''आल्मुनियम उद्योगमा थप २ लाख जनशक्तिको आवश्यकता छ'' - महेश्वर शिल्पकार
सुपरभाइजर, आलटेक प्रालि
नेपालमा आल्मुनियम सामग्री प्रयोगको अवस्था कस्तो छ ?
नेपालमा बन्ने नयाँ भवनमा अहिले आल्मुनियमको प्रयोग काठको विकल्पका रूपमा हुन थालेको छ । कीराले नखाने, पानीले असर नगर्ने तथा हेर्दा आकर्षक देखिने कारण यसको प्रयोग बढेको छ । त्यस्तै, काठको मूल्य बढ्दै जाने तथा समयमा नपाइने भएकाले पनि आल्मुनियमको प्रयोग बाध्यताजस्तै बनेको छ । त्यसैले पनि, अहिले नेपालको शहरीक्षेत्रका अधिकांश व्यावसायिक भवन तथा हाउजिङहरूमा यसको प्रयोग बढ्दै गइरहेको छ । आल्मुनियमका सामग्रीको प्रयोग प्रायः झयालढोकाको फ्रेम तथा कार्यालय पार्टिशनका लागि हुने गरेको छ । आलटेकले २०४५ सालदेखि आल्मुनियमका सामग्री उत्पादन तथा विक्री गर्दै आएको छ । यो नेपालमा आल्मुनियमका सामग्री उत्पादन गर्ने पहिलो उद्योग पनि हो ।
नेपालमा यस्ता व्यवसायीको सङ्ख्या कति छन् ?
आल्मुनियमको बढ्दो प्रयोग र बजारसँगै उद्योगी तथा व्यवसायी पनि बढिरहेका छन् । नेपालमा अहिले आल्मुनियमका सामग्री उत्पादन गर्ने दुइ थरी व्यवसायीहरू छन् । यसमा ठूला लगानीकर्ताहरू करीब एक दर्जनको हाराहारीमा छन् भने थोरै लगानी गरेर व्यवसाय सञ्चालन गर्नेहरू भने २ सयभन्दा बढी रहेको अनुमान छ ।
व्यवसायीबीच प्रतिस्पर्धा कस्तो छ ?
व्यवसायमा प्रतिस्पर्धा हुनु स्वाभाविक नै हो । यसमा पनि आल्मुनियमका सामग्रीमा भने गुणस्तरभन्दा पनि मूल्यमा बढी प्रतिस्पर्धा भइरहेको छ । ग्राहकले पनि गुणस्तरीय सामानभन्दा कम मूल्यलाई महत्त्व दिने भएकाले यस्तो भएको हो । विशेष गरी स्थानीयस्तरमा काम गर्ने साना लगानीकर्ताले कमगुणस्तरका सामग्री प्रयोग गर्ने गरेका छन् । यसले ठूला कम्पनीलाई गाह्रो परिरहेको छ । हामीले जर्मन प्रविधिबाट उत्पादन गर्र्छौं । गुणस्तरीय भएकाले यसको मूल्य केही बढी छ । प्रतिस्पर्धाकै कारण हामीले अहिले चीनबाट पनि उच्चगुणस्तरका आल्मुनियम ल्याउने गरेको छौं । यो तुलनात्मक रूपमा केही सस्तो छ । तर, गुणस्तरमा यूरोपियन प्रविधिभन्दा कम छैन । हामीले सधैं गुणस्तरीय उत्पादनमा जोड दिएका छौं । सोही कारण ग्राहकको विश्वास जित्न सफल पनि भएका छौं ।
यस व्यवसायमा वार्षिक कतिको कारोबार हुन्छ ?
नेपालमा सञ्चालित ठूला व्यवसायीले कम्तीमा करीब १ करोड रुपैयाँबराबरको व्यवसाय गर्ने अनुमान छ । त्यस्तै, स्थानीयबजारमा खुलेका साना लगानीकर्ताले वाषिर्क करीब ३०/४० लाख रुपैयाँसम्म व्यवसाय गर्छन् ।
यस्ता उद्योग सञ्चालन गर्न कति लगानी गर्नुपर्छ ?
