शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''स्पालाई उद्योगका रूपमा विकास गर्नुपर्छ'' - अकुपञ्चरिष्ट सुदर्शन बस्नेत
अध्यक्ष, चैतन्य स्पा

साउना र स्टीम बाथको प्रयोगबाट के फाइदा हुन्छ ?

यसको प्रमुख फाइदा भनेको पसिनाको माध्यमबाट शरीरमा भएको टक्सिन बाहिर निकाल्नु हो । साउना, ज्याकुजी, स्टीम  बाथको प्रयोग फरक उद्देश्यका लागि गरिन्छ । साउना ड्राई हिटरमार्फत पसिनाको माध्यमबाट शरीरमा भएको टक्सिन निकाल्ने विधि हो । तातोका कारण शरीरमा रगतको प्रवाह राम्रोसँग हुन्छ । ज्याकुजीले टक्सिन निकाल्छ र पानीको माध्यमबाट शरीरको मसाज पनि गराउँछ ।

यसका लागि कति समय लाग्छ ?

सामान्यतया १५ मिनेट लाग्छ । मानिसको शारीरिक अवस्था हेरेर पनि समय निर्धारण हुन्छ । लामो समयसम्म तातो सहन सक्ने मानिसले १५/२० मिनेट बस्छन् । उनीहरू नुहाएर पनि पुनः बस्ने गर्दछन् । सामान्यतया हामीले आधा घण्टासम्म उनीहरूलाई साउना वा स्टीम लिन सिफारिस गरेका हुन्छौं ।

नेपालमा यसको प्रयोग कत्तिको बढेको छ ?


अहिले विस्तारै यसको प्रयोग बढिरहेको छ । साउना र स्टीम  घरघरमा राख्न पनि थालिएको छ । ज्याकुजी एकल प्रयोग गर्न सकिने खालको पनि नेपालमा भित्रिँदै छ । यसले गर्दा पनि मानिसहरू यसप्रति आकषिर्त भएका छन् । विशेष गरी उच्चवर्गका घरमा अहिले यस्तो प्रयोग भएको पाइन्छ ।

घरमा प्रयोग गर्न कति खर्च गर्नुपर्छ ?

यसको प्रयोग दुइ किसिमले गर्न सकिन्छ । व्यावसायिक रूपमा प्रयोग गर्ने हो भने साउना ज्याकुजीको सेट राख्दा करीब २० लाख रुपैयाँ लाग्छ । घरमा प्रयोग गर्ने हो भने साउनाको १ लाख ५० हजार रुपैयाँसम्म पर्छ । स्टीमका लागि २ लाख रुपैयाँसम्म खर्च हुन्छ । यसमा वाफ उत्पादन गर्ने मेशिन हुन्छ । साउना दुइ प्रकारको हुन्छ । एउटामा इन्फ्रारेड प्रयोग गर्ने गरिन्छ । अर्कोमा भने चट्टानको प्रयोग गरिएको हुन्छ । यस्ता विशेष प्रकारका चट्टान विदेशबाट आयात गरिन्छ ।

नेपालमा साउनाको कारोवार कति हुन्छ ?


वार्षिक करीब रू. १ अर्बको कारोबार हुने अनुमान छ । नेपालका तारेहोटलमा यसको प्रयोग हुन थालेको छ । विभिन्न क्लबमा पनि यसको प्रयोग बढेको छ । नेपालमा प्रत्येक दिन यसको प्रयोग बढिरहेको छ । यसबाट पनि कारोबार बढिरहेको स्पष्ट हुन्छ ।

नेपालमा यसको भविष्य कस्तो छ ?


पर्यटकीय मुलुक भएका कारण पनि नेपालमा यसको भविष्य राम्रो छ । यो रोजगारीको अवसर भएको क्षेत्र पनि हो । नेपालजस्तो देशमा लगानीको नयाँ क्षेत्र भनेको नै स्पा व्यवसाय हो । विदेशीहरू आफ्नो देशमा उपलब्ध सेवा यहाँ पनि खोज्दछन् । नेपालको वातारण नै व्यवसायसुहाउँदो छ । अन्य देशमा यस्तो मनोरम वातावरण पाउन कठिन छ । यसलाई उद्योगका रूपमा विकास गर्ने हो भने लगानीको क्षेत्र पनि थपिन्छ । रोजगारीको थप अवसर सृजना हुन सक्छन् ।

व्यवसायमा दक्षकामदार छैनन् भनिन्छ नि ?


नेपालमा अहिले दक्षकामदार उत्पादनका लागि व्यवस्थित तालीमकेन्द्र स्थापना हुन सकेको छैन । अहिले केही संस्थाले अनौपचारिक तालीम दिँदै आएका छन् । यसको पाठयक्रम नै विकास गरेर तालीम दिने संस्था बढ्न सकेका छैनन् । त्यसैले, नेपालमा दक्षकामदार उत्पादन हुन नसकेको हो । अहिले तालीम लिएका मानिसले काम गरिरहेका छन् । दक्षकामदार पाउन कठिन छ । विशेष गरी हाइड्रोथेरापीअर्न्तर्गत यसको अध्ययनअध्यापन हुन्छ । नेपालमा यस्तो विषय पढेका मानिस आठ/नौ जना मात्र छन् । हाम्रो संस्थामा हाइड्रोथेरापीमा दक्षता हासिल गरेका व्यक्तिको निगरानीमा उपचार हुन्छ ।

व्यवसाय सञ्चालन गर्न कति लगानी गर्नुपर्छ ?


कस्तो तहको व्यवसाय सञ्चालन गर्ने हो, त्यसमा भर पर्छ । सामान्य खालको व्यवसाय गर्ने हो भने रू. २० लाखको लगानीमा पनि शुरू गर्न सकिन्छ । व्यवस्थित व्यवसाय गर्ने हो भने २/३ करोड रुपैयाँ खर्च गर्नुपर्छ ।

स्पाअन्तर्गग स्टीम, साउना र ज्याकुजी सबै जरुरी छ ?


विदेशमा स्पा केलाई भन्ने भनेर यसको क्षेत्रनिर्धारण गरिएको हुन्छ । तर, नेपालमा यस्तो छैन । यहाँ दुइओटा कोठा लिएर मसाज सेण्टरको शुरुआत गरेपछि त्यसैलाई स्पा भन्ने चलन छ । स्पा हाइड्रो थेरापीअन्तर्गत पर्ने भएकाले यसमा स्टीम साउना र ज्याकुजी अनिवार्य नै हुन्छ ।

नेपालमा थुप्रै स्पा स्थापना भएका छन्, यिनीहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?


यिनीहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ । यसैका लागि हामीले स्पा एण्ड आयलनेश एशोसिएशन नामक संस्था स्थापना गरेका छौँ । पर्यटन मन्त्रालयले यसका लागि निमय बनाउने, क्षेत्रनिर्धारण गर्ने विषयमा छलफलको आयोजना गरिसकेको छ । हामीले पनि आफ्नो तर्फबाट केही सुझाव दिइसकेका छौं ।