शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''यस कम्पनीमा नेपाली लगानी हुने सम्भावना छ'' - महेश श्रेष्ठ
प्रबन्ध निर्देशक

पूरा आकरमा हेर्नुहोस्

जी फोर एस सेक्युरिटी र्सर्भिसेज, नेपाल

नेपालको 'ग्रूप फोर एस’को बेलायतस्थित मातृकम्पनीसँग कुन स्तरको सम्बन्ध  छ ?

सुरक्षासम्बन्धी मूल्यमान्यता, प्रविधि, गुणस्तर, विश्वसनीयतालगायत कुरामा मातृकम्पनीकै स्तरलाई आदर्श मान्दै आएका छौं । ग्रूप फोर सन् १९०१ मा यूरोपबाट शुरू भएको कम्पनी हो । स्विडेनबाट सेवा शुरू भए पनि कम्पनी स्थापना भने डेनमार्कमा हुन पुग्यो । शुरूमा यसको प्रधान कार्यालय कोपनहेगनमा थियो । यस्तै खालका अन्य धेरै कम्पनीहरू यसमा गाभिने क्रम बढ्यो । र, हाल यो कम्पनीको केन्द्रीय कार्यालय लण्डनमा छ । ग्रूप फोरको विश्वव्यापी सञ्जाल छ । हामीले नेपालमा सञ्चालन गर्दै आएको सुरक्षासम्बन्धी सेवा त्यही सञ्जालको एक अंश हो ।

 
मातृकम्पनीसँग आर्थिक सम्बन्धको स्वरूप कस्तो छ ?

हाम्रो कम्पनी अहिलेसम्म शतप्रतिशत विदेशी लगानीबाट सञ्चालित छ । सम्पूर्ण लगानी मुख्य कार्यालयको नै हो । अहिले यस कम्पनीका शेयरधनी करीब २९ हजार पुगेका छन् । र, प्रमुख शेयरधनी डेनिस नागरिक हुन् । यो कम्पनीको शेयर लण्डन स्टक एक्सचेञ्ज र कोपनहेगन स्टक एक्सचेञ्जमा सूचीकृत छ । अहिले विश्वका १ सय २९ मुलुकमा यो कम्पनीको सेवा पुगेको छ । संसारका सानाठूला तथा धनीगरीब सबैखाले मुलुकमा यसले आफ्नो सेवा फैलाएको छ र अझै फैलिने क्रम जारी छ ।
 
नेपालमा चाहिँ कति जिल्लामा यसको उपस्थिति छ ?

अहिले हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३३ जिल्लामा क्रियाशील छौं । हामी हिमाल, पहाड र तराईसम्म नै फैलिएका छौं । पहाडमा डडेलधुरा र तर्राईमा गरबूढासम्म पुगेका छौं । अझै दुर्गम भेगमा पुग्ने लक्ष्य लिएका छौं ।

कम्पनीमा नेपाली लगानी हुने सम्भावना कत्तिको छ ?

सम्भावना प्रचूर छ । हामीले समयसमयमा यससम्बन्धी छलफल पनि गरेका छौं । केन्द्रीय कार्यालय पनि यस विषयमा सकारात्मक देखिएको छ । सन् १९९६ मा नेपालमा स्थापना भएको यो कम्पनी अहिले नाफामा छ । तर, यसको पुरानो सञ्चित दायित्व हेर्ने हो भने घाटामा नै छ । घाटामा चलेको कम्पनीको शेयर कसले किन्छ ? वातावरण सकारात्मक बन्न सकेको खण्डमा कम्पनी नाफामा जाने निश्चित छ । त्यसपछि यसमा लगानीकर्ता आकर्षित हुनेछन् । अन्तरराष्ट्रिय कम्पनीहरूलाई नेपालमा काम गर्ने उचित अवस्था सृजना गरिदिने जिम्मा सरकारको हो ।
   
ग्रूप फोरले ग्राहकसँग धेरै रकम उठाएर कर्मचारीलाई कम सुविधा दिँदै आएको आरोप छ नि ?

