''हलहरूले कर छलेको आरोप होइन, सत्य हो'' - नकीम उद्दीन
अध्यक्ष, क्वेष्ट इण्टरटेनमेण्ट प्रालि
नेपालमा हलमा गएर सिनेमा हेर्ने संस्कृति स्थापित गर्न क्वेष्ट इण्टरटेनमेण्टको भूमिका छ भनिन्छ, यस्तो अवधारणाको विकास कसरी भयो ?
म सानो छँदा काठमाडौँ उपत्यकाका हलहरूको अवस्था सम्झन्छु । त्यतिबेला सिनेमा हेर्ने आफ्नो किसिमको संस्कृति त थियो । तर, सिनेमा र हल दुवै गुणस्तरीय थिएनन् । आवाज, दृश्य, हल सजावट सबै न्यून गुणस्तरका थिए । त्यसैकारण, एउटा वर्ग (तुलनात्मकरूपमा सम्पन्न) हलमा सिनेमा हेर्न जान छाडयो । हामीले त्यही वर्गलाई सिनेमा हेर्न कसरी हलमा तान्न सकिन्छ भन्ने सोच्यौँ । मेरा सहकर्मी र मैले विदेशमा सिनेमा र हलको गुणस्तरको स्वाद चाखेकाले नेपालमा पनि त्यस्तै केही विकास गर्न सकिन्छ कि भनेर क्वेष्ट इण्टरटेनमेण्ट शुरू गरेका हौँ । हामी गर्व गर्छौँ, हलसम्म गएर सिनेमा हेर्ने संस्कृतिलाई पुनर्जीवन दिन सकेकोमा ।
तपाईंहरूद्वारा सञ्चालित सिनेमा हल जसरी सुविधासम्पन्न र आधुनिक बनाउनु भएको छ । त्यो त उच्च वर्गका ग्राहकका लागि मात्र लक्षित छ, जबकि त्यो वर्गका ग्राहकसँग त घरमै त्यो किसिमको सुविधामा फिल्म हेर्ने प्रविधिहरू छन् नि ?
सिनेमाको वास्तविक मज्जा र स्वाद सिनेमा हलमा मात्र लिन सकिन्छ । 'होम थियटर' मै सिनेमा हेर्दा पनि हलको जस्तो आनन्द अनुभव गर्न सकिँदैन । शुरूमा उच्च वर्गका लागि लक्षित गरेर 'जय नेपाल' तथा 'कुमारी' हलको साजसज्जा परिवर्तन गरिए पनि अहिले हामी निम्न मध्यमवर्गप्रति पनि लक्षित भएका छौँ । हाल हाम्रा अधिकांश दर्शक निम्न मध्यमवर्गका छन् । अहिले जुन मूल्यमा जस्तो गुणस्तर दिएका छौँ , त्यसमा मध्यम र निम्न मध्यमवर्गका दर्शक पनि आकर्षित छन् । यो सिनेमा हेर्ने संस्कृतिमा आएको परिवर्तन हो ।
जय नेपाल र कुमारीको पुनर्निमाणमा लागेको लगानीको प्रतिफल कस्तो पाउनु भएको छ ?
सन् २००१ मा हामीले जय नेपालमा लगानी गरेका थियौ । त्यसबेला बैङ्कहरूले हामीलाई राम्ररी पत्याएका थिएनन् । रकम अभावमा बन्दै गरेको हल बीचमै रोकिने अवस्था पनि आयो । तर, नेपाल शये र मार्केट एण्ड फाइनान्स कम्पनी लगानी गर्न तयार भएपछि पुनः प्रोजेक्ट अगाडि बढेको हो । भाडामा लिइएको जय नेपाललाई त्यतिबेला करिब ३ करोड रूपैयाँ लगानी गरेर नयाँ रूप दिइएको हो । हलको समग्र स्वरूप, प्रविधि तथा गुणस्तरलगायतमा सो रकम लगानी गरिएको थियो । शुरूमा अङ्ग्रेजी सिनेमाका दर्शकलाई हलमा तान्ने उद्देश्य लिएर लगानी गरिएको थियो । तर, अङ्ग्रेजी सिनेमा चलेन । त्यसपछि केही समय त हल सञ्चालन गर्न निकै कठिन भयो । जब हिन्दी सिनेमा चलाउन शुरू गर्याँ, त्यसको बजार देखेर हामी छक्क पर्याँ । त्यसपछि, पछाडि फर्केर हेर्नुपरेको छैन । जय नेपालले राम्रो व्यापार गर्न थालेपछि नै बन्द भइसकेको कुमारी हल पनि भाडामा लियौँ। दुवैतिर हल चलाउन थालेपछि निश्चित मूल्यमा किनिएको सिनेमा एउटा हलबाट शुरू गरेर अर्को हलमा सारेर पनि लामो समय देखाउन सकिने भइयो । यसले नाफामा वृद्धि गरायो । हामीले गरेको लगानी फिर्ता पाइसकेका छौँ , तर त्यसलाई पुनर्लगानी गरेका छौँ । सिभिल मलमा शुरू गरिएको 'क्यूएफएक्स' हल त्यही पुनर्लगानी हो ।
केही समयअघि दुइवटा सिनेमा पनि निर्माण गर्नुभयो नि, त्यो क्रम अहिले किन रोकियो ?
