शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''फिलामेण्ट चिमको माग बीस प्रतिशतले बढेको छ'' - महेन्द्रकुमार राठी

पूरा आकरमा हेर्नुहोस्महासचिव, नेपाल विद्युतीय व्यवसायी महासङ्घ

नेपाल विद्युतीय व्यवसायी महासङ्घको आवश्यकता किन छ ?

कुनै पनि व्यवासाय सञ्चालन गर्दा धेरै अप्ठ्याराहरू आउँछन् । तिनको समाधान गर्न व्यवसायी एक्लैलाई गाह्रो पर्छ । तर, सङ्गठित रूपमा काम गर्दा सहज हुन्छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घलाई विद्युतीय सामानसँग आबद्ध सबै व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा लिन सकिन्छ । यसमा उत्पादक, आधिकारिक विक्रेता वा खुद्रा विक्रेता सबै सदस्य बन्न पाउ“छन् । महासङ्घमा प्रत्यक्षअप्रत्यक्ष रूपमा सबैजसो व्यवसायीहरू आबद्ध भएको पाएका छौं । व्यवसायलाई मर्यादित एवम् समस्यामुक्त बनाउन महासङ्घको आवश्यकता परेको हो ।

नेपालमा फिलामेण्ट चिम खपतको अवस्था कस्तो छ ?

बजारमा सीएफएल चिम आएपछि फिलामेण्ट चिमको विक्री घटेको थियो । अहिले सरकारले  सीएफएल चिममा भन्सार छूटको व्यवस्था हटाएको छ । गएको २ महीनाको अवधिमा फिलामेण्ट चिमको विक्री १० देखि १५ प्रतिशले बढेको छ । पूर्वतयारी नभएकाले अहिले उपभोक्ताको मागअनुसार फिलामेण्ट चिम उपलब्ध गराउन सकेका छैनौं । पहिले माग कम भएकाले सामान पनि कम थियो । अहिले माग निरन्तर बढ्दै गएको छ ।

बजारमा देखिएको फिलामेण्ट चिमको अभाव कहिलेसम्म रहन्छ ?  

बजारको मागअनुसार फिलामेण्ट चिम उपलब्ध गराउन अझै २/३ महीना लाग्छ । नेपालमा आउने प्रायःजसो फिलामेण्ट चिम भारत र चीनका उत्पादन हुन् । हाम्रो अनुमानमा नेपाली बजारमा भारत र चीनका फिलामेण्ट चिमको ५०-५० प्रतिशत हिस्सा छ । अहिले चीनमा लामो बिदा हुने समय हो । त्यहाँका अधिकांश उद्योग सञ्चालनमा आउन अझै १ महीना जति लाग्छ । उत्पादक कम्पनीले उत्पादन शुरू गरेको २/३ महिनापछि नेपाली बजारमा चिमको अभाव हुँदैन ।

रुघ्ण अवस्थामा पुगेका स्वदेशी उद्योगको प्रवर्द्धनमा कसले के गर्नुपर्छ ?

नेपालमा फिलामेण्ट चिम उद्योगको सङ्ख्या धेरै छैन । भएका उद्योगमा पनि समस्या धेरै छन् । नेपालमा भएका उद्योगमा अहिले पुराना मेशिन छन् । तिनले यथोचित मात्रामा उत्पादन गर्न सकेका पनि छैनन् । नयाँ र आधुनिक मेशिन खरीदका लागि सरकारले छूटको व्यवस्था गर्नुपर्छ । भएका उद्योगको उत्पादनक्षमता कम छ । कामदार बढी चाहिन्छ । दक्ष र अदक्ष दुवै थरी जनशक्तिको अभाव छ । उद्योग प्रवर्द्धनमा सरकारको पनि दायित्व हुन्छ । उद्योगको विकासमा सरकारले सहुलियतको व्यवस्था गर्न सक्नुपर्छ । सरकारले विदेशमा काम गर्न प्रोत्साहन गरिरहेको छ, यो राम्रो होइन । सबैभन्दा पहिले यसलाई कम गर्नुपर्छ । अनि मात्र, स्वदेशी उद्योगको अवस्थामा सुधार आउन सक्छ । त्यस्तै उद्योगको उत्पादन सुचारू गर्न आवश्यक पर्ने सामग्री आयातमा सरकारले भन्सार महशुलमा छूट दिनुपर्छ । बिजुलीको नियमित आपूर्ति हुनुपर्छ । आयकरमा पनि छूटको व्यवस्था हुन जरुरी छ । तर, अहिले यी कुनैमा पनि छूटको व्यवस्था छैन ।

फिलामेण्ट चिमको गुणस्तर निर्धारण कसरी गरिएको हुन्छ ?

