''सरकारी कार्यालयमा पनि व्यायामशाला हुनुपर्छ'' - उत्तम सिलवाल
प्रबन्ध निर्देशक
मोमेण्टम बिजनेस कन्सोलिडेट प्रालि
नेपालमा व्यायामका सामानको बजार कस्तो छ ?
यसको बजार त अहिले ठिकै छ । नेपालको आर्थिक अवस्था हेर्दा अहिलेको अवस्थालाई चित्तबुझदो नै मान्नुपर्छ । व्यावसायिकभन्दा व्यक्तिगत प्रयोजनका लागि यस्ता सामान लैजाने ग्राहकहरू धेरै छन् । हामीले दैनिक करीब १० थान व्यायामका सामान विक्री गर्ने गरेका छौं । त्यसमा करीब ७० प्रतिशत व्यक्तिगत प्रयोजनका लागि लाने गरेका छन् । नेपालमा आफ्नो स्वास्थ्यप्रति सचेत जनता धेरै कम छन् । विस्तारै बढ्दै गइरहेको पनि पाएका छौं । विदेशमा त सरकारले नै पार्कहरूमा कसरत गर्ने सामान राखेका हुन्छन् । तर नेपालमा कसरत गर्नुपर्छ भन्ने भावना नै धेरै कम छ ।
भनेपछि सरकारले पार्कहरूमा कसरतका सामान राख्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
हामीले सन् २००२ देखि यो व्यवसाय गरिरहेका छौं । नेपालमा कसरत गर्ने बानीको विकाश पनि भइसकेको छैन । त्यस्तो बानी पार्नका लागि पनि यस्ता सामान राख्नुपर्छ । बिहान पार्कतिर जगिङका लागि जानेहरूले यस्ता सामान प्रयोग गरेमा राम्रो नै हुन्छ । सबै जनतामा यस्ता मेशिन खरीद गर्ने क्षमता नहुन सक्छ । जसले गर्दा चाहना हुँदाहुदै पनि मन मारेर बस्नु पर्ने बाध्यता छ । जनता स्वस्थ र नीरोगी हुनु त सरकारकै लागि राम्रो कुरा हो । सरकारले पार्क मात्र हैन सरकारी कार्यालयमा पनि व्यायामशालाको स्थापना गर्नुपर्छ ।
यो व्यवसाय गर्नुभएको लामो समय भएछ । पहिलाभन्दा अहिले कस्तो परिवर्तन आएको छ ?
पहिला सानो परिमाणमा विक्री हुन्थ्यो । तर, अहिले यसको बजार बढ्दै गइरहेको छ । पहिलाका ग्राहक सामान पाएपछि पैसा तिरेर लैजान्थे, अरू सोधखोज केही गर्दैनथे । तर, अहिलेका ग्राहक धेरै जागरूक भएका छन् । उनीहरू पहिला नै इण्टरनेटमार्फ सबै कुरा थाहा पाएर सामान किन्न आउँछन् । उनीहरूलाई सामान मात्र भएर पुग्दैन, खरीद पछिको सुविधा पनि चाहिन्छ ।
अहिले नेपालमा व्यायामका सामानको कारोबार गर्ने व्यवसायी कति छन् ?
नेपालमा व्यायामको सामानको बजार नै ठूलो छैन । बजारको अवस्थाअनुसार व्यवसायीको सङ्ख्यामा वृद्धि हुने हो । नेपालीहरूको आर्थिक स्थिति र कसरत गर्ने बानीको कमीले पनि यस्तो भएको हो । नेपालमा यस्तो कारोबार गर्ने त अहिले ५ वटा जति होलान् ।
कारोबार गरिरहेका व्यवसायीहरूबीच प्रतिस्पर्धा कस्तो छ ?
हामीलाई त प्रतिस्पर्धा केही छ जस्तो लाग्दैन । हामीले हाम्रो नीतिअनुसार ग्राहकलाई सबैकुरा देखाएर, बुझाएर सामान विक्री गर्ने गरेका छौं । त्यहीअनुसार कारोबार पनि भइ नै रहेको छ । कम गुणस्तरका सामान आयात हुनाले अन्य व्यवसायीलाई अप्ठयारो भएको हुन सक्छ । भन्सार छलेर ल्याएका सामान तुलनात्मक रूपमा सस्ता हुन्छन् ।
घरमै साधारण जिम बनाउनका लागि कुन कुन सामानको आवश्यकता पर्छ । यसका लागि मल्टिजिम, ट्रेडमिल, एक्सरसाइज साइकल भएमा करीब करीब पुग्छ । आवश्यकताअनुसार सामानमा घटबढ पनि गर्न सकिन्छ । घरैमा साधारण व्यायामशाला स्थापना गर्न करीब १ देखि डेढ लाख रुपैयाँसम्म पर्न सक्छ । एउटा परिवारले जिममा वाषिर्क तिर्ने शुल्कले घरैमा सबैका लागि हुने गरी जिम नै स्थापना हुन्छ ।
सबैभन्दा बढी कुन व्यायामका सामान विक्री हुन्छन् ?