हामीले विभिन्न महोत्सवमा डकुमेण्ट्री हेर्न आएका युवा दर्शकको भीडलाई देख्यौँ । विभिन्न कलेजका विद्यार्थीको सिनेमारुचि देखेर निर्माण हात हालिएको हो । दर्शकले कस्तो सिनेमा रुचाउँछन् भनेर विभिन्न अध्ययन-अनुसन्धान र दर्शक सर्वेक्षण पनि गर्यौँ । अध्ययनले परम्परागत नेपाली सिनेमासँग युवा दर्शकहरूको आकर्षण नरहेको देखायो । त्यसपछि, हामीले युवालक्षित नेपाली सिनेमा 'कागबेनी' बनाउने निधो गर्यौँ । अमेरिकी कम्पनीसँगको सहकार्यमा अत्याधुनिक 'एसआइटुके' क्यामेरामार्फत हामीले त्यो सिनेमाको छायाङ्कन गर्यौँ । त्यसले नेपाली सिनेमा इतिहासमा एउटा नयाँ शुरुआत गर्यो । युवाहरूलाई नेपाली सिनेमा हेर्न हलसम्म तान्यो । लगत्तै 'सानो संसार' बनायौँ । लगानी नउठे पनि दुवै सिनेमा 'हिट' भए र गुणस्तरीय सिनेमाको स्वाद पस्कन सफल भयौँ ।
सिनेमामा डिजिटल प्रविधिको आवश्यकता किन देख्नुभयो ?
नयाँ प्रविधि अर्थात् आधुनिक क्यामराको प्रयोग, सिनेमा प्रदर्शनको डिजिटल शैलीको तात्पर्य भनेकै आधुनिक स्वाद दिनु हो । मध्यम बजेटमा उच्च गुणस्तरको सिनेमा बनाउने प्रयास गरेका थियौँ हामीले । एउटै क्यामेरालाई ३/४ करोड तिरेर त्यसको व्यावसायिक उपयोग गर्नु जोखिम थियो । त्यसैले, हामीले डिजिटल सिनेमाको अवधारणा शुरू गरेका हौँ । सानो संसार बनाएको समयसम्ममा नेपालमा १४/१५ वटा हलमा मात्र डिजिटल प्रविधि जडान गरिएका थिए । अहिले झन्डै सयवटा हल डिजिटल प्रविधिमा सञ्चालन भएका छन् । यसै क्रममा हामीले डिजिटल सिनेमा नेपाल प्रालि स्थापना गर्यौं । यसबाट एउटै सिनेमा एकै पटक देशभरि चलाउन सकिने तथा तत्काल निर्माताको लगानी फिर्ता आउने अवस्था पनि बनेको छ ।
सिनेमा प्रविधिको आधुनिकीकरण हुँदै थ्री डी, फोर डी, एट डीसम्म पुगिसकेको छ, यी प्रविधिहरूलाई कति हदसम्म पछयाउनु हुन्छ ?