यो लगानीकर्ताको क्षमता तथा लक्षित बजारमा भर पर्छ । सानो क्षमताको मेशिन राखेर सञ्चालन गर्नेले करीब २ लाख रुपैयाँमा पनि सञ्चालन गरिरहेका छन् । तर, ठूला कम्पनीले एउटैको ५० लाख रुपैयाँ पर्ने मेशिन पनि प्रयोग गरेका छन् । एउटा राम्रो उद्योगमा तीन/चार ओटा यस्ता मेशिन आवश्यक पर्दछ । मेरो अनुमानमा करीब ३ करोड रुपैयाँ मेशिनमा मात्र लगानी गर्नुपर्छ । सम्पूर्ण पूर्वाधार खडा गर्न अहिलेको अवस्थामा करीब ५ करोड रुपैयाँको लगानी आवश्यक छ ।
उद्योगका लागि दक्षकामदारको अवस्था कस्तो छ ?
नेपालमा दक्षकामदारको अभाव छ । अहिले उद्योगीहरू आफैले काम सिकाएर रोजगारी दिनुपर्ने अवस्था छ । त्यस्तै, भएका कामदार पनि विदेशिने क्रम बढेको छ । नेपालमै बस्ने कामदार पनि काम सिकिसकेपछि आफैले उद्योग सञ्चालन गर्न थालेका छन् । मुलुकमा उद्योगमैत्री वातावरण भएमा आल्मुनियम उद्योगमा मात्र थप २ लाख जनशक्तिले रोजगारी पाउने सम्भावना छ ।
नेपालमा उत्पादित आल्मुनियमका सामग्री निर्यात हुने सम्भावना छ ?
नेपालमा उत्पादनका लागि आवश्यक कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने हुन्छ । यसरी आयात गरिएको सामान फेरि निर्यात गर्दा केही महँगो पर्न जान्छ । तर्सथ, नेपाली उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना कम छ । त्यस्तै, अन्य देशको तुलनामा नेपालमा मजदूरको पारिश्रमिक पनि बढी छ । तर, अहिले नेपालमा उत्पादन हुने आल्मुनियमका सामग्रीले आयातलाई भने विस्थापित गरेको छ ।
नेपालमा आल्मुनियम उद्योगको भविष्य कस्तो छ ?
समयअनुसार सबै कुरा परिवर्तन हुँदै गइरहेको छ । हेर्द आकर्षक , सफा गर्न सजिलो तथा तुलनात्मक रूपमा काठभन्दा सस्तो भएकाले यसको माग अहिले बढी छ । अहिले नयाँनयाँ भवन बन्ने क्रम पनि बढेको छ । यसले नेपालमा आल्मुनियम उद्योगको भविष्य उज्ज्वल रहेको सङ्केत गर्दछ ।
पहिला र अहिलेको बजारमा कस्तो परिवर्तन छ ?
पहिलेभन्दा अहिले व्यवसाय सञ्चालन गर्न केही गाह्रो भएको छ । अहिले बजारसँगै अनावश्यक प्रतिस्पर्धा पनि बढेको छ । ग्राहकले गुणस्तरभन्दा मूल्यमा ध्यान दिन थालेका छन् । मूल्यमा अत्यधिक प्रतिस्पर्धा भएका कारण उत्पादनको गुणस्तर खस्किँदै गइरहेको छ । ग्राहकले मूल्यभन्दा गुणस्तरतर्फध्यान दिनुपर्छ ।
यस्ता सामग्रीको मूल्यनिर्धारण कसरी हुन्छ ?
आल्मुनियमको मूल्यनिर्धारणमा विभिन्न कुराले प्रभाव पार्दछ । आल्मुनियमको अर्डर गर्दा त्यसको मोटाइ, परिमाण, डिजाइन तथा प्रयोग हुने सामग्रीले यसको मूल्यनिर्धारण गर्दछ ।
आल्मुनियम आयातमा सरकारीनीति कस्तो छ ?
आल्मुनियमको कच्चापदार्थ आयातमा सरकारबाट हामीले केही सहुलियत पाएका छैनौं । हामीले कच्चापदार्थ आयातमा नेपाल सरकारले तोकेबमोजिम १५ प्रतिशत भन्सारशुल्क बुझाउने गरेका छौं । आल्मुनियमको प्रयोगलाई बढावा दिँदा वनविनाश रोकिन्छ । वातावरण जोगाउन यसले सहयोग गर्ने हुँदा सरकारले आल्मुनियमको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । सबै नताको पहुँचका लागि यसको आयातमा सहुलियत दिनुपर्छ ।