त्यो बिल्कुलै झूठो आरोप हो । हामीले जुन कम्पनीलाई आफ्नो सेवा दिएका छौं, त्यस संस्थासँग लिएको दस्तुरमा बढीमा आठ प्रतिशत 'मार्जिन' राख्ने गरेका छौं । हामीले नेपाल सरकार मात्र होइन, कर्मचारीसम्बद्ध सङ्घसंस्थाका सम्पूर्ण नीतिनियम पालना गरेका छौं । सार्वजनिक बिदा, बीमा, सञ्चयकोषलगायत कर्मचारीहरूका लागि दीर्घकालीन तथा अल्पकालीन विभिन्न सुविधा प्रदान गर्दै आएका छौं । यी सबै कुरालाई आधार मानेर हामीले सेवाग्राहीसँग शुल्क लिने गर्छौँ । र, हामीले लिने शुल्क तथा सुरक्षाकर्मी वा अन्य कर्मचारीलाई दिने सुविधा अत्यन्त पारदर्शी रहिआएको छ ।
 
जी फोर एस सेक्युरिटी सर्भिसेजका सुरक्षाकर्मीको माग कस्तो छ ?

सुरक्षा सबैको आधारभूत आवश्यकता र महत्त्वपूर्ण पक्ष हो भन्ने हामीले राम्ररी बुझेका छौं । सुरक्षाकर्मी चयन गर्ने बेलामा नै हामी निकै चनाखो हुन्छौं । हामीले शारीरिक रूपमा तन्दुरुस्त मात्र होइन, अन्य थुप्रै परीक्षामा सफल भएकालाई मात्र काम दिन्छौं । अनुभवी व्यक्ति भएकाले हाम्रो सङ्गठनात्मक व्यस्थापन निकै चुस्त छ । गुणस्तरको निर्धारण कम्पनीको व्यवस्थापनले नै गर्छ । यो आईएसओ ९००१ : २००० प्रमाणपत्र प्राप्त कम्पनी हो । सोहीअनुरूपको सेवा निरन्तर दिनु हाम्रो दायित्व हो । हामी आफ्नो सेवाको नियमित अनुगमन तथा पुनरवलोकन गर्र्छौं । कमजोरी देखिएका ठाउँमा तुरुन्त सुधार गर्र्छौं । यी सबै कारणले उच्च गुणस्तरको सेवा प्रदान गर्न सफल भएका हौं । यस क्षेत्रमा हामी एक नम्बरमा छौं भन्ने विश्वास छ ।

अहिले नेपालमा यति धेरै निजी सुरक्षा कम्पनी आवश्यक छन् ?

यो आवश्यकताले बढाएको सङ्ख्या हो । विकसित मुलुकमा सुरक्षालाई अति महत्त्व दिइन्छ र यसमा हरेकले आम्दानीको केही अंश लगानी गरेका हुन्छन् । अर्कोतिर, सुरक्षा भन्ने कुरो कुनै पनि संस्थाको प्रतिष्ठासँग जोडिएको हुन्छ । संस्था जतिसुकै सफल भए पनि त्यहाँ सुरक्षाको उचित प्रबन्ध छैन भने त्यो कुनै पनि दिन धराशयी हुनसक्छ । केही समयदेखि नेपाली जनता तथा उद्योगीव्यापारीमा सुरक्षालाई महत्त्व दिनुपर्छ भन्ने चेतना बढेकाले पनि निजी सुरक्षा कम्पनीहरू थपिएका हुन् । र, निजी सुरक्षा कम्पनीप्रति आमजनताको विश्वास बढेकाले यसको सङ्ख्या ज्यामितीय ढङ्गमा बढेको हो । यसबाहेक अहिलेको अस्थिर अवस्थाले पनि निजी सुरक्षाप्रदायक कम्पनी बढेका हुन् ।
 
निजी सुरक्षा कम्पनीका चुनौती केके हुन् ?

निजी सुरक्षा कम्पनीहरूले सरकारलाई ठूलो मात्रामा राजस्व बुझाउने गरेका छन् । र, रोजगारीको सृजनामा समेत निकै योगदान यो व्यवसायले गरेको छ । सकारात्मक वातावरण नहुनु यसको प्रमुख चुनौती हो । राज्यले यो व्यवसायलाई स्थापित उद्योगसरह सुविधा दिएको छैन । आजसम्म पनि यो व्यवसाय सञ्चालनका निम्ति राज्यले कुनै स्पष्ट नीतिनियम बनाएको छैन । हामीकहा“ निजी सुरक्षा ऐन नै छैन । कुनै नियामक निकाय पनि छैन ।

कुनै पनि सङ्घसंस्था वा व्यक्तिले निजी सुरक्षा कम्पनी छान्ने आधार केके हुनसक्छ ?

प्राविधिक रूपले सम्पन्न कम्पनी छान्नु राम्रो हुन्छ । संस्थागत बनोट कस्तो छ, त्यो हेर्नुपर्छ । चुस्त व्यवस्थापन भएको र सुरक्षामा खटिने कर्मचारीको कार्यशैलीलाई आधार बनाएर कम्पनी चयन गर्नु उचित हुन्छ । कम्पनीले खटाएको सुरक्षाकर्मीमाथि अनुगमन कत्तिको हुन्छ, त्यो पनि महत्त्वपूर्ण हुन्छ । कम्पनीमा कस्ता मान्छे संलग्न छन्, त्यसमा विचार पुर्‍याउनु राम्रो हुन्छ । कम्पनीको क्षेत्रगत दक्षता र सबैखाले साधनस्रोत पनि हेरिनुपर्छ ।

ग्रूप फोरको क्षेत्रगत दक्षता के हो ?

हामी विश्वमा बैंकिङ क्षेत्रको सुरक्षा र विश्वास अभिवृद्धिमा नामी मानिएका छौं । यसपछि हवाई सुरक्षाका लागि क्षेत्रमा पनि उत्तिकै ख्यात्रि्राप्त कम्पनी हो, ग्रूप फोर । हिथ्रो, आम्र्सटर्डम, ग्याट्विकलगायत विश्वका ठूला विमानस्थलको सुरक्षा हाम्रो कम्पनीले गरिरहेको छ । नेपालको सन्दर्भमा हामी ठूला जलविद्युत् आयोजनाको सुरक्षाको काम गरिरहेका छौं । सुरक्षा मात्र प्रदान गरिरहेका छैनौं, जलविद्युत्लगायत कुनै पनि आयोजना निर्माण गर्दा त्यसबाट प्रभावित हुने विभिन्न पक्षलाई कमभन्दा कम असर पुगोस् भनेर संवादको अवसर मिलाउने काम पनि गरिरहेका छौं । हाल निर्माणाधीन काठमाडौंको तीनकुने-सूर्यविनायक सडक सुरक्षार्थ हाम्रा सहकर्मी पठाएका छौं । उनीहरूलाई खटाइनुअघि विभिन्न विशेषज्ञद्वारा तालीम दिएका थियौं ।

राज्यले प्रदान गर्नुपर्ने सुरक्षा कमजोर भएका कारण निजी सुरक्षा कम्पनी फस्टाएका हुन् ?

वास्तवमा एउटा पक्ष कमजोर भएर अर्को बलियो हुने होइन । हामी त राज्यको सुरक्षा बलियो बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहन्छौं र गरिरहेका पनि छौं । जब आमजनतामा सुरक्षाबारे राम्रो चेतना जाग्छ, तब ऊ असुरक्षाको तहलाई घटाउन वा सुरक्षित रहन चाहन्छ । त्यसपछि निजी सुरक्षा कम्पनीको महत्त्व अझै बढ्नेछ र यो व्यवसाय झनै मौलाउनेछ । त्यसकारण राज्यको सुरक्षा प्रणाली राम्रो भएका बेला पनि निजी सुरक्षा कम्पनीको आवश्यकता हुन्छ । यो चेतनामा भर पर्ने कुरा हो । मुलुकमा हत्याहिंसा, चोरी-डकैती बढेर यो व्यवसाय फस्टाउँछ भन्नु नकारात्मक विचार हो । सम्भावित घटना-दुर्घटना जुन विगतमा भएका छैनन्, तिनबाट हुने क्षति न्यूनीकरणका लागि पनि सुरक्षा आवश्यक हुन्छ ।