भएका यी गाडीहरू जुलाईको अन्त्यसम्ममा हस्तान्तरण गरिनेछ । यो हाम्रो पहिलो चरणको बुकिङ हो । यसबाट हामी उत्साहित भएका छौं ।