हाम्रो अनुसन्धानले के देखाएको छ भने, नेपाली दर्शकका लागि थ्री डीको भविष्य राम्रो छ । 'अन्य डी' हरू आकर्षक देखिए पनि व्यवसायका दृष्टिले त्यति सम्भावनायुक्त छैनन् । यी प्रविधिका प्रसस्त सीमा हुने हुँदा व्यावसायिक निरन्तरतामा त्यति टिक्दैनन् । २०/३० सिटका हलमा ६/७ महीना एउटै सिनेमा देखाउनु व्यावसायिक रूपमा फाइदाजनक हुँदैन । पश्चिमा मुलुकमा पनि 'फिचर फिल्म'कै बजार छ । थ्री डी प्रविधिमा फिचर फिल्म पनि निर्माण भइरहेकाले पनि यसको भविष्य अझ राम्रो देख्छु । हलिउड मात्र होइन, बलिउडमा पनि थ्री डी प्रविधिमा फिचर फिल्म निर्माण शुरू भएको छ । टेलिभिजन, मोबाइललगायतमा पनि थ्री डी प्रविधिको आकर्षण देखिन्छ । हाम्रो अनुसन्धानबाट पनि दर्शकहरूले थ्री डी रुचाएको देखिएकाले हाम्रो प्राथमिकता यही प्रविधि हो । त्यसैले, कुमारीमा हामीले यो प्रविधि जडान गरेर ' अवतार' फिल्म देखायौँ । अहिले सिभिल मलको तीनवटै हलमा यो प्रविधि जडान गरिएको छ ।
नेपाली सिनेमा उद्योगको समग्र अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपाली सिनेमा उद्योगले आफ्नो छुट्टै अनुहार बनाउन सकेको छैन । बलिउडका सन् ८० का दशकका कथा, परिवेश र शैलीका सिनेमा बनाएर आफ्नो छुट्टै परिचय स्थापित हुनै सक्दैन । हामीसँग कथाका लागि, विषयका लागि, दृश्यका लागि थुप्रै अवसरहरू छन् । माओवादी सशस्त्र द्वन्द्वका समयका कथा हाम्रा घरभित्रै छन् । संसारले पनि हामीलाई सुक्ष्म ढङ्गले हेर्न चाहेको छ । संसारलाई हाम्रो छवि देखाउन सिनेमा उत्कृष्ट माध्यम बन्न सक्छ । बीबीसीको र्सर्वेक्षणले नेपाल न्युजिल्याण्डपछिको संसारकै दोस्रो उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा देखाएको छ । कोरियन, इरानी सिनेमाहरूले छोटो समयमै आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् । हामीले पनि आफ्नो छुट्टै परिचय बनाउन सक्यौं भने नेपाली सिनेमाबजारले अन्तरराष्ट्रिय रूप लिन सक्छ । पुरानो र्ढरामा सिनेमा बनाएर अब प्रतिस्पर्धाको बजारमा स्थापित हुन सकिँदैन । अहिलेकै ढङ्गमा सिनेमा बनाइरहने हो भनेचाहिँ नेपाली सिनेमाको भविष्य छैन ।
बजेट तथा सरकारी प्राथमिकतामा सिनेमा उद्योगलाई कतिको प्राथमिकता दिइएको छ ?
यसपालिको बजेटले सिनेमा उद्योगलाई कतै पनि सम्बोधन गरेन । हाम्रा नीति निर्माताहरू सधै कर बढाएर राजस्व बढी उठाउने प्रयासमा हुन्छन् । नेपालजस्तो राज्यसंयन्त्रहरू फितलो भएको देशमा कर बढी उठाउने होइन, करको दायरा बढाउने काम गर्नुपर्छ । कर बढी लिन खोज्दा कर नतिर्ने प्रवृत्ति बढ्छ । अहिले सिनेमा उद्योगमा त्यस्तै प्रवृत्ति छ । सिनेमा हलको कर राज्यले विभिन्न रूपमा बढाएको छ । बल्लबल्ल सञ्चालन भइरहेका हलहरूलाई धेरै कर लिँदा तिनको आर्थिक स्वाथ्य खस्किएको छ । सिनेमा निर्माणलाई उद्योग भनिए पनि राज्यले अहिलेसम्म 'उद्योग' को मान्यता दिएको छैन । यसले लाखौँ नागरिकलाई प्रत्यक्ष-अप्रतक्ष्य रोजगारी दिँदै आएको छ । हाम्रो मान्यता राज्यले हलहरूको करलाई घटाउँदै लैजानुपर्छ भन्ने हो । अहिले सिनेमा हलहरूले चलचित्र विकास शुल्क, भ्याट तथा स्थानीय निकाय शुल्क गरी ३३ प्रतिशतसम्म कर तिर्नुपर्छ । विदेशी सिनेमामा लाग्दै आएको १५ प्रतिशत चलचित्र विकास शुल्क हट्नुपर्छ र भ्याटको वर्गीकरण हुनुपर्छ । चलचित्र विकास बोर्ड अहिले पनि हलहरूले तिर्दै आएको करले चलेको छ । तर, बोर्डले सिनेमा क्षेत्रको विकासमा खासै योगदान दिन सकेको छैन ।
सिनेमा हलहरूले प्रसस्तै कर छलेको आरोप पनि लाग्दै आएको छ नि ?