हाम्रोमा त अहिले सबैभन्दा बढी ट्रेडमिलको खपत हुने गरेको छ । ट्रेडमिल इलेक्ट्रिक र म्यानुअल दुवै प्रकृतिका विक्री भइरहेका छन् । विद्युत नचाहिने भएकाले म्यानुअलको माग बढेको अनुभव गरिरहेको छु । इलेक्ट्रिकमा अहिले धेरै विशेषता भएका ट्रेडमिलहरू आएका छन् । अहिले कसरत गर्दै टीभी हेर्न मिल्ने, गेम खेल्न मिल्ने तथा गीत सुन्ने जस्ता प्रविधि जडान गरिएका छन् । यस्तो मेशिनको विशेषताअनुसार साढे १२ हजारदेखि साढे ७ लाख रुपैयाँसम्म पर्छ ।
नेपालमा अहिले व्यायामका सामानको कारोबार कति जतिको हुन्छ होला ?
नेपालमा यस्तो सामानको खासै बजार छैन । यसको पनि आफ्नो मौसम छ । विशेष गरेर साउनदेखि कात्तिकसम्म यस्ता सामानको माग बढी हुने गरको छ । त्यस्तै मङ्सिरदेखी चैत्रसम्म न्यून हुने देखिन्छ । अन्य समयमा मध्यम खालको छ । अहिले नेपालमा यस्ता सामानको कारोबार १०-१२ करोड जति मात्र छ । त्यसको करीब ३० प्रतिशत बजार हामीले लिएका छौं ।
फिटनेसका सामान खरीद गर्न कस्ता ग्राहक आउने गर्छन् ?
नेपालीहरूमा रोग लागिसकेपछि औषधि खाने बानी छ । त्यसैले केही रोग लागेपछि व्यायामको महइभ्व बुझेर आउने ग्राहको सङ्ख्या बढिरहेको छ । त्यसमा पनि पेट लागेपछि घटाउनका लागि जिम जाने वा कसरत गर्ने गरेको देखिन्छ । यहाँ पेट घटाउनका लागि मात्र जिम जानुपर्छ भन्ने मान्यता छ । व्यायामले जीउ घटाउने मात्र हैन बढाउने पनि काम गर्दछ । उचित तरीकाको व्यायाम र सन्तुलित आहारले शरीरको तौल बढाउन पनि मद्दत गर्छ । हामी ग्राहकलाई त्यस्तो सल्लाह पनि दिने गर्र्छौं ।
व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?
नेपालीहरूमा व्यायाम गर्ने बानीको विकास हुदै गइरहेको छ । सोहीअनुरूप यस्ता सामानहरूको माग पनि हरेक वर्ष करीब २० प्रतिशतले वृद्धि हुदै छ । शहरी क्षेत्रमा कसरतका लागि खुला स्थानको अभाव भएर पनि यस्तो भएको हो । नेपालीहरूमा कर्पोरेट तथा अपार्टमेण्टमा बस्ने बानीको विकास भइरहेको छ । स्थान अभाव र अन्तरराष्ट्रिय प्रभावलले पनि व्यायामशाला खुल्ने क्रम बढ्ने देखिन्छ । त्यसैलाई हेर्दा पनि नेपालमा यसको भविष्य रामै्र देख्छु ।
तपाईंले सञ्चालन गर्नुभएको फिटनेस च्वाइसको विशेषता के हो ?
हाम्रो त नामबाटै पनि धेरै कुरा थाहा हुन्छ । यहाँ फिटनेसका लागि चाहिने हरेक प्रकारका सामान हरेक मोडलमा उपलब्ध छन् । ग्राहकको चाहनाअनुसार छानेर खरीद गर्न सक्छन् । हामीले अन्तरराष्ट्रियस्तरको ब्राण्डेड सामानहरू विक्री गरिरहेका छौं । अहिले बेलायतको पल्सफिटनेस, कोरियाको एपेक्स, ताइवानको डब्ल्यू एण्ड क्यू तथा चाइनाको डेलियुथ ब्राण्डका सामान फिटनेस च्वाइसमा उपलब्ध छन् । हामीले अहिले यी ब्राण्डका २ सयभन्दा बढी प्रकारका सामान विक्री गरिरहेका छौं । हाम्रोमा सामान खरीद गर्ने ग्राहकका लागि कम्पनीको नियमअनुसार ५ वर्षसम्मको वारेण्टी छ । निःशुल्क ढुवानी सेवा तथा मेशिन जडान पनि गरिदिन्छौं ।