नेपालमा फिलामेण्ट चिमको गुणस्तर निर्धारण हुँदैन । यसका लागि अहिलेसम्म कुनै संयन्त्र बनेको पनि छैन । हामीले सरकारसँग गुणस्तर निर्धारणको संयन्त्र बनाउन माग गर्दै आएका पनि हौं । विभिन्न समयमा दबाबमूलक कार्यक्रम गर्दै आएका छौं । नेपाल विद्युत् प्राधिकरण, भन्सार विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, नेपाल विद्युतीय व्यवसायी महासङ्घ सबैलाई समेटेर एउटा संयन्त्र बनाऔं र परीक्षण गर्ने ल्याबको व्यवस्था गरौं भनिरहेका छौं । यस विषयमा सरकारको तर्फबाट कुनै पहल भएको छैन ।

सबैभन्दा बढी फिलामेण्ट चिमको खपत कुन क्षेत्रमा हुन्छ ?

फिलामेण्ट चिम बढी खपत हुने क्षेत्र नारायणगढ र बुटवल हुन् । पूर्वका जिल्लामा पनि खपत राम्रो छ । बाहिरको तुलनामा काठमाडौं उपत्यकामा यस्ता चिमको खपत कम छ । चिमको खपत ग्रामीण क्षेत्रमा बढी छ । गाउँमा आयस्रोत कम भएकाले पनि फिलामेण्टको खपत बढेको हो । यो चिम आठ रुपैयाँदेखि पाउन सकिन्छ ।

वार्षिक कतिको सङ्ख्यामा फिलामेण्ट चिमको खपत हुन्छ ?

हामीसँग कुल खपतको आधिकारिक तथ्याङ्क छैन । मोटामोटी १५ देखि २० लाख थान फिलामेण्ट चिम चीनबाट आउँछ । यसैको हाराहारीमा भारतबाट पनि आउँछ ।

चिनियाँ विद्युतीय सामानको गुणस्तरलाई लिएर थुप्रै टिकाटिप्पणी भए पनि नेपालमा यस्ता सामानको नै बाहुल्यता हुनुको कारण के हो ?

विद्युतीय सामानमा पुरानो धारणा परिवर्तन भइसक्यो । पहिले कम मूल्यका साथै कम गुणस्तरका सामान आउने गर्थे । अहिले नेपालमा उच्च गुणस्तरका सामानको आयात हुन्छ । बजारमा उपलब्ध चिनियाँ सामानहरू गुणस्तरीय पनि छन् । केही सामान भने कम गुणस्तरका आइरहेका छन् । ब्राण्डेड सामानको गुणस्तरमा तलमाथि हुँदैन । ब्राण्डेड सामानको आयात गरेर नेपालीहरूमा चिनियाँ समानमा परेको नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ ।

फिलामेण्ट चिमको कारोबार कस्तो छ ?

अहिले फिलामेण्ट चिमको कारोबार बढेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा सीएफएलको विक्रीमा पनि १३ प्रतिशत भ्याट लगाएको छ । यसले गएको २ महीनायता फिलामेण्ट चिमको विक्रीवितरणमा करीब २० प्रतिशतसम्मले वृद्धि भएको छ । फिलामेण्ट चिमको कारोबार अझै बढ्छ भन्ने अनुमान छ ।

चिम विक्रीवितरणमा वारेण्टीको व्यवस्था हुँदैन ?  

फिलामेण्टमा वारेण्टी हुँदैन । नेपालमा १५ देखि २० ब्राण्डका फिलामेण्ट चिमको विक्रीवितरण हुन्छ । तर, कुनै पनि ब्राण्डमा वारेण्टी छैन । नेपाली बजारमा उपलब्ध राठी, पावर पेग, सनलाइटलगायत चिनियाँ कम्पनीका नाम चलेका ब्राण्ड हुन् । यीमध्ये राठी नेपाली लगानीमा चीनमा उत्पादित चिम हो । भारतीय ब्राण्डमा भने बजाज र फिलिप्स मार्केट लिडर हुन् । चिनियाँको तुलनामा भारतीय प्रडक्टको टिकाउ केही बढी रहेको मानिन्छ । भारतका ब्राण्डेड प्रडक्टले समान रूपमा गुणस्तर कायम गरेका कारण पनि यसो भएको हो ।

चिमको आयातमा भन्सार छली हुने गरेको बताइन्छ नि ?

खुल्ला सीमाना भएकाले ससाना व्यापारीले यस्तो काम गर्न सक्छन् । तर, ठूला व्यापारीले गर्दैनन् । आधिकारिक विक्रेता भएर काम गर्ने कम्पनीहरूले यस्तो काम गर्न सम्भव छैन ।

आधिकारिक विक्रेता भएर कारोबार गर्ने व्यापारीलाई बजारमा देखिने नक्कली सामानले असर गर्दैन ?

ब्राण्डेडको नक्कली सामानले कारोबारमा असर गर्छ । नक्कली सामानको आयातमा हाम्रो देशको कानून बलियो छैन । यस्तोमा सरकारले सानोतिनो जरीवाना गरेर छोड्ने गरेको छ । अरू देशमा सीधै जेलसजाय हुन्छ । यस्तो मुद्दामा त्यहाँ जमानतमा रिहा पनि गरिँदैन । भारतमा नक्कली सामान ल्याएको पाइएमा ६ महीना जेलसजाय भोग्नै पर्छ । नक्कली सामानले ब्राण्डप्रति उपभोक्तालाई भ्रममा पारेको छ । सरकारले सकारात्मक धारणको विकास गरेर कडा कानून ल्याउनु पर्छ ।