त्यो आरोप होइन, सत्य हो । हलहरूले कर छलेका छन् । कमाइको एक तिहाइ सोझै राज्यले कर लिने, तर कुनै सुविधा नदिने भएकाले हलहरूले कर छलेका हुन् । स्थानीय विकास शुल्क अरू उद्योगमा खारेज भइसके पनि सिनेमामा भने लाग्दै आएको छ । सिनेमा हलहरूलाई राज्यले प्रोत्साहन दिन सकेको छैन । अहिले विदेशी र नेपाली दुवै सिनेमालाई एउटै भ्याट दर छ । हामी भ्याटको वर्गीकरण गरेर फरक-फरक दर होओस् भन्ने पक्षमा छौँ । यी कुराहरूमा सुधार भए हल सञ्चालकहरूले कर छल्दैनन् ।
तपाईंहरूले चाँहि राज्यलाई वाषिर्क कति कर बुझाउनुहुन्छ ?
यकिन तथ्याङ्क भन्न नसके पनि सिनेमा हलहरूमा सबैभन्दा बढी कर तिर्नेमा हामी पर्र्छौं ।
आगामी योजनाहरू के-के छन् ?
सिभिल मलमा 'क्युएफएक्स' हल सञ्चालनमा ल्याएको दुइ महीनाजति भएको छ । त्यहाँ जाने दर्शकहरूको प्रतिक्रिया उत्साहजनक छ । प्राविधिक रूपमा संसारकै उत्कृष्टमध्येको प्रविधि हामीले त्यहाँ जडान गरेका छौँ । ध्वनि, दृश्य, हलको डिजाइनलगायतमा अमेरिकन, नेदरल्याण्डजस्ता देशका कम्पनीसँग 'टाइ अप' गरेर अन्तरराष्ट्रियस्तरको हल निर्माण गरिएको हो । यो हल भर्खरै सञ्चालनमा आएकाले तत्कालै नयाँ प्रोजेक्टमा हात हाल्ने विचारमा छैनौँ । यद्यपि, केही नयाँ योजनाहरू भने बनिराखेका छन् । ललितपुर विशाल बजारमा पनि नयाँ सिनेमा हल निर्माण गर्न तयारी भइराखेको छ । तर, विविध कारणले यो केही पछाडि धकेलिएको छ । सिनेमा निर्माणका विषयमा पनि सोचिराखिएको छ ।
सिनेमा वितरण पनि तपाईंहरूको मुख्य काम हो, नेपालमा सिनेमा वितरणको अवस्था कस्तो छ ?
नेपालमा कानूनीरूपमा मान्यताप्राप्त ढङ्गमा विदेशी सिनेमा वितरणको कार्यमा हाम्रो हिस्सा ९५ प्रतिशत छ । केही समयअघि वितरण प्रणाली कमजोर भएकाले नेपालमा भनेको समयमा सिनेमा चल्न सम्भव थिएन । तर, हामीले वितरण शुरू गरेपछि हलिउड/बलिउडमा सिनेमा चलेकै दिन काठमाडौंमा पनि हेर्न पाइने भएको छ । विदेशी सिनेमा ल्याउने विभिन्न शर्तहरू हुन्छन्, एउटा किनेरै वितरण गर्नुपर्ने हुन्छ भने अर्को कमाइको आधारमा निर्मातालाई निश्चित प्रतिशत पनि दिन सकिन्छ । लामो समयदेखि वितरण व्यवसायमा काम गरेकाले अब विदेशी सिनेमा प्रदर्शन गर्ने तथा वितरण गर्ने अधिकार पाउन हामीलाई थप सजिलो हुँदै गएको छ । नेपाली सिनेमाकै सन्दर्भमा पनि पहिलापहिला एउटा सिनेमा देशभरि चलिसक्न २ वर्षसम्म लाग्थ्यो । र, निर्माताले लगानी फिर्ता पाउन पनि त्यति नै समय कुर्नुपथ्र्यो । अहिले वितरण प्रणाली व्यवस्थित बनेकाले अब त्यो झञ्झट छैन ।
क्वेष्ट इण्टरटेनमेण्टले सिनेमा चलाएर भन्दा पनि विज्ञापन देखाएर बढी कमाउँछ भनिन्छ नि ?
सिनेमा हलमा गरिएको विज्ञापन बढी प्रभावकारी हुन्छ । किनकि सिनेमा हेर्न हल पुगिसकेका दर्शकसँग छनोटको सुविधा हुँदैन । घरमा टेलिभिजन हेर्दा भने त्यो बाध्यता हुँदैन । लोडसेडिङका कारण पनि टेलिभिजनको विज्ञापन हलतिर सरेको छ । तर, यसो भन्दैमा हामी लामो समयसम्म विज्ञापन देखाउँदैनौँ । करीब १५ मिनेट मात्र हामी विज्ञापन प्रसारण गर्छौं । विज्ञापन सिनेमा हल व्यवसायको मुख्य आधार हो । वाषिर्क १ करोडको हाराहारीमा हामी विज्ञापनबाट आम्दानी गर्र्छौं ।