'पश्मिनाको बजार अझ बढ्नेमा आशावादी छौं' ? कर्केन ताङ्वे गुरुङ
प्रबन्ध निर्देशक
एभरेष्ट पश्मिना निटिङ एण्ड विभिङ इण्डष्ट्रिज
अहिले पश्मिनाको बजार कस्तो छ ?
गत ५/६ वर्षको तुलनामा यसको बजार करीब १५ देखि २० प्रतिशतले बढेको छ । देशको राजनीतिक अवस्था र अन्य देशको आर्थिक स्थितिलाई हेर्दा यो वृद्धिलाई सन्तोषजनक मान्नुपर्छ । तर, यो वृद्धि सोचेअनुरूपको भने होइन । यसको बजार सोचेअनुरूप बढ्न नसक्नुमा विभिन्न कारणहरू छन् । निर्यात व्यापार कस्तो हुने भन्ने कुरामा सरकारको सहायताले मुख्य भूमिका खेल्छ । अन्तरराष्ट्रिय बजारमा नेपाली पश्मिनाको प्रतिष्ठा एकदमै राम्रो छ । यदि सरकारको तर्फबाट सहयोग हुने हो भने अन्तरराष्ट्रिय स्तरमा समेत पश्मिनाको बजार फस्टाउन सक्छ ।
पश्मिनाको बजार एकपटक उच्च दरमा बढेको थियो, केही वर्षा नै त्यही दरमा बजार घट्यो, यसको कारण के हो ?
सन् २००१ मा विश्वबजारमा पश्मिनाको लहर नै आएको थियो । बेलायतकी महारानी एलिजावेथ र हलिउडका सेलिब्रेटीहरूले यसको प्रयोग गरेकाले त्यस्तो लहर आएको थियो । त्यसबेला मागअनुसार आपूर्ति गर्न सक्ने अवस्था थिएन । सरकारले पनि उक्त समयमा सक्रियतापूर्वक व्यवसायीहरूलाई सहयोग गर्न सकेन । नेपालमा त्यसबेलाको माग धान्न सक्ने खालको भौतिक पूर्वाधारको पनि विकास भएको थिएन । पश्मिना नेपालको उत्पादन हो भनेर सबैलाई चिनाउन सकिएन । त्यही बेला भारत र चीनले पनि पश्मिनाका सामानहरू निर्यात गर्न थाले । त्यसको असर नेपालमा परेको हो । एउटा देशको समानको नाममा अरूले उत्पादन गर्न नपाउने नियम बनाउन सकेको भए नेपाली पश्मिना व्यापार त्यही स्तरमा रहिरहेको हुन्थ्यो ।
तपाईंहरूको लक्ष्य पश्मिनाको उत्पादन गरेर विदेशमा निर्यात गर्नु नै रहँदै आएको छ, नेपालमा नै पश्मिनाको बजार प्रवर्द्धन गर्न सकिन्छ कि सकिँदैन ?
असली पश्मिनाको मूल्य अलि बढी हुने भएकाले सबै नेपालीको पहुँच पुग्दैन । आर्थिक स्तर राम्रो भएकाले अहिले पनि यस्ता सामान प्रयोग गरिरहेका छन् । नेपालमा अहिले पनि पश्मिनाको बजार राम्रो नै छ । नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकहरूले पश्मिनाका सामान लैजाने गरेका छन् । अहिले ठमेल क्षेत्रमा मात्र करीब ४० प्रतिशत पसलहरू पश्मिनाका छन् । यस क्षेत्रमा वर्षको ६/७ वटाका दरले पश्मिनाका पसलहरू थपिँदै गएका छन् । यसले पनि नेपालमा पश्मिनाको बजार बढिरहेको छ भन्न सकिन्छ ।
नेपालमा आउने सबै पर्यटकहरूले पश्मिनाका सामान खरीद गर्नेवातावरण बनाउन के गर्न सकिन्छ ?
अहिले हामीले च्याङ्ग्रा पश्मिना भनेर ट्रेडमार्क दर्ता गरेका छौँ । नेपाली पश्मिना सबैलाई चिनाउनका लागि यसको लोगो सबैलाई बाँड्ने योजना बनाएका छौँ । यसका लागि विमानस्थलदेखि नै नेपालमा स्थापना भएका पश्मिनाका बारेमा जानकारी दिने खालका विज्ञापन गर्नुपर्छ भन्ने लागेको छ । यसका लागि योजना हामीले बनाउने हो । कार्यान्वयनका लागि पैसा नै चाहिन्छ । सरकारको सहयोगविना कुनै काम गर्न सकिने अवस्था छैन ।
एभरेष्ट पश्मिनाका उत्पादनको अवस्था कस्तो छ ?
अहिले हाम्रो कम्पनीको उत्पादन राम्रो छ । प्रत्येक वर्ष हाम्रो उत्पादनको बजार १५ देखि २० प्रतिशतले बढिरहेको छ । हामीले यसबाट ४ सय ५० जनालाई रोजगारी दिँदै आएका छौं ।
यहाँहरूको कम्पनीको वाषिर्क कारोबार कति हुन्छ ?
हामीले वार्षिक करीव १५ करोड रूपैयाँबराबरको कारोबार गर्दै आएका छौं ।
पश्मिना उत्पादनमा देखिएको समस्या के हो ?
दक्ष कामदारको अभाव यस क्षेत्रको मुख्य समस्या हो । कतिपय कामदारलाई हामी आफैँले काम सिकाएका छौँ । दक्ष कामदार एकअर्को कम्पनीमा तानातान हुने गरेकाले यस्तो समस्या हुने गरेको हो ।
नेपालमा नै च्याङ्ग्रा पालन हुँदै आएको छ । तर, चीनबाट पश्मिनाको आयात गर्नुपर्ने अवस्था किन आएको हो ?
यो नै पश्मिना उद्योगको दुर्भाग्य हो । पश्मिनाको कच्चापदार्थ गोबी मरूभूमिदेखि नेपालको माथिल्लो पहाडी क्षेत्रमा उत्पादन हुने गर्दछ । यो च्याङ्ग्राको भित्री भुवाबाट उत्पादन हुन्छ । नेपालको तुलनामा चीनमा यसको उत्पादन धेरै हुने गरेको छ । त्यहाँ उत्पादनका लागि सरकारको समेत सहयोग छ । चीन सरकारले कृषकहरूलाई भेटनरी डाक्टरको सुविधा र दानामा सहुलियत दिने गरेको छ । यसले कृषकमा उत्साह बढ्छ र उत्पादन पनि धेरै हुन्छ । तर, नेपालमा यस्तो कुनै सुविधा छैन । नेपालमा पनि चीनमा जस्तै कृषकलाई सुविधा दिने हो भने नेपाललाई चाहिने कच्चापदार्थ यहीँ उत्पादन गर्न सकिन्छ । अहिले उत्पादन भइरहेको कच्चापदार्थ पनि चीनमा नै जाने गरेको छ । नेपालमा पनि चरन क्षेत्रको सुधार गर्ने, च्याङ्ग्राको सङ्ख्या बढाउने र स्थानीय कृषकहरूलाई
तालीम दिने हो भने नेपालको उत्पादन चार गुणाले बढाउन सकिन्छ ।
तपाईंहरूले उत्पादन गरेका सामान कुनकुन देशमा निर्यात हुने गरेका छन् ?
हाम्रा उत्पादन विशेष गरी यूरोपका देशमा धेरै जान्छन् । त्यसपछि क्यानडा, अमेरिका, जापानलगायतका देशमा पनि यसको राम्रो बजार छ ।
पश्मिनाको ब्राण्ड दर्ता भएको छ, यसले कति बजार बढाउँछ भन्ने अनुमान गर्नुभएको छ ?
यसमा हामी एकदमै आशावादी छौँ । यो लोगो दर्ता गर्नुको एउटै कारण पश्मिनाका नक्कली सामानबाट ग्राहकहरू जोगिन सकून् भन्ने हो । लोगो भएपछि सामान शतप्रतिशत पश्मिना हो भन्ने बुझिन्छ । यसका लागि ब्राण्डको प्रवर्द्धन गर्नुपर्दछ । पश्मिना व्यापार सङ्घले पनि यसका लागि काम गरिरहेको